सरकारको नयाँ कर नीतिविरुद्ध जनकपुरका व्यवसायी
जनकपुर–सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा जनकपुरका व्यापारीहरुले शनिबार विरोध र्याली निकालेका छन् ।
उद्योग वाणिज्य संघ जनकपुरको अगुवाइमा निकालिएको विरोध र्यालीका सहभागीले जनकपुरपुर उपमहानगरपालिको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए ।
जनकपुरको शिव चोकबाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो।
सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित शाहले बताए ।
आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।
नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर साह हिराले बताए ।