शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा मध्यरातमा पक्राउ

आइतबार, ०५ साउन २०७६, ०३ : १३
आइतबार, ०५ साउन २०७६

काठमाडौं–प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो । 

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको रातोपाटीलाई बताए । 

उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । 

लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । 


विप्लव नेता माइलालाई ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा


विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो । 

विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए । 

यस्तै गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । सो विस्फोटमा विप्लवकै कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको थियो । 

काठमाडौं सीतापाइलाका  लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप