शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’

आइतबार, ०५ साउन २०७६, २३ : ०५
आइतबार, ०५ साउन २०७६

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताएका छन् ।

प्रवासको चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विषयको विचारगोष्ठीमा उनले चीन र भारतजस्ता विकसित देशको बीचमा रहेर नेपाल सधैँ अविकसित रहन नसक्ने बताए । यी दुवै देशलाई छिमेकी अशान्त हुँदा नेपालले ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’ भन्दै आएको पनि उनले बताए ।

नेपालले आफूसँग भएको ‘सफ्ट पावर’(बौद्धदर्शन, योग आदि) को प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उनको भनाइ थियो ।  नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उनले बताए । नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उहाँले बताउनुभयो । उनले भने, “विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।”

अर्को प्रसङ्गमा उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने र देशभित्रै रोजगारीको सिर्जना गर्ने दुवै कुरा सरकारको प्राथमिकतामा रहेको औँल्याए । वैदेशिक रोजगारीमा सकेसम्म दक्ष नसके कम्तीमा अर्धदक्ष कामदार पठाउने सरकारको योजना रहेको उनले बताए । देशमा रोजगारी बढाउन वैदेशिक लगानीका लागि सरकारले आह्वान गरिरहेको उनको भनाइ थियो ।
 
हामीसँग भएका फरक कुरा विश्वलाई चिनाउनुपर्नेमा मन्त्री ज्ञवालीको जोड छ । महिला सहभागिताका हिसाबले नेपाल विश्वमा उत्कृष्ट देशमध्ये पर्ने कुरा होस् वा मृत्युदण्डको व्यवस्था नभएर अपराधीलाई सुधार गर्न सकिन्छ भन्ने कुरा नेपालले अरूलाई सुनाउन सक्ने विषय भएको उनले औंल्याए । उनले भने, “हामीले गरेको राजनीतिक परिवर्तन पनि हामीले विश्वसामु सुनाउन सक्छौँ ।”

गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले नेपालले बोलेको विश्वका धेरै देशहरुले सुन्न थाल्नु महत्वपूर्ण कुरा भएको बताए ।  अर्थविद् पारस खरेलले अहिलेसम्म कति नेपाली प्रवासमा कार्यरत छन् भन्ने समेतको तथ्याङ्क सरकारसँग नभएको बताए । 

संस्थाका महासचिव गणेश पाठकले संस्थाले विगतदेखि नै श्रम र रोजगारीका विषयमा छलफल गर्दै आएको बताए । कार्यक्रममा अर्थविद्, सञ्चारविद्, परराष्ट्रविद्, चलचित्रकर्मी, पत्रकारलगायत सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप