बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् ‘साउने सेल्फी’ !

सोमबार, ०६ साउन २०७६, १० : ०३
सोमबार, ०६ साउन २०७६

साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ ।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।

रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ ।

 विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ ।

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप