शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुट्दै–फुट्दै–जुट्दै : राप्रपामा फेरि सुरु भयो एकताबारे बहस

मङ्गलबार, ०७ साउन २०७६, १२ : ५४
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौँ– पटक पटक फुट्दै र जुट्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपामा फेरि एकताको प्रसङ्गले प्रवेश पाएको छ । 

पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)ले औपचारिक रूपमा समान विचारधारा र सिद्धान्त बोकेका राजनीतिक दल तथा व्यक्तिसँग एकता र सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ । 

एकताका लागि पार्टीले अध्यक्षद्वय राणा र लोहनीलाई अधिकार प्रदान गरेको राप्रपा प्रवक्ता जनकराज पाठकले रातोपाटीलाई जानकारी दिए । 

‘मुलुकमा एउटा भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता देखिएको छ । त्यो आवश्यकता परिपूर्ति गर्न पार्टीको आइतबार र सोमबार बसेको  उच्च स्तरीय कार्यसम्पादन समितिको बैठकले अध्यक्षद्वयलाई अधिकार प्रदान गरेको छ’, पाठकले रातोपाटीलाई बताए । 

राप्रपा संयुक्तले गरेको यो निर्णयसँगै राप्रपा अध्यक्ष कमल थापाले निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । 

‘समान विचारधारा भएका दलहरुसँग एकता गर्ने राप्रपा (संयुक्त)को निर्णय सकारात्मक छ’, अध्यक्ष थापाले भनेका छन्, ‘हामी सबैको सहभागिता र सहमतिमा भएको एकता महाधिवेशनको म्यान्डेट तथा समयानुकूल थप र आवश्यक समझदारीका साथ बिलम्ब नगरी पार्टी एकता गरौँ ।’

थापाले देशले बलियो राष्ट्रवादी शक्ति खोजी रहेको भन्दै थापाले यसका लागि पहलकदमी लिन आह्वान गरेका छन् । 

कमल थापा नेतृत्वको राप्रपा, प्रकाशचन्द्र लोहनी बीचको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणाबीचको तत्कालीन राप्रपा प्रजातान्त्रिकबीच यसअघि पनि एकताको प्रयास भएको थियो । 

तर कार्यदिशा र व्यक्तिगत टकरावका कारण सहमति जुट्न नसक्दा एकता असफल भएको थियो । त्यसपछि कमल थापाबाहेककै राणा र लोहनीबीच एकताको घोषणा भएको थियो । 

गत माघ १७ गते राणा लोहनीबीच १० बुँदे सहमति भएपछि थापाबिनै एकता भएको थियो ।  पार्टीको वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवाद रहेको छ भने मुख्य नीति र सिद्धान्त पूर्ण धार्मिक

स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र तय गरिएको छ । यस्तै राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पनि पार्टीको नीति र सिद्धान्त मानिएको छ । 

कमल थापा नेतृत्वको राप्रपाको भने राष्ट्रियता, हिन्दूत्व र आर्थिक वृद्धिका साथै राजसंस्थाको एजेन्डा पनि बोकेको छ । लगभग उस्तै विचारधारा र एजेन्डा भए पनि दुई राप्रपाबीच एकता हुन नसकेको अवस्थामा फेरि एकाएक दुई पार्टीबीच एकताको बहस सतहमा आएको हो । 

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले दुई राप्रपा संयुक्तको आह्वानसँगै अब वार्ताको प्रक्रिया सुरु हुने बताए । ‘समान विचारधारा र एजेन्डा बोकेका दुई पार्टीबीच एकता हुने प्रशस्त सम्भावना रहेको छ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘देशभरका कार्यकर्ताको चाहना पनि एकता होस् भन्ने रहेकाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न मिल्नुको विकल्प छैन ।’

दुई पक्षबीचको निरन्तरको अनौपचारिक संवादले वार्ताको वातावरण निर्माण भएको उल्लेख गर्दै उनले राप्रपाको बैठकले पनि उस्तै प्रकृतिको आह्वान गरिसकेको स्मरण गरे । 

राप्रपाको असार पहिलो साता सम्पन्न राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले राप्रपा (संयुक्त) सँग एकता गर्नेबारे निर्णय गरेको थियो । 

निर्णयमा भनिएको छ, ‘राप्रपाबाट विभाजित भई खडा भएको राप्रपा (संयुक्त) सँगको एकतालाई प्राथमिकता दिइने छ । गत एकता महाधिवेशनको निर्णय र ‘म्यान्डेट’ एकताको मूल आधार बनाइने छ । साथै राष्ट्रियता, हिन्दुत्व र प्रजातन्त्रप्रति आस्थावान अन्य व्यक्तिहरुलाई पार्टीमा सम्मानजनक रूपमा आकर्षित गर्ने अभियान सञ्चालन गरिने छ ।’

तत्कालीन राप्रपा र राप्रपा नेपाल मिलेर २०७३ मङ्सिरमा एकीकृत राप्रपा गठन भएको थियो । सो एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्दसम्मका पञ्चायतकालीन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा हुन पुगे । तर, सो एकताको ८ महिनामै पार्टी छिन्नभिन्न त भयो नै कमल थापालाई एकता हुनुअघि भन्दा पनि बढी क्षति पुग्यो । पार्टी फुटाउँदा राणाले थापा निकटकै सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेका थिए । त्यसअघि नै पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्दै प्रकाशचन्द्र लोहनीले पनि पार्टी परित्याग गरेर राप्रपा राष्ट्रवादी बनाएका थिए । 
यस्तो अवस्थामा तीन समूहमा विभाजित भएका पार्टीबीच एकता गर्नेबारे पहल भए पनि अन्तिम समयमा राणा र लोहनीबीच एकता हुँदै कमल थापा छुटेको अवस्थामा अहिले फेरि सबै समान विचारधारा भएकाहरु एक ठाउँमा हुनुपर्ने भन्दै एकताको पहल सुरु भएको हो । 

२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठन भएको थियो । रोचक त के रह्यो भने  पार्टी गठन हुने प्रक्रियामा नै विभाजित भएको थियो । त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न रहेका थिए । 

तर  एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो । त्यसयताका २९ वर्षमा राप्रपा विभाजित फुट्दै र जुट्दै आएपनि पछिल्लाे समय भने कमजाेर अवस्थामा पुगेकाे छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप