बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुन तस्करीको सञ्जाल ध्वस्त भयो, निर्मला हत्याकाण्डका अपराधीलाई कठघरामा ल्याइन्छ’

मङ्गलबार, ०७ साउन २०७६, १६ : ३४
मङ्गलबार, ०७ साउन २०७६

मंगलबार गृह मन्त्रालयको सभाहल कर्मचारी र पत्रकारले खचाखच भरिएको थियो । गृह मन्त्रालयले गत आर्थिक वर्षमा गरेका काम तथा प्रगतिको विवरण दिने र यस आर्थिक वर्षको कार्यदिशाका सम्बनधमा जानकारी दिन आयोजना गरिएको मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

शान्ति सुरक्षाको अवस्था तथा विपद्मा राहत तथा उद्धारका सम्बन्धमा बाहिर धेरै गुनासो र असन्तुष्टी भएपनि गृह मन्त्रालयले भने आफ्नो कामका उल्लेख्य प्रगति गरेको र मन्त्रालय सन्तुष्ट रहेको भन्दै प्रतिवेदन दिइयो ।

गृह मन्त्रालयले आफूहरुले आफ्नो क्षेत्राधिकारभित्र रही गर्नुपर्ने कामहरुमा ९५ प्रतिशत सफलता हात पारेको पनि दाबी गरेको छ ।

गृह मन्त्रालयले मंगलबार उपलब्ध गराएको आफ्नो मुख्य मुख्य प्रगतिको फेहरिस्त यस्तो छ ।

–             विभिन्न अपराधमा अदालतले सजाय फैसला गरी लामो समयदेखि फरार १ हजार १ सय ४ जना पक्राउ गरी फैसला कार्यान्वयन गरिएको ।

–             अपराध अनुसन्धानको लागि दुई वटा प्रदेशमा डिजिटल फरेन्सिक ल्याब स्थापना भएको ।

–             सुरक्षा प्रयोजन बाहेकका मापदण्ड विपरित खटिएका सुरक्षाकर्मी फिर्ता गराई शान्ति सुरक्षाको कार्यमा परिचालित गरिएको ।

–             लागू औषधको अवैध ओसार पसार नियन्त्रणको क्रममा ३ हजार १२ जना व्यक्तिलाई पक्राउ गरी १ हजार ८ सय २६ वटा मुद्दा दर्ता गरी आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको । करिब ६ हजार ८ सय ५३ दशमलब २४ केजी विभिन्न किसिमका लागूऔषध बरामद गरिएको ।

–             साइवर अपराध तथा मानव वेचविखन सम्बन्धी अनुसन्धान गर्ने छुट्टै ब्यूरो स्थापना गरी सञ्चालनमा ल्याइएको ।

–             प्रहरी आचरण र व्यवहारका सम्बन्धमा २ हजार ३ सय ९२ पटक अनुगमन गरिएको । जुन अनुगमन तथा अन्य उजुरीका आधारमा ९ हजार ७ सय ८६ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको । त्यसैगरी राम्रो काम गर्ने १९ हजार ६ सय ५३ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको ।

–             सशस्त्र प्रहरी बल नेपाल तर्फ आचरण विपरित कार्य गर्ने विभिन्न दर्जाका ३ सय २३ जनालाई कारवाही गरएको ।

–             हेलिकप्टरबाट ६४ वटा आपतकालीन उद्धार उडान व्यवस्था गरी १८ जना सुत्केरी र गर्भवती सहित १ सय २७ जनाको उद्धार गरिएको ।

–             सार्वजनिक एवं सरकारी जमिनको अतिक्रमण उपर छानविन गराई कानुनी कारवाहीको दायरामा ल्याइएको ।

–             नुवाकोट जिल्लाको त्रिशुलीमा करिव ५ सय ३९ रोपनी क्षेत्रफलमा ७ हजार कैदीबन्दी क्षमता भएको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार १ हजार ५ सय क्षमताका ४ वटा पुरुष ब्लक र १ हजार क्षमताको १ वटा महिला ब्लक बनाउने गरी गुरुयोजना तयार भएकोमा अहिले १ हजार ५ जना अट्ने एउटा पुरुष ब्लक आगामी २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कार्य भैरहेको ।

–             केन्द्रीय कारागार अस्पताल १५ शैयाबाट ३० शैयामा स्तरोन्नति गरिएको । नख्खुमा १५ शैयाको मानसिक अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको ।

–             कैदी बन्दीहरुको सिदा रु. ३५ बाट वृद्धि गरी रु. ६० र नावालकलाई रु. १० बाट रु. ३५ पुराइएको ।

–             सबै कारागारमा सिसिटिभी जडान कार्य सम्पन्न भएको, ९ वटा कारागारमा सम्बन्धित कारागार र अदालतबीच भिडियो कन्फरेन्सिङ प्रणाली स्थापना भई सञ्चालनको क्रममा रहेको ।

–             मन्त्रालयमा विभिन्न माध्यमबाट गुनासो वा समस्या लिई आउने ५ हजार ९७ जना व्यक्तिहरुको प्राप्त गुनासो मध्ये २ हजार ८ सय ६४ जनाको गुनासो सुनुवाई गरी समस्या समाधानको पहल गरिएको साथै २ हजार २ सय ३३ गुनासाहरु समस्या सामाधानको प्रक्रियामा रहेको ।

गृह मन्त्रालयले आफ्नो प्रगति प्रतिवेदन पछि आफ्नो आगामी कार्यदिशा बारे पनि जानकारी दियो । अपराध न्युनिकरण र शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा योजना अगाडि सारेपछि पत्रकारसँग अन्तरक्रिया भयो ।

अन्तरक्रियाका क्रममा धेरै पत्रकारहरुको सवाल शान्ति सुरक्षाको अवस्था, विप्लव समूहको हिंसात्मक आन्दोलन तथा निर्मला पन्त हत्याकाण्डसँग सम्बन्धित थियो ।

विप्लव समूहको हिंसात्मक आन्दोलनको बीच शान्ति सुरक्षा मजबुत बनाउने सवालमा गृहमन्त्री राम बहादुर थापाले विप्लव समूह हिंसात्मक आन्दोलनमा रहेसम्म देशमा पूर्णशान्ति सम्भव नभएको बताए ।

उनले भने ‘जबसम्म देशमा राजनीतिक स्थायित्व हुँदैन, तबसम्म पूर्णशान्ति सम्भव छैन । अहिलेको राजनीतिक समस्या भनेको मुख्यतः विप्लव समूहसँग हो । राष्ट्रिय शान्तिको बाधक पनि विप्लव समूह नै हो ।’

‘हाम्रो नीति विप्लव समूहको गतिविधिमाथि नियन्त्रण गर्ने नै हो । यसै सिलसिलामा ६ सयभन्दा बढी कार्यकर्ता पक्राउ परिसकेका छन् ।’

‘हामी पनि वार्ताकै माध्यमबाट विप्लव समूहको हिंसात्मक आन्दोलन सकियोस् भन्ने चाहन्छौँ । तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन् ।’

सुन तस्करी र सनम हत्याकाण्ड सम्बन्धमा उठेको सवालमाथि जवाफ दिँदै गृहमन्त्री थापाले सुन तस्करीको सञ्जाल ध्वस्त भएको दाबी गरे ।

निर्मला हत्याकाण्डको सम्बन्धमा कुरा गर्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डको सम्बन्धमा निरन्तर छानबिन र अनुसन्धान चलिरहेको भन्दै अपराधीलाई एकदिन कानुनको कठघरामा ल्याइ छाड्ने बताए ।

प्रहरीहरु अपराधका ९५ प्रतिशत घटनामा सफल भएको भन्दै ५ प्रतिशत यस्ता घटनाहरुमा सफलता हात पार्न लामो समय लाग्ने पनि उनले बताए ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप