शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसमा नियमावलीको तरङ्ग : नेताहरुमा ल्यायो यस्तो हलचल

बुधबार, ०८ साउन २०७६, १२ : ३४
बुधबार, ०८ साउन २०७६

काठमाडौं–नेपाली काँग्रेसमा पार्टी नियमावलीसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । असार २७ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट परिमार्जन गर्ने सर्तसहित पारित नियमावलीले यतिबेला सार्वजनिक मञ्च, सामाजिक सञ्जाल र नियमावली मस्यौदा समितिभित्र विवादको रुप लिएको छ ।

विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले पनि पार्टी नियमावलीको विरोध गरेका छन् । तर, केन्द्रीय कार्यसमितिबाट नेताहरुले दिएका सुझावलाई समेटेर नियमावली कार्यान्वयनमा लैजाने जिम्मेवारी पाएको मस्यौदा समितिभित्र गुटगत विवाद देखिएको बताइन्छ ।

यसबारे संस्थापन इतरका नेताहरुले सार्वजनिक मञ्चबाटै विरोध जनाउँदै आएका छन् । 

काँग्रेसको ३९ वटा भ्रातृ संस्थाका प्रतिनिधिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखक, सदस्यहरू प्रदीप पौडेल जीवन परियार, मीन विश्वकर्मा र ईश्वरी न्यौपानेलाई भेटेर नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको नियमावली आफूहरुलाई मान्य नहुने बताएका थिए ।


काँग्रेसमा देउवा कार्यकालको जोडघटाउ : एकअर्कालाई 'गलाउन' यस्तो बुनियो रणनीति


नियमावलीमा सुभेच्छुक संस्थालाई नियन्त्रण गर्न खोजिएको उनीहरुको गुनासो छ । यस्तै नेतृत्वको आलोचना गरे अनुशासनको कारबाहीको दायरामा ल्याउने व्यवस्था नियमावलीमा गरिएको छ । सो कुरा नियमावलीमा परिमार्जन नगरिए पार्टीविरुद्ध विद्रोह गर्नेसम्मको चेतावनी उनीहरुले दिएका छन् । 

देउवा पक्ष लेबीमा लचिलो, अन्य विवाद कायमै
नियमावली प्रतिवेदनमा सुुझाव समेटेर ल्याउन केन्द्रीय कार्यसमितिले म्याण्डेड दिए पनि मस्यौदा समितिका संयोजक रमेश लेखक भारत भ्रमणमा निस्केपछि ५ दिनदेखि बैठक बस्न सकेको छैन ।
 जसकारण मंगलबार बस्ने भनिएको केन्द्रीय कार्य समिति बैठक विहीबारका लागि सारिएको छ । यो बीचमा लेबीको विषयलाई लिएर पार्टीभित्र चर्को विरोध भएपछि नियमावली मस्यौदा समितिले सदस्यता शुल्क घटाएको छ । 

समितिले पार्टी सदस्यता र नवीकरण शुल्क १० बाट बढाएर ५० रुपैयाँ पुर्याएको थियो । तर, नयाँ प्रावधानप्रति केन्द्रीय समिति बैठकमा धेरै सदस्यले असन्तुष्टि जनाएपछि सदस्यता शुल्क घटाएर २० रुपैयाँ कायम गरिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । 

 त्यस्तै, पहिले क्रियाशील सदस्य बन्न दुई सय र नवीकरण गर्न एक सय रुपैयाँ तिरे पुग्थ्यो । तर, संशोधित विधानको नियमावली मस्यौदामा एकैपटक बढाएर पाँच सय रुपैयाँ पुर्याइएको थियो । अहिले पुनः त्यसलाई घटाएर ३ सय कायम गरिएको छ भने क्रियाशील सदस्यता नवीकरण शुल्क पनि तीन सय ६५ रुपैयाँबाट घटाएर २ सय तोकिएको छ । 


काँग्रेसले ल्यायो अनौठो नियमावली, तल्लो तहको संगठन निमार्णमा बन्देज !


यद्यपि विभिन्न शुल्कलाई लेबी भन्ने वा अरू कुनै शब्द प्रयोग गर्ने विषयमा पनि सहमति हुन सकेको छैन । लेबी शुल्क घटाउन तयार भएको संस्थापन पक्ष  भ्रातृ संस्थामाथिको नियन्त्रण, अनुशासनमा कडाइका विषयमा अडिग देखिएको छ । समिति सदस्य पौडेलका अनुसार अनुशासनसम्बन्धी प्रावधान र आचारसंहितामा पनि अझै कुरा मिलेको छैन । 

जसका कारण केन्द्रीय समितिले विवाद मिलाउन मस्यौदा समितिमा पठाए पनि सहमति हुन नसक्दा मस्यौदा पुनः केन्द्रीय समितिमा पठाउने तयारी भइरहेको पौडेलले संकेत गरे ।

सामाजिक सञ्जालमा लडाइँ
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिले स्वीकृत गरिसकेको नियमावलीले काँग्रेसभित्रै व्यक्तिगत स्वतन्त्रता र बिचारमाथि बन्देज लगाउने आशयमा स्टाटस पोस्ट गरे ।

उनले लेखेका थिए,‘नियमावलीको नाममा नेपाली काँग्रेस पार्टीभित्र व्यक्तिगत स्वतन्त्रता र विचारमाथि बन्देज लगाउन खोजिएको छ । नेपाली काँग्रेस विचारको विविधताको पार्टी हो । इतिहासको कुनै कालखण्डमा वीपी सशस्त्र क्रान्तिमा हुनुहुन्थ्यो । सुवर्णजी दरबार र भारतसँग संवादमा हुनुहुन्थ्यो । किसुनजी दरबारसँग संवाद हुनै नसक्ने भन्दै जेलमा हुनुहुनुथ्यो। तीन शीर्ष नेताको एकै समयमा फरक–फरक विचार आएको थियो । त्यस्तो पार्टी हो नेपाली काँग्रेस । लोकतान्त्रिक पार्टी भन्ने अनि विचारमाथि अंकुश लगाउने ?यो मान्य हुन सक्दैन ।’

डा. कोइरालाको सो फेसबुक स्टाटसमा देउवा निकट केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले हास्यास्पद भनेर प्रतिक्रिया जनाए । विश्वकर्माले प्रतिक्रिया स्वरुप लेखे, ‘विधानले नगरेको नियमावलीले विचारमा बन्देज लगाउने कुरा हास्यस्पद ! यस्तो पनि होला र ? सस्तो लोकप्रियताका लागि निरर्थक हल्ला किन गर्या होला सज्जनहरुले ?’

यस्तै देउवा निकट अर्का केन्द्रीय सदस्य जीवनबहादुर शाही डा. कोइरालाप्रति भनाईमा विमति जनमाए । कोइरालाको विचारलाई ‘काइते’को संज्ञा दिँदै शाहीले लेखेका छन्, ‘आफूलाई मै हौँ  भन्ने काइतेहरुका कारण पार्टीको अवस्था नाजुक भएको हो ।’ यद्यपी कोइरालाको विचारमा धेरैको सहमति छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छोरा चिन्तन पौडेललगायतले समर्थन जनाएका छन् ।

नियमावलीबारे आचार्यको तर्क 
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले काँग्रेसभित्र नेतृत्वको आलोचना गर्न नपाइने गरी नियमावली आउनु पार्टीलाई कानुनीमा बाध्न खोजिएको तर्क गरका छन् ।


 

विश्लेषकले आचार्यले भने, ‘नेतृत्व कमजोर छ, असुरक्षित छ । आफूलाई बचाउनका लागि यो रणनीति खेलिरहेको छ । नेतृत्वले तानशाही प्रवृत्ति अपनाउँदै गर्दा अर्कातिर युवाहरु आफ्नो पहुँच बनाउन खोज्दैछन् भने एक पक्ष जनतासँग नजिक हुन खोज्दैछ । तर नेतृत्वले नियमावलीका नाममा यो कुरामा रोक लगाउन खाजेको देखिन्छ ।’

नेतृत्वले नयाँ योजना ल्याउनु पर्नेमा कठोर नीति लिएर हिँड्न खोजेको भन्दै यसले काँग्रेसमाथि नै खतरा पैदा हुने विश्लेषक आचार्यको बुझाइ छ । ‘जसको नेतृत्वमा पार्टीले चुनाव हारेको छ । नेतृत्व असफल सिद्ध भइसकेको छ । यतिबेला त नेतृत्वले नयाँनयाँ योजना ल्याउनु पर्ने हो । तर कठोर नीति लिएर हिँड्न खोज्दैछ । यस्तै तरिकाले गयो भने भोलि पार्टी नै नरहला भन्ने खतरा छ,’ उनले रातोपाटीसँग भने ।
काँग्रेसलाई पनि कम्युनिष्ट ढाँचामा लिन खोजिएको भन्दै पार्टीमा विरोधका स्वर दबाउन खोजिएको उनको भनाइ छ ।


काँग्रेस बैठकको उल्झन – लेबी र नियन्त्रण !


 ‘काँग्रेस राजनीतिक पार्टी हो भने नेताहरुको विरोध गर्नै नपाइने हुनै सक्दैन,’ विश्लेषक आचार्यले भने, ‘काँग्रेसले तीन÷चार दशकदेखि अवसरवादी कम्युनिस्टहरुको संगतमा परेर बिग्रिएको छ । कम्युनिस्ट ढाँचामा काँग्रेस जान खोजिरहेको छ ।’ 

उनले काँग्रेसको पछिल्लो नियमावलीमा समस्या रहेको उल्लेख गर्दै हेरफेरको आवश्यकता औँल्याए । ‘काँग्रेसको नियमावली पूरै फेर्नुपर्ने अवस्था छ । यस्तो नियमावली लिएर काँग्रेस अगाडि बढ्न सक्दैन,’ उनले ठोकुवा गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप