शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टेरियरको माग बढेसँगै संगठित भए डिजाइनर

बुधबार, ०८ साउन २०७६, १६ : ५०
बुधबार, ०८ साउन २०७६

काठमाडौं– नेपालमा इन्टेरियरको माग बढेसँगै डिजाइनरहरु संगठित भएका छन् । व्यक्तिगत संस्था दर्ता गरी काम गर्दै आएका इन्टेरियर डिजाइनरहरु बजारको माग र आफ्नो पेशाको रक्षाको लागि भन्दै संगठित भएका हुन् ।

केही दिन अगाडी काठमाडौंमा सहयोग र सहकार्य विषयक एक कार्यक्रमको आयोजना गरी एसोसियसनले इन्टेरियर डिजाइनर र यसको अवस्था बारे जानकारी दिएको छ ।

कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै एसोसियसनकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टरनेटको सहज पहुँच, सामूहिक तथा व्यवस्थित आवास बन्नु र नेपालीहरुको विदेश आवात जावातले पनि इन्टेरियरको महत्व बढाएकोे बताइन् । 

नेपालमा इन्टेयिर डिजाइन पेशा चुनौतीपूर्ण बन्दै गएकाले डिजाइनरहरुकोबीच सहयोग र सहकार्यको आश्यकता महशुस गरी संगठनलाई अगाडी बढाउने योजना बनाएको अध्यक्ष कक्षपतिले बताइन् ।

इन्टेरियरहरुले सहकार्यका लागि जस्तोः आर्किटेक्ट, इन्जिनियर, वास्तुशास्त्री, निर्माणकर्ता, ठेकेदार, आपूर्तिकर्ताहरु र राष्ट्र निर्माणमा लागेकाहरु एक हुन आग्रह गरेको छ । सवैको सहयोग र साथ मिल्ने हो भने यो पेशालाई मर्यादित र विशिष्ट बनाउन सकिने र भविष्यमा नयाँ पुस्ताले राम्रो अवसर पाउने अध्यक्ष कक्षपतिको विश्वास छ ।

बजारको माग र इन्टेरियर पेशालाई व्यवस्थित र मार्यादित बनाउनकै लागि राष्ट्रिय स्तरमा आइडिया नेपाललाई चिनाउनु आवश्यक ठानी पूनस्र्थापना गरेको अध्यक्ष कक्षपतिले बताइन् ।

एसोसिएसनका महासचिव श्यामबहादुर श्रेष्ठका अनुसार घरभित्रको सामग्रीलाई बैज्ञानिक तवरबाट मिलाउनका लागि इन्टेरियरको भूमिका महत्वपूर्ण हुन्छ । 

‘कुन सामग्रीलाई कसरी मिलाएर राख्दा कोठाको सौन्दर्यता बढ्छ, त्यो इन्टेरियर डिजाइनरले जानेको हुन्छ,’  महासचिव श्रेष्ठले भने । इन्टेरियरभित्र लाइटिङ, मार्वल, सोफा सजावटलगायतका सामग्रीलाई कसरी राख्ने भनेर ख्याल गरिने उनको भनाइ छ । 

अहिले हरेकजसो मानिसले घर बनाउँदा सबैभन्दा पहिला इन्टेरियर (घर सजावट)को ख्याल गर्ने गरेको एसोसिएसनका सचिव प्रार्थना भट्टराईले बताइन् । एउटा घर अथवा भवनको निर्माण गर्दा सिभिल इन्जिनियर, आर्किटेक्ट र इन्टेरियरको आवश्यकता एकसाथ पर्ने भएकाले यी तीन कुरालाई एकसाथ लिएर अघि बढ्नु पर्नेमा धेरै नेपाली सचेत रहेको भट्टराईले बताइन् । केही वर्ष अघिसम्म घरलाई बाहिरी रुपमा मात्रै सजाउने गरिन्थ्यो । तर, अहिले घरलाई भित्री रुपमा पनि सजाउने प्रचलन बढेको उनको भनाई छ । 

एलइडी लाइट उत्पादन गर्दै आएको कम्पनी लिगेरोका सेल्स निर्देशक महेन्द्र खान्नाले इन्टेरियर डिजाइन गर्दा सबैभन्दा पहिला लाइट कस्तो राख्ने भनेर छान्नुपर्ने बताए । 

त्यसैगरी, पछिल्लो समय घर बनाउँदा वास्तुलाई विशेष ख्याल गर्ने गरेको पाइन्छ । वास्तुलाई ख्याल गर्दा इन्टेरियर पनि सँगै आउने हेरिटेज नेपालका प्रबन्ध निर्देशक कमल आचार्यले जानकारी दिए । 

आइडिया नेपाल

इन्टेरियर डिजाइनरहरुको हकहितको लागि भन्दै आईडीया नेपाल २०६० सालमा स्थापित भएको थियो । तर लामो समय निस्क्रिय रहेको यो संस्था हालैको साधारण सभाबाट नयाँ नेतृत्व चयन गरी सक्रिय भएको हो । 

आईडिया नेपाल इन्टेरियर डिजाइन उद्योगलाई बढावा दिने, डिजाइनरहरुलाई प्रशिक्षण दिने, विभिन्न विकासका कार्यक्रमहरुमा हातेमालो गर्ने र डिजाइनरहरुलाई एकतावद्ध गर्ने लक्षका साथ अघि बढेको छ ।

विगतमा इन्टेरियर डिजाइनर एसोसिएसन (आईडिया) नेपाल गठन भए पनि सक्रिय रुपमा नआएको र हाल पून दर्ता गरी संचालनमा आएको छ । आफ्नो पेशागत हक अधिकारको रक्षाका लागि डिजाइनर एक भएर काम सुरु गरेका छन् ।

अहिले नेपालमा ३ हजार भन्दा बढी इन्टेरियर डिजाइनरहरु छन् । र एसोसिएसनसँग २ सय जना आवद्ध भएका छन् । एसोसिएसनकाअनुसार हाल नेपालमा यस क्षेत्रमा मात्रै बार्षिक रुपमा ३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको छ । नेपालमा बार्षिक रुपमा एक सय २० जना इन्टेरियर डिजाइनर थपिने गरेको एसोसिएसनले जनाएको छ । 

नेपालमा अहिले दुई वटा कलेजले इन्टेरियरको ब्याचलरसम्मको कोर्स पढाइरहेका छन् । यसले गर्दा पनि बजारमा नयाँ नयाँ विद्यार्थी उत्पादनमा वृद्धि भएको एसोसिएसनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप