बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नारी विकास केन्द्रका १४ जना महिला चित्रकार हटाइए

बिहीबार, ०९ साउन २०७६, ११ : ३१
बिहीबार, ०९ साउन २०७६

जनकपुर– जनकपुरको नारी विकास केन्द्रमा कार्यरत १४ जना मिथिलानी चित्रकारलाई केन्द्रका प्रबन्धकले हटाएपछि पीडितहरु न्यायका लागि भौतारिन बाध्य बनेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १५ स्थित रामपुरमा रहेको केन्द्रमा लामो समयदेखि काम गर्दै आएका महिलाहरुलाई अभद्र व्यवहार गर्दै प्रबन्धक सतिश साहले निकालेपछि उनीहरु न्याय माग्दै न्यायिक समितिमा पुगेका छन् ।

लामो समय देखि चित्रकलाको काम गरेर जीवनयापन गर्दै आईरहेका महिलाहरुलाई प्रबन्धक साहले चित्रकारको कामबाहेक अन्य काम समेत गराउदै आएको पीडितहरुको गुनासो छ । 

‘साहले आफू अनुकुलका मान्छे राख्न १४ जना चित्रकारलाई हटाइएका छन्’,३२ वर्षदेखि कार्यरत ६० वर्षीया सुमित्रा महासेठले बताइन् । उनले नयाँ कार्य समितिको चुनाव चाँडै गराउनुपर्छ भनेपछि आफूहरु माथि जाइलागेको बताइन् ।

५० वर्षीया कलाकार शनिचरी मण्डलले नियम विपरित आफूहरुलाई हटाइएको आरोप लगाइन् । शनिचरीले भनिन्,‘आफूहरुलाई हटाउने नियतले मेनेजर साहेब सानोसानो कुरामा केही दिन यता निहुँ खोजी रहेका थिए ।’ 
यसअघि पनि नारी विकास केन्द्रमा बजेट नहुँदा तलब नलिएरै ६ महिनासम्म काम गरेको उनीहरुको भनाई छ । ‘वर्तमान बोर्डको कार्यकाल समाप्त भएपनि एकपटक पनि बैठक बसेको छैन, न त नयाँ कार्य समितिको निर्वाचन गराउने पक्षमा नै छन् ?’सुमित्राले बताइन । 

उता नारी विकास केन्द्रको बोर्ड अध्यक्ष सुनैना कर्ण समेत व्यवस्थापक शितल साहको रबैयाबाट असन्तुष्ट बनेका छन् । व्यवस्थापक साहले कलाकारहरुलाई चित्र कोर्न लगाउनुपर्नेमा भवन निर्माणका लागि ईँटा, बालुवा उठाउन लगाउनु गलत रहेको कलाकार दुलारी खत्वेले बताइन् । तर, प्रबन्धक सतिश साहले महिला चित्रकारहरुले लगाएको आरोप गलत रहेको दावी गरे ।

उनले बजेट अभाव भएपछि केही दिनका लागि मात्रै उनीहरुलाई अनुरोध गरेर हटाइएको स्पष्टिकरण दिए । ‘बजेट आए लगत्तै फेरी उनीहरुलाई काममा फर्काइन्छ’ साहले भने । 

हटाइएका कलाकारहरुले केन्द्रमा ताला लगाइदिएका छन् । उनीहरुले काममा नफर्काएसम्म ताला नखोल्ने अडान राखेका छन् ।

यता न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर रिता मिश्रले निकालिएका महिलाहरुलाई पुनः काममा लगाउन निर्देशन दिएको जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप