शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माननीयहरु जाने स्वास्थ्य केन्द्र : डाक्टर भन्छन्, अधिकांश सांसदमा हाइपर टेन्सनको समस्या (भिडियो)

शुक्रबार, १० साउन २०७६, १० : ०९
शुक्रबार, १० साउन २०७६

काठमाडौँ । राष्ट्रियसभा सदस्य रामनारायण बिडारी सामान्य बिरामी भएको बेला संसद सचिवालयमा रहेको स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य परिक्षण गराउँछन् । बुधबार उनी छाती र घाँटी दुख्ने समस्या भएपछि स्वास्थ्य परिक्षण गराए र औषधी लिए । उनले सामान्य स्वास्थ्य समस्या देखिँदा संसद सचिवालयले उपलब्ध गराएको स्वास्थ्य सेवा लिने गरेको बताए ।

संघीय संसद सचिवालयले प्रतिनिधी सभा, राष्ट्रिय सभा र सचिवालयका कर्मचारीलाई प्राथमिक स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । जहाँ हरेक दिन जसो चालिस ४०–५० जनाले स्वास्थ्य परिक्षण गराउँछन् ।

वरिष्ठ चिकित्सकसहित ६ जनाको टोली रहेको स्वास्थ्य इकाईमा उपचारका लागि दुईवटा बेड र निःशुल्क औषधीको व्यवस्था गरिएको छ ।

यस्तै सदन चलेको बेला नयाँ बानेश्वरमा स्वास्थ्य इकाई सञ्चालन हुने गरेको छ । जहाँ कर्मचारी, सांसद र मन्त्रीहरु समेत गरी एक जना सम्मले ब्लड प्रेशर, सुगर लगायतको समस्याँ जाँच गर्ने गरेको डाक्टर पुष्प रिजालले जनाकारी दिए । सदन चलेको बेला सांसदहरु आकस्मिक बिरामी परेमा तत्काल उपचारका लागि लान वीर अस्पतालको एम्बुलेन्स समेत तयारी अवस्थामा राखिने गरिएको छ ।

सांसदहरुमा हाइपर टेन्सन तथा सुगरको समस्या

अधिकांश सांसदहरुमा ब्लड प्रेसर, ग्याष्ट्रिक, सुगर जस्ता समस्या बढी पाइएको छ । कतिपय थाइराइड, अल्सर, टाउको दुख्ने जस्ता समस्या लिएर जाने गरेका छन् । उनीहरुको अवस्था हेरेर वीर तथा त्रिवि शिक्षण अस्पतालमा रिफर गर्ने गरिएको चिकित्सक रिजालले जानकारी दिए । यस्तै ती अस्पतालमा स्वास्थ्य परिक्षण गरेको प्रेशक्रिप्सन ल्याएमा निःशुल्क औषधी पनि दिने गरिएको छ ।

संघीय संसद सचिवालयका सुविधा शाखा प्रमुख उपसचिव रामहरी थापाले कर्मचारीलाई भन्दा पनि सांसदको कामको चाप बढी हुने कारण पनि हाइपर टेन्सनको समस्या हुने गरेको बताए । बढी धपेडीयुक्त काम, खानपानको समय नमिल्ने जस्ता कारण उच्च रत्तचाप, ग्याष्ट्रिक जस्ता समस्या धेरैको रहेको उनको भनाई छ ।

चिकित्सक रिजालले खाना खाने समय व्यवस्थित गर्न, चिल्लो, पिरो खानाले स्वास्थ्यमा समस्या देखिने भएकोले खाना सन्तुलन गर्न सुझाव दिने गरेको बताए ।

धेरैजसो सांसदहरु सदन चलेको बेला तथा विषयगत समिति भएका बेला ब्लड प्रेशर र सुगर परिक्षण गराउन आउने गरेका छन् । कतिपयले मुटुको चालको पनि परिक्षण गराउने गरेका छन् ।

रिजालले भने–‘माननीयज्यूहरुलाई नियमित रुपमा औषधी दिन असमर्थ भएपनि सकेसम्म हामीले गुणस्तरीय सेवा दिइरहेका छौँ । हामीले उहाँहरुलाई स्वास्थ्य सचेतना दिने काम पनि गर्छाैै । नियमित रुपमा ब्लड प्रेसर नापौँ, दैनिक व्यायम गरौँ । नुन र तेलजन्य कुराहरु कम खाऔं भन्ने सचेतना दिने गरेका छौँ ।’

महिनामा कम्तिमा एक पटक संसद सचिवालयको स्वास्थ्य इकाइमा उपचारका लागि जाने सांसद बिडारीले ग्याष्ट्रिक, रक्तचाप परिक्षण गर्ने र खोकीको औषधी लिने गरेको बताए । स्वास्थ्य इकाईलाई अझ व्यवस्थित बनाउन उनको सुझाव छ ।  

सांसदहरुले स्वेदश तथा विदेशका स्वास्थ्य संस्थामा उपचार गराएमा बिल पेश गरेको आधारमा रकम भुत्तानी पाउने गरेका छन् । उनीहरुले संसद सुविधा शाखाबाट सो सेवा लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप