शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्याको एक वर्ष : प्रहरीमाथि टाउको दुखाइको अर्को घटना !

शुक्रबार, १० साउन २०७६, १२ : ०९
शुक्रबार, १० साउन २०७६

भिमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक वर्ष पूरा भयो । २०७५ साल साउन १० गते हत्या गरिएकी निर्मला पन्तको हत्या सम्बन्धमा एक वर्षसम्म पनि कुनै निष्कर्ष निस्कन सकेन ।

विभिन्न निकायले विभिन्न कोणबाट अनुसन्धान र छानबिन गरे पनि निर्मला पन्तको बलात्कार र हत्यामा को वा को को संलग्न थिए भनेर अहिलेसम्म यकिन हुन सकेको छैन । कञ्चनपुर प्रहरी, केन्द्रीय अनुसन्धान विभाग, महानगरीय अपराध महाशाखा, राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय कार्यालयबाट पनि विभिन्न समिति बनाएर अनुसन्धान गरियो । यद्यपि अपराधीको पहिचान गर्नमा यी सबै समिति र अनुसन्धान अधिकृतहरु असफल रहे ।

घटना विवरण :

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम भन्ने स्थानमा २०७५ साल साउन १० गते १३ वर्षीय बालिका निर्मला पन्त एकाएक हराउँछिन् ।

साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला साँझ अबेरसम्म पनि नआएपछि उनीबारे खोजबिन सुरु भयो । खोजबिनमा पनि निर्मला नभेटिएपछि निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीलाई खबर गरिन् । साउन १० गते राति २ बजेसम्म पनि निर्मलाकी आमा दुर्गादेवी पन्त प्रहरी कार्यालयमै गएर छोरी खोजिदिन प्रहरीलाई आग्रह गरेकी थिइन् । तर प्रहरीले ‘भोलि बिहान उज्यालो भएपछि खोजबिन गर्ने’ भन्दै पन्छाइदिएको पीडित पक्षको आरोप छ ।

दुर्गादेवी आफैले गाउँलेसँग मिलेर विभिन्न स्थानमा छोरीको खोजी गरे पनि उनले छोरी भेट्न सकिनन् ।

त्यसो त साँझ नै दुर्गादेवी छोरीको खोजी गर्दै निर्मलाकी साथी रोशनी बमको घरमा पुगेकी थिइन् । तर रोशनीले निर्मला त्यसअघि नै ‘अम्बा लिएर गइसकेको’ भनेपछि उनी फर्किएकी थिइन् ।

श्रीमान्ले अर्को विवाह गरेपछि छोरी निर्मलासँग बस्दै आएकी दुर्गादेवीले त्यस रात छोरीको खोजीमै बिताइन् ।

त्यसको भोलिपल्ट साउन ११ गते गाउँलेसँगै छोरीको खोजी गर्दा निर्मलाको घर र रोशनी बमको घरको बाटोमा पर्ने उखुबारीमा निर्मलाको शव भेटियो ।

कपडाहरु खोलिएको अवस्थामा पाइएकाले बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलनको सुरुवात गरे ।

शव भेटिएको २ दिनमा पोष्टमार्टम रिपोर्ट आयो । रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको बतायो ।

पोस्टमार्टम रिपोर्ट लगत्तै प्रहरीले निर्मलाको शव बुझेर लैजान परिवारलाई दबाबसमेत दियो ।

तर निर्मलाका परिवार र स्थानीयले शव लैजान मानेनन् । घटनामा संलग्न अपराधी पत्ता लगाई कानुनी कारबाहीमा ल्याउनुपर्ने भन्दै आन्दोलन झनै चर्किन थाल्यो ।

त्यसपछि आन्दोलन झनै चर्कियो । आखिर निर्मलाको हत्यामा को कसरी संलग्न भयो भनेर कञ्चनपुर मात्रै होइन, पूरै देश आन्दोलनमा गयो ।

साउन १४ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिको रोहबरमा प्रहरीले अपराधी पत्ता लगाई चाँडै नै सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएपछि परिवारले निर्मलाको शव बुझे र दाहसंस्कार गरे ।

तर प्रहरीले लिखित प्रतिबद्धता जनाएको एक सातासम्म पनि अपराधी पत्ता नलागेपछि साउनेको तेस्रो साताबाट फेरि आन्दोलन सुरु भयो ।

यतिबेलाको आन्दोलन अपराधी पत्ता लगाउनको दबाब भन्दा पनि प्रहरी प्रमुख र अनुसन्धान अधिकृतहरु परिवर्तनका लागि सुरु भयो । पहिलो दिनको प्रहरी रवैयाको कारण घटनामा प्रहरीकै संलग्नता वा अपराधी भीआईपी भएको कारणले प्रहरीले बचाउन चाहेको भन्दै स्थानीयको आन्दोलन प्रहरीमाथि खनिन थाल्यो । यो घटनामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट आफै वा उनको छोरा र आफन्तको संलग्नता भएको भन्दै आन्दोलन उनीहरुमाथि छानबिन र कारबाही गर्नुपर्ने मागमा केन्द्रित बन्यो ।

आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाउँदा स्थानीय १५ वर्षीय किशोर सन्नी खुन्नाको ज्यानसमेत गयो ।

प्रहरीको छानबिनमा स्थानीयले चित्त नबुझाएपछि कञ्चनपुर प्रहरी प्रमुख र अनुसन्धान अधिकृतहरुलाई बर्खास्त गर्नुपर्ने मागसमेत आयो ।

स्थानीय प्रहरी नेतृत्वप्रति स्थानीयको विश्वास गुमेपछि सरकारले भदौ ७ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा अन्य अधिकारी तथा अधिकृतलाई पठायो ।

जब 'मानसिक सन्तुलन गुमाएका'लाई अपराधी करार गर्न खोजियो...

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा जब प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई अपराधी करार गराउन खोज्यो, त्यसपछि घटना र आन्दोलनले अर्कै मोड लियो । स्थानीय बासिन्दाले मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको र घटनामा विष्टको संलग्नता हुनै नसक्ने भन्दै प्रहरीले भीआईपी अपराधी जोगाउन विष्टलाई बलीको बोको बनाएको जिकिर गरे ।

प्रहरीले भदौ ४ गते स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दै घटनामा विष्टको संलग्नता रहेको र विष्टले अपराध कबुल गरेको भन्दै सार्वजनिक गरेको थियो ।

त्यसपछि आन्दोलनले झनै चर्को रूप लियो । तर विष्टको डीएनए परीक्षण गर्दा उनको संलग्नता नदेखिएको पाइएपछि उनी छुटे ।

पछि विष्टले सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रहरीले कुटपिट गरेर अपराध कबुल गर्न लगाएको बताए ।

प्रहरी तथा प्रमुख जिल्ला अधिकारीको टिम नै परिवर्तन गरे पनि यो घटनामा प्रहरीले कुनै सफलता भने पाउन सकेन ।

घटनाको एक वर्ष पुग्दा कञ्चनपुरमा प्रहरीको ३ वटा टोली परिवर्तन भइसकेको छ तर घटनामा संलग्न अपराधी पत्ता लाग्नु त कता हो कता सुराकसम्म पाउन सकेको छैन ।

घटनाको ४ प्रतिवेदन, दोषीबारे छनकसम्म छैन

निर्मला पन्त बलात्कार र हत्याको सम्बन्धमा विभिन्न निकायले ४ वटा छानबिन समिति नै बनाएर प्रतिवेदन बनाउन लगायो । 

सुरुमा गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गर्यो । समितिका अन्य सदस्यहरुमा डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्रका डीआईजी वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसीलाई तोकियो । सुरुमा १५ दिनको समय दिइएको उक्त समितिलाई पछि फेरि १५ दिन थप गरेर ३० दिनको समय प्रदान गरियो ।

यद्यपि यो समितिले पनि घटनामा संलग्नको पहिचान त के अपराधीबारे सामान्य सुराक वा छनकसम्म पाउन सकेन । यो समितिले घटनामा अनुसन्धान गर्ने प्रहरी अधिकारीको लापरबाहीबारे मात्रै धेरै कुरा उल्लेख गर्यो । यो प्रतिवेदनले घटनामा एक जना मात्रै नभएर एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको दाबी गर्यो ।

गृहको प्रतिवेदन आएपछि केन्द्रीय प्रहरी इकाई डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न भन्दै छानबिन समिति बन्यो । सो समितिले दिएको प्रतिवेदनकै आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरिदियो भने सीर्आइबीका डीएसपी अङ्गुर जिसी र अर्का डीएसपी ज्ञानबहादुर सेठीलगायत ६ जना प्रहरीलाई निलम्बन गरियो ।

गृह र प्रहरीबाहेक राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार सङ्गठनले पनि छानबिन गरेर प्रतिवेदन दियो । उनीहरुको प्रतिवेदनमा पनि प्रहरीले सबुत सङ्कलन गर्नमा र अनुसन्धानमा गम्भीर लापरबाही गरेको प्रतिवेदन दियो । यद्यपि घटनामा संलग्न अपराधीबारे केही बोल्न सकेन ।

आखिर को हो त अपराधी ?

घटनामा संलग्न अपराधीबारे धेरै आशङ्का र अड्कलबाजी गरिए । दोस्रो चरणको आन्दोलनको सुरुवात भएलगत्तै यस घटनामा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको संलग्नता रहेको आरोपहरु लगाइए । किरणसँग स्थानीय मेयरका भतिजा आयुष विष्ट लगायतको संलग्नता रहेको आरोप सार्वजनिक भए ।

त्यसलगत्तै उनीहरुमाथि पनि छानबिन सुरु भयो । तर उनीहरुको डीएनए परीक्षणमा पनि संलग्नता देखिएन । यतिसम्म भयो कि बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टको पनि डीएनएको नमुना लिएर छानबिन सुरु भयो ।

घटनामा संलग्न रहेको आशंकामा ५ दर्जनभन्दा बढी स्थानीय युवामाथि छानबिन र डीएनएको नमुना सङ्कलन गरियो ।

तर उनीहरु कोही पनि घटनामा संलग्न रहेको पाइएन ।

घटनास्थल नजिकै नेपाली सेनाको ब्यारेकसमेत रहेकाले घटनामा सेनाका जवानहरुको संलग्नता हुनुपर्ने भन्दै आरोप आएपछि प्रहरीले २ दर्जनभन्दा बढी सेनाका जवान तथा केही अधिकृतमाथि पनि छानबिन र अनुसन्धान गर्यो । तर त्यस अनुसन्धानमा पनि प्रहरी फेल खायो । मतलब घटनामा अनुसन्धानमा संलग्न गराइएका कुनै पनि जवान वा अधिकृतको डीएनए निर्मलाको भेजाइनल स्वापसँग मिलेन ।

मोबाइल लोकेसनले पनि पत्ता लगाउन सकेन अपराधी

त्यसो त न्यायाधीश रणबहादुर बम हत्याकाण्डमा ३ लाख जना व्यक्तिको मोबाइल लोकेसन (सीडीआर रेकर्ड) अध्ययन गरी अपराधी पत्ता लगाएको नेपाल प्रहरीले निर्मला पन्त हत्याकाण्डमा भने यो प्रविधिले पनि अपराधी फेला पार्न सकेन ।

निर्मलाको हत्या भएको स्थान वरपर देखिएका सबै मोबाइल नम्बरको कल डिटेल रेकर्ड हेरेर अनुसन्धान गरे पनि घटनामा उनीहरुको संलग्नता रहेको पाइएन । बीटीएस टावरमा भएको रेकर्डमा पनि अपराधीको कुनै सुराक प्रहरीले पाउन सकेन ।

पछिल्लो समय अनुसन्धानको सुई भारतीय नागरिकप्रति पनि सोझिएको थियो । घटनास्थलमा कुनै भारतीय नागरिक वा समूह आएर बलात्कार गरी हत्या गरिएको हो कि भन्ने आशङ्का गरिए पनि यसको अनुसन्धान झनै जटिल भएकाले त्यसबारे प्रहरीले आशङ्का मात्रै गर्न सकेको छ ।

बम दिदीबहिनीप्रति आक्रोश

यस घटनामा सुरुदेखि नै सबै कुरा थाहा भएका व्यक्तिहरु बम दिदीबहिनी रहेको भनियो । स्थानीय व्यक्तिहरुले पनि बम दिदीबहिनीलाई घटनाबारे सबै जानकारी भएको भन्दै उनीहरुमाथि सही ढङ्गले छानबिन गरे अपराधी पत्ता लाग्ने बताइयो । बबिता बम र रोशनी बमको घरमा निर्मला पन्त होमवर्क गर्न गएकी र त्यसपछि नै बेपत्ता भई भोलिपल्ट शव भेटिएकाले घटनामा उनीहरुको प्रत्यक्ष तथा परोक्ष संलग्नता रहेको दाबी गरियो ।

छोरी खोज्न जाँदा आमा दुर्गादेवी पन्तलाई अपशब्द प्रयोग गर्दै घरभित्र जानसमेत नदिएको र घटनाको केही समयपछि अम्बाको रुख पनि काटिएको भन्दै घटनामा बम दिदीबहिनीको कुनै न कुनै प्रकारको संलग्नता तथा सुराक रहेको बताइयो ।

तर घटनामा बम दिदीबहिनीको संलग्नता पुष्टि हुन सकेन । बरु उनीहरुको सामाजिक बेइज्जती भएको भन्दै मानव अधिकार आयोग र महिला सङ्घ सङ्गठनले विरोध गरे । प्रहरीले जुन कोणबाट अनुसन्धान गरे पनि घटनाको गुथी केलाउन भने सकेन ।

प्रहरी अनुसन्धान सकियो ?

त्यसो त प्रहरीले विभिन्न कोण र अनुसन्धान अधिकृत खटाएर घटनाको अनुसन्धान गरिहेकै छ । घटनाको अनुसन्धानका लागि अहिले पनि केन्द्रीय प्रहरीको टोली, केन्द्रीय अनुसन्धान ब्युरोको टोली, अपराध महाशाखाको टोली र राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल वा घटनास्थल वरपर खटिइरहेका छन् । तर पनि हालसम्म घटनामा संलग्नताको सुराक वा छनकसम्म पाउन सकिएको छैन ।

गृहन्त्रीको आश्वासन, ‘अपराधीलाई एक दिन कठघरामा ल्याइन्छ ।’

त्यसो त गृहमन्त्री रामबहादुर थापाले आफ्नो वार्षिक कार्ययोजना सुनाउँदा पनि निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरीले बडीखेल हत्याकाण्ड र हेमन्त–अञ्जली हत्याकाण्डमा अपराधीलाई १२ वर्षपछि पक्राउ गरेको उदाहरण दिँदै प्रहरीले ढिलै भए पनि सफलता पाउने उनको दाबी थियो ।

त्यसैगरी १४ वर्ष पुरानो दीपक हेमकर परिवारको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाएको बारे सङ्केत गर्दै अपराधीहरु ढिलो चाँडो पक्राउ पर्ने गृहमन्त्रीको आश्वासन थियो । तर जतिबेला गृहमन्त्रीले १३ वर्षमा अभियुक्त पक्राउ परेका कुरा गरिरहेका थिए, त्यतिबेलासम्म दीपक हेमकर परिवारको हत्यामा संलग्न अभियुक्त भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरिसकेको थियो ।

जे होस् यतिबेला नेपाल प्रहरी र अन्य निकायले पनि धेरै मिहिनेत गरेर निर्मला पन्त हत्याका अपराधीलाई खोज्ने काम गरिरहेको छ । तर यतिबेलासम्म अपराधी पक्राउ पर्न भने सकेको छैन । यद्यपि प्रहरीले भने निरन्तर अनुसन्धानको प्रक्रियामा रहेको भन्दै एक दिन अपराधी सार्वजनिक गर्ने दाबी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप