केन्द्रीय संस्करण
संगीत

एउटा ‘विद्रोही’ रकस्टार

person explore access_timeसाउन ११, २०७६ chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

उनी जन्मे हुर्केको चितवन । घर नजिकै पुलिस तालिम केन्द्र । त्यही तालिम केन्द्रमा पुलिसहरुले दिनदिनै परेड खलेको देख्दा उनको बालमस्तिष्कले भन्ने गर्दथ्यो ‘ठूलो भएपछि म पनि पुलिस बन्छु’ । पुलिसहरु दौडिरहँदा उनी भने पुलिसहरुलाई हेरेर ‘स्यालूट’ गरिरहेका हुन्थे ।

तर, मानिसको प्राथमिकता समयसँगै परिवर्तन हुँदो रहेछ । बाल्यकालमा देखेको उनको सपना उमेर बढेसँगै धुमिल हुँदै गयो । पारिवारिक माहौल संगीतमय थियो । बुबा सुदन शर्मा आफै संगीतकार हुन् । भनिन्छ नि, घर नै पहिलो विद्यालय हो । उनले पनि घरमै संगीत सिक्न थाले ।

बुबाबाट संगीत सिक्दै गर्दा उनमा गीत गाउने रहर जागेर आयो । अब उनलाई बर्दीधारी पुलिसभन्दा नारायण गोपाल बन्न मन पर्न थाल्यो । बाल्यकालमै उनको गायन प्रति लगाव निकै बढिसकेको थियो ।

आठ वर्षकै हुँदा पहिलो पटक काठमाडौँ आए । बाल दिवसमा आयोजित गीत प्रतियोगितामा भाग लिएर प्रथम भए । यस्तो उपलब्धि हासिल गरेपछि संगीतप्रति उनको लगाव झनै बढेर गयो ।  वि.सं २०५१ सालमा ९ वर्षको कलिलो उमेरमा एकल एल्बम नै निकाले । नाम राखिएको थियो – स्वप्निल गिती यात्रा । हुने बिरुवाको चिल्लो पात । यो भनाई नेपालमा निकै प्रचलित छ र उनले यो चरितार्थ गरे ।

यी तिनै स्वप्निल हुन् जो अहिले ‘विद्रोही रकस्टार’ को रुपमा नेपालको संगीत जगतमा स्थापित भइसकेका छन् । स्वप्निल शर्माले आफ्नो ब्यान्ड ‘द स्याडोज नेपाल’ लाई समाजको कथा–व्यथा प्रतिबिम्बित गर्ने समूहको रुपमा चिनाउन सफल भइसकेका छन् ।  

ब्यान्डमा संलग्नताः

स्वप्निलले कहिले पनि आफूलाई एकै प्रकारको संगीतमा सिमित राखेनन् । संगीतप्रति उनको रुची नै यति प्रगाढ थियो कि उनी विभिन्न प्रकारको संगीत खोजीखोजी सुन्थे, त्यसलाई बुझ्न पनि खोज्थे ।

९ वर्षको उमेरमा बाल गीतको एल्बम निकालेका उनले १५ वर्षको उमेरमा पप शैलीको अर्को एल्बम निकाल्ने सोच बनाए । नयाँ एल्बम बनाउने सोच बनारहँदा यता ‘द स्याडोज नेपाल’ ब्यान्ड भोकलिष्टविहीन थियो । ब्यान्डले उनलाई फ्रन्टम्यान बन्न अफर गर्‍यो । त्यसको दुई वर्षपछि अर्थात् १७ वर्षको उमेरमा ब्यान्डमा भित्रिए ।

‘निर्णय लिन दुई वर्ष ?,’ मेरो प्रश्न थियो । उत्तरमा उनले भने, ‘ब्यान्डमा आबद्ध हुनु मेरो लागि निकै कठिन निर्णय थियो किनभने पहिलादेखि नै म सोलो (एकल) गीतहरु गरिरहेको थिएँ ।’

यसबारे उनले आमाबुबालाई सोधे । छोरा ‘रक म्युजिक’ मा लागेर बिग्रने पो हो कि ? आमाबुवाको मनमा चिसो पस्यो । किनभने १५ वर्ष अघिसम्म ‘रक म्युजिक’ प्रतिको धारणा नकारात्मक थियो । लामो कपाल पाल्ने, चिच्याएर गीत गाउनुलाई ‘बिग्रिएको’ संज्ञा दिइन्थ्यो । ब्यान्डमा पहिले नै लामो कपाल भएका सदस्य देखेका उनका आमाबुवा यस्तो आमधारणाबाट बच्न सकेनन् । ‘सुरुमा परिवारबाट अनुमति पाउन अलिकति अप्ठेरो थियो,’ उनले भने । 

तर आमाबुवाको मन न हो । छोराछोरीको खुसीलाई आफ्नो खुसी ठान्ने । स्वप्निलले सुन्ने गीतहरु परिवर्तन भइसक्यो भनेर उनका बुवाले राम्ररी बुझिसकेका थिए । ‘म पाश्चात्य संगीततिर ढल्किसकेको थिएँ । म रक संगीत, स्लो रक गीतहरु सुन्न थालिसकेको थिएँ,’ यति भनिराख्दा आफ्नो बेस भने क्लासिकल नै भएको उनले स्पष्ट पारे । ‘म अहिले पनि मज्जाले क्लासिकल गीत गाउन सक्छु,’ उनले सुनाए ।

त्यसपछि उनको बुवा आफैले ब्यान्डमा आबद्ध हुन सल्लाह दिए । त्यतिबेलाले बुवाले भनेको कुरा सम्झिँदै उनी भन्छन्, ‘तिम्रो ‘लाइफ’ हो, तिम्रो ‘च्वाइस’ हो । यदि तिमीलाई मन लागेको छ भने एकचोटी ट्राई गर । तिमी सानै छौ । तिमीलाई यदि ब्यान्डमा बस्न मनपरेन भने फेरी छोड्लाउ ।’

बुवाको यस्तो कुरा चित्त नबुझ्ने कुरै भएन । त्यसपछि सुरु भयो उनको ब्यान्डको करियर ।

सामाजिक विषय मात्रै उठान गर्ने निर्णय कसरी ?

‘टिन एज’मा नै सामाजिक विषयबारे मात्रै गीत गाउँछु भनेर कसरी निर्णय लिनुभयो ? उनले यसलाई आफ्नो ‘उरन्ठ्याउलो’ निर्णयको संज्ञा दिएका छन् ।

ब्यान्डमा आबद्ध हुने बेला आफूलाई हार्ड रकबारे खासै जानकारी नभएको उनले स्वीकारे । स्याडोजलाई आफूले पहिलादेखि नै सुन्ने गरेको र उनीहरुको विभिन्न कन्सर्ट हेर्ने गरेको उनले बताए । ‘उहाँहरुको सबै गीत थाहा थियो तर त्यही ब्यान्डबाट आफ्नो सांगीतिक करियर गर्छु भनेर कहिले पनि सोचेको थिइनँ,’ उनले भने । तारा देवीको गीत छ नि ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन’ । उनको हकमा पनि त्यस्तै भयो । 

उनी ब्यान्डमा प्रवेश भए । एक दुई दिनमै ब्यान्डसँग निकै सहज पनि । नहुन् पनि कसरी, हँसिला, फरासिला, मिजासिला र निकै मेहनती जो छन् ।

सामाजलाई प्रतिबिम्बित गर्ने गीतहरुमात्र गाउने निर्णय चाहिँ किन भन्दा उनी भन्छन्, ‘हामीलाई अरुभन्दा पृथक हुनु थियो ।’ ‘मात्रै युनिक हुनका लागि,’ उनले दोहोराएर भने । उनीहरु हार्ड रकमा आउँदा ‘लेट्स नट डु लभ सङ्ग्स्’ भन्ने थियो किनभने उनीहरुलाई मात्र पृथक बन्नु थियो ।  समाजिक विषय उठान गरेर परिवर्तन नै ल्याउने सोच उनीहरुको थिएन ।

त्यतिबेला सांगीतिक बजारमा रक ब्यान्डका रुपमा रबिन तामाङ (रबिन एन्ड लुजाः), मुक्ति शाक्य (मुक्ति एण्ड रिभाइभल्स) लगायत स्थापित थिए । उनीहरुको आफ्नो खालको म्युजिक थियो ।

हार्ड रकले निम्त्याएको दुःखः

तर, पृथक हुन कहाँ सजिलो हुन्छ र ? जब उनीहरुले ‘हिँड्ने मान्छे लड्छ’ भन्ने एल्बम निकाल्ने तयारी गरिरहेका थिए तब उनीहरुलाई कसैले पनि समर्थन गरेनन् । ‘पहिला माया प्रेमका गीतहरु लिएर आउ, अनिमात्र एल्बम लिन्छौँ भनेर धेरैले भन्नुभयो,’ उनले भने ।

यस्तो गर्नैपर्ने त होला नि भनेर एकपटक उनीहरुले माया प्रेमका गीत कम्पोज पनि गरिसकेका थिए । ती गीतहरु रिलिज गरेको भए सायद आफ्नो ब्यान्डले पक्रेको दिशा नै फरक हुन्थ्यो होला ।

तर उनीहरुले आफ्नो ब्यान्डले खासमा गर्न के चाहेको हो ? मात्र चर्चा किन आफ्नो संगीतबाट केही सन्देश दिने पनि ? यसबारे पुनः घोतलिए । त्यसपछि मात्र उनीहरुले बल्ल महसुस गरे कि उनीहरुले जुन ‘सामाजिक सन्देश’ को ट्याग भिर्न खोजेका थिए त्यो पृथक हुनका लागि मात्र थिएन । ‘हामीलाई लाग्यो कि समाजमा एउटा यस्तो ब्यान्ड हुनैपर्छ जसले समाजबारे मात्र कुरा गरोस्, नयाँ विषयको उठान गरोस्, नराम्रो कुराको विरुद्धमा आवाज उठाओस् । सरकारसँग कसैले निहुँ खोज्न सक्दैन भने त्यसको विरुद्धमा हामीले आवाज उठाउनैपर्छ भन्ने हामीलाई लाग्यो,’ उनले भने ।

यो सन् २००६ तिरको कुरा हो । उनीहरुले कठोर निर्णय गरे, कसैले आफ्नो गीत नलिओस् तर आफ्नो मान्यताबाट पछि नहट्ने । आफूहरु बरु यत्तिकै बस्ने तर सामाजिक सन्देश बोकेको गीत मात्र गाउने, माया–प्रेमसम्बन्धी गीत कदापी नगाउने । ‘हाम्रो जुन उद्देश्य थियो त्यसबाट भड्किएर हिँड्ने छैनौँ भनेर त्यतिबेला रियलाइजेशन भएको थियो,’ स्वप्निलले भने ।

‘गर’ वा ‘मर’को स्थितिः

आफ्नो ब्यान्डलाई स्वप्निल एउटा परिवार भन्न रुचाउँछन् । अनि परिवार भनेपछि सानो तिनो ठाकठुक कसको नहोला र ? स्याडोज भनेको पाँचजना सदस्य भएको एउटा परिवार थियो । तर, नेपालको स्थितिले गर्दा ब्यान्डलाई टिक्नै गाह्रो हुन थाल्यो ।

‘यहाँ हाम्रो खाले संगीतको स्कोप देखिरहेका थिएनौँ । हार्ड रक ब्यान्ड त्यसमाथि पनि सामाजिक विषय मात्र उठान गर्ने । यहाँ निकै गाह्रो भइसकेको थियो,’ उनले भने ।

त्यसपछि ब्यान्डका केही सदस्यले नेपाल छाड्ने निर्णय लिए । यो ब्यान्डका पाँचजना सदस्यमध्ये तीनजना अष्ट्रेलिया लागे र बाँकी दुईजना नेपालमा भए ।

सबैको प्राथमिकता परिवर्तन भइसकेको थियो । कसैको परिवार भइसकेको थियो, अष्ट्रेलियामा भएका साथीहरुले आफ्नै तरिकाले दुःख गर्नुपरिरहेको थियो । यता, नेपालमा बाँकी रहेका सदस्यलाई नेपालमा गाह्रो भइरहेको थियो । ब्यान्डले नयाँ संगीत दिन सकिरहेको थिएन ।

‘प्रत्येक कन्सर्टमा १० वर्ष अगाडिको ‘प्रकृति, हिँड्ने मान्छे लड्छ’ गाएको छ, यसरी हामीले दर्शकलाई झुक्काइरहेको जस्तो महसुस हुन थाल्यो,’ उनले भने ।

त्यसपछि अन्य सदस्यसँग निकै सिरियस भएर ‘कि त गर्ने कि मर्ने’ भनेर सल्लाह गरेको उनले बताए । तर, एल्बम निकाल्नु र गीत निकाल्नुबीच धेरै फरक भएको उनी बताउँछन् । ‘एल्बम निकाल्दा ‘ए एल्बम चाँहि निकालेछ’ भन्ने हुन्छ । गीत निकाल्दा चाँहि ‘अँ खै के आयो के गयो’ भन्ने हुन्छ ।

स्वप्निल नामको अर्थ हो – सपना । उनले आफ्नो सपनालाई कहाँ मर्न दिन्थे र ? यता, ब्यान्डले पनि ‘मर्ने नभई गर्ने’ निधो गर्यो । त्यसपछि नयाँ एल्बम निकाल्ने निर्क्यौल भयो ।

कम्पोजिसनका लागि ब्यान्डका सदस्यहरु नेपाल आए । यसपटक गीतको विषय फ्यानहरुलाई छान्न लगाए । ब्यान्डले समाजिक सञ्जालमा स्टेटस नै लेख्यो, ‘समाजमा भएका कुन–कुन विषय तपाईंलाई एकदमै गहिरो लाग्छ, हामीलाई दिनुस् ।’

दुई तीनसय विषयबाट ८ वटा छान्न कम गाह्रो भएन । ‘वी फाइनल्ली केम अप विद द आइडियाज,’ उनले भने ।

केही हामी आफैंले पनि बनायौं । बसेर कम्पोज गर्दा उनीहरुलाई ‘दिस विल गोइङ्ग टु चेन्ज एभ्रीथिङ्ग’ (यसे सबैकुरा परिवर्तन गर्नेछ) भन्ने लागेको थियो ।

कम्तिमा उनीहरुले ब्यान्ड नछोड्ने पक्का भयो ।

‘के पाइस् नेपाली’?

के पाइस् नेपाली ? केरा !

सिन्का पनि नढाल्नेलाई मेयर बनाइस् तैले

भुत्रो पनि ननापिने लोकतन्त्र ल्याइस् तैले

दस कक्षा नि नपढेको मन्त्री बनाइस् तैले

चुट्किलाको मास्टरलाई प्रम बनाइस् तैले ।।

उनीहरु सरकार विरोधी त होइनन् तर सरकारका धेरैजसो निर्णय उनीहरुलाई चित्त बुझ्दैन । उनी भन्छन्, ‘नेपालमा भ्रष्टाचार छ, जुन विदेशी सहयोग आउँछ, त्यो त्यत्तिकै भस्म हुन्छ । यस्ता यावत् कुराहरुमा नेगेटिभ इम्प्रेसन छ ।’

उनीहरु २००७ सालको कुरा गर्न चाहँदैनन्, आफू जन्मिनु अगाडिको २०३५–३६ सालको पनि कुरा गर्न चाहँदैनन् । देशमा गृहयुद्ध सुरु हुँदा चितवनबाट काठमाडौं आउँदा कतिवटा ठाउँमा रोकिन्थ्यो, कसरी ब्याग खान तलासी गरिन्थ्यो र सेनाहरुबाट कति प्रताडित हुनुपर्थ्यो, त्यो अहिले पनि झल्झली सम्झन्छन् उनी ।

‘हामीले सबै तन्त्रहरु ल्यायौँ । राजतन्त्र हटाएर लोकतन्त्र, गणतन्त्र ल्यायौं । कुन चाँही तन्त्रबाट हामीले के पायौँ ?,’ उनी प्रश्न गर्छन् । हामी जनता बाटोमा आएर हामीले नै यी तन्त्रहरु ल्याएका हौँ तर हामीले चाँही के पायौँ ?’ उनले पुनः त्यही प्रश्न दोहोराए ।

‘के पाइस् नेपाली’ एल्बम उनीहरुले एकदमै फ्रस्टेशनमा ल्याएको रे । ‘हामीले सिधै भन्न खोजेको चाँहि के पाइस् नेपाली इक्वल्स टु केरा नै हो ।’ तर केरालाई नकारात्मक तरिकाले  प्रतिबिम्बित गर्न खोजिएको भने होइन । गीतमा केराका पनि विभिन्न श्रेणी छुट्याइएको छ । हरियो केरा, पहेँलो केरा, पाकेको केरा, काँचो केरा । यो विभिन्न राजनीतिक पार्टीलाई छुट्याउनका लागि भनिएको हो ।

‘तपाईं, हामी, नेपालीहरु सबैलाई गधा–बाँदर जे भनेपनि हुन्छ । हामीलाई राजनीतिक दलहरुले नचाइरहेका छन् र हामी उनीहरुको तालमा नाचिरहेका छौं । हामीले मनस्थितीमा उब्जेको कुराहरु किबोर्डबाट फेसबुकमा लेख्छौं, ट्वीटरमा लेख्छौँ । तर जब रियल टाइम एक्सनको कुरा आउँछ तब हामी कहिले पनि केही गर्दैनौँ । त्यसकारण यो गीत चाहिँ नेपालीहरु प्रति समर्पित छ । के पायौ त यतिका परिवर्तन पछि ? भनेर प्रश्न मात्र उठाउन खोजेको हो,’ उनले भने ।

गीतको शब्द चयनः

नयाँ छ नेपाल पुरानो गतिविधि

विजुली छैन रोकिएको छ प्रविधि

नयाँ छ सरकार, चुपचाप नेपाली

रुदैछ नेपाल, दुःखले पुरिएको छ नेपाली

स्वप्निलबाहेक ब्यान्डका अन्य सदस्यलाई शब्दमा खेल्न आउँदैन । ब्यान्डले सुरुमा एउटा थीम निकाल्छ । अन्य सदस्यले शब्दहरु चयन गर्दा कहिलेकाँही निकै हाँस्यास्पद सुनिन्छि, हाँसोले कोठा नै गुञ्जायमान हुन्छ । तर, अन्य सदस्यले ‘डिराइभ गरिएको लाइन’ बाट नै स्वप्निलले गीतका लागि लिरिक्स बनाउँछन् । ‘लिरिकल्ली डिराइभ चाँहि मैले नै गर्छु तर थिम ब्यान्डले नै क्रिएट गर्छ,’ उनले भने । 

उत्प्रेरणाः

त्यसो त स्वप्निलले माया प्रेमका गीत लेख्दै नलेख्ने भने होइनन् । फिल्मका लागि उनले यस्ता गीत कम्पोज गरिरहेका हुन्छन् । आफू एकदमै छिटो गीत लेख्न सक्ने भन्दै त्यस्ता गीत एक दिनमा नै लेखिदिने उनी बताउँछन् । तर ब्यान्डका लागि एउटा मात्र गीत लेख्न उनलाई तीन चार महिना लाग्छ । किनभने उनीहरुको गीत तथ्यपरक हुन्छन् । उनले भने, ‘१७ हजारलाई शहिद बनाइस् भनेको छु, यस्ता कुराहरु अनुसन्धान गर्दा बेस्सरी समय लाग्छ ।’

उनीहरुले आफ्नो मनमा लागेको कुरा मात्रै नभई मुद्दासमेत उठाएका छन् । जस्तै यसपटक उनीहरुले बलात्कारीलाई फाँसी दे भनेर गीतमार्फत् माग गरेका छन् ।

ऊ हाँसिनन्

सँधै मुस्कुराउने अनुहार त्यो

आज हाँसेन

ऊ बोलिनन्

सँधै गुनगुनाउने आवाज

आज गुञ्जिएन

‘बलात्कारीलाई फाँसी दे भनेर हाम्रो मनबाट त निस्कियो तर फाँसी भन्ने कुरा नै गहिरो कुरा हो । यसबारे हाम्रो ब्यान्डले निकै छलफल गरेको थियो । यसमा मानवअधिकारको कुरा पनि आउँछ । तर, हामीलाई अन्तिममा गएर के महसुस भयो भने यिनीहरुलाई त मानिस नै भन्न मिल्दैन । त्यसकारण यहाँ मानव अधिकार भन्ने कुरै आउँदैन । यो गीत लेखेको चार–पाँच महिना रेकर्ड पनि गरेका थिएनौं ।’

नेपाली समाजप्रतिको दृष्टिकोणः

उनी समाज र व्यक्तित्वलाई समानान्तर रुपमा हेर्छन् । उनी भन्छन्, ‘हामीले समाजलाई गाली गर्छौँ तर समाज त हामी आफैँ हौँ । समाजले यस्तो सोच्छ, यस्तो गर्छ भन्छौँ तर त्यो मनसाय र मनस्थिती हामी आफैले बोकिरहेका हुन्छौँ । जतिपनि कुरा हामीले समाजलाई लिएर गरिरहेका छौँ त्यो समाज हामी नै हौँ भनेर बुझ्नुपर्छ ।’

उनी समाजमा भइरहेको मुद्दाको कुरा गर्ने गर्छन् तर यहाँ जे जति हुन्छ त्यसको भागीदार उनी आफै पनि भएको स्वीकार गर्छन् । ‘मैले यदि कोही महिलाको कुरा गर्दैछु भने मैले सुरुमा आफ्नो धारणा परिवर्तन गरेर मात्र कुरा गरिरहेको हुन्छु । मैले बलात्कारीको बारेमा कुरा गरिरहेको छु भने त्यसबारे गीत लेख्न मैले आफ्नो महिलाप्रतिको दृष्टिकोण परिवर्तन गरेर मात्र लेख्न सक्छु जस्तो लाग्छ,’ उनले भने ।

यो छुटाउनुभयो कि ?

के थियो १९७४ एडीलाई एक गराउने त्यो ‘श्री’ संयोग ?

राजनीति के हो ?

राजनीति उनका लागि एउटा डरलाग्दो शब्द हो । उनी भन्छन्, ‘यसमा राज भन्ने शब्द छ । जसले हुकुमत लिन्छ त्यो मान्छे नै राजनीतिमा हुन्छ भन्ने यसबाट बुझ्न सकिन्छ ।’ उनलाई राजनीति कसरी व्याख्या गरिन्छ त्यो थाहा छैन तर जो सर्वशक्तिमान छ उसैले राजनीति लिड गर्छन् भनेर बुझ्छन् । 

नेपालको परिप्रेक्षलाई व्याख्या गर्दै उनी भन्छन्, ‘एउटा मान्छे राम्रो लागिरहेको हुन्छ । राजनीतिमा प्रवेश गरेपछि त्यो आलुजस्तो हुन्छ, त्यसमाथि पनि कुहिएको । ’

त्यसकारण अहिलेको समयम राजनीतिमा अलिकति ‘डरलाग्दो’ मान्छेको प्रवेश होस् भन्ने चाहन्छन् ।

कस्तो डरलाग्दो भन्दा – कसैसँग नझुक्ने, देशलाई हितमा राखेर स्वविवेकले निर्णय लिने । उनी भन्छन्, ‘नेपाली राजनीतिमा आफूले सोचेको भन्दा पनि अरुले भनेको गर्ने, छिमेकीले भनेको मान्ने, टेर्ने प्रवित्तिले नै हामी बिग्रिएको जस्तो लाग्छ ।’ ‘म एक ‘राउडी’ क्यारेक्टर भएको मानिस राजनीतिमा प्रवेश भएको दिन कुरिरहेको छु,’ उनी भन्छन् ।

देशमा गणतन्त्रपछि केही पनि परिवर्तन भएको उनी देख्दैनन् । बरु स्थिति थप दयनीय बन्दै गइरहेको उनको बुझाई छ । ‘अहिले युवाहरु विदेशमा गएर सेटल हुने बहाना खोजिरहेका छन्,’ उनी भन्छन्,’ यो निकै डरलाग्दो प्रवृत्ति हो ।’

उनी भन्छन्, ‘गणतन्त्रपछि पनि केही ‘ख्याँसेको’ जस्तो मलाई लाग्दैन ।’ 

सानो झिल्को आगो बन्न सक्छ

गीतमार्फत् उनीहरुले देश नै बन्ला भनेर कहिले पनि सोचेका छैनन् । देशमा जे भइरहेको छ, त्यसबारे गम्भीर भएर सोच्नुपर्छ भनेर यो उनीहरुको जागरुकता फैलाउने एउटा सानो कोसिस मात्र हो ।

तर, कहिलेकाहीँ गीत आवाजविहीनहरुको आवाज र बोल्न नसक्नेकाहरुका लागि प्रेरणा पनि बन्ने रहेछ । यसबारे उनी एउटा घटना सम्झन्छन्, ‘हामीले बलात्कार र यौनउत्पीडनबारे गीतमा कुरा उठायौँ । किनभने पीडित नारीहरु अझै पनि हाम्रो समाजमा बोल्न सक्दैन ।’

‘हामीले गीत निकालेपछि मेरो एकदमै मिल्ने साथी जो स्कूलमा सँगै पढ्थ्यौँ, जसलाई मैले सात कक्षादेखि देखेको थिइनँ । उनले मलाई तिम्रो गीतका कारण बाल्यकालमा आफूले भन्न नसकेको कुरा अहिले आमाबुवालाई भन्न सकेँ भनेर भन्नुभयो ।’

‘यसले मलाई अझै हौसल मिल्यो । अहिले सानो मात्र झिल्को लगाइदिन सक्यौँ भने एक दिन आगो आफैं बल्छ भन्ने विश्वास छ ।’

वर्षौंदेखि नाङ्गो छ, फेरि पनि हेर्दैछ

वर्षौंदेखि भोको छु फेरि पनि कुर्दैछु

भरोसामा लिए मौनव्रत

लाजै लाग्दो चित्र कोरिस् गाइजात्रा गरिस्....

टुक्रै टुक्रा पारिस् तैले

विश्वास जति चिरिस्

वेदनाले बेरिस् तैले

विश्वास जति चिरिस्

वेदानले बेरिस् तैले

राजनीति गरिस्

सुन अब तोड्दैछु मौनव्रत !!

विद्रोही रकस्टारः

उनका प्रशंसकले उनलाई विद्रोही रकस्टार भन्छन् । तर उनलाई भने आफूले अहिलेसम्म विद्रोह गर्न नसकेको ठान्छन् । उनी भन्छन्, ‘विद्रोही त नभनौँ । मभन्दा अघि पनि थुप्रै विद्रोही संगीतकारहरु हुनुहुन्छ जसले बोल्ने समेत स्वतन्त्रता नभएको बेला सत्ता हल्लाउने गीत गाउनुभएको थियो ।’

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ,’ जस्ता कालजयी गीतहरुले अहिलेसम्म पनि प्रेरित गर्ने उनी बताउँछन् । यस्ता  गीतहरु अहिले बज्दा पनि आफ्ना गीतहरु केही पनि होइन जस्तो उनलाई लाग्छ । ‘ती गीतहरुको शब्द कति मूल्यवान छन्, संगीत पनि कति चित्ताकर्षक छ । यस्तो खालको गीत भएको ठाउँमा त मलाई आफू कोही पनि होइन जस्तो लाग्छ ।’

‘आइ एम जस्ट ट्राइङ टु किप अप माई वर्डस्,’ उनले भने  ।

अहिले नै विद्रोह नै गरिहाल्ने आँट आफूसँग नभएको उनी भन्छन् । तर पछिसम्म त्यो पनि विकास हुनसक्ने उनको आशा छ । आफू त्यही लाइनमा भएको पनि उनले स्पष्ट पारे । गीतमार्फत् पनि आमूल परिवर्तन ल्याउन सकिने भए पनि आफूलाई नै आफूले त्यस्तो अहिलेसम्म केही गर्न सकेको जस्तो नलागेको उनले बताए ।

राजनीति गर्ने पक्षमा छैन, तर चाहिएको खण्डमा पछि हट्दिनँ:

स्वप्निलको बुझाइमा एउटा राजनीतिज्ञमा हुनुपर्ने पहिलो गुण भनेको उसको शिक्षा हो । त्यसपछि समाजप्रतिको बुझाई, समाजको उत्पीडितलाई बुझेर त्यसलाई उन्मुलन गर्न कदम चाल्न सक्ने योग्यता । त्यो शिक्षा र योग्यता आफूमा नपुग्ने उनको ठम्याइँ छ । ‘मलाई थाहा छैन, पछिसम्म मैले आफूलाई त्यो योग्यतासम्म पुर्याउन सक्छु कि सक्दिनँ,’ उनी भन्छन् ।

राजनीति गर्ने पक्षमा आफू अहिलेसम्म नभएको बताएपनि चाहिएको खण्डमा भने पछि नहट्ने पनि बताउँछन् । तर उनलाई डर छ – राजनीतिमा लागेपछि आफू पनि उही ड्याङको मुला बन्ने । उनले भने, ‘अहिलेको अवस्थालाई परिवर्तन गर्न जस्तो पात्रको कल्पना मैले गरेको छु, त्यो चाँहि म होइन ।’

ब्यान्डको भावी योजनाः

स्वप्निल र उनको ब्यान्ड स्याडोज नेपालले अबका दिन पनि नेपाली संगीतप्रति नै समप्रित गर्ने अठोट लिएका छन् । गीत कम्पोज गर्ने र रिलिज गर्ने कुरालाई निरन्तरता दिइरहने उनीहरुको सोच छ । अर्को वर्षसम्म ब्यान्डले एक दुइवटा गीतहरु सार्वजनिक गर्ने उनले योजना सुनाए । ‘के पाइस् नेपाली’को नयाँ म्युजिक भिडियो हप्ता दिनमा आउँदैछ । त्यस्तै, नयाँ एल्बमको अन्य गीतको लिरिकल भिडियो गर्ने योजनामा छ ब्यान्ड ।

प्रशंसकका लागिः

नेपालमा अझै पनि रक संगीत रुचाउने जमात निकै सानो छ । आफ्नो ब्यान्डलाई निकै सानो जमातले सुन्ने र बुझ्ने गरेको स्वप्निल आफै पनि बताउँछन् । तर यसमा आफूहरु खुसी भएको उनी बताउँछन् । ‘तर, अरुले कहिलेकाहीँ ‘चिच्याउने र कराउने’ मात्र भन्दा चाहिँ चित्त दुख्छ,’ स्वप्निल भन्छन् ।

‘कतिले रक गीत गाउनेहरुलाई बिग्रिएको मान्छे भनेर बुझ्नुहुन्छ,’ उनले सुनाए । अभिभावकले पनि छोराहरु यसरी हिँडे भने त बर्बाद हुन्छ भन्ने तरिकाले आफूलाई लिने गरेको उनी बताउँछन् । यसबारे स्पष्टिकरण दिँदै उनले भने, ‘हाम्रो बाहिरी रुपले गर्दा मानिसले हाम्रो बारे धारणा बनाउँछन् । तर, हामी यस्तो ब्यान्ड हौँ जसमा रक्सी चुरोट नखानेकै संख्या धेरै छ ।’ स्वप्निल आफै पनि रक्सी चुरोट खाँदैनन्, शाकाहारी हुन्  । त्यही भएर आफूहरुको संगीत सुन्नुभन्दा अगाडि मानिसहरुले आफ्नो धारणा परिवर्तन गर्नुपर्ने उनी बताउँछन् ।

‘सत्ताप्रति जनताको आक्रोश छ । त्यो आक्रोशलाई व्यक्त गर्नका लागि हामीले हार्ड रकको विकल्प देख्दैनौँ,’ उनी भन्छन्, ‘त्यो अग्रेसन यही संगीतमा मात्र देख्छौँ, प्यासन यही संगीतमा मात्र पाउछौँ । संगीत सबैलाई मन नपर्न सक्छ । तर, गीतको शब्द हेर्नुभयो भने त्यो मनपर्नेछ ।’

गीत गाउन अवरोधः

स्वप्निल र उनको ब्यान्ड  राजनीतिमा संलग्न छैनन् तर राजनीतिक मुद्दा उठाउने भएकोले प्रहरी प्रशासनको निशानामा भने रहिरहे । चाहे त्यो लामो कपाल पाल्न नहुने होस् वा बेलुुका ६ बजे नारायणी नदीमा साथीहरुसँग बसिरहेको बेला हिरासतमा कोचेको घटना होस् । काठमाडौँको जावलाखेलमा एकपटक पुलिसले उनीहरुको कन्सर्ट नै अवरोध गरे । स्याङ्जामा माइक थुतियो, त्यो भिडियो त भाइरल पनि भएको थियो । यस्तै, घटना चितवनमा पनि दोहोरिएको थियो ।  तर आफ्नो ब्यान्ड हार्ड रक भएकैले उनीहरुको गीत सम्बन्धित व्यक्तिसम्म पुग्न नसकेको स्वप्निल स्वीकार्छन् ।

संगीतको परिवर्तित धारप्रति बेखुसः

प्रविधिको विकाससँगै नेपाली संगीतको धार पनि परिवर्तन भइरहेको छ । तर, यसमा स्वप्निल कत्ति पनि खुसी छैननन् । गीतहरु आउने एक हप्ता एकदमै भाइरल हुने, त्यसपछि दोस्रो हप्ता यत्तिकै सेलाउने । नेपाली संगीतले पक्रेको पछिल्लो बाटोबाट उनी सन्तुष्ट छैनन् ।

उनी भन्छन्, ‘नारायण गोपाल, भक्तराज आचार्य, तारादेवीका गीतहरु कालजयी छन् । हाम्रै रबिन दाइको कुरा गर्नुपर्दा उहाँको पुरानो गीत अहिलेसम्म पनि गाउँमा मानिसहरु निकै रमाइलो मानिरहनुभएको हुन्छ । त्यो खालको म्युजिकल जेनेरेसन चेन्ज भएको छ ।’ यसबारे हामी सबैले निकै गम्भीर भएर सोच्नुपर्ने उनको सुझाव छ । ‘भाइरल’ भन्दा ‘भ्यालु’ भएको गीतलाई प्राथमिकता दिनुपर्ने उनलाई लाग्छ ।

युवा साहित्यकार सुविन भट्टराईले भनेका छन्ः

संसारको सबैभन्दा ठूलो हतियार हरेक मानिसले आफैसित बोकेर हिँडेको हुन्छ । हिम्मत ! फरक यति हो लुकाउँछन् धेरैले, थोरैले देखाउँछन् !

स्वप्निल शर्माले सामाजिक विषय उठान गर्ने हिम्मत देखाएका छन् । आशा गरौँ, समाजको अन्धकारलाई हटाउन द स्याडोज नेपालको प्रयास खेर जाने छैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...