शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पटक-पटक ताकेता गर्दा पनि फिल्म हलले बुझाएनन् कर, २५ गतेभित्र नबुझाए कारबाहीमा उत्रने महानगरको चेतावनी

आइतबार, १२ साउन २०७६, १६ : ०६
आइतबार, १२ साउन २०७६

काठमडौं– काठमाडौका सिनेमा हलहरुले कर बुझाउन अटेर गरेका छन् । प्रदेश सरकारले लिने गरेको पाँच प्रतिशत मनोरञ्जन कर प्रत्येक हलले महिनैपिच्छे बुझाउनुपर्ने भएपनि हालसम्म पाँचवटा हलले आंशिक कर बुझाएका छन् ।

जसमा कुमारी हल, गंगा चलचित्र मन्दिर बालाजु, कलंकी सिनेमा प्रालि, पुष्पाञ्जली चलचित्र मन्दिर कोटेश्वर, सिद्धार्थ सिनेमा प्रालि छन् । काठमाडौं महानगरपािलकाका निर्देशक शिवराज अधिकारीले सिनेमा हलहरुलाई पटक—पटक ताकेता गर्दा पनि आनाकानी गरेर कर बुझाउन नआएको रातोपाटीलाई बताए । 

अधिकारीका अनुसार काठमाडौमा हाल ४४ सिनेमा घरहरु सञ्चालनमा छन् । सिनेमाहलले दर्शकबाट लिने पाँच प्रतिशत मनोरञ्जन कर बुझाएका छैनन । गत आर्थिक बर्ष २०७५÷७६ बाटै सिनेमाहलले ५ प्रतिशत मनोरञ्जन शुल्क बुझाउनुपर्ने प्रावधान भएको हो । प्रत्येक महिनाको २५ गते भित्र बुझाउनुपर्ने भएपनि एक आर्थिक बर्ष सकिएको १२ दिन भइसक्दा पनि करको दायरामा आएका छैनन् ।

काठमाडौं महानगर पालिकाले साउन ९ गते फेरी पत्रमार्फत २५ गतेभित्र कर बुझाउन ताकेता गरेको छ । मनोरञ्जन कर २०७४ अनुसार फिल्महरुले मनोरञ्जन कर तिर्नुपर्ने हुन्छ । 

अधिकारीले भने, ‘सिनेमा हललाई पटक पटक पत्र काटेरै तिर्न भनेका छौ । अब नतिरे कारबाही गर्छौ ।’ कर नतिर्ने हललाई के कारवाही हुन्छ भन्ने रातोपाटीको जिज्ञासामा निर्देशक अधिकारीले ती हलहरुले महानगरबाट पाउने कुनै सुविधा नपाउने उल्लेख गरे । उनले भने, ‘नक्सापास, बेचबिखन, नामसारी लगायतका सुविधा रोक्नेछौ । विद्युत सुविधा पनि रोक्नेछौ ।’ 

महानगरले उठाएको सो कर ६० प्रतिशत प्रदेश सरकार र ४० प्रतिशत केन्द्रमा जान्छ । नाटकघर, बाल उद्यान, दोहोरी साँझ, सिनेमा हल, साँस्कृतिक हल, क्यासिनो, फुटसलले टिकट प्रयोग गरि प्रतिव्यक्ति पाँच प्रतिशत महानगरलाई तिर्नुपर्छ । 

केएल सिटी  सिनेमा हलका  प्रवन्धक अरुण रिजाल फिल्महलले कहाँ–कहाँ मात्र कर तिर्ने भन्दै प्रतिप्रश्न गर्छन् । उनी भन्छन्, ‘महानगरले ५ प्रतिशत लिने, सरकारले १३ प्रतिशत लिने, विकास बोर्डले १५ प्रतिशत लिने गरेका छन् । हामीले सबै ठाउँमा कर बुझाएका छौ महानगरलाई मात्र नबुझाएका हौ ।’ समयमा  हल सञ्चालकहरुसँग छलफल नगरी आफु अनुकुल बनाएको कानुन हामी मान्दैनौ । उनले महानगरलाई कर नतिर्ने बताए । 
यता महानगर जसरी कर उठाउँने पक्षमा देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप