केन्द्रीय संस्करण

गुठी कसैको मुठीमा बन्धक बन्न सक्छ र ?

person explore access_timeसाउन १३, २०७६ chat_bubble_outline0

 गुठी शब्दको आसय, अर्थ, गर्व, कर्म र मर्मलाई बङ्ग्याएर नङ्ग्याएर दोतिहाइ बहुमत पाएको वर्तमान जनदरकारविहीन नेपाल सरकारको अज्ञानीपनको हाकोडाको भएको कार्यकारी देख्दा अचम्मित नै भइयो ।गुठी भनेको सामन्ती व्यवस्थाको अवशेष हो भनेर परिभाषित गर्ने मनुवा सूचना तथा सञ्चार मन्त्रालयजस्तो संवेदनशील र बौद्धिक सेक्टर हाँकेर अबौद्धिक एक्टर भएको देख्दा अनि सरकारको प्रवक्तासमेतको पगरी गुथेको दारुण दृश्यले मुटु मगज नै हल्लायो । ‘गुठी’ यो शब्द संस्कृत भाषाको गोष्ठी शब्दकै तद्भव रूप हो । सबभन्दा पहिले त गुठी भन्नाले धार्मिक वा परोपकारी कार्य सञ्चालन गर्नका लागि छुट्याइएको कोष, जग्गा वा दान दातव्यको राशि बोक्ने संस्था हो । जसको आयस्रोतबाट देवकार्य, पितृकार्य, जात्रा र हाम्रा सनातन संस्कार पूजाआजा श्राद्धादि कर्महरु र जनस्वास्थ्यका सुकार्य निष्पन्न हुन्छन् । त्यही गुठी शब्दमा ‘इयार’ भन्ने प्रत्यय लागेर गुठियार बन्दछ । गुठीको सदस्यको रूपमा रहेर सबैखाले सनातन संस्कारमा सामूहिक रूपले सहभागी हुने जुन कुनै व्यक्ति गुठियार भनेर चिनिन्छ । 

यतिखेर दोतिहाइको बहुमत पाएको सरकार गुठीलाई रुढी र अन्धविश्वासमा व्याख्या गरेर सबै गुठियारलाई अर्धचन्द्राकारको अलावा कठबाँसको लठ्ठीले स्वाँठ स्वाँठ पार्यो बा ? साँढेझैँ दम्भमा छँटाएर जनविरोधी कानुन बनाउन विधेयकका ताँती लगाउँदै संसदमा गाईजात्रा देखाइरहेको यो सरकारको अपकार हजार जिब्रा भएका शेष नागका हुलले पनि बताउन मुस्किल छ । प्रमुख प्रतिपक्षी एवं प्रतिपक्षी दल र सरोकारवालाहरुलाई नाथे जति पनि नगनी अनाथे बनाएको देख्दा लोकतन्त्रको मर्म भेदन गर्न न्वारनदेखिकै बल खर्च गरिरहेको गुह्य कुरोको चुरो बुझेँ मैले पनि । आफ्नो धर्म, संस्कृति तथा सनातन सभ्यता खल्तीखलाँस बनाएर पलाँसमा सुगन्ध भेट्टाउने ताता कम्रेडका राता कुराले सबैको हाता तातेको छ ।

यस्तो तल्लो स्तरको विधेयक सरकारले यथाशीघ्र फिर्ता लिनुपर्छ भनी उपत्यकालगायत देशभरमै जन दबाब व्यापक रूपमा बढ्दा पनि हाललाई फिर्ता भनेर लहडलाई नै बिर्ता बनाउने रणनीति कति भयकारी छ त गाँठे ? मिडिया काउन्सिल विधेयकले पत्रकारहरुको आन्दोलन र आक्रोश थाम्न धौ धौ परिरहेको बेला जनविरोधी कानुनको प्रारूप तर्जुमा गर्न खोज्नु सरकारको नालायकी वा अक्षमपन भन्नु अतिसयोक्ति हुँदैन भनेर नारदमुनिका हुलै कलमका घोचा उठाइरहेका छन् । मानव अधिकार, दूरसञ्चार तथा विश्वविद्यालयसम्बन्धी विधेयकहरु उत्तिकै तजबिजीमा ल्याइएको छ । हतार, आवेग र अदूरदर्शितामा निर्णय गरेर फुर्सदमा पछुताउने नेपालका कथित कम्युनिष्टहरुको बालखिल्लेपन उनीहरु सरकारमा रहँदा वा प्रतिपक्षमा भौतारिँदा यस्तै भएको इतिहास साक्षी छ । विभिन्न प्रकृति र विशेषताका गुठीलाई विवेकको धरातलबाट गिरेर एउटै डालोमा हाल्ने उनीहरुको अल्लारेपन सच्याउन धर्म, संस्कृति तथा सभ्यताभीरुहरुले पुलिसको लाठी, बुट, ग्याँस, पानीका फोहोरा खाएर सडकमा दमन खेप्नु कम्युनिस्ट तानाशाहीहरुका लागि सामान्य होलान् । तर जनदमनको यो नाङ्गो नाचलाई नेपाली जनताले छोड्ने छैनन् भनेर चेतावनी असरल्ल भएका छन् । 

 सबै गुठीलाई सरकार नामधारी लालसलामेहरुका मुठ्ठीमा कस्न जनताले नदिने भएछि सरकार असमञ्जसको स्थितिमा पुग्न बाध्य भएर मन्त्रीमार्फत फिर्ता गराएको पहिलो अङ्कको ड्रामा पटाक्षेप भएको छ । अर्थहीन युरोप भ्रमण सकेर आएका ओलीले उपत्यकाका नेकपाका पार्टी प्रतिनिधिलाई डाकेर संवाद गर्दा यस्तो विधेयक ल्याउन हुँदैन भनेर आवाज घन्किएपछि ओली सरकारको विधेयकको गोली (रसायन) झोलीमै पग्लने परिवेश खडा हुन पग्यो । निरङ्कुश राणा र राजाकै पदचापभन्दा पश्चगामी बनी अन्य राजनीतिक शक्तिगृह र सचेत जनतालाई दल्ने हेप्ने सरकारको घटिया मनोवृत्तिप्रति नेवारहरुको छाता सङ्गठन ‘नेवा देय् दबू र सङ्घर्षरत गुठियारहरुले विधेयक खारेज नगरेसम्म सरकारसित वार्ता नगर्ने तर आन्दोलनलाई चर्काउने अडानमा पुगेर थाल खाउँ कि भात खाउँ बनाएपछि मात्र चेत फिर्यो नयाँ राजा उपराजाहरुको ।

जीवनको बिहानदेखि चिहानसम्म गुरुतम् भूमिका खेलेको गुठीजस्तो सभ्यताको बिम्ब बोकेको संस्थालाई सामन्ती अवशेष भनेर होच्याउने रोगीहरुको पदीय आसनमा ठूलै रेक्टरको कम्प चल्यो । शास्त्रवचन पनि छ विवेक, इमान गुमेकाहरु मन्त्रणा गर्न योग्य हुन्नन् प्रधानमन्त्रीका लागि । यस्तो विप्लवी हर्कत गर्नेहरुलाई मानको खातिर मान दिने प्रधानमन्त्री ओलीको चरित्रले उनको जनप्रियता बिस्तारै गुम्दै र साख खस्कँदै गएको छ । नेकपाका वरिष्ठ नेताहरु माधव नेपाल जेएन खनाललगायतका पङ्क्तिलाई थाहै नदिई छलफलै नगरी ओली एकाधिकारवादी तरिकाले हिँड्दा उनको पार्टी भविष्य पनि धरापमा परेको देखिन्छ भनी प्रतिपक्षी र मिडियाहरु निकै कसिए । 

तिखो स्वरमा आमसञ्चार, नागरिक समाज, शताब्दी ख्यातनामा पुरुषहरु समेत मुठ्ठी कसेर भनिरहेका छन्– राजस्वमाथिको चरम भ्रष्टाचारले ऊध्र्व वायु (डकार) चलाएकाहरु गुठीको देवश्व भकुरेर पुनः अधोवायु चलाउने सुरमा हुनु देशकै लागि बिडम्बना हो । धर्म एक अफिम हो, सांस्कृतिक क्रान्ति अनिवार्य कदम हो भन्ने स्कुलिङमा हुर्किएका नेपालका कमाउनिस्ट जमातले देशमा द्वन्द्वको स्थिति निम्त्याइरहेका त छैनन् ? पञ्चामृत, पञ्चगव्य र गोपूजा बिर्सिएर होलीवाइन नरमूत्र पिउन पल्किएकाहरुबाट यो देशको मौलिकता मास्ने कुकाम हुन्छ कि ? अतः यो घडीमा देशको अस्मिता गुठी लालसलामेहरुको मुठीमा जिम्मा लगाउन जनता तयार छैनन् ।

दोहोरो चरित्र देखाएर सहिष्णु नेपाली समाजलाई ध्वंशतिर लैजान खोज्ने गलत हर्कतविरुद्ध जनता सडकमा निक्लिसकेका छन् । यतिखेरका राज्यचालक भई टोपलेकाहरु जनआवाजलाई सुनेर बेलैमा सच्चिनेतिर लागून् । जनता भनेका जनार्दन वा भगवान् हुन् भन्ने गुरुवाणी याद गर । नत्र भोलि आउने जटिल परिस्थितिको जिम्मेवार सरकार नै हुनेछ । गुठी कसैको पञ्जा वा मुठीमा बन्दी बन्दैन ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...