केन्द्रीय संस्करण

कथा : निरीह आमा

person explore access_timeसाउन १८, २०७६ chat_bubble_outline0

काठमाडौँको बालाजुस्थित नेपालटारको महादेव खोलाको पुलको दक्षिणतिरको कालोपत्रे सडकको किनारामा लहरै घर बनेका छन् । अबेर रातसम्म यो बाटो भएर आवतजावत गर्ने सवारी साधनको चर्काे आवाजले यो बस्ती पनि अबेरसम्म जागै रहन्छ । यहाँ बाक्लै पसल र होटेल खुलेका छन् भने मानिसहरूको बसोवास पनि बाक्लै छ ।

कुनै नयाँ विशेषता भने नबोकेको यो बाटो आवतजावत गर्दा यही लहरमा उभिएको एउटा घरमा खुलेको खाना खुवाउने होटलतिर मेरो ध्यान खिचिन थाल्यो । त्यो होटलतिर मेरो ध्यान खिच्ने माध्यम भने सधैँ त्यहीँ बसिरहने एउटी सानी लुरी काली कुकुरनी थिई । होटलकी साहुनीको वरपर देखिने त्यो कुकुरनी ब्याउने रहिछ । केही खान पाउने आशामा सधैँ त्यो होटल कुरिरहने त्यो दुई जिउ भएकी अबोध प्राणीले के खाई होली, कसरी त्यसका पेटका छाउरा हुर्केलान् भन्ने सोचले मलाई त्यता डोर्याउन थाल्यो । म त्यही बाटो हुँदै बिहान अफिस जाँदा र बेलुकी अफिसबाट फर्केपछि त्यसलाई अलिकति बिस्कुट र पाउरोटी दिएर मात्र हिँड्न थालेँ ।

एक दिन मैले उसलाई सधैँभन्दा फरक तरिकाले यताउता भौँतारिएको देखेँ । पछि मैले बुझेँ, उसको ब्याउने बेला नजिकिँदै रहेछ । त्यसैले ऊ आश्रयको खोजीमा यताउता भौँतारिएकी रहिछे । तर त्यो बिचरीले आश्रय कहाँ पाउनु ? वरपरका घरमा बस्ने कुनै पनि मानिसले उसलाई आफ्नो घर र घरको परिसरमा छाउरा जन्माउनका लागि बस्न छुट दिएका थिएनन्  । ऊ जता गए पनि लखेटिन्थी, घृणा र दुत्कार मात्र पाउँथी ।

एक दिन उसलाई खानेकुरा लिएर जाँदा होटलकी साहुनीले ऊ बिहानैदेखि काँपेको काँप्यै छे भनेर सुनाइन् । अब यसको प्रस्रव वेदना सुरु भएछ जस्तो लाग्यो । सुरक्षित ठाउँमा छाउरा पाउनका लागि ठाउँ खोज्दै वेदना रोक्दै गर्दा काँपेकी होली भन्ने अनुमान गरेँ । त्यसलाई सुरक्षित ठाउँको व्यवस्था मिलाउन नसकेर आत्मग्लानि भरिएको मन लिएर म पनि त्यहाँबाट हिँडेँ ।

आखिरमा राति त्यसले होटलकै एउटा कुनामा पाँच वटा सद्दे र एउटा मरेको छाउरा पाइछ । बिहान भएपछि मानिसहरूले सबै छाउरा खोलाको किनारमा फ्याँकिदिएछन् । बिचरी ऊ पनि छाउराहरूको प्राण रक्षाका लागि सँगसँगै धुलोमा लुटुपुटु भएर बसेकी रहिछ । आँखा नउघ्रेका छाउराहरू सुल्केर पानीमा झर्दा रहेछन्, माउ चाहिँ मुखले च्याप्दै माथि समथर ठाउँमा राख्दिरहिछ । एउटा माथि ल्यायो, अर्काे झर्दाेरहेछ मानिसको पुस्तौँ पुस्तादेखिको इमानदार साथी कहलिएको यो प्राणी मानिसहरूका बीच जन्मनुमा कसको दोष ? आफूलाई संसारकै सर्वश्रेष्ठ भएको स्वघोषणा गर्ने मानिसहरू नै एउटा निरिह प्राणीको जन्ममा किन यति क्रुर बनेका होलान् ? यो प्रश्नले मलाई घच्घच्याउन छाडेन र त्यहाँ उपस्थित अरू मानिससँग सल्लाह गरेर उनीहरूको सहयोगमा खोला किनारमै एउटा छाप्रो बनाइयो ।

यसपछिका केही दिन यो अबोध प्राणी र त्यसका कलिला छाउराहरूको जीवनरक्षाका लागि खाना दिने, छाप्रोमा औषधि छर्कने काम मेरो दिनचर्या नै बन्यो । दुई हप्तासम्म त छाउराहरूको आँखा पनि राम्ररी खुलेको हुँदो रहेनछ । तिनीहरू केवल आमाको दूधको भरमा बाँच्दा रहेछन् । माउ चाहिँले कुनै पनि बेला खोलामा भेल आउँछ भन्ने भेउ पाएर हो कि पालैपालो गरेर छाउराहरूलाई मुखमा च्याप्दै खोला माथि उक्लेर घरहरूको  छिँडी वा भर्याङ जस्ता ठाउँमा छाउराहरू राख्ने प्रयत्न गर्न थाली । मानिसहरूले अलिअलि आँखा खुल्दै गरेका ती अबोध छाउरालाई देख्नै सकेनन् । एकै दिनमा पाँच पटकसम्म पनि उसले बचराहरु खोलाबाट माथि ल्याउने र मानिसले फिर्ता पठाउने कार्य भयो ।

दुई हप्तापछि छाउराहरूको आँखा बिस्तारै खुल्न थाल्यो । त्यसपछि माउ चाहिँले वर्षा  आइसक्यो । अब स्थिति ठीक छैन भनेझैँ गरी पालैपालो सबै छाउरालाई मुखमा च्यापेर एउटा घर सुरक्षित मानेर बच्चा त्यहाँ लैजाने प्रयास गर्न थाली । यस क्रममा उसले टोलभरिका मानिसविरूद्ध सङ्घर्ष नै गर्नुपर्यो ।  ऊ एउटा छाउरो राखेर अर्काे लिन खोलामा झरेको बेलामा मानिसले अघि राखेको छाउरो फेरि खोलामा नै ल्याएर छाडिदिँदा रहेछन् । तर आखिरमा जित माउकै भयो, मानिसहरू आजित भएरपछि हटे, उसले पाँचवटै छाउराहरू एउटा घरको भर्याङ मुन्तिर राख्न सफल भई ।

तर चार दिन नबित्दै उसका दुइटा छाउरा मरेछन् । मानिसहरूले तिनलाई खोलामा फ्याँकिदिए । अर्काे एउटा पनि रातभर कूँ कूँ गरेर बिरामी भई बसेको, लौ यसले त डिस्टर्ब गर्यो भनेर मानिसले सास नथामिदै बिचरोलाई खोलामै फ्याँकिदिएछन् क्यारे, अर्काे दिनदेखि त्यो छाउरो पनि कतै देखिएन ।

बाँकी रहेका दुई छाउरा र माउलाई खाना दिन म त्यहाँ पुगिरहेकै थिएँ । छाउराहरू दिनहुँ टाठा भइरहेका थिए । अब त यिनीहरू मर्दैनन् जस्तो लाग्दै थियो । त्यतिकैमा यहात फोहोर भयो रे भनेर माउले शरण लिएको घरका मानिसले फेरि तिनीहरूलाई खोला छेउ नै लगेर थचारेछन् । यस पटक तिनीहरूले सानो खोर जस्तो बनाएर त्यसबाट छाउरालाई माउले खोरबाट मुखले च्यापेर बाहिर निकाल्न नसक्ने गरी जेल जस्तो बनाइदिएछन् । भित्रबाहिरसम्म गर्न मिल्ने तर अब माउले छाउरा कतै निकालेर बाहिर लिएर जान नसक्ने भई ।

जुन १, २०१९ को दिन शनिबार परेकाले म घरमै थिएँ । त्यो दिन करिब चार बजे अचानक मुसलधार वर्षा सुरु भयो । १५ मिनेटकै असिना पानीले राजधानीका सबै खोलामा ठूलै भेल आएछ । महादेव खोलाको भेलले ती  माउ र छाउरालाई सकसमा पो पार्यो कि भन्ने आशङ्काले म महादेव खोलाको त्यही स्थानमा हतारिँदै पुगेँ । मैले केही वरैबाट मानिसहरू लहरै उभिएर खोलातिर तमासा हेरिरहेको देखेँ । कतिपय मानिसहरू त चटकेको जादु हेरे जसरी खुशी भएर हाँसिरहेका थिए । भएको के रहेछ भने खोला बढेर छाउराहरू राखेको छाप्रो आधा डुबिसकेको रहेछ । माउ चहिँ आत्तिएर छाप्रोको छतमा उक्लेकी रहिछ, मानिसहरूले  ठूलो ‘चतुर्याइँ’  गरेर थुनिदिएका छाउराहरू निस्किन नसकेर आर्तदान गरिरहेका, माउ  अत्यन्त असहाय र विवस बनेर  डुब्नै लागेको छाप्रोमाथि चढेर त्यहीँ फनफन घुमिरहेकी, यस्तो अत्यन्त कारूणिक क्षण पनि कतिपयका लागि त मनोरञ्जन बन्दोरहेछ ।

कथामा सुनिएजस्तो, मध्ययुगीन क्रुर शासकहरू मानिसलाई मारेको हेरेर आनन्द लिन्थे रे । प्रकारान्तरमा यो दृश्य पनि त त्यही कथा जस्तै त थियो ।

मैले ती मानिसलाई खोलाबाट तिनीहरूलाई बचाउनुपर्याे भन्ने कुरा राख्दा, सबैले हुँदैन, आफै पनि मरिन्छ भनेकाले म पनि त्यो कारूणिक दृश्य टुलुटुलु हेरिरहन बाध्य भएँ ।

पानी बढ्दै गयो, माउले छाउराहरूलाई त्यो खोरको छप्पर च्यतेर भए पनि तान्ने अन्तिम प्रयास गरी तर सकिन । अघिदेखि छाउराहरुको तीखो च्याँ च्याँ अर्तनाद अब सुनिन छाड्यो । पानीले छाप्रो नै डुबायो र बगाउँदै लग्यो । छाउराहरूको प्राण पखेरू उडिसकेछ क्यारे,  माउको मात्र कूँ कूँ सुनियो । केही छिनमा बग्दै गरेको छाप्रो देखिन छाड्यो ।

आफ्ना छाउराको छाप्रो अलप भइसक्दा पनि माउ यता उता बौलाहा जसरी दगुरी रहेकी थिई । ऊ पनि डुब्ली भनेर मैले माथि आउ भनेर कराएर बोलाइरहेँ । उसले बल्ल बल्ल एक पटक यसो हेरी, सायद चिनी क्यारे, जसोतसो खोलाबाट माथि सडकमा आई । खोलाको भेल स्वाँ स्वाँ आवाजका साथ बगिरहेको थियो । मैले उसलाई खानेकुरा दिएँ तर वेदनाको पराकाष्ठामा रहेकी त्यस निरिह प्राणीले खानेकुरा पनि खाइनँ । म साँझ परेपछि घर फर्कें । त्यो रातभरि छाउराहरूकै खोजीम यताउता भौँतारिइरहेकी थिई ।

त्यो घटनापछि भोलिपल्टदेखि पसलको पेटीमा आएर बसेकी त्यो एक्ली माउ तीन दिनसम्म भोकै बसिरही । घरीघरी खोलातिर हेर्दै काँप्दै गरेकी त्यसको आँखा चिप्राले ढाकेका थिए, त्यो बेस्कन दुब्लाएकी थिई ।  उसको सम्पूर्ण ध्यान खोलातिरै थियो । खोला सुसाइरहेको अवाजबीच कतै  आफ्ना बच्चाको आवाज नि आउछ कि भनी परको आवाजहरुमा कान थापेर बस्थी । त्यो अबोध प्राणीलाई अझै पनि आफ्ना प्यारा छाउरा भेट्छु कि भन्ने लागेको थियो होला । गान्निएको दूधले उसको मातृत्वलाई घरीघरी झक्झक्याउँथ्यो होला ।

धेरै दिन बितिसकेपछि पनि उसलाई खाना दिन पुगेको बेलामा देखेँ । उसले पहिले जस्तो उत्साह देखाएर पुच्छर हल्लाउन छाडी सकेकिथिई । सायद  उसको मनमा ‘मेरा कलिला सन्तानको मृत्युको अपराधी यो पनि त हो’ भन्ने लाग्यो होला । म तिम्रो अपराधी होइन भन्न सक्ने अवस्थामा त म पनि थिइनँ । किनभने मैले पनि उसका छाउराहरूलाई जोगाउन त सकिनँ । मेरो घरमा पहिल्यैदेखि सडकमा दुःख पाएका, धेरै बिरामी भएका चारवटा कुकुर भएकाले त्योभन्दा बढी कुकुर लगेर राख्ने ठाउँ नै थिएन । उसलाई मेरो सहयोग खाली बोक्रे खालको मात्र भयो । तर यस्तो दुःखान्त घटना फेरि फेरि नदोहोरियोस् भनेर मैले बालाजुको निहारिका स्कुलमा शिविर लागेको बेलामा त्यो माउलाई लगेर बन्ध्याकरण गराइदिएँ । अब उसले बर्सेनि छाउरा जन्माएर मानिसहरूको व्यवधान सहँदै तिनलाई हुर्काउनु पर्ने र असामयिक मृत्युवरणको शोक खप्नुपर्ने असहनीय पीडाबाट यो जुनीभर मुक्ति पाउने भई ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । हाम्रो रखबारी गर्ने हजारौँ कुकुरको नियति यस्तै त छ । मन्दिरको गजुर देखियो भने पनि ढोग्ने बानी परेका हामीले त्यहाँ बस्ने ईश्वर के गर्दा खुशी हुन्छन् भन्ने चाहिँ कहिल्यै सोचेनौँ । हामी मानिसको त के कुनै पनि प्राणीको पीडा र मृत्युको कारण नबनौँ । सकिन्छ भने आफ्नो आयको थौरै अंश खर्च गरेर भए पनि प्राणीको सेवा गरौँ । महाकविले ‘यात्री’ कवितामा पनि त यही कुरा भन्नु भएको छ ।

मलम लगाऊ आर्तहरूको चहर्याइरहेको घाउ

मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...