बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन्दर छालाको लागि पिलिङ : कस्तो अवस्थामा गर्ने ?

शनिबार, १८ साउन २०७६, १० : २७
शनिबार, १८ साउन २०७६

कुनै समय थियो छालाको समस्यालाई समस्याको रुपमा नै हेरिँदैन थियो । छालामा केही समस्या भएमा बेवास्ता गरिन्थ्यो । तर अहिले समय फेरिएको छ । छाला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो र छाला स्वस्थ्य हुन जरुरी छ भन्ने बारेमा मानिस सचेत बनेका छन् ।

त्यही भएर मानिसहरु छालालाई सुन्दर बनाउन आजभोलि विभिन्न प्रकारका कस्मेटिक उत्पादन प्रयोग गर्छन् । तर, छालाको सुन्दरताका लागि भन्दै उत्पादित विभिन्न कस्मेटिकहरुले छालाको सुन्दरतामा सुधार होइन कि नकारात्मक असर गरिरहेको हुन्छ । यस्ता नकारात्मक असरबाट बच्नको लागि आफ्नो छालाको अवस्था र समस्याबारे चिकित्सकको सल्लाह लिनु अत्यावश्यक छ ।

छालाको सुन्दरताका लागि गरिने विभिन्न उपचार पद्धति मध्ये एक हो पिलिङ । यदी तपाईंको छाला रुखो, तैलिय छ अथवा दाग, धव्वा, चयाँपोतो अनि चाउरीपना छ भने पिलिङले सामान्य अवस्थामा ल्याउँछ ।

मेडिकल पिलिङ एउटा यस्तो प्रविधि हो जसले छालालाई सुधार गर्छ र साथै थप सुन्दर बनाउँछ । मेडिकल पिलिङले अनुहार, घाँटी, हात लगायतका छालालाई स्वस्थ्य, मुलायम र चमकदार बनाउन मद्दत गर्छ ।

वास्तवमा पिलिङ के हो र यसले कसरी असर गर्छ भन्नेबारे पहिलो पटक नेपालमा पिलिङ र लेजर प्रविधि भित्र्याउने वरिष्ठ छाला रोग विशेषज्ञ प्रो.डा. धर्मेन्द्र कर्ण

पिलिङ

सामान्य अर्थमा बुझ्दा पिलिङ भनेको छालाको माथिल्लो सतहलाई हटाउनु हो । पिलिङले पुरानो, नराम्रो तथा अन्य अरु कालो दागहरु हटाएर नयाँ छाला ल्याउन मद्दत गर्छ ।

छालालाई चम्किलो बनाउन, डन्डीफोर र त्यसका दागहरु हटाउन, चायाँ पोतो, चाउरीपन तथा अन्य दागहरु हटाउन पिल एउटा उत्तम उपाय हो ।

पिलिङ धेरै किसिमको हुन्छ । मुख्यत तीन किसिमको पिलिङ चल्तिमा छ र यसलाई छालाको अवस्था अनुसार गर्ने गरिन्छ ।

१. केमिकल पिल (औषधी लगाएर गरिने)

२. लेजर पिल (लेजरबाट गरिने)

३. फिजिकल पिल (छालालाई तानेर गरिने)


लेजर : फेसन कि बाध्यता ?

जाडोमा कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ ? यस्ता छन् समाधानका उपाय

जाडोमा छालाको स्याहार कसरी गर्ने ?


केमिकल पिल

औषधी लगाएर गरिने पिल केमिकल पिलिङ हो । यसले छालाको माथिल्लो कोषहरुलाई नरम बनाइदिन्छ । जसरी ईट, सिमेन्ट अनि ईट जोडेर कुनै संरचना बनाइन्छ त्यसैगरी हाम्रो छालाको सतह पनि बनेको हुन्छ ।

केमिकल पिलले छालाको बीचमा रहने कोषलाई नरम गरिदिन्छ । यसले कोषहरुलाई छुट्याईदिन्छ । केमिकल पिलले मरेको छालाको सतहलाई छुट्याएर निकाल्ने काम गर्छ ।

केमिकल पिल तीन किसिमको हुन्छ ।

–सुपर फिसिअल

नेपालमा ९५ प्रतिशत सुपर फिसियल पिल गरिन्छ । केमिकल पिल प्रायः बाक्लो छालामा गरिने भएकाले सुपर फिसिअल पिल बढी प्रयोग हुन्छ । सुपर फिसियल पिल छालामा चमक ल्याउन, चाया पोतो हटाउन, मखियाहरु हटाउन गरिन्छ । सुपर फिसियल पिलमा प्रायः प्रयोग हुने भनेको अल्फा हाइड्रोक्सी एसिड (ग्लाइकोलिक एसिड) र बिटा हाइड्रोक्सी एसिड हुन् ।

अल्फा हाइड्रोक्सी एसिड प्राकृतिक वस्तुबाट बनाइएको हुन्छ । जसमा प्रायः उखुको रस प्रयोग गरिन्छ । यो प्राइमरी पिल हो । पिलिङ गर्दा पहिले यो पिलको प्रयोग हुन्छ जसले छालालाई नरम र खुकुलो बनाउन मद्दत गर्छ । र यसले मरेका कोषहरुलाई निकाल्ने काम गर्छ । प्राइमरी पिल गरेपछि छालाको प्रतिकृया हेरेर मात्र अन्य पिलको प्रयोग गरिन्छ । समस्या अनुसार पिल पनि फरक फरक हुन्छन् ।

–मिडियम पिल

मिडियम पिलिङ कमै मात्र गरिन्छ । यो पिल गर्दा छालाको सतह नै उप्किन्छ र छाला रातो हुन्छ । यस्तोमा दाग बस्न सक्ने सम्भावना हुने भएकाले विशेष अवस्थामा बाहेक सामान्य अवस्थामा यो पिल गर्नु हुँदैन । डन्डिफोरका खत खाल्डो पर्ने गरी बसेको छ भने मात्र मिडियम पिल गरिन्छ ।

–डिप पिल

डिप पिल नेपालमा एकदमै कम गरिन्छ । डिप पिल गर्दा छालामा घाउ नै हुन्छ । गहिरो चोट तथा दागमा डिप पिल गर्नुपर्ने हुन्छ । गर्नै पर्ने अवस्थामा मात्र ढिप पिल गरिन्छ । यो पिल गरे पनि घाउ नै हुने भएकाले निको हुन केही समय लाग्छ । गहिरो चोटको खतमा डिप पिल गर्दा भित्री छाला पलाएर माथि ल्याउने काम गर्छ ।

पिलिङ एक किसिमको कला नै हो । कुन पिल कस्तो अवस्थामा गर्ने भन्नेबारे राम्रोसँग बुझ्न सक्नुपर्छ । सिधै पिलिङको विधिमा जाने हो भने छालालाई असर गर्न सक्छ । पिलिङ गर्दा छालाको प्रतिकृयालाई विशेष ध्यान दिने हो भने परिणाम राम्रो आउँछ ।

लेजर पिल

लेजर पिल अलि एग्रेसिभ हुन्छ । यो पिल गर्दा छाला अलि रातो हुने सम्भावना हुन्छ । तर केही दिनमै सामान्य अवस्थामा आउँछ ।

फिजिकल पिल

मेसिनको माध्यमबाट छाला तानेर गरिने फिजिकल पिलिङ हो । यसले मरेको छाला (डेड स्किन)लाई तानेर फालिदिन्छ ।

पिल गर्ने विधि

पिल गर्नुभन्दा पहिले छाला विशेषज्ञले छालाको पहिचान गरेर त्यस अनुसारको उपचार शुरु गर्ने गर्छन् । पिलिङमा प्रयोग गरिने औषधीहरु लगाई १–२ मिनेट पछि सफा गरिन्छ । जसको असरले छालाको माथिल्लो तह चम्किलो भएर जान्छ । यस किसिमको उपचार १ देखि ६ पटकसम्म गरिन्छ । केमिकल पिलले गहिरो खाल्डो, दागहरु तथा धरै चाउरीपनहरु हटाउन सक्दैन त्यसको लागि लेजर वा सर्जरीको आवश्यकता पर्दछ ।

पिलिङ गरिसकेपछि छालाको स्याहार

पिल गरिसकेपछि तीन दिनसम्म फेसवास, साबुन वा तातोपानी प्रयोग गर्नुहुँदैन । घामबाट सकेसम्म बच्ने कोशिस गर्नुपर्छ । सन स्क्रिन क्रिमहरुको प्रयोग निरन्तर गरिरहनु पर्छ । डाक्टरको सल्लाहअनुसारका क्रिमहरुको प्रयोग गर्नुपर्छ । अनुहार चिलाएमा, पोलेमा वा रातो भएमा मोयस्चराइजरको प्रयोग बढी गर्नुपर्छ ।

पिलिङको साइड इफेक्ट

पिलिङ संसारको सबैभन्दा सस्तो र लोकप्रिय एन्टी एजिङ विधि मानिन्छ । पिलिङको कुनै पनि साइड इफेक्ट हुँदैन । तर डाक्टरको सल्लाह अनुसार छालाको हेरचाह भएन भने चाहिँ रातो हुने अथवा अन्य समस्या आउन सक्छ ।

पिलिङ गर्दा घाउ खटिरा भएको, धेरै सुख्खा छाला, घामको एलर्जी हुने समस्या छ भने छालालाई तयारी गर्न समय लाग्छ । सामान्य छाला छ भने तुरुन्तै गर्न पनि सकिन्छ तर केही समस्या छ भने त्यो समस्याको समाधान गरेर मात्रै पिलिङ गर्नुपर्छ । 

पिलिङ गरेपछि छालाको विशेष ख्याल राख्नुपर्छ । केही दिन घामबाट बच्ने र डाक्टरको सल्लाहअनुसारको औषधी वा क्रिमहरुको प्रयोग गर्ने हो भने यसको कुनै पनि नकारात्मक असर हुँदैन । पिलिङ गर्नु पूर्व र पछि विशेष खालको क्रिमको प्रयोग गरी छालालाई घामको असरबाट बचाउनु पर्छ ।

र, पिलिङ गराउँदा अनुभवी र विशेषज्ञ व्यक्तिहरुबाट गराउनु पर्छ । आजकल बजारमा छालाको उपचार गराउने भन्दै विभिन्न उपचार केन्द्र खोलिएका छन् । जहाँ पायो त्यही पिलिङ गराउँदा समस्याको समाधान भन्दा पनि समस्या झनै बढ्न सक्नेमा नागरिक आफै सचेत हुन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप