केन्द्रीय संस्करण

‘लज्जित नबनाउनुस्, मित्र !’

अज्ञानी त अन्धकारमा डुब्छ, तर ज्ञानीचाहिँ महाअन्धकारमा डुब्छ

person explore access_timeसाउन १८, २०७६ chat_bubble_outline0

कविता लेख्न छाडेको दुई जुगभन्दा पनि बढी अन्तराल व्यतीत भइसके पनि जीवेन्द्र दाइले मलाई आजसम्म ‘कवि’ सम्बोधनबाहेक अन्य केही प्रयोग गर्नुभएको छैन ।

‘कविज्यू, कता हुनुहुन्छ ?’ एक दिन फोनमा त्यही चिरपरिचित स्वर सुनियो ।

‘दाइ म अनामनगरमा छु ।’

‘तपाईं फुर्सदमा भए तुरुन्त रातोपाटी कार्यालयमा आइपुग्नस् ।’

‘हुन्छ दाइ, म बीस मिनेटमा आइपुग्छु’ भनी मैले मोबाइल ‘डिस्कनेक्ट’ गरें ।

काठमाडौं सहरमा ट्याक्सी चढ्ने हैसियतमा कहिले पनि पुगिएन र त्योभन्दा माथिको सपना हेर्ने मेरो कल्पना–शक्तिको सामथ्र्य मस्तिष्कको कुनै पनि न्युरोन कोशिकासँग नरहेको यथार्थ मेरा घरपरिवारका सदस्यलाई मात्र होइन, मसँग ‘चिया–मित्रता’ रहेका सम्पूर्ण साथीहरूलाई नै अवगत छ ।

मेरा निद्राकालीन सपनाहरूमा पनि सबैभन्दा ठूलो र चाखलाग्दो सपना ‘स्वयं आकाशमा उडेको’, ‘हवाइजहाज दुर्घटनामा मरेको’ र ‘निर्जन टापुमा एक्लै भौतारिरहेको’बाहेक सम्झनालायक छैनन् । म सधैं ‘फ्ल्याट’ जीवन बाँचें, एक–एक पाइला हिँड्दै गन्तव्य–यात्रा गरें र कुनै एक निर्दिष्ट गन्तव्यमा पुग्नुभन्दा पहिला मेरा लागि त्यो गन्तव्य–विन्दु निरर्थक बन्यो । म सधैं नवयात्रामै संलग्न भइरहें । स्थिरता, अविरलता, फलाकांक्षा, लक्ष्यप्रतिको समर्पण मेरा स्वभावका गुण कहिल्यै भएनन् । जीवन–जगत्प्रति  उत्कटता र त्यससँग गासिएको अटुट उदासीनता मेरा नैसर्गिक वृत्ति थिए । र, आजपर्यन्त छन् । मेरो वैयक्तिक मान्यता एवं दर्शनमा भोलि भन्ने अस्तित्व राख्दैन । तसर्थ आजपर्यन्त छन् मै सीमित रहेको छु ।

म विषय भट्कें, ट्रयाकमा फर्कन चाहन्छु ।

एकजना मित्रले जीवेन्द्र दाइको कार्यालयसम्म बाइकमा पुर्याइदिनुभयो । म भनेकै समयमा उहाँको कार्यालयमा उपस्थित हुन पुगें ।

‘उहाँ नै हो ज्ञानमित्र,’ मभन्दा पहिला उपस्थित एकजना व्यक्तिसँग उहाँले मेरो परिचय गराउँदै भन्नुभयो ।

‘हजुर, म चन्द्र खाकी । तपाईंको लेख पढ्दैछु । विज्ञान–लेखन मेरो पनि रुचिको विषय हो ।’

सायद रुचि मिल्ने मानिसका लागि योभन्दा बढी परिचय र औपचारिकता आवश्यक हुन्न । हामी मित्र भइसकेका थियौं ।

प्रारम्भमा मलाई चन्द्रजी, क्लिष्ट व्यक्तित्व जस्तो प्रतीत हुनुभयो । हामीले विज्ञान–विषयक अनेकांै प्रसंगमा कुरा गर्यौं । उहाँले ‘डार्कसाइड अफ मुन’बारे सोध्नुभयो । मैले जानेको जति भनें । उहाँले यसरी भनेर हुँदैन भन्दै यसबारेमा एउटा लेख लेख्न अनुरोध गर्नुभयो । चन्द्रमा मेरो रुचिकै विषय भएकाले एक साताभित्रै मैले ‘डार्कसाइड अफ मुन’ बारे लेखें ।

पछि तीन–चार पटक उहाँसँग भेट्दा उहाँबारे मेरा पूर्वमान्यताहरू तिरोहित भए । उहाँको व्यक्तित्व झट्ट हेर्दा क्लिष्ट देखिए पनि व्यवहार भने अत्यन्तै मैत्रीपूर्ण, शालीन एवं उत्साहवर्धक रहेको पाएँ । उहाँले कैयन विषयमा लेख्ने ‘टपिक’, सुझाव र प्रेरणा दिनुभयो ।

अधिकांश लेखमा विज्ञानभन्दा गफ नै बढी हुन्छन् । सायद गफ मन पराउने पाठकहरूले मेरा लेख मन पराउनुहुन्छ । विज्ञान विषयमा पारंगत कुनै महानुभावले लेखमा कुनै कमेन्ट गरेको आजसम्म नजरमा आएको छैन ।

म आफूलाई विज्ञान–लेखक सम्झिन्नँ, विज्ञानमा रुचि भएको सामान्य प्राणी सम्झन्छु । मभित्र कुनै पनि विषयमा जान्ने÷बुझ्ने उत्कण्ठा सधैं रहिरहन्छ । त्यही जान्ने÷बुझ्ने क्रममा कहिलेकाहीँ लेख्ने प्रयास गर्छु । अधिकांश लेखमा विज्ञानभन्दा गफ नै बढी हुन्छन् । सायद गफ मन पराउने पाठकहरूले मेरा लेख मन पराउनुहुन्छ । विज्ञान विषयमा पारंगत कुनै महानुभावले लेखमा कुनै कमेन्ट गरेको आजसम्म नजरमा आएको छैन ।

पछिल्लो पटक प्रकाशित ‘स्पेस र टाइम’सम्बन्धी लेखबारे प्रतिक्रिया दिँदै चन्द्रजीले ‘म्यासेन्जर’मा सन्देश पठाउनुभयो, ‘ज्ञानमित्रजी, मेरो ज्ञानको सीमाले तपाईंको गहन सामग्रीहरूलाई ग्रहण गर्ने क्षमता ममा विकास भइसकेको छैन । सोही कारण तपाईंका लेखरचनाहरूमा मैले प्रतिक्रिया जनाउन आफूलाई सक्षम पाइरहेको छैन । यद्यपि तपाईंको गज्जबको लेखन–कला अनि त्यसबाट निसृत हुने ज्ञानको गंगामा डुबुल्की लगाएर आफूलाई दीक्षित गर्ने कोशिशचाहिँ जारी नै राखेको छु, है ।’

पढेर मलाई त्यस्तै लज्जाबोध भयो, जुन भारतका महान मुस्लिम कवि एवं कृष्णभक्त रहीमदासजीलाई भएको थियो । उनको बारेमा किंवदन्ती छ, उनी आफ्नो समयका प्रसिद्ध दानी थिए । र, उनको विशेषता थियो– दान दिनेबेलामा उनको दृष्टि भूमितिर हुन्थ्यो । समकालीन अर्का कवि रामभक्त तुलसीदासले पत्र लेखेर सोध्नुभयो–

ऐसी देनी देनज्यू कित सीखें हो बैन,

ज्यो ज्यो कर ऊँचो उठ्यै त्यो त्यो नीचे नैन’

(मित्र यस्तो दान दिने कला कहाँबाट सिकेका हौ ? कि दान दिनलाई तिम्रो हात जति–जति माथि उठ्छ, तिम्रा नयन त्यति–त्यति नै तलतिर हेर्छन् ।)

प्रश्न जति भावको बबण्डरयुक्त साहित्य–चेत सम्पन्न थियो, जवाफ त्यति नै समर्पण र भावभक्तिको अन्तर्मनबाट भक्तिकालीन साहित्यिक परम्पराको अन्तरचेतनायुक्त थियो ।

‘देनहार कोई और है भेजत जो दिन रैन,

लोग भरोसा मो पो करैं ताँते झुक्के नैन ।’

यो दान दिने कोही अरु नै छ, जसले सधैं पठाइराख्छ । तर, मानिसले मैले दिएको सम्झिन्छन्, त्यसकारण लाजले मेरा आँखा निहुरिन्छन् ।

(यो दान दिने कोही अरु नै छ, जसले सधैं पठाइराख्छ । तर, मानिसले मैले दिएको सम्झिन्छन्, त्यसकारण लाजले मेरा आँखा निहुरिन्छन् ।)

मैले चन्द्रजीलाई प्रत्युत्तर दिएँ, ‘लज्जित नबनाउनुस्, मित्र !’

उहाँले पुनः लेख्नुभयो, ‘हैन सर, मैले अन्तरआत्मादेखि भनेको कुरा । विज्ञानमा मेरो ज्ञानको सीमा टुक्राटुक्रीमा हो, अध्यात्म त शून्य । तर, म सौभाग्यशाली छु, तपाईंको ज्ञानबाट सिक्ने अवसर प्राप्त गरिरहेको छु ।’

पुगनपुग २ वर्ष भयो, विज्ञान विषयमा कलम चलाएको । विद्यार्थी जीवनमा आइएस्सीसम्म पढ्दा विज्ञानको अति सामान्य पृष्ठभूमिबाहेक मसँग कुनै योग्यता छैन । तर, उमेरको यस ढलानमा आएर मलाई लाग्छ, ‘सबैभन्दा रोचक र सहज विषय नै विज्ञान हो ।’

अब त समस्त विज्ञान पनि झण्डैझण्डै भौतिक विज्ञानको धुरीलाई केन्द्र मान्न तत्पर हुने चरणमा प्रवेश गर्न गइरहेको छ । विज्ञान हाम्रो जीवनसँग यति नजिक छ, तपाईंले मात्र आँखा खोलेर एक प्रश्न उठाइदिनु पर्छ, बाँकीका सबै प्रश्न र जवाफ एकपछि अर्को आफैं उपस्थित हुन आउँछन् ।

चाहे पृथ्वीको गतिबारे प्रश्न गर्नुहोस्, चाहे सूर्यको तापबारे वा चन्द्रमाको शीतलताबारे । विज्ञान–यात्रा प्रारम्भ हुन्छ । हो, तपाईंसँग प्रश्न गर्ने क्षमतामा ह्रास आउनुहुन्न ।

कुनै पनि सामान्य शिक्षा (१२ कक्षा) पाएको व्यक्तिले स्व–शिक्षणबाट विज्ञानलाई सहजै बुझ्न सक्छ । र, उसमा लेखन–सीप छ भने उसले विज्ञान विषयमा मज्जाले लेख्न सक्छ । विज्ञानमा अन्य क्षेत्रमा जस्तो दोधार वा मतभिन्नता हुन्न, साहित्यजस्तै विभिन्न वाद हुन्नन् ।

जस्तो कि, तपाईंले प्रश्न गर्नुभयो, ‘माथि फ्यालिएका वस्तु पृथ्वीमै किन फर्किन्छन् ?’

जवाफ पाउनुहुन्छ– पृथ्वीमा गुरुत्वाकर्षण शक्ति छ, यसले प्रत्येक वस्तुलाई आफूतिर तान्छ ।

के पृथ्वीले मात्रै आफूतिर तान्छ, खोज्दै जानुस्...पाउनुहुन्छ, जुनसुकै खगोलीय पिण्डले पनि वस्तुलाई आफूतिर तान्छन्, पृथ्वीले मात्र होइन, चन्द्रमा, सूर्य, बृहस्पति सबैसँग गुरुत्वाकर्षण शक्ति छ र यसै शक्तिले गर्दा सौर्यमण्डलका आदि यावत पिण्ड आ–आफ्नो स्थानमा रही सूर्यको परिक्रमा गर्छन् । यही नियम सूर्यमाथि लागू हुन्छ, यही नियम अर्बौं आकाशगंगालाई बाँधेर राख्ने काम गरिरहेको छ ।

सबै ग्रह, उपग्रह, ताराहरूको गुरुत्वाकर्षण शक्ति भिन्नभिन्न छ । भिन्न हुनुको कारण उनीहरूको द्रव्यमान हो । हाम्रो सौर्यमण्डलमा सबैभन्दा बढी द्रव्यमान सूर्यसँग छ, त्यसैकारणले सबै ग्रह, उपग्रह र अरु यावतका पिण्डले सूर्यको परिक्रमा गर्छन् । यस विश्व– ब्रह्माण्डमा कुनै पनि स्थान गुरुत्वाकर्षणरहित छैन, हुन सक्दैन ।

वैज्ञानिकहरूले पठाएका ‘स्याटेलाइट’ पृथ्वीको गुरुत्वाकर्षणकै कारण विभिन्न कक्षमा रहेर पृथ्वीको परिक्रमा गर्छन् र यो परिक्रमा गर्न स्याटेलाइटलाई कुनै बल प्रयोग गर्नुपर्दैन । ‘स्याटेलाइट’ पृथ्वीमाथिको आकाशमा जति कम दूरीमा हुन्छ, त्यति छिटै पृथ्वीको परिक्रमा गर्छ । कारण– त्यही पृथ्वीको गुरुत्वाकर्षण हो । पृथ्वी सतहदेखि ४०० किमि माथि रहेका ‘स्याटेलाइट’ले ९० मिनेटमा पृथ्वीको एक परिक्रमा गर्छन् भने ३६ हजार किमि माथि रहेका ‘स्याटेलाइट’ले एक परिक्रमा पूरा गर्न त्यति नै समय दिन्छन् जति समय पृथ्वीलाई आफ्नो अक्षको एक परिक्रमा पूरा गर्न लाग्छ, भनौं मोटामोटी २४ घन्टा ।

मैले यति लेख्दैमा विज्ञानका बीसौं क्षेत्रबारे चर्चा भइसकेको छ । ‘क्लासिकल फिजिक्स’बाट सुरु भएर ‘मोर्डन फिजिक्स’ हुँदै ‘क्वाण्टम फिजिक्स’का ढोकामा थपथपाइ भइसकेको छ । रुचिअनुसारको क्षेत्रमा अध्ययन गर्दै जान सकिन्छ ।

चन्द्रजी, मैले यति लेख्दैमा विज्ञानका बीसौं क्षेत्रबारे चर्चा भइसकेको छ । ‘क्लासिकल फिजिक्स’बाट सुरु भएर ‘मोर्डन फिजिक्स’ हुँदै ‘क्वाण्टम फिजिक्स’का ढोकामा थपथपाइ भइसकेको छ । रुचिअनुसारको क्षेत्रमा अध्ययन गर्दै जान सकिन्छ । विज्ञान अनन्तको यात्रा हो, जति जान्दै गयो, त्यति त्यति नै नयाँ सम्भावना उदय हुँदै जान्छन् । र, यो अन्तहीन प्रक्रिया हो । यहाँ ‘मास्टर’ कोही हुन सक्दैन, सबै विद्यार्थी हुन् र सधैं विद्यार्थी रहन्छन् ।

मैले यही चर्चालाई अगाडि बढाउँदै गएँ भने ‘ब्ल्याक होल’को यात्रामा पुगेर सबै ‘फण्डामेन्टल फोर्स’ तिरोहित भएको दर्शन गर्न पाइन्छ ।

चन्द्रजी, मेरो आफ्नो विश्वास के छ भने कुनै पनि व्यक्तिले स्वअध्ययनबाट तीन वर्षको अन्तरालमा आधुनिकतम विज्ञानलाई बुझ्न सक्छ । धेरै होइन, दिनको तीन–चार घण्टाको क्रमगत स्वअध्ययनले विज्ञान जटिल होइन, सबैभन्दा सरल र रुचिकर लाग्न थाल्छ ।

धेरै मानिसले विज्ञान र अध्यात्मलाई फरक– फरक ठान्छन्, मेरा लागि यी दुवै एक हुन् ।

‘विज्ञानको मार्ग विश्व–ब्रह्माण्डको अध्ययनबाट आफूलाई बुझ्ने बाटो हो भने अध्यात्मको बाटो स्वयंको अध्ययनबाट विश्व–ब्रह्माण्डलाई बुझ्ने मार्ग हो ।’

दुवै यात्रामा ध्वस्त हुने हाम्रो ज्ञान (विद्या)को अहंकार नै हो । उपनिषद् भन्छन् नि, ‘अज्ञानी त अन्धकारमा डुब्छ, तर ज्ञानीचाहिँ महाअन्धकारमा डुब्छ :

अन्धतमः प्रविशन्ति ये अविद्यामुपासते 
ततो भूय इव ते तमो ये उ विद्यायाम् रताः ||९||

 (ईशावास्योपनिषद्–९)

अंधतमःप्रविशन्ति ये असंभूतिमुपासते

ततो भूय इव ते तमो ये उ संभूत्याम् रताः ||१२||

(ईशावास्योपनिषद्–१२)

जम्मा १८ श्लोक रहेको यो उपनिषद् अद्भूत छ । यसले अविद्या (अज्ञानी) र विद्या (ज्ञानी) दुवैलाई अन्धकारमै डुबेको भन्छ ।

 

ईशावास्योपनिषद्

ईशावास्यम् इदं सर्वम्   यत्किंच जगत्यां जगत् ||
तेन त्यक्तेन भुंजीथा  मा गृधः कस्यस्वित् धनम् ||१||
कुर्वन्नैवह कर्माणि जिजीवेषत शतम् समाः
एवम् त्वयि नान्यथे तोSस्ति न कर्म लिप्यते नरे ||२||
असूर्या नाम ते लोका अंधेन तमसावृता
तांस्ते प्रेत्याभिगच्छंति ये के चात्महनो जनाः ||३||
अनेजदेकम् मनसोजवीयो नैनद्देवा आप्नुवन् पूर्वमर्षत्
तद्धावतोन्यान् अत्येति तिष्ठत् तस्मिन्नपो मातरिश्वा दधाति ||४||
तदेजति तन्नैजति तद्दूरे तद्वंतिके
तदंतरस्य सर्वस्य तदुसर्वस्यास्य बाह्यतः ||५||
यस्तु सर्वाणि भूतानि आत्मन्येवानुपष्यति 
सर्वभूतेषुचात्मानम् ततो न विजुगुप्सते ||६||
यस्मिन् सर्वाणि भूतानि आत्मैवाभूद्विजानतः
तत्र को मोहः कः शोक एकत्वम् अनुपश्यतः ||७||
स पर्यगात् शुक्रम्अकायम् अव्रणम् अस्नाविरम् शुद्धम् अपापविद्धम् 
कविर्मनीषि परिभूः स्वयंभूः यथातथ्यतो अर्थान् व्यदधात् शाश्वतीभ्यः समाभ्यः ||८||
अन्धतमः प्रविशन्ति ये अविद्यामुपासते 
ततो भूय इव ते तमो ये उ विद्यायाम् रताः ||९||
अन्यदेवाहुर्विद्यया अन्यदाहुरविद्यया 
इति शुश्रुम धीराणाम् येनस्तद्विचचक्षिरे ||१०||
विद्यांच्या विद्यांच यस्तद्वेदोभयं सह
अविद्यया मृत्युम् तीर्त्वा विद्ययामृतमश्नुते ||११ ||
अंधतमःप्रविशन्ति ये असंभूतिमुपासते
ततो भूय इव ते तमो ये उ संभूत्याम् रताः ||१२||
अन्यदेवाहुर्संभवाअन्यदाहुरसंभवात्
इति शुश्रुम धीराणां येनस्तद्विचचक्षिरे ||१३||
संभूतिंच विनाशंच यस्तद्वेदोभयं सह
विनाशेन मृत्युं तीर्त्वा संभूत्यामृतमश्नुते ||१४||
हिरण्मयेन पात्रेण सत्यस्यापिहितं मुखं
तत्त्वम् पूषन् अपावृणु सत्यधर्माय दृष्टये ||१५||
पूषन्नेकर्षेयमसूर्यप्राजापत्य व्यूह रश्मीन्समूह तेजोयत्ते रूपं कल्याणतमम् 
तत् ते पश्यामि योSअसावसौ पुरुषः सोहम् अस्मि ||१६||
वायुरनिलममृतमथेदं भस्मांतम् शरीरम् 
ओम् क्रतो स्मर कृतम् स्मर क्रतो स्मर कृतम् स्मर ||१७||
अग्ने नय सुपथा राये अस्मान् विश्वानि देव वयुनानि विद्वान्
युयोधि अस्मद्जुहुराणमेनो भूयिष्ठां ते नमउक्तिम् विधेम ||१८||

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...