केन्द्रीय संस्करण
अन्तरवार्ता

उद्योगपति डा. उपेन्द्र महतोको सङ्गीत मोह !

person explore access_timeसाउन २२, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

उद्योगपति डा. उपेन्द्र महतोको परिचय नेपालमा मात्र सीमित छैन । गैरआवासीय नेपाली सङ्घका संस्थापकसमेत रहेका महतोको युरोप, अफ्रिका, एसियालगायत नेपालका विभिन्न क्षेत्रमा ठूलो लगानी रहेको छ ।

टेलिकमदेखि स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेका उपेन्द्रको सङ्गीतप्रतिको मोह भने अनौठो छ । धेरैलाई आश्चर्य लाग्न सक्छ, डा. महतोको सङ्गीतप्रतिको लगावकै कारण नेपाली दुई बालकले भारतीय चर्चित रियालिटी सो सारेगमपा लिटिल च्याम्प्ससम्मको यात्रा तय गर्न सफल भएका थिए ।

केही दिन अगाडि महतो अध्यक्ष रहेको नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको लिटिल च्याम्प सम्मान कार्यक्रमका दौरान हामीले सङ्गीतसँगै उद्योगी महतोको भावी योजनाबारे चासो राखेका थियौँ । त्यसैसँग सम्बन्धित डा. महतोको अन्तरवार्ता ।

–तपाईंको सङ्गीतप्रतिको मोह कस्तो हो ?

सङ्गीतप्रतिको मोहभन्दा पनि बच्चा भन्ने वित्तिकै म तानिन्छु । पहिलो पटक सुरसाला आइडल जुनियर गर्ने भनेर अमृत भाइले प्रस्ताव ल्याउनु भयो । जहाँ भनिएको थियो सुगमदेखि दुर्गमसम्मका बच्चाहरुलाई एउटा अवसर सिर्जना गर्ने । म बच्चा भन्ने वित्तिकै अलि छिट्टै आकर्षित हुने मान्छे ।

गाउँघरमा छिपेर बसेको प्रतिभालाई कसरीबाहिर ल्याउन सकिन्छ भन्नेमा सुरसालाले जुन कामको सुरुवात गर्यो, म त्यसमा निकै आकर्षित भएँ । त्यतिबेला बच्चाहरुलाई अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा लैजाने कुरा भएकै थिएन । मात्र गाउँघरमा छिपेको प्रतिभालाई कसरी अगाडि ल्याउने भन्ने मात्रै थियो ।

मेरो स्वभाव कस्तो छ भने सङ्गीत होस् या अन्य कुनै क्षेत्र जहाँ मानिसको आत्मविश्वास बढाउने र अगाडि बढ्ने बाटो देखाउने कुनै काम छ भने त्यसमा मेरो चासो निकै बढेर आउँछ ।

बच्चाहरुको प्रतिभा प्रस्फुटन गराउने एउटा मञ्चको योजना मकहाँ आउँदा म निकै खुसी भएँ । एक त बच्चाहरुको वृद्धि विकास अर्को प्रतिस्पर्धा गर्न अग्रसर हुने र मुख्य त परिवार तथा अभिभावकहरुमा हुने एकता । यस्ता खालका कार्यक्रमले अभिभावक अभिभाकहरुमा एकताको भावना विकास हुने भएकाले यो कार्यलाई अगाडि बढाउन उचित ठानेर मैले साथ दिएको हुँ ।

यस्ता कार्यक्रमले प्रेम र प्रतिस्पर्धासँगै सिकाउँछन् । बच्चाका लागि भन्ने वित्तिकै म तयार भएको थिएँ । त्यतिबेलाको बच्चाहरुको अनुहार म झलझली सम्झन्छु । बच्चाहरु देख्नासाथै के गरूँ र कसो गरूँ हुन्छ ।

बच्चाहरूका लागि कुनै कार्यक्रम हुन्छ भने त्यसमा लगानी गर्नु अति नै जरुरी छ । विदेशतिर युवाका लागि भन्दा बच्चाहरुका लागि ठूला ठूला लगानी हुन्छन् । नेपालमा त्यो संस्कारको विकास भइसकेको छैन । मैले सानो सहयोग गरेको मात्रै हो ।

–त्यति बेलाका मासुम बच्चाहरुलाई आज यति स्मार्ट र कन्फिडेन्ट फिगरमा देख्दा कस्तो अनुभूति हुन्छ ?

पहिला नेपालमा प्रितम आयुषसँगै अरू थुप्रै बच्चाहरु प्रतिस्पर्धामा थिए । उनीहरुलाई देख्दा निकै दङ्ग पर्थें म । प्रितम र आयुष जब सारेगमपका लागि भारत गएँ । त्यहाँ नेपाली टोपी लगाएर मञ्चमा देखिए, त्यो कति गर्विलो क्षण । नेपाली टोपी लगाएर आफ्नो शान बढाइरहेको देख्दा मैले हिजो गरेको निर्णय साँच्चै सही थियो भन्ने महसुस गरेँ । उनीहरुको राष्ट्रप्रतिको प्रेम देखेर निकै खुसी लाग्यो ।

बच्चाहरुले जे गर्छन्, अन्जान मै गर्छन् । नेपाली टोपीमा भारतीय मञ्च त्यो पनि अन्तर्राष्ट्रिय स्तरको । जहाँ आफ्नो राष्ट्रलाई हरेक दिन प्रस्तुत गर्ने काम गरेँ । अन्जान तर आत्माबाट आएको उनीहरुको राष्ट्रप्रेम देख्दा गर्व महसुस गरेँ ।

यति साना बालकहरुले देशको नाम उच्चा गर्न सक्छन् भने नेपालमा यति धेरै सम्भावनाहरु छन् जहाँ हामीले केही गर्नुपर्छ है भन्ने भावना झनै बढेर आएको छ । अहिले पनि उनीहरुले गाउँदा मन विभोर भएर आउँछ ।

–बाल गायकद्वय प्रितम आचार्य र आयुष केसीलाई स्वस्थ्य बिमाबाट सम्मान गर्नुभयो । स्वस्थ्य बिमा नै किन जरुरी ठान्नु भयो ?

मुख्य त स्वास्थ्य भनेको सबैका लागि सबैभन्दा पहिलो हो । यो हामी सबैले बुझ्न जरुरी छ । जस्तो; तपाईंले एउटा मोबाइल किन्नु भयो भने फुट्ला कि बिग्रेला कि भनेर कति जतन गर्नु हुन्छ । यसको रक्षाका लागि दुवै साइडबाट कभर लगाउने, बेला बेला सफा गर्ने उस्तै परे इन्स्योरेन्स पनि गर्नु हुन्छ । तर आफ्नो स्वास्थ्यको यसरी जतन गर्नुहुन्छ कि हुन्न ? हो यही कुरा म सबैलाई बुझाउन चाहन्छु ।

तपाईं लुगा पनि राम्रो देखिन शरीर ढाक्नका लागि मात्रै लगाउनुहुन्छ । भित्र न खानामा न स्वास्थ्यमा ख्याल नै गर्नुहुन्छ । तर पैसा हालेर केही चीज किन्नुभयो भने कति जतन गर्नुहुन्छ । गाडी मोटरसाइकल किन्दा बिना इन्स्योरेन्स नम्बर प्लेट पनि पाइँदैन । तर बच्चा जन्मिएपछि कसैले सोध्दैन कि बच्चाको इन्स्योरेन्स भयो ? भनेर ।

स्वास्थ्यप्रतिको चेतना जबसम्म हुँदैन तबसम्म समृद्धि सम्भव छैन । किनभने स्वस्थ्य शरीर र दिमागले मात्रै समृद्धि सम्भव हुन्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा गर्ने हो भने स्वस्थ्य नेपालीको सपना पहिला देख्नुपर्छ ।

सानैदेखि स्वास्थ्यप्रतिको जागरुकता बढाउन पनि हामीले आयुष र प्रितमलाई स्वास्थ्य बिमाबाट सम्मान गरेका हौँ । अर्को के भने अहिले उनीहरु जति खटिरहेका छन् नि त्योभन्दा धेरै उनीहरुका आमा बुबा खटिरहेका छन् । यो अवस्थामा परिवारकै स्वास्थ्य मुख्य कुरा हो ।

आयुष र प्रितमका आमा बुबाको खटाई शारीरिकभन्दा पनि भावनात्मक रूपमा बढी छ । आफ्ना बच्चाको सफलता र असफलतामा आमाबाबु धेरै भावुक हुन्छन् । सकारात्मक रिजल्ट आयो भने उनीहरुको भावना यथास्थानमा फर्किन्छ तर निराशाजनक परिणाम आयो, यदि भने उनीहरु विछिप्त हुने सम्भावना हुन्छ ।

शरीरका राम्रा क्रियाशील कोषहरुमा नकारात्मक असर पर्न गई उनीहरु अस्वस्थ्य हुन सक्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि उनीहरुमा जनचेतना वृद्धि गर्नकै लागि पनि यो सम्मान जरुरी ठानेर प्रदान गरिएको हो ताकि उनीहरु आफू पनि आफ्नो स्वास्थ्यप्रति सचेत होऊन र आफ्नो परिवारलाई पनि स्वास्थ्यप्रति सचेत हुन प्रोत्साहित गरून् ।

उनीहरु लगायत सम्पूर्ण नेपालीहरुको आजको आवश्यकता भनेको स्वास्थ्य बिमा हो । सबैले के ख्याल गरौँ भने स्वास्थ्य बिग्रेपछि मात्र स्वास्थ्यमा ध्यान दिने होइन, बिग्रिन नै नदिनेमा सचेत रहनु धेरै बुद्धिमानी हुन्छ ।

आफ्नो स्वास्थ्यप्रति सचेत हुन स्वास्थ्य बिमा गर्दा मानिसमा स्वास्थ्यप्रति धेरै सकारात्मक विचारको सम्प्रेसण हुन्छ । बिमा गरेपछि स्वास्थ्यप्रति मानिस सजग त हुन्छ, तर स्वास्थ्य बिग्रिहाल्यो भने पनि बिमा छ भन्ने आत्मविश्वास हुन्छ । जसले खर्चको तनावबाट मुक्ति त मिल्छ नै मानसिक रूपमा आधा रोग निको हुन्छ ।

बिमा गरेका मानिस बिरामी कम हुन्छन् । केही परिहालियो भने मसँग बिमा छ, यसले साथ दिन्छ भन्ने हुन्छ । यसले मानसिक रूपमा मानिसलाई बलियो बनाउँछ ।

संसारका कुनै पनि देशमा हेर्नुस्, व्यक्तिले आफ्नो र आफ्नो परिवारको स्वास्थ्य बिमा गराउँदैन भने स्वास्थ्य उपचार नै हुँदैन । त्यो एक प्रकारको चेतना पनि हो ।

हामीसँग घर छ, गाडी छ तर बिमा छैन भने के काम भयो । यही चेतना वृद्धि गर्नकै लागि हामीले गायकद्वय केसी र आचार्यलाई बिमा प्याकेज दिएर सम्मान गरेका हौँ ।

–तपाईं एनआरएनको संस्थापकदेखि दूरसञ्चार, सञ्चार, शिक्षा क्षेत्र हुँदै स्वास्थ्य क्षेत्रमै लगानी गर्नुको कारण के होला ?

हामीले विश्वको धेरै देश हेर्यौँ । धेरै चीजको अनुभव गर्यौँ । यो सबै देखिसकेपछि देश बनाउन सकिने रहेछ भन्ने भावनाअनुसार नै नेपालमा लगानी गरेका छौँ । नेपालमा सम्भावना बोकेका हरेक क्षेत्रमा लगानी गर्ने मेरो लक्ष्य हो । नेपालमै लगानी गरी रोजगारी सिर्जना गर्नेदेखि समृद्ध नेपालका लागि टेवा पुर्याउनु हो ।

देशलाई विकास गर्नका लागि अर्को पुस्ता कुर्नुपर्ने हुँदैन एउटै पुस्ताले फड्को मार्न सक्ने थुप्रै उदाहरण हामीले देखेका छौँ । त हाम्रो देशलाई पनि विकासको गति दिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग त गर्नुपर्छ यो हामी नेपालीको कर्तव्य हो ।

अर्को कुरा के भने बाहिर बसेर, बोलेर, कराएर मात्रै हुँदैन । विकास र परिवर्तन भनेको गरेर हुने कुरा हुन् । त्यसैले बाहिर बसेर बोल्नभन्दा पनि यहाँ आएर केही गर्नुपर्छ । यहाँ केही गर्नुपर्छ भनेर आएको हुँ म त्यसैले केही त अवश्य गर्नुपर्छ । हामीले कुनै यस्तो क्षेत्रमा लगानी गर्नुपर्छ, जसले देशलाई आत्मनिर्भर बनाउन सहयोग गरोस् ।

मैले सुरुमा टेलिकममा लगानी गरे । जतिबेला एउट टेलिफोन पाउनुभनेको अहिले एउटा लक्जरियस कार पाउनु बराबर थियो । तर अहिले घरघरमा व्यक्ति व्यक्तिको हातमा निःशुल्क सीम कार्ड अनि फोन छ ।

यसैगरी मैले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुको कारण पनि स्वास्थ्य जीवन मानिसको अहिलो अपरिहार्यता हो । अर्को हो– शिक्षा । स्वास्थ्यले हाम्रो पैसा बाहिर जानबाट रोक्ने मात्र होइन कि बाहिरबाट ल्याउने काम पनि गर्छ ।

यदि कुनै बिरामीले स्वास्थ्यमा राम्रो सुविधा पाएन भने विदेश जान तयार हुन्छ र स्वदेशमै पाइने उपचार विदेशबाट गराउँछ ।

सबैभन्दा धेरै माया हामी हाम्रो शरीरको गर्छौं र सबैभन्दा धेरै ख्याल हामी हाम्रो स्वास्थ्यको गर्छौं जब बिग्रिन थाल्छ । स्वास्थ्य बिग्रिएपछि हामी पैसा हेर्दैनौँ र विदेशमै भए पनि उपचार गराउन दौडिन्छौँ । कारण हो, नेपालमा स्वास्थ्य उपचार भरपर्दो छैन भन्ने मानसिकता गडेको छ ।

यस्तो भ्रम चिर्न पनि नेपालमा स्वास्थ्य क्षेत्रमा लगानी गरेको छु । नेपालमै उत्कृष्ट उपचार सेवा मिल्छ र विदेश जान पर्दैन भन्ने मानसिकताको विकास गर्न अत्यन्तै जरुरी छ । जब नेपाली विदेशमा उपचारका लागि जान्छन् । नेपालीको पैसा मात्रै होइन कि इज्जत पनि सँगै गएको हुन्छ । सानो सानो उपचारका लागि पनि विदेश जाँदा उनीहरुको आफ्नो देशप्रतिको दृष्टिकोणमा पनि फरक पर्ने भएकाले स्वदेशमै उपचार सेवा लिने वातावरण बनाउनुपर्छ ।

नेपालीमा इमानदारिता धेरै छ । त्यो इमानदारीताको सदुपयोग हामीले सेवाबाट दिन सक्ने भएकाले पनि सेवाभावयुक्त कार्यमा अग्रसर भएको छु । हामीले दिने सेवाले विदेशी पनि आकर्षित होऊन् भनेर नेपाल मेडिसिटीलाई विश्व स्तरको अस्पतालको अवधारणाअनुसार अगाडि बढाएको छौँ ।

नेपाललाई स्वास्थ्य उपचारका लागि उत्कृष्ठ गन्तव्य बनाई विदेशी नागरिक उपचार सेवा लिन आउने वातावरण बनाउने प्रयत्न गरेका छौँ । यसले देशको इज्जत बढ्छ, पर्यटकको सङ्ख्या बढ्छ र नेपालीप्रति विदेशीको विश्वास पनि बढाउन सकिन्छ ।

हामीले एउटा उदाहरण हेरौँ । जस्तो; नेपालमा बैङ्कहरु खुल्ने क्रम बढेसँगै ठूला कम्पनीहरु र नागरिकहरु बैङ्कमा लगानी गर्न उर्लिए । त्यस्तै इन्स्योरेन्स कम्पनी आयो । सबै त्यसको सेयर लिन दौडिए । त्यस्तै अन्य आयोजनाहरुमा पनि सेयर हाल्नेको कमी छैन । तर अस्पतालमा सेयर लिन कोही मान्दैन किनकि अस्पतालको सफल कथा कसैले देखाएको छैन ।

मैले मेरो देशप्रतिको गुन के हुन्छ भनेर सोच्दै जाँदा अस्पताल रोजेको हुँ । अन्य क्षेत्रमा लगानी गर्नेको कमी छैन तर अस्पताल र सेवामा लगानी गर्न ठूला लगानीकर्ताहरु डराइरहेको अवस्था छ । यदि मैले मेडिसिटीलाई सफल अस्पताल बनाउन सकिनँ भने कसैले यसप्रति चासो दिनेवाला छैन तर मैले मेडिसिटीलाई सफल अस्पतालको रूपमा विकास गरेँ भने भोलि ठूला लगानीकर्ताहरुले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने निश्चित छ ।

अन्तर्राष्ट्रिय प्रयोग कस्तो छ भने जुन क्षेत्रमा सफलता मिल्छ त्यही क्षेत्रमा लगानीको लाइन लाग्छ । त्यसैले हामीले हाम्रो मुलुकमा कुन क्षेत्रमा लगानी गर्दा देशको पनि भलो हुन्छ, त्यसैमा लगानी बढाउन आवश्यक छ ।

–विदेशी नागरिक नेपालमा उपचारका लागि आउँछन् भन्ने विश्वास कसरी लिनुभयो ?

एउटा कुरा हामी कुखुरा पहिला कि चल्ला पहिला भनेर लाग्यौँ भने कहिल्यै अगाडि बढ्न सकिन्न र विकास पनि हुँदैन ।

हाम्रो देशमा विशेष गरेर काठमाडौँमा सडक, पानी, बसाई लगायत सानो विमानस्थलको समस्या छ । यदि राम्रो उपचार सेवा मिल्छ र राम्रो सुविधा मिल्छ भने विदेशी आउँछ आउँछ । जस्तो, केदारनाथ, बद्रीनाथको दर्शन गर्न मानिस कति अफ्ठ्यारा पार गरेर जान्छन्, त्यस्तै हो । यहाँ राम्रो सेवा सुविधा पाउने भन्ने विश्वास हुनासाथ विदेशी पर्यटक बिरामी नेपाल आउनेमा म विश्वत छु ।

–तपाईंको अबको नयाँ योजना के छ ?

मेरो अहिलेको प्राथमिकता स्वास्थ्य नै हो । यसपछि भने म कृषिमा लाग्ने योजना छ । नेपालमा कृषि क्षेत्रलाई व्यावसायीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको छु । त्यसैले त्यतातिर लगानी गर्ने र देश विकासमा टेवा पुर्याउन सघाउने सोचमा छु ।

नेपाललाई कृषि अर्गानिक हर्बल उत्पान केन्द्रको रूपमा विकास गर्ने, प्रशोधन नेपालमै गर्ने र प्रशोधित सामान बाहिर पठाउने लक्ष्यसहित काम गर्ने सोचमा छु ।

नेपाल लगानीका लागि अफ्ठ्यारो ठाउँ हो र उत्तिकै सम्भावना भएको ठाउँ पनि हो । त्यसैले वैज्ञानिक तरिकाले कृषि क्षेत्रलाई अगाडि लैजान आफ्नो तर्फबाट केही गर्नुपर्छ भन्ने छ र म गर्छु पनि ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...