शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपाको सम्पत्ति मोह : नेपालमा श्रीमानको परिवारकै हत्या, भारतमा सासुलाई विष खुवाएर मारिन्

बुधबार, २२ साउन २०७६, १२ : २९

बाँके । २०६० साल । कक्षा १२ उत्तीर्ण एक भारतीय युवती विवाहको सिलसिलामा नेपाल आउँछिन् । त्यो पनि खासै नपढेका एक नेपाली युवकसँग ।

न उनीहरुको उमेर मिल्छ न त शिक्षा । न उनीहरुको भूगोल मिल्छ । मिल्नुपर्ने धेरै कुरा नमिलेको भए पनि भारतको लखनउबाट विवाहको प्रस्ताव आउँछ । युवकले पहिले केटी हेरौँ र कुराकानी गरौँ भनेपछि ती युवती नेपाल आएकी थिइन्, आफ्नो बुवासँग ।

लखनउकी सामान्य परिवारकी दीपा सोनी त्यतिबेला भर्खर १८ वर्ष लागेकी थिइन् । तर उनलाई विवाहको लागि भन्दै उनकै बुवा किशोरीलाल सोनीले ३० वर्षको केटालाई देखाउनका लागि नेपालगञ्ज ल्याएका थिए । आधुनिक पहिरनमा सजिएकी दीपा गोरो वर्णकी ज्यादै सुन्दर देखिन्थिन् ।

***

नेपालगञ्जका सुनचाँदी व्यवसायी जगदेव हेमकरका ३० वर्षीय छोरा दीपक हेमकर अविवाहित थिए । दाजु मनोजले अन्तरजातीय विवाह गरेपछि परिवारले अस्वीकार गरेकाले दाजु मनोज अलग्गै बस्ने गर्थे । घरमा दीपकसँगै बुवा जगदेव, आमा सीतादेवी, हजुरआमा गुलाबदेवी, र बहिनी प्रिती हेमकर बस्ने गरेका थिए ।

उनीहरुको नाममा प्रशस्तै सम्पत्ति थियो । सुनचाँदी व्यवसायमा पनि राम्रो नाफा कमाइरहेका दीपक नेपालगञ्जका धनाढ्य परिवारमा गनिन्थे ।


भाग १ – १३ वर्षमा समातिएका हत्या आरोपीलाई सर्वोच्चले ९ महिनामै ‘छाड्यो’ !

भाग २ – हेमकर परिवार हत्याका आरोपी किशोरीलालको अपराधकर्म : उदयदेखि वर्तमानसम्म

भाग ३ – हेमकर परिवारको सामूहिक हत्याकाण्ड : भारतीय अभियुक्त पक्रन २ वर्षसम्म ठेलामा तरकारी बेचे नेपाली प्रहरीले 


***

दीपक र दीपाको सुरुमा कुनै चिनजान थिएन । नेपालगञ्जकै एक चिनजानका व्यक्तिमार्फत ‘रिश्ता’ लिएर आएका थिए । सुरुमा दीपकले कुनै चासो देखाएका थिएनन् । तर, विवाहको कुरा पटकपटक आएपछि हार खाएर दीपकले ‘केटी हेरौँ न पहिले’ भनेका थिए । दीपकले ‘केटी हेरौँ’ भनेपछि केटीका बुवा किशोरीलाल सोनी पहिलोपटक छोरी लिएर नेपालगञ्जको सदरलाइनस्थित दीपक हेमकरको घरमा आएका थिए ।

गोरो वर्णकी १८ वर्षीया दीपा सोनीलाई देख्ने बित्तिकै दीपक हेमकरले मन पराए । त्यसपछि विवाहको कुरा अगाडि बढ्न थाल्यो ।

यहीबीचमा किशोरीलाल सोनी ३ पटक नेपालगञ्ज आएर दीपकको सम्पत्ति आदिबारे सबै जानकारी लिएका थिए ।

केटाले केटी मन पराएको चाल पाएपछि किशोरीलाल सोनीले छोरी दिने तर आफूसँग विवाहका लागि खर्च गर्नसक्ने हैसियत नै नभएको भन्दै सबै खर्च केटापक्षले नै गर्नुपर्ने प्रस्ताव राखे । केटीप्रति ‘फिदा’ भएका दीपकले विवाहका लागि सबै खर्च बेहोर्न आफू तयार भएको बताए ।

यता, दीपकको परिवार भने उक्त विवाह नहोस् भन्ने चाहन्थे । यद्यपि दीपकको जिद्दीको अगाडि परिवारको केही लागेन । दीपक केही आफन्त लिएर भारतको लखनउ गए । लखनउकै एक पार्टी प्यालेसमा दीपक र दीपाको विवाह भयो । विवाहमा बुवा आमा लगायत परिवारका मुख्य सदस्यहरु उपस्थित नै भएनन् । यो सन् २००४ अर्थात् २०६० सालको कुरा हो ।

भारत लखनउकी सामान्य परिवारकी दीपालाई दीपकले श्रीमती बनाएर नेपाल ल्याए । दीपकसँगै दीपा पनि सुनचाँदी व्यवसायमै रमाउन थालिन् ।

***

मिति : २०६२ साल फागुन २३

नेपालगञ्जको सदरलाइनस्थित दीपक हेमकरको परिवारका ४ सदस्य र एकजना घरमा काम गर्ने १५ वर्षीय किशोर गरी ५ जनाको घाँटी रेटेर हत्या हुन्छ । त्यस समयमा दीपा भने ‘उपचारका लागि’ माइती भारत गएकाले बाँच्छिन् ।

डाँका समूहले परिवारकै हत्या गरी तत्कालीन समयमै करिब २९ लाखको सुनचाँदी लुटेर गएको समाचार आउँछ ।

भोलिपल्ट हल्लाखल्ला भएपछि दीपककी श्रीमती दीपा सोनी, दीपाका बुवा किशोरीलाल सोनीपनि ‘भारत’बाट आउँछन् । रोइकराई गर्छन् । परिवारले उनीहरुको अन्तेष्टि गर्छन् ।

दीपककी बहिनी प्रिती हेमकरले सम्पत्तिमा खासै चासो दिदिँनन् । सबै सम्पत्तिको हकदार दीपककी श्रीमती दीपा सोनी बन्छिन् ।

हत्यापछि घरका विभिन्न स्थानमा करिब १ सय ५० किलो सुन भेटिएको थियो । जसमध्ये करिब १ सय किलो सुन धरौटी राखिएको सर्वसाधरणको सुन थियो भने करिब ५० किलो सुन दीपक आफ्नै थियो । त्यतिबेला सुन प्रति १० ग्राम करिब १८ हजार रुपैयाँ पथ्र्यो भने ५० किलो सुनको मुल्य नै ९ करोड रुपैयाँ हुन आउँथ्यो ।

साथै धरौटीको फिर्ता रकम र केही नगद गरी करिब ११ करोड रुपैयाँको सम्पत्ति दीपाको हातमा आयो ।

***

यता, प्रहरी भने हत्यारा खोज्न लागिरह्यो । हत्या चिनजानकै व्यक्तिले गरेको निश्कर्ष निकाले पनि हत्यामा को कसरी संलग्न छ भनेर कुनै भेउ पाउन सकेन । प्रहरीले ‘मिहेनत’ गरेपनि अपराधी पत्ता लाग्न सकेन ।

बरु हेमकर परिवारमा डर बढिरह्यो । दीपककी श्रीमती दीपा सोनीले पनि आफूलाई सुरक्षा खतरा भएको भन्दै नेपालगञ्जको घर पनि जम्मा ७८ लाखमा बेचेर भारत पुगिन् र कहिल्यै नेपाल फर्किनन् ।

जब दीपाले भएको जति सबै सम्पत्ति बेचेर भारत लागिन्, तब प्रहरीलाई सुराक आयो कि हत्यामा दीपककी श्रीमती दीपा र उनका बुवा किशोरीलाल सोनीकै हात रहेको छ । तर जतिबेला प्रहरीले यो सुराक पायो, कथाले अर्कै मोड लिइसकेको थियोे । अभियुक्त नेपाली भूमि छाडेर सम्पत्तिसहित भारत पुगिसकेका थिए ।

जब नेपालगञ्जमा प्रहरीको नेतृत्व परिवर्तन भयो, तब यो हत्याकाण्डका बारेमा विस्तृत अनुसनधान सुरु भएको थियो । अनुसन्धानका क्रममा माइत गएकी छु भनेकी दीपा सोनी, उनका बुवा किशोरीलाल सोनी र ३ जना कन्ट्राक्ट किलरहरु रुपैडियाको एक होटलमा बास बसेको तथ्य प्रहरीले भेटाएको थियो । होटलको लग बुकबाट यी पाँचै जना हत्याको अघिल्लो दिन रुपैडियाको उक्त होटलमा बास बसेको पत्ता लाग्यो ।

हेरौँ, रुपैडियाको मुस्कान होटलको यो लगबुक ।

त्यसपछि गहन अनुसन्धान गरेको प्रहरीले हत्या भएको दिन किशोरीलाल सोनीसहित यी पाँचैजना नेपालगञ्जबाट लखनउ गएको पत्ता लाग्यो । नेपालगञ्जकै एक व्यक्तिले बिहान ५ बजे उनीहरुलाई बाटो देखाउँदै रुपैडिया नाकामा पुराएको भेद खुल्यो । र, प्रहरी पनि सम्पत्तिका लागि किशोरीलाल सोनी र दीपककी श्रीमती दीपा सोनीले नै हेमकर परिवारको हत्या गरेको निश्कर्ष निकलो । तर अभियुक्तहरु भारतीय नागरिक भएकाले पक्राउ गर्न सकेन ।

***

हेमकर परिवारको हत्याकाण्डपछि यस हत्याकाण्डका विषयमा स्थानीय बासिन्दा तथा दीपक हेमकरका परिवारका सदस्य तथा नातेदारहरुले दीपा सोनीबारे बालेका छन् । अदालतका दिएको बयानमा पनि दीपा सोनीको हर्कत र आनीबानीबारे बोलिएको छ । 

अदालतमा बलराम हेमकरको जाहेरी : ‘अन्यायी दीपाले परिवारका सबैको हत्या गराइन्’

दीपक हेमकर परिवारका ४ सदस्यसहित ५ जनाको हत्या भएपछि दीपकका काका तथा जगदेव हेमकरका भाई बलराम हेमकरले जिल्ला अदालत बाँकेमा किटानी जाहेरीसमेत दिई हत्यामा दीपाको संलग्नताबारे बयान दिएका छन् । बलरामले जाहेरीमा यस्तो भनेका छन् ।

‘२०६२ साल फागुन २३ गते राती जिल्ला बाँके साविक नेपालगञ्ज वडा नं. १५ सदरलाइनमा आफ्नै घरमा जाहेरवालाको आमा गुलाव देवी हेमकार, दाजु जगदेव हेमकार, भाउजू सीतादेवी हेमकार, भतिजो दीपक हेमकार र घरमा काम गर्ने रामशनिश्चर खुनालाई अन्यायी दीपा सोनी (हेमकार) र निजको बावु किशोरीलाल सोनी समेतले सम्पत्ति लिन खानको लागि एक आपसमा मिलेमतो एम्ं योजना बनाई नियोजित तबरले अन्य ४–५ जना व्यक्तिहरु समेतलाई साथ लिई धारिलो हतियारले घाँटी रेटी कर्तव्य गरी धनमालसमेत चोरी गरी भागी फरार भएको हँुदा कानुनबमोजिम गरी पाऊँ ।’

अदालतमा निर्मल सोनारको बयान : सम्पत्तिकै लागि दीपाले हत्या गराइन्

हेमकार परिवार हत्याकान्ड भन्दा तीन दिन पहिले दीपा सोनी हेमकार उपचारको बहाना बनाई माइती लखनउ जानु, हत्याकाण्डको केही दिनमै सम्पत्ति आफ्नै नाममा ल्याउँदा ल्याउँदै बिक्री गरी भारततर्फ भाग्नु समेतका कारणले प्रस्तुत वारदात दीपा सोनी हेमकार र किशोरीलाल सोनीले नै नियोजित रुपमा सम्पत्तिको लागि घटना घटाएको हो भनी निर्मल सोनारले बयान दिएका छन् ।

दीपाले दाहसंस्कार लगत्तै पसल फोडेर सम्पत्ति जफत गरिन्

जिल्ला अदालत बाँकेमा जगदेव हेमकरका कानुनी सल्लाहकार सुल्तान अहमद सिद्धिकीले बयान दिँदै दीपाको बारेमा यस्तो भनेका छन् :

२०६२ साल फागुन २५ गते मृतकहरुको दाहसंस्कार पछि दीपा सोनु हेमकार र किशोरीलाल सोनीले मलाई बोलाई पसलमा लागेको सिल खोली सामानहरुको भागबण्डा गर्नुप¥यो भन्दा मैले प्रहरीले शिल लगाएको छ, अनुसन्धान हँुदैछ, अहिले हतार नगरौँ भन्दा उनीहरुले के कसरी उक्त सिल खोलेका हुन्, आफूलाई थाहा नभएको जानकारी गराउँछु ।

दीपाले २ पटक गर्भपतन गराएकी थिइन्

दीपाको उद्देश्य खासमा दीपक हेमकरसँग विवाह गरी परिवार बनाउने भन्दा पनि दीपकको सम्पत्ति हत्याउने नियतकासाथ विवाहको प्रपञ्च गरिएको मृतक दीपक हेमकरकी बहिनी प्रिति हेमकरले अदालतमा बयान दिएकी छिन् । दीपाले गर्भ बस्दा पनि दुईपटकसम्म गर्भपतन गराएको र बच्चा जन्माएर गृहस्थी बसाउन नचाहेको बयान प्रिती हेमकरले दिएकी छिन् ।

‘मेरी भाउजू दीपा सोनीको बुवा आपराधिक चरित्रको भएकोले विवाह गराइदिएका हुन् । दीपक विवाह गर्ने पक्षमा नहँुदा पनि ‘किशोरीलालको परिपञ्चमा परेर दाइको विवाह भएको’ प्रितिले बयानमा बताएकी छिन् ।

प्रितिको बयान

विवाहपछि दीपाले परिवारका सदस्यसँग बारम्बार झगडा गर्ने गरेकी थिइन् । दीपाले दुई पटकसम्म गर्भपतन गराएको परिवार सदस्यहरुलाई थाहा थियो भने बुवा किशोरीलालले केही व्यक्तिलाई घरमा ल्याउँदै धम्क्याउने गरेका थिए ।

‘म शोकमा परेको बेला मलाई धम्क्याउँदै प्रहरीले सिल गरेको सम्पत्ति खुलाई कब्जा गर्दै गइन् । उनी सम्पूर्ण सम्पत्ति भारत लगेर भागेकी हुन् । पसलमा रहेको समान, दाजुको कोठामा भएको सामान केही नहुनु, बुवाको कोठामा भएको सामान मात्र डाँका हुनु, मेरो काका निलम सोनारभन्दा अगाडि किशोरीलाल सोनी लखनउबाट नेपालगञ्ज पुग्नुले दीपाको मिलेमतोमा अन्य व्यक्ति लगाई मेरो बुवाको समेत हत्या गरेको’ प्रीति हेमकरको बयानमा उल्लेख छ । घटना हुँदा प्रीति नेपागञ्जमा थिइनन् । उनी बुटवलमा रहेको बेला घरमा परिवारका अन्य सदस्यहरुको हत्या भएको थियो ।

दीपाले भारतमै पनि अपराध गरेकी थिइन्

दीपाले नेपालमा दीपक हेमकरसँग विवाहको नाटक गरी परिवारका सबै सदस्यको ‘प्लाण्ड मर्डर’ गरेपछि उनले भारतमा पनि विवाह गरेकी थिइन् ।

दीपक हेमकरको पारिवारिक श्रोतका अनुसार दीपाले २५ वर्षको उमेरमा भारतमै आशिष त्रिपाठीसँग दोस्रो विवाह गरिन् । लखनउका अशिष त्रिपाठी पनि व्यापार व्यवसायमा लागेका थिए । उनको पनि राम्रै सम्पत्ति थियो । दीपाले सुरुमा प्रेम अनि पछि विवाह गरिन् । त्यसपछि परिवारकै सदस्यहरुको हत्या प्रयास गरिन् ।

सम्पत्ति हत्याउनका लागि सबैको खानामा विष हालेर दिइन् । घटनामा सासुको मृत्यु भयो भने दीपाका नयाँ पति र ससुराको भने उपचार सम्भव भयो र उनीहरु बाँचे । त्यसपछि उनीहरुले दीपाले हत्या गरेको र हत्याको  प्रयास गरेको भन्दै किटानी जाहेरी दिए । तर किशोरीलाल सोनी लगायतले अशोकको परिवारलाई मार्ने धम्की दिएपछि उनीहरु उक्त स्थान नै छाडेर भागेको नेपाल प्रहरीको दाबी छ ।

दीपालाई उठाउने प्रहरीको योजना असफल

त्यसो त नेपाल प्रहरीका अधिकारीले पहिले दीपालाई नै उठाउने कोशिश समेत गरेका थिए । दीपा प्रत्येक दिन २ बजे जिम जाने र ४ बजे फर्कने गरेकाले ४ बजे बाटोमा आउँदा उठाउने योजना बनेको थियो । जिमबाट घर आउँदा बाटोमा एउटा सानो गल्ली थियो । स्कुटरमा आवतजावत गर्ने दीपाको स्कुटर लडाएर उनलाई ‘उठाउने’ प्रहरीको योजना थियो ।

२०७५ सालको साउनमै दीपाको स्कुटर लडाएर उठाउने योजना बन्यो । योजना बमोजिम दीपा जिमबाट फर्केलगत्तै अर्को स्कुटरमा रहेका नेपाली प्रहरीले उनको स्कुटरलाई लात्ताले हाने । दीपा स्कुटरसहित लडिन् । तर तत्कालै त्यहाँ स्थानीयहरु आएर ‘के भो’ भन्न थालेपछि दीपालाई उठाउने प्रहरीको योजना असफल बन्यो । त्यो सामान्य ‘दुर्घटना’ भन्दै सबै आ–आफ्नो बाटो लागे । पछि फेरि दीपालाई उठाउने आँट प्रहरीले गरेन । किनभने कुनै जानकारी बाहिर गएमा उनीहरुलाई झनै खतरा हुन सक्थ्यो भने मिसन नै फेल हुन सक्थे ।

लखनउकी दीपा सोनी सम्पत्तिको लागि बिहे गर्ने र अपराध गरी सम्पत्तिमा मोजमस्ती गर्ने खतरनाक महिला बनेकी छिन् । सामान्य परिवारमा जन्मिएकी दीपाको यतिबेला करोडौँको सम्पत्ति छ । त्यो अधिकांश सम्पत्ति दीपक हेमकरकै नामको सम्पत्ति हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप
मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप