बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घर छाडेर सडकमा किन आउँछन् बालबालिका ?

कहाँ छन् गत वर्ष हराएका १,२८६ बालिका ?
बिहीबार, २३ साउन २०७६, १० : ११
बिहीबार, २३ साउन २०७६

१२ वर्षीय सुवास तामाङ (नाम परिर्वतन) कीर्तिपुरदेखि रत्नपार्कसम्म चल्ने बसमा सह–चालकको रूपमा काम गर्थे । सिन्धुपाल्चोक स्थायी घर भएका उनलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपले उद्धार ग¥यो । खोजतलास केन्द्रले तामाङलाई घरपरिवारको जिम्मासमेत लगायो । तर, केही सातापछि फेरि उनी सहचालककै रुपमा काम गरिरहेको फेला परे ।

सहचालकको रुपमा काम गर्ने सुवास जस्तै अन्य बालश्रम गर्ने, सडक बालबालिका, दुर्व्यसनमा फसेका बालबालिका र बेवारिसे बालबालिकालाई परिवार, बालगृह र सुधार गृहको जिम्मा लगाउँदासमेत केही समयपछि नै उनीहरु पुरानै अवस्थामा फर्कने गरेको कैयन उदाहरण देख्न सकिन्छ ।

सडकमा बेवारिस अवस्था भेटिएका सुमन थापा (नाम परिर्वतन) लाई प्रहरीले उद्धार ग¥यो । उनी लागुऔषध दुर्व्यसनमा फसेकाले सुधार केन्द्रमा पठाइयो । तर १२ वर्षीय थापा सुधार केन्द्रबाट बालगृहमा पठाउने क्रममा भागे । त्यहाँबाट भागेपछि उनलाई सडकमा पहिलाकै अवस्थामा पशुपति क्षेत्रमा प्रहरीले फेला पार्यो । उनी अहिले पुनः बालगृहमा छन् ।

बालश्रम गरिरहेको अवस्थामा होस् वा बेवारिस अवस्था या त सडक, बालबालिकालाई उपत्यकाका विभिन्न ठाउँबाट उद्धार गरेर प्रहरीले अभिभावक वा संघ संस्थाको जिम्मा लगाए पनि काठमाडौँको होटल, घर र सडकमा बालश्रम गरिरहेको अवस्थामा बालबालिकालाई फेरि पनि देख्न सकिन्छ । दुर्व्यसनमा फसेका बालबालिकाको सङ्ख्या पनि उस्तै छ, जो सडकमै लठ्ठ परेर बसिरहेको देख्न सकिन्छ ।

एउटै बच्चालाई सडकबाट ४÷५ पटकसम्म उठाएको बालबालिका खोजतलास समन्वय केन्द्रका  प्रहरी निरीक्षक मोहनविक्रम दाहाल बताउँछन् । ‘आमा–बाबासँग बस्ने पहिलो अधिकार बालबालिकाको हुन्छ, परिवार भएकालाई  घरमा नै पु¥याउछौँ,’ उनी भन्छन्, ‘अभिभावकको जिम्मा लगाएका बच्चा फर्किएर फेरि त्यही अवस्थामा भेटिन्छन् ।’

 

 

उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’ !

किन आउँछन् सडकमा बालबालिका

केन्द्रीय बालकल्याणका समितिका अधिकृत रामबहादुर चन्दका अनुसार अभिभावकमा गरिबी र चेनतास्तर कम हुँदा बालबालिका सडकमा आउँछन् । घरमा सौतेनी आमा सौतेलो बुवा, धेरै भाइ–बहिनी भएका परिवारभित्रका बालबालिका सडकमा आउने गरेको उनले बताए ।

मीठो खाने, राम्रो लगाउने र पैसा कमाउने आशामा आफन्त र साथीको लहैलहैमा बालबालिका शहर छिर्ने गर्छन् । काम गर्न आएको घर, होटल र उद्योगहरुमा सोचेअनुसारको वातावरण नपाउदा र एक ठाउँबाट अर्को ठाउँमा सर्दा सडक बालबालिकाको सङ्गतले बालश्रम गरिरहेका बालबालिका सडकमा पुग्ने गरेको अधिकृत चन्दले बताए । 

‘समाजमा भएको गरीबी न्यूनीकरण नभएसम्म बालबालिका सडकमा आउन कमी हुँदैन । बालबालिकालाई पुनःस्थापना गर्न र सडकमा बच्चाहरुलाई आउन नदिन सरकार र गैरसरकारी संघ–सस्थाले प्रयास गरे जस्तै गरिबी न्यूनीकरणका लागि पनि काम गर्नुपर्छ,’ चन्दले रातोपाटीसँगको कुराकानीमा भने ।

घरमा मीठोमसिनो, बिहान साँझ खान नपुग्ने बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर गाउँदेखि शहरमा ल्याउने गरेको खोजतलास केन्द्रका प्रहरी निरीक्षक दाहाल बताउँछन् । ‘शहरमा होटल, घर र उद्योग धन्दाहरुमा बालश्रमिकको भावना नबुझिकन काम गराइन्छ, साथै बालबालिकालाई मानसिकरुपमा समेत पीडा दिइन्छ । अनि उनीहरु सडकमा आउन बाध्य हुन्छन्’ दाहालले भने ।

सडकमा भेटिने गरेका अधिकांश बालबालिका आर्थिक र शैक्षिकरुपमा कमजोर भएका घरपरिवारका भएको प्रहरी निरीक्षक दाहालको भनाई छ ।

किन भाग्छन् बालगृह र घरबाट बालबालिका ?

सडकबाट उठाइएका बालबालिकालाई  घरपरिवार र बालगृहमा पठाएपनि पुनः सडकमा नै देखिने गरेका छन् । पुनर्स्थापना गरिएका सडक बालबालिका हुन् या बालश्रम गरिरहेका, स्थान परिर्वतन गरेपनि उनीहरु पुरानै काम वा अवस्थामा फर्किने गरेको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालको जिकिर छ ।

विभिन्न स्थानबाट फरक—फरक समस्या भएका सडक, बेवारिस, दुर्व्यसनी र श्रमिक बालबालिकालाई उद्धार गरेर एकै ठाउँमा राखिन्छ । प्रायः सबै गैरसरकारी संघ–संस्थाहरुले फरक समस्या भएका बालबालिकालाई एउटै वातावरणमा राख्दा एकै खाले व्यवहार गर्दा भाग्ने सम्भावना हुने प्रहरी निरीक्षक दाहाल बताउँछन् । 

खोजतलास समन्वय केन्द्रले सुधार केन्द्र तथा बालगृहमा पठाएको बालबालिका भन्दा घरपरिवारलाई जिम्मा लगाइएका बालबालिका फेरि त्यही अवस्थामा  फर्किने गरेको दाहालको भनाई छ । ‘होटल अनि सवारीसाधन र कलकारखानामा काम गर्ने बालबालिकाहरुले घरमाभन्दा केही पैसा धेरै र मीठो पनि खान पाउने हुँदा परिवारलाई जिम्मा लगाएका बालबालिका भागेर फेरि शहर नै आउने धेरै छन्, त्यस्तै सडकमा आफनो मनखुसी गरेर बसेका बालबालिका र दुर्व्यसनीमा फसेका, आफन्त नभएका बालबालिकालाई सुधार गृह र बालगृहमा पठाएपनि कतिपय बालबालिका त्यहाँबाट भाग्छन् र फेरि पनि पुरानै अवस्थामा आइपुग्छन् ।’

प्रहरी निरीक्षक दाहालका अनुसार दुर्व्यसनको लतमा फसेका बालबालिकालाई सुधार केन्द्रबाट अर्को भवनमा परामर्श दिन सार्दा होस् या बालगृहमा लैजादा भाग्ने गरेका छन् । सडक, बेवारिसे, दुर्व्यसनी र बालश्रमिक राख्ने गैर सरकारी संघ सस्थाहरुको भवन तथा वरिपरिको पूर्वाधारको संरचना व्यवस्थित नहँुदा बालबालिका भाग्ने गरेको उनले बताए । बेवारिस अवस्थामा हुँदा मन लागेको काम गर्नेे, हिँड्ने र बोल्ने गरेका बालबालिकाहरु सुरुवातको समयमा बालगृह तथा घरबाट पुनः भाग्ने धेरै भएको उनले बताए ।

समस्यामा परेका बालबालिकाहरु उद्धार गर्ने संघसस्थाले क्षमताभन्दा बढी बालबालिका राख्दा पनि समस्या हुने गरेको उनको भनाइ छ । कतिपय संघ संस्थाहरुले बालबालिकालाई लगेर उनीहरुको मनोभावना नबुझेर सिधै पढाउन खोज्दासमेत समस्या आउने गरेको छ । सडकमा आउने बालबालिकाका प्रायः आफन्तजन हुँदैनन् । बेवारिस भएर दुर्व्यसनमा फसेका बालबालिका र गाउँबाट आएका नयाँ बालबालिका सडकमा सँगै बस्दा दुर्व्यसनमा फस्छन् । उनी भन्छन्, ‘काठमाडौं आएको १५ दिनभित्र बालबालिकाको उद्दार भएन भने उनीहरु दुर्व्यसनमा फस्छन् ।’

मनोविज्ञ सनम पौडेलका अनुसार बालबालिका बालगृहमा बिहान उठ्ने, खाने, खेल्ने अन्य दैनिक क्रियाकलाप समय तालिका अनुसार गर्छन् । सुरुवाती समयमा बालबालिकालाई समय तालिकाअनुसार चल्न गाह्रो हुने पौडेलको भनाई छ । ‘सडकमा बेवारिस रहँदा आफुखुसी गर्छन्,’ पौडेल भन्छिन््, ‘बाल गृहमा र घरमा हुँदा सडकमा झै मनलाग्दी गर्न नपाएर भाग्न खोज्छन् ।’

भिन्न—भिन्न परिवेश र समस्याबाट आएका बालबालिकाको आ—आफ्नै कथा छन् । त्यसैले बालगृह र सुधारगृहमा पुग्ने बालबालिकाको मनोभावना बुझेर मात्रै परामर्श दिनुपर्ने मनोविज्ञ पौडेल बताउँछिन् । ‘बालबालिकाको अवस्था नबुझिकन परामर्श दिँदा समस्या आउँछ ।’ उनी भन्छिन्, ‘अनुभवी परामर्शकर्तासँग परामर्श गरेर सामान्य जीवनमा फर्काउन आवश्यक छ ।’

बालकभन्दा बालिका धेरै हराए

बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्याङ्कअनुसार बालकभन्दा बालिका बढी हराएका छन्  । आर्थिक वर्ष ०७५÷०७६ मा नेपालभरबाट २ हजार २ सय २६ जना बालिका हराएका थिए । त्यस्तै  ९ सय ७८ जना बालक गरी कुल ३ हजार २ सय बालबालिका हराएको खोजतलास केन्द्रको तथ्याङ्कमा उल्लेख छ । हराएकामध्ये ९ सय ४० बालिका र ४ सय ५३ बालक फेला परेका छन् । हराएका बालक र बालिका गरी १ हजार ३ सय ९३ फेला परेको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

 

कुन कुन प्रदेशबाट कति बालिका हराए ? कति भेट्टाइए र कति अझै हराइरहेका छन् ? हेर्नुहोस् यो तालिका

नोट : उपत्यकालाई छुट्टै प्रदेशसरह राखेर हेरिएको छ । प्रदेश ३ मा उपत्यकाको सङ्ख्या समावेश गरिएको छैन ।

बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्कअनुसार १ हजार २ सय ८६ बालिका अझै हराइरहेका छन् । यसरी हराउनेमा बालकभन्दा बालिकाको सङ्ख्या बढी हुनु भनेको मानव बेचबिखन कायम नै छ भन्ने रहेको बुझ्न सकिन्छ । समाजमा अझै पनि लैङ्गिक असमानता छ भन्ने कुरा हराएका बालिका फेला नपरेको कुराले प्रष्ट पार्ने केन्द्रीय बालकल्याण समितिका अधिकृत रामबहादुर चन्द बताउँछन् ।

बालिकाहरुलाई भारत लगायतका अन्य देशमा ओसारपसार भएको हुन सक्ने उनको आशंका छ । त्यसो त बालिका हराउँदा अभिभावकहरुले प्रहरीमा खबर गरेपनि भेट्टाएपछि थाहा दिन नआउनेहरु पनि छन् । त्यसका कारण केही सङ्ख्यामा घटी हुनसक्ने भएपनि हराउनेको सङ्ख्यामा बालिका धेरै रहेको उनको दाबी छ ।

नेपालभरबाट ४ सय ६७  बेवारिस बालबालिकालाई प्रहरीले फेला पारेको खोजतलास समन्वय केन्द्रले जनाएको छ । प्रदेश नम्बर एकमा १ बालक बेवारिस भएका थिए भने प्रदेश नम्बर दुईमा १४ बालबालिका बेवारिस  फेला परेका थिए । त्यस्तै प्रदेश नम्बर ३ मा २६ बालबालिका बेवारिस फेला परेका थिए भने गण्डकी प्रदेशमा १२ बालबालिका बेवारिस भेट्टाइएको थियो । उता प्रदेश पाँचमा २३ बालबालिका फेला परेका थिए भने कर्णाली प्रदेशमा ५ बेवारिस बालबालिका फेला परेको तथ्याङ्कमा छ । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा १५ बालबालिका वेवारिस फेला परेका थिए ।

आर्थिक वर्ष ७५÷७६ मा बेवारिसे भएका ४ सय ६७ बालबालिकामध्ये पारिवारिक पुनस्र्थापना प्रदेश १ मा एकलाई गरिएको थियो भने प्रदेश २ मा ७ बालक र ७ बालिकालाई गरिएको थियो । त्यस्तै प्रदेश ३ मा एक बालक र १३ बालिकालाई पारिवारको जिम्मा लगाइएको थियो भने गण्डकी प्रदेशमा एक बालक र ६ बालिकालाई परिवारको जिम्मा लगाइएको तथ्याङ्कमा छ ।

प्रदेश ५ मा १ बालक ५ बालिकालाई पनि पारिवारिक पुनस्र्थापना गरिएको थियो भने कर्णाली प्रदेशमा ३ बालक र २ बालिकालाई परिवारको जिम्मा लगाइएको छ । सुदुरपञ्चिम प्रदेशमा ९ बालक र ४ बालिकालाई पारिवारिक पुनस्र्थापना गरिएको खोजतलास समन्वय केन्द्रले जनाएको छ । सातै प्रदेशका २ सय बालबालिका हाल संरक्षणमा छन् भने उपत्यकाबाट फेला परेका ४ बालक बाल गृहबाट भागेका छन् ।

सबै तस्विरहरु : https://www.globalgiving.org/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप