केन्द्रीय संस्करण
खगाेलयात्रा

क्षुद्रग्रह र ऐस्टेरायडमा ठूलो भिन्नता हुन्छ

person explore access_timeसाउन २४, २०७६ chat_bubble_outline0

आजको युगमा इन्टरनेटबिनाको जीवनबारे कल्पना गर्नु सहज छैन । हातमा बोकेको एउटा मोबाइलले मात्र जो कोहीलाई विश्व नागरिकको दर्जा र हैसियतमा पदोन्नति गरिदिन्छ ।

तपाईंलाई विश्वास गर्न गाह्रो लागेपनि यो सत्य हो । इन्टरनेटको आकाशी संसार वास्तविक संसारभन्दा भीमकाय, रोमाञ्चक, ज्ञानवद्र्धक (लगायत तपाईंलाई जे उपमा, उपनाम र विशेषण थप्न मन लाग्छ) भइसकेको छ । र यो त ‘ट्रेलर’ मात्र हो, पूरा फिल्म आउनै बाँकी छ मित्र हो ।

विवेचनमा नगई लेखको विषयवस्तुमै प्रवेश गर्ने मानसिक हतारोपनाले तपाईंलाई लाग्न गएको खल्लोपना र क्रमभंगताको लागि क्षमायाचना गर्दै गफको क्रम घिसार्ने चेष्टा गर्छु ।

भर्खरै नेपाली मिडियामा समाचार आयो ‘पृथ्वी नजिक भएर जाँदैछ एउटा क्षुद्रग्रह ।’

विज्ञानको जो कोही विद्यार्थीलाई पनि ‘पृथ्वी नजिकबाट भएर जाने’ त्यस पिण्डलाई क्षुद्रग्रह भनिएकोमा अचम्म लाग्यो होला ।

खगोलविद्हरुले हाम्रो सौर्यमण्डलमा रहेका यावत पिण्डलाई त्यसको प्रकृति, प्रवृत्ति, आकार–प्रकार र संरचनात्मक गुण धर्मका आधारमा फरक–फरक नामाकरण गरेका छन् ।

https://www.universetoday.com

हाम्रौ सौर्यमण्डलमा रहेका विभिन्न खगोलीय पिण्डको चर्चा गर्दा त्यसमा प्रमुख हो सूर्य । जसलाई विज्ञानको भाषामा तारा (Star) भनिन्छ । सौर्यमण्डलमा एउटा तारा हुन्छ ।

https://i2.wp.com/everwideningcircles.com

दोस्रो वर्गमा हामी बस्ने पृथ्वीलाई लिऔं, विज्ञानको शब्दावलीमा यसलाई ग्रह (Planet) भनिन्छ । एउटा सौर्यमण्डल अथवा ताराको परिवारमा यिनको संख्या जति पनि हुन सक्छ । अहिलेसम्म पत्ता लागेअनुसारहामीले बसोबास गर्ने सूर्य (तारा) को परिवारमा बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पती, शनि, अरुण र बरुण नाम गरेका जम्मा आठवटा ग्रह छन् ।

बृहस्पति ग्रह र  गैनीमिड । https://live.staticflickr.com

अर्को किसिमका पिण्डलाई चरित्रका आधारमा उपग्रह (Natural Satelite) भनिन्छ । यिनको ग्रहको परिक्रमा गर्छन् । पृथ्वीको उपग्रहलाई चन्द्रमा भनिन्छ । कुनै ग्रहसँग जतिवटा पनि उपग्रह हुन सक्छन् । पृथ्वीसँग एउटा मात्रै उपग्रह छ भने मंगलसँग दुईवटा, बृहस्पतिसँग ६९, शनिसँग ६२, अरुणसँग २७, वरुणसँग १३ उपग्रह रहेका छन् । बुध र शुक्रसँग भने कुनै पनि उपग्रह छैनन् । खगोलविद्हरुले सौर्यमण्डल भित्र झण्डै २ सय प्राकृतिक उपग्रह अर्थात् चन्द्रमा खोजिसकेका छन् । अहिलेसम्म ज्ञात भएका तथ्यहरु अनुसार बृहस्पति ग्रहको गैनीमिड, शनिग्रहको टाइटन, बृहस्पतिकै क्यालिस्टो र आयो पृथ्वीको उपग्रह (चन्द्रमा) भन्दा ठूला रहेका छन् ।

यसैगरी ग्रहजस्तै संरचना भएको अर्को खगोलिय पिण्डलाई क्षुद्रग्रह (Dwarf Planet) भनिन्छ । १८ फेब्रअरी १९३० देखि १३ सेप्टेम्बर २००६ सम्म हाम्रो सौर्यमण्डलमा ९ वटा ग्रह रहेको मान्यता थियो । यो ९औं नम्बरको ग्रहको नाम यम (Pluto) थियो । तर २००६ पछि यसलाई ग्रहको दर्जाबाट निकालियो र क्षुद्रग्रहको वर्गमा राखियो ।

क्षुद्रग्रह यम (प्लुटाे) । https://greatlakesledger.com

हाम्रो सौर्यमण्डलमा क्षुद्रग्रहको संख्या ३ सयभन्दा बढी रहेको छ । यी मध्ये अधिकांश क्षुद्रग्रह वरुण ग्रहभन्दा पारिको आकाशमा रहेका छन् । यहाँ यमका अतिरिक्त माकेमाके, एरिस, हउमेया, डायस्नोमेनिया लगायत थुप्रै क्षुद्रग्रह पहिचान गरिएका छन् । क्षुद्रग्रहसँग पनि उपग्रह हुनसक्छन्, जस्तो कि प्लुटोसँग ५ वटा चन्द्रमा रहेका छन् ।

एउटा क्षुद्रग्रह भने मंगल र बृहस्पती ग्रहको बीचमा रहेका पाइएको छ । सेरेस नाम दिइएको यस क्षुद्रग्रहको व्यास (डायमिटर) ९ सय ५० किमि रहेको छ ।

वरुण पारिको आकाशमा रहेका अर्का खगोलीय पिण्डलाई धुमकेतु (Commet) भनिन्छ । सूर्यको परिक्रमा गर्दै धुमकेतु पनि पृथ्वी नजिकबाट भएर जान्छन् । हेली, ह्याकुटाके, हेलबप, वोरेली, इन्के, टेम्पल टटल, वाइल्ड –२, टेम्पल –१ आदि प्रमुख धुमकेतु रहेका छन् । हेली धुमकेतु प्रत्येक ७५–७६ वर्षमा पृथ्वी नजिक भएर जान्छ । अन्तिम पटक सन् १९८६ को फेब्रअरीमा यो पृथ्वी नजिकबाट भएर गएको थियो । अव यो २०६२ तिर पृथ्वी नजिक भएर जान्छ ।

सौर्यमण्डलको आकाशमा सबैभन्दा साना पिण्ड उल्का (Meteor) हुन् । यिनको आकार धुलोको कणदेखि लिएर १० मिटरसम्म हुन सक्छ । पृथ्वीको माथिल्लो वातावरणमा प्रवेश गर्नासाथ वायुमण्डलीय घर्षणका कारण यी जलेर नष्ट हुन्छन् । कहिले काहीँ उल्काको अवशेष पृथ्वीसम्म आइपुग्छ । पृथ्वीमा खसेका यस्ता वस्तुलाई नै उल्कापिण्ड  (Metror Rite) भनिन्छ ।

सौर्यमण्डलमा तारा, ग्रह, उपग्रह, क्षुद्रग्रह, धुमकेतुको अतिरिक्त ठूलो संरचना भएको एउटा अर्को पनि पिण्ड हुन्छ । सौर्यमण्डलमा सबैभन्दा बढी संख्या यिनै पिण्डको रहेको छ । यिनलाई ग्रहिका अर्थात् एस्टेरोइड (Asteroid) भनिन्छ ।

ऐस्टेरोइड बेल्ट । https://www.jpl.nasa.gov

मंगल र बृहस्पति ग्रहको बीचका अन्तरिक्ष भागमा जहाँ एउटा क्षुद्रग्रह रहेको जानकारी आएको छ । एस्टेरोइड भनिने यी पिण्डको स्थायी थातथलो त्यही स्थान हो । यस स्थानलाई खगोलीय भाषामा ‘ऐस्टेरोइड बेल्ट’ भनिन्छ । लाखौँको संख्यामा यहाँ यी ऐस्टेरोइड भनिने खगोलीय पिण्डको उपस्थिति भएका कारण यस क्षेत्रलाई ‘ऐस्टेरोइड बेल्ट’ भनिएको हो । विभिन्न प्रकारको आकृति हुने यिनको आकार भने १ मिटरदेखि लिएर १० लाख मिटरसम्मको हुनसक्छ । अहिलेसम्म पहिचान गरिएका ठूला ऐस्टेरोइडमा ४ भेस्टा (4 Vesta), २ पलास (2 Palas), १० हाइजिया (10 Hygiea ) लगायतका रहेका छन् । यीमध्ये सबैभन्दा ठूलो ४ भेस्टा रहेको छ । यसको व्यास ५२५ किमि छ र यसले ३.६३ वर्षमा सूर्यको एक परिक्रमा पूरा गर्छ । आफ्नो अक्षको परिक्रमा गर्न यसलाई ५.३४२ घण्टाको समय लाग्छ । यसको सतहको तापमान १८ देखि माइनस १८८ डिग्रि सेल्सियससम्म रहन्छ । यस ऐस्टेरोइडको मास (Mass) २६ लाख खर्व टन रहेको छ । यसको सूर्यसँग दूरी २.१५  ऐयू देखि २.५७ ऐयू (एस्ट्रोनोमिकल यूनिट) छ । सूर्यको परिक्रमा गर्दा यो पृथ्वीको नजिक भएर जाने क्रममा १.१४ ऐयू नजिक आइपुग्छ । औसत रुपमा यो दूरी १.३६ ऐयू हुन्छ ।

‘ऐस्टेरोइड बेल्ट’ मा रहेका लाखौँ लाख पिण्डहरु (‘ऐस्टेराइड्स) ले ग्रह लगायत सौर्यमण्डलभित्रका अन्य खगोलीय पिण्डहरुले जस्तै सूर्यको परिक्रमा गर्छन् । त्यसरी परिक्रमा गर्ने क्रममा यी बेला बेलामा पृथ्वी नजिक भएर आफ्ना परिक्रमा पथमा अगाडि बढ्छन् ।

https://cdn6.newsnation.in

नेपाली मिडियाले जसलाई क्षुद्रग्रह भनेको छ, त्यो क्षुद्रग्रह नभएर एस्टेरोइड हो । २१ अगस्ट सन् २००६ मा पहिचान गरिएको यसलाई ‘२००६ क्युक्यु २३’ (Asteroid 2006 QQ23) नाम दिइएको छ । २००७ मा सूर्यको परिक्रममा गर्ने क्रममा पृथ्वी नजिकबाट गुज्रने क्रममा नासाका  वैज्ञानिकहरुले १० दिनसम्म यसलाई पछ्याएका थिए । त्यसपछि यो ओझेल भयो । १३ वर्षपछि पुनः यो पृथ्वी नजिक भएर जाँदैछ । १० अगस्टका दिन यो पृथ्वीको सर्वाधिक नजिक झण्डै ७४ लाख ४५ हजार किमि दूरीबाट गुज्रिन्छ ।

आकार प्रकारको हिसाबले भन्दा यो सानो आकारको ऐस्टोरोइड हो । यसको आकार २५४–५६८ मिटरसम्म छ । अहिले सर्वत्र चासो, चिन्ता र जिज्ञासाको विषय यो पृथ्वीमा खस्ने वा ठोक्किने पो हो कि भन्ने खालका पनि छन्  । तर वास्तवमा, यो  पृथ्वीमा खस्ने वा ठोक्किने सम्भावना अति न्यून छ । अनुमान र रमाइलो कै लागि कुरा गर्ने हो भने पनि, कथम कदाचित यो पृथ्वीको गुरुत्वार्कषणले तानेर पृथ्वीतिर हुइँकियो भने पनि यसको कुनै पनि अवशेष पृथ्वीसम्म आइपुग्दैन । यो आकाशमै जलेर नस्ट हुन्छ ।

Title Photo: https://cdn.mos.cms.futurecdn.net

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...