केन्द्रीय संस्करण

‘चोरका खुट्टा काट्’ भन्दा खुट्टा लुकाउने को ?

person explore access_timeसाउन २४, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

मलाई लाग्छ उल्लिखित उखानले कुनै समयको अनुसन्धान विधिको प्रतिनिधित्व गर्छ । यसको उपादेयता आजको समाजमा बाँकी छ कि छैन त्यो छुट्टै अध्ययनको विषय हो ।

जहाँसम्म समाचारको कुरा छ । हिजोआज कतिले समाचार पढ्नै छाडेका छन् । समाचार अपराध कथाको व्याख्यानमाला जस्तो लाग्न थालेको छ । यसमा समाचार पस्कनेहरुको दोष छैन । समाजमा पस्कने कुरा नै नभएपछि के पस्कने ? अपराधका घटनाकथा यति धेरै, यति धेरै छन्, पस्कन भ्याइ नभ्याइ छ । लाग्छ, सञ्चारमाध्यम पनि अब त आत्तिइसकेकोे छ । कहाँ मात्र पुग्ने ? कति मात्र अनुगमन गर्ने ? यसै त पत्रकारका मिहिनेत र धैर्यको प्रशंसा गर्ने परिपाटी हामीकहाँ विकसित छैन । प्रोत्साहन शून्यप्रायः नै छ । अपराधीले औँला ठड्याउन भने बाँकी राख्दैनन् । भ्याए सिध्याइदिन पनि पछि पर्दैनन् । हामीकहाँ सबैभन्दा बलिया अहिले अपराधीहरु नै देखिएका छन् । सत्ता उनीहरुको छ । पीडितले न्याय पाउने सम्भावना मरेको छ । न्याय दिने निकाय नै बाँकी छैन । वनस्पतिमा बनमारा, सत्तापतिमा माफिया । जे छ तिनैको छ । लोकतन्त्र गणतन्त्र सबै तिनैका लागि छ ।

यो आजको यथास्थितिको सामान्य चित्रण हो । निराशा होइन । अभैm प्रतीक्षा हो । पराकाष्टाको प्रतीक्षा । आँधीबेहरी त जनताको सुसेलीले  चल्छ, चलिआएको छ । यो आवश्यकताको कुरा पनि हो । यसैले थप आँधीबेहरीको समय अब नजिकिँदै आएको हुन पनि सक्छ । केही वर्ष यसै जान पनि सक्छ ।

अब एकछिन हाँसोको कुरा गरौँ । हाँसो सुखको मात्र हुँदैन । दुःखको पनि हाँसो हुन्छ । उदासीनताको पनि हाँसो हुन्छ । उपहासको पनि हाँसो हुन्छ । अहिले यहाँ एउटा त्यस्तै हाँसोको प्रसङ्ग पस्कन खोजेको छु । हाम्रा गाउँघरमा अन्य विभिन्न उखानका साथै एउटा हास्योन्मख उखान पनि चल्तीमा छ । कोही एक्कासि उतर्सियो भने भनिन्छ, “चोरको खुट्टा काट् भन्दा हत्त न पत्त आफ्नो खुट्टा किन लुकाउनुपर्या होला ?”  ‘बढी बाठो बनेर आफूलाई लुकाउन खोज्ने व्यक्ति झन् सजिलै फेला पर्छ !’ भनेको यही त होइन ? 

उखानले नै भन्छ यथेष्ट प्रमाणबिना कसैलाई अभियोग लगाउने चलन हाम्रो परम्परागत संस्कृतिमा थिएन । बिज्याइँ– अनुसन्धानका भरपर्दा विधिहरु थिए । ‘खुट्टा काट् विधि’ पनि एउटा चल्तीकै विधि थियो । यस उखानलाई हास्य प्रसङ्गमा पनि प्रयोग गरिन्थ्यो । अहिले पनि गरिन्छ । जस्तैः

सांसद राजेन्द्र महतोले सदनमा बम–बम बनेर बम्कनुको समस्या चाहिँ के हो त ? यसै त माननीय राजेन्द्र महतोको नालीबेली नेपाली जनतालाई थाहा छ । त्यो त स्वयम् राजेन्द्र महतोलाई अझ बढी थाहा छ ।

(१) नेपालबाट अनधिकृत रूपमा नागरिकता लिन सफल भनिएका झण्डै चालीस लाख भारतीयमध्येका आठ जनाको नागरिकता रद्द गरिएको समाचार प्रकाशमा आयो । नेपाली नागरिकता लिने भारतीयहरुको सङ्ख्याका तहबाट हेर्दा यो सङ्ख्या नगण्य नै हो । “काटेँ मुसाको कान, जोगाएँ ससुरालीका धान !” भन्ने उखान पनि त छ । यो त्यसै उखानको जस्तै घटना हो । संयोगवस नागरिकता रद्द हुने आठ जना भारतीय मध्येमा एउटा नाम ‘राजेन्द्र महतो’ पनि सुनियो । यसबाट पटक पटक मन्त्री भएर अलेख सम्पत्ति कमाउन भ्याइसकेका र हालका पनि सांसद माननीय राजेन्द्र महतोको दिलदिमागमा झस्का पसेछ । यसरी झस्का पस्नु कति स्वाभाविक थियो ? थाहा छैन । ‘मेरो नाम किन ? कहाँबाट ? यो त मेरो मानहानि भयो !’ भन्दै माननीय सांसद महतो संसदमा बम्कनुभएको सुनियो । नाममा पनि कसैको प्याटेन्ट अधिकार वा कपी राइट हुने गरेको त थाहा थिएन । समस्या सायद त्यो पनि होइन । समाजमा एकै नामका मानिस अनेक हुन सक्छन् । कदाचित एक जना नामधारी स्वर्गे भएछन् भने समान नामधारी अर्काको पनि प्रााणपखेरु उडेको घटना पनि अद्यावधि सुनिएको छैन । समस्या सायद त्यो पनि होइन । सांसद राजेन्द्र महतोले सदनमा बम–बम बनेर बम्कनुको समस्या चाहिँ के हो त ? यसै त माननीय राजेन्द्र महतोको नालीबेली नेपाली जनतालाई थाहा छ । त्यो त स्वयम् राजेन्द्र महतोलाई अझ बढी थाहा छ ।

(२) हाम्रा मुलुकका गणतान्त्रिक ठूलाबडाहरुलाई देशभित्रका कुनै कुरामाथि विश्वास छैन । डाक्टरहरुमाथि पनि विश्वास छैन । विश्वास नहुनुकै कारण ठूलाबडाहरु रुघाखोकीको उपचार गर्न पनि विदेश जान्छन् । अमेरिका जान्छन् । सिङ्गापुर जान्छन् । ब्याङ्कक जान्छन् । कदाचित दिल्ली पनि जान्छन् । स्वदेशभित्र उपचार गर्दैनन् । विदेशमा उपचार गर्न कयौँ गुना महँगो पर्छ । स्वर्गीय प्रधानमन्त्री सुशील कोराला र वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको वैदेशिक उपचारमा करोडाँै करोड खर्च भएको र त्यो रकम सरकारी ढुकुटीबाट बेहोरिएको समाचार हामीले पटक पटक पढिआएकै हाँै । हामीले पूर्वराष्ट्रपति यादव र कोइराला परिवारकी प्रभावशाली महिला सांसदको वैदेशिक उपचारमा सरकारी ढुकुटीले पस्केका ठूला ठूला धनराशिका बारेमा पनि पढिसुनिआएका हौँ । नेता उपनेताहरुकै उपचार नामक विधामा मुलुकको करोडौँ रकम बर्सेनि खर्च भइआएको तथ्यबाट जनता अन्जान छैनन् । जनता बिरामी हुँदा झिटी हुने झिटी बेचेर पनि उपचार गर्छन् । नहुने उपचार नपाएरै मर्छन् । नेता बिरामी भएपछि उनीहरुको चञ्चलाश्रीमा घुनपुत्लो लाग्दैन । सरकारी ढुकुटीमा भने भ्वाङ्प्वाल पर्छ । यो कुरा जनतालाई थाहा छ । जनताले आफू बिरामी हुँदा तितेपाती चपाएर यो सबै नाटक हेरिआएका छन् । अनौठो लाग्न छोडेको छ ।

कसैले भने, “कुरा त्यसो होइन । यो त जनताका थाहामाथिको सरकारी कुतकुती हो ! हत्केलाले ढाकेर सूर्य ढाकिने हो र ? छाता पनि आफूले ओढ्ने हो, सूर्यलाई ओढाउने होइन नि । यो चाहिँ सूर्यलाई छाता ओढाउने प्रहसन हो ।”

यसपालि प्रधानमन्त्री उपचारार्थ सिङ्गापुर जानुहुँदा सरकारले समाचारै बनाएर प्रचार गर्न लगायो, ‘प्रधानमन्त्री आफ्नै खर्चमा उपचार गराउँदै हुनुहुन्छ ।’ पछि पुच्छरमा भनियो ‘प्रधानमन्त्री सिङ्गापुर जानेआउने खर्च चाहिँ सरकारले बैहोर्ने हो ।’ समाचारमा थप के पनि सङ्केत गरियो भने, ‘प्रधानमन्त्री सँगसँगै जानेहरुले खाजा खाना पनि आफै‌ं खान्छन् ।’ तिनीहरुलाई टीएडीए दिइएको छैन भन्नुको आसय यही थियो  । यो समाचार पढेर धेरै मानिस मुसुमुसु हाँसे । कसैले मुख फोरेरै भने, “मोही माग्ने, ढुङ्ग्रो लुकाउने किन ? आखिर मोही थाप्ने त ढुङ्ग्रामै हो ।” कसैले भने, “कुरा त्यसो होइन । यो त जनताका थाहामाथिको सरकारी कुतकुती हो ! हत्केलाले ढाकेर सूर्य ढाकिने हो र ? छाता पनि आफूले ओढ्ने हो, सूर्यलाई ओढाउने होइन नि । यो चाहिँ सूर्यलाई छाता ओढाउने प्रहसन हो ।”

अतिथि महोदयले सङ्केत गर्न खोज्नुभएको ग्रान्ड डिजाइन चाहिँ अरू के हुन सक्छ ? त्यो थाहा छैन । अझ कूटनीतिमा यस्ता शब्दका अर्थ कस्ता पनि हुन सक्छन्, त्यो त हामी जनतालाई थाहापत्तै छैन । अतिथि महोदयले विनाप्रसङ्ग ग्रान्डडिजाइनका कुरा किन निकाल्नुभयो, हामी जनता बिलखबन्दमा छौँ । अर्थात् गम्भीर जिज्ञासामा छौँ ।

(३) छिमेकी मुलुक भारतका एक विशेष दूत गतहप्ता काठमाडौँ आउनुभयो । सम्मानित अतिथि हुनुहुन्थ्यो । सत्तासीन ठूलाबडाहरुसँग भेटघाट गर्नु भयो । कुराकानी गर्नुभयो । केके कुरा भए ती त थाहा भएन । एउटा गाँठी कुरा सञ्चार माध्यमबाट थाहा पाइयो । उहाँले भन्नुभएछ, “नेपालमाथि भारतको कुनै ग्रान्ड डिजाइन छैन ।” “नेपालमाथि भारतको ग्रान्ड डिजाइन पनि छ कि ?” भनेर कुनै पत्रकारले सोधेको थिएन । स्वतस्फुर्त रूपमा भारतीय सरकारी अतिथि महोदयले यो वक्तव्य किन पस्कनुभयो ? थाहा पाउन सकिएन । यस वक्तव्यलाई पनि हामी नेपाली जनताले आफ्नै पुराना उखान सूत्रहरुका आधारमा बुझ्नुपर्ने हो कि ? हामीलाई त विगतका नाकाबन्दीहरु थाहा छन् । सीमामा निरन्तर भइरहने बलमिच्याइँ अतिक्रमणहरु थाहा छन् । प्रतिवर्षातमा हुने डुबान थाहा छ । नेपाली श्रमजीवी किसानमाथि विभिन्न सन्दर्भमा दिइआएका बाधा व्यवधान र उत्पीडनहरु थाहा छ । आर्थिक क्षेत्रमा नेपाललाई मुन्टो उठाउन नदिएका धेरै तथ्य थाहा छन् । यसका अतिरिक्त अतिथि महोदयले सङ्केत गर्न खोज्नुभएको ग्रान्ड डिजाइन चाहिँ अरू के हुन सक्छ ? त्यो थाहा छैन । अझ कूटनीतिमा यस्ता शब्दका अर्थ कस्ता पनि हुन सक्छन्, त्यो त हामी जनतालाई थाहापत्तै छैन । अतिथि महोदयले विनाप्रसङ्ग ग्रान्डडिजाइनका कुरा किन निकाल्नुभयो, हामी जनता बिलखबन्दमा छौँ । अर्थात् गम्भीर जिज्ञासामा छौँ ।

भन्ने नै हो भने हामी त आज पनि त्यही ‘खुट्टा काट्’ उखानकै युगमा छौँ । हाम्रो अध्ययन र ग्रहणशीलताको सीमा त्यही हो । यथार्थ त्यही हुन पनि सक्छ किनभने हामीले मिथकका मिथ्या जन्जालहरु अभैm छिचोलेका छैनौँ । हामी भवसागरमै छौँ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...