शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शहर केन्द्रीत हुँदै डेङ्गु : उपत्यकाको धेरै स्थानमा डेङ्गु फैल्याउने लामखुट्टे र लार्भा छ्यापछ्याप्ती भेटियो

शुक्रबार, २४ साउन २०७६, १५ : ४०
शुक्रबार, २४ साउन २०७६

काठमाडौँ । सुनसरीको धरानबाट सुरु भएको डेङ्गु अहिले कास्की हुँदै मकवानपुरमा पनि देखिको छ । धरानमा वैशाखमा फैलिएको डेङ्गु अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा धरान आसपासका शहर हुँदै डेङ्गु पोखरा, हेटौँडा लगायतका शहरमा पनि फैलिसकेको छ । 

हाल धरान, पोखरा र हेटौँडामा फैलिएको डेङ्गु नियन्त्रणको लागि स्थानियस्तर देखि केन्द्रलाईनै चुनौति बनेको छ । डेङ्गु संक्रमितको सङ्ख्या हेर्ने हो भने अहिलेसम्म सबैभन्दा धेरै सुनसरीको धरानमा देखिएको छ । ०७६ साउन २२ सम्मको तथ्याङ्कलाई हेर्ने हो भने यसका रोगी धरान उप–महानगरपालिकामा अधिकतम रहेको छ । वैशाख ३० देखि अहिले सम्म २ हजार ८ सय ३ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।  

यस्तै कास्की मा साउन ४ देखि पोखरा महानगरपालिका वडा नं. ८ शिबालयमा पहिलो डेङ्गुका विरामी देखा परेको थियो । सो ठाउँमा अहिलेसम्म १८ जना डेङ्गुको संक्रमण फैलिएको छ । मकवानपुरको हेटौडा उप—महानगरपालिका वडा नं.४ मा डेङ्गु विरामी देखापरेको छ । सो ठाउँमा साउन ११ गते सम्म ३८ जना डेङ्गु संक्रमित भेटिएको जनाएको छ ।

डेङ्गु संक्रमित बिरामीको स्थानीय अस्पतालमा उपचार भइरहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. विवेकलालका अनुसार संक्रमण फैलिए पनि प्रभावकारी उपचारका कारण ज्यान गुमाउनु पर्ने अवस्था भने नआएको बताए ।

डेङ्गु फैलिएको क्षेत्रमा नियन्त्रण तथा बच्ने उपायबारे सूचना प्रवाह भइरहेको र लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भइरहेको पनि महाशाखाले जनाएको छ ।


यस्तै आधुनिक जीवनशैली, पानीको पर्याप्त व्यवस्था नहुनु र फोहोर मैलाको समयमा व्यवस्थापन नगर्दा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु पछिल्लो समय शहरी क्षेत्रमा बढी देखिन थालेको महाशाखाले जनाएको छ । शहरी क्षेत्रमा धारामा पर्याप्त मात्रामा पानी नआउँदा नागरिकले भाडामा पानी जोहो गरेर राख्ने र त्यस्ता पानीमा लामखुट्टेले अण्डा पार्ने र लार्भाको विकास हुने हुँदा समस्या थपिदै गएको देखिन्छ । साथै फोहोर मैलाको राम्रो व्यवस्थापन नहुँदा पनि शहरी क्षेत्रमा डेङ्गु फैलिनुको प्रमुख कारक मानिएको छ ।

उपत्यकामा पनि छ्यापछ्याप्ती डेङ्गु फैल्याउने लामखुट्टे र लार्भा भेटियो

केही दिन पहिला डेङ्गुसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा काठमाडौँमा तालिम दिने क्रममा केही स्थलगत भ्रमण गर्दा डेङ्गु संक्रमण फैल्याउने लामखुट्टे, अण्डा र लार्भा  छ्यापछ्याप्ती भेटिएको महाशाखाका निर्देशक डा. लालले बताए । यस्ता कुनै पनि लामखुट्टेले नागरिकलाई टोकेको खण्डमा डेङ्गु फैलिन समय नलाग्ने महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि यस्ता लामखुट्टे अहिले सम्म प्रशस्तै मात्रामा देखिएको र अहिलेदेखिनै सहज नहुने हो भने समस्याले विकराल रुप लिने सकिने महाशाखाले जनाएको छ ।

नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा चिकित्सक र स्थानियतहलाई डेङ्गु नियन्त्रण र व्यवस्थापनको बारेमा मास्टर तालिम दिईसकेको छ । लामखुट्टेको अण्डा र लार्भालाई नस्ट गर्ने काम भएको र हाल संक्रमण फैलिएको ठाउँ—ठाउँमा खोज र नस्ट गर अभियान चलिरहेको महाशाखाले जनाएको छ ।

कानूनी प्रक्रियामा पनि जानुपर्छ

डेङ्गु नियन्त्रणको लागि स्थानियतह,जिल्ला अस्पताल, प्रदेश र केन्द्रबाट पनि विभिन्न उपाए अपनाउँदा अपनाउँदै पनि नियन्त्रणमा नआउँदा अब कानूनी रुपमा पनि जाने होकि भन्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ । डेङ्गु कसरी फैलिन्छ, नियन्त्रणको लागि के गर्नुपर्छ भन्ने बारेमा नागरिकलाई जानकारी हुँदा हुँदै पनि डेङ्गु फैलिने वातावरण नागरिकबाटनै बनेको र सम्बन्धी निकायलाई पर्याप्त सहयोग पनि नभएको हुँदा कानुनी प्रक्रियामा जाने हो भने पनि नियन्त्रण गर्न सहज हुने चिकित्सकहरुको भनाई छ ।

जस्तै कुनै संघसंस्था वा घरको वरिपरि लामखुट्टेले लार्भा पार्ने वातावरण बनाउँदासम्म बेवास्था गरेको खण्डमा सम्बन्धित घरधनी वा संघ संस्थालाई केही हदसम्म कार्वाही गर्न सकिने व्यवस्था पनि ल्याउन सकिन्छ ।

यस्तो कानुनको अभ्यास छिमेकी राष्ट्र भारत लगायत विश्वका धेरै देशहरुले गर्दै आईरहेको छ । तर नेपालको सन्दर्भमा भने अहिलेसम्म यस्तो कानून बनेको पाइँदैन । स्वास्थ्य विज्ञहरुले डेङ्गु फैलिन सक्ने वातावरण बनाउने संघसंस्था र घरधनीलाई सचेतनासँगै कानूनी कारवाहीको पनि प्रावधान बनाउन सकेको खण्डमा नागरिक सचेत हुने आशा गरेका छन् ।

साथै धुँवाबाट लामखुट्टे भगाउने प्रक्रिया खासै प्रभावकारी नहुने र धुँवामा प्रयोग गरिने विषादी स्वास्थ्यको लागि हानिकारक हुने हुँदा प्रयोग नगर्न पनि महाशाखाले आग्रह गरेको छ । हाल स्थानीय निकायले धुवा फाल्ने मेसिन किन्ने र लामखुट्टे भगाउने काम गरिरहेको भए पनि विश्व स्वास्थ्य संगठनले यो उपाए प्रभावकारी नहुने उल्लेख गरेको छ । महाशाखाका प्रखुम डा. लालले झन्झटीलो भए पनि लामखुट्टे खोज्ने र नष्ट गर्ने कामनै गर्नुपर्ने बताए ।

डेङ्गु अहिले विश्वव्यापी रुपमै समस्या देखिएको छ । लामखुट्टेबाट फैलिने डेङ्गुको संक्रमणबाट बच्नको लागि भाडामा पानी थापेर राख्न नहुने, भाडामा पानी राख्दा छोपेर राख्ने, कुनै पनि खाल्डाखुल्डी, फोहोर ठाउँमा पानी जमेको छ भने त्यस्ता ठाउँमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्नु नै नियन्त्रणको प्रमुख उपाय हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप