शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथा : लोग्नेले छाडेपछि...

शनिबार, २५ साउन २०७६, ११ : ४४
शनिबार, २५ साउन २०७६

छाडेर गएको लोग्नेलाई माया गर्छेस् ? कहिलेकाहीँ सोध्छन् मलाई । उत्तर आफैसँग हिफाजत गरेर राखेको छु । सोध्नेलाई मुढ अनुसार जवाफ दिन्छु । हदसम्म बाँझियो । हदसम्म एक अर्काको खेदो गरियो । कहिलेकाहीँ त कुटपिटसम्म गरियो । छाडेर गयो । म पनि एक्लै बसेँ । अर्की ल्यायो । कति दिन टिक्ली भन्ने लाथ्यो ।

साँच्चिकै टिकिन पनि । त्यो पोइल गई । त्यो जाँदा खुशी लागेको थियो । कहाँबाट केटी पाउँदो रहेछ कुन्नि । फेरि दोस्री ल्यायो । त्यो पनि धेरै दिन बस्तिन ग्यारेन्टी थियो । कहिलेकहिले भेटेको बेला अलि अलि आगो थप्ने काम म पनि गर्थें । हुन पनि त्यो मूर्ख छ नै अधकल्चो बुद्धिको । त्यसलाई अर्काको सम्मान गर्न आउँदैन । रिसको पोको । डाडे ज्यादै । शङ्कालु उस्तै । त्यस्तो भालुसँग को बसोस् ?

त्यसकी दोस्री स्वास्नी पनि हिँडी । त्यतिबेला मलाई केही लागेन । बानी परेको थियो । हार मानेर चुप बस्ला भनेको फेरि बिहे गर्न तत्पर थियो । कहिलेकाहीँ भेट हुँदा मलाई पनि फकाउन आउँथ्यो । नचिनेको भए पो फर्किनु । त्योसँग फेरि जानुभन्दा त मर्नु बेस लाग्थ्यो । छोरो मेरै साथमा थियो । राम्रैसँग बाँच्न सक्छु भन्ने लाग्थ्यो ।

अर्की बुढी ल्याएको हल्ला थियो । मैले वास्ता गरिनँ । विदेश जाऊँ कि भन्ने सोच पलाएको थियो । काम सहज र सम्मानजनक हुँदैन भन्ने सुनेपछि मन मरेर आयो । बनाएको पासपोर्ट घरमा थन्कियो । घर बनाउने ठाउँमा इँटा बोक्ने काम गर्न थालंँ । प्रायः मेरो भेट लोग्नेले दुःख दिनेसँग हुन्थ्यो । साथमा मिलेर कुरा काटिन्थ्यो । यो लोग्ने मानिस आइमाइलाई दुःख दिन जन्मेका जस्ता । कस्ता असत्तिहरु !

छोरोलाई हामीभन्दा फरक बनाउन चाहन्थे । रगत हाम्रै थियो । संस्कार हाम्रै टिप्यो । कलह र झगडामा हुर्किएको छोरो फरक हुन सकेन । ऊ दिनानुदिन बाउ जस्तै बन्दै गयो । उसलाई सम्हाल्न गाह्रो पर्यो । त्यसैले उसले बनाएको भनेको गर्लफ्रेन्डलाई केही भन्न सकिनँ । उनीहरु हात समातेर मेरो अगाडि हिँड्थे । कुकुर बिराला जसरी झगडा गर्थे । छिमेकी कुरा काट्थे । अनि त्यतिबेला बाउ भएको भए यति विधि पेल्न सक्दैन्थ्यो कि जस्तो लाग्थ्यो ।

उसकी कान्छी आमा भने डटेर बसी । अरू जसरी भागिनँ । उसले दुःख खपी वा माया पाई थाहा भएन । उसले छोरो जन्माई । छोरोलाई भाइ हेर्न जा भनेर भन्थे । उसले नबोली टेर खाएन । मैले अरूसँग त्यो छोरोलाई भेट्दिन भनेको भए पनि असाध्यै भेट्न मन थियो । कस्तो जन्मियो देख्न मन थियो । छोरालाई फकाएर हेर्न पठाएँ ।

छोरो फर्किएर केही बोलेन । जति सोध्दा पनि खुल्दैखुलेन । ऊ झनझन कम बोल्ने भएको थियो । चुरोट खान्थ्यो मलाई पनि थाहा थियो । अब त उसले गाँजा खान थालेको सुनाए । खबरले छाँगाबाट खसे जस्तै भएँ । छोरो घर फर्किएपछि गाली गरेँ । गाली खाएको दिनदेखि झन् टाढा हुँदै गयो ।  म छोरोलाई सुधार्न चाहन्थे । तर कसरी थाहा थिएन । छिमेकीले क्रिस्चियन बनेपछि छोरालाई सुधार्न सकिन्छ भनी उक्साए । मैले छोरो सुधार्न धर्म परिवर्तन गरेँ ।

छोराको नाममा धेरै दिन प्रार्थना गरियो । मैले नसके पनि प्रभुले हेर्लान् कि भन्ने लागेको थियो । छोरो जस्ताको तस्तै रह्यो । एसईई फेल भयो । उसकी गर्लफ्रेन्डले छाडिदिई । ऊ त झन् साथीसँग मारपीटसमेत गर्न थाल्यो । म ज्वरो आएर निकै समय थलिएँ । त्यसपछि इँटा बोक्ने काम छोडिदिएँ ।

ठेलामा तरकारी बेच्न सुरु गरेँ । काम कठिन थिएन तर पैसा कमाउन कठिन थियो । छोरो कहिले चोट लगाएर आउँथ्यो कहिले गाजामा लठ्ठ भएर आउँथ्यो । मैले हार खाएर उसको बाउलाई तह लाउन पर्यो भनी गुहार मागे । उनले सुनेको नसुनेझैँ गरे । मैले सप्रेला कि भनेर नमान्दा नमान्दै पनि उसको बाउकोमा पठाएँ ।

कहिलेकाहीँ विवाह गर्यौ भन्ने मानिस नभेटिइएका होइनन् । खासमा मलाई यो पुरुष जातिप्रति विश्वास नै लाग्दैन । छोरोले बुहारी ल्याएपछि एक्लै पर्छेस भन्दै साथीहरु सम्झाउँछन् । तर उनीहरुलाई थाहा नहुँदो हो म श्रीमान साथमा हुँदा पनि एक्लो थिएँ । छोरोसँग हुँदा पनि एक्लो । एक्लिएर नै मर्छु हाला भन्ने भावनाले आक्रान्त बनाउँथ्यो ।

छोरो बाउसँग बस्न नमानेर फर्कियो । फर्किएको दिन हाम्रो झगडा पर्यो । उसले रिसाएर अहिलेको अवस्थाको कारण मलाई दोष लगायो । बाउ र कान्छी आमा माया गरेर, रमाएर बसेका कुरा बतायो । मैले माया गर्न नजानेको आक्षेप लगायो । जो मसँग बस्छ त्यो मायाको, उचित व्यवहारको भोको रहने बतायो । त्यसपछि मैले उसलाई केही भन्न सकिनँ । सायद उसको कुरा सही पो हो कि भन्ने विचरणमा घोत्लिन पुगेँ ।

मैले छोरालाई आफ्नो नियन्त्रणबाट छाडिदिएँ । ऊ मनलाग्दी जीवनयापन गर्न थाल्यो । गाडा बेचेर अरूको घरमा काम गर्न थालेँ । तर मनमा छोराले भनेको कुरा अड्केको थियो । “माया गर्न नजान्ने मान्छे ।” कहिले त त्यो लोग्नेलाई सोधौँ झैँ लाथ्ग्यो मैले र कान्छीले गर्ने के व्यवहारमा के फरक थियो र ऊ पग्लियो भनेर । अथवा यो पनि मनमा खेल्थ्यो कि कान्छीलाई सोध्यौँ मान्छेलाई मायामा पार्ने तरिका के हो भनेर ।

सानामा बिहे भयो । माइती खासै गइएन । बाआमा पनि चाँडै बिते । भएको भाइ इन्डिया काम गर्न गएको थियो फर्केन । एक दिन लोग्ने पाएँ । संस्कार भनी स्वीकारेँ । लोग्नले लोग्ने बन्ने प्रयत्नमा लाग्यो ।  आफ्नो शासन चलायो । मेरो सोचाइमाथि, मेरो शरीरमाथि प्रभुत्व जमायो । उसले माया गर्यो गरेन हिसाब गरिनँ । मैले गरेँ गरिन चाल पाइनँ । समय छाक टार्न बिताउने जस्तो लाग्थ्यो । काम गरेको घरका बूढाबूढीलाई हेरेपछि थाहा पाएको थिएँ लोग्ने स्वास्नी बीच प्रेम ।

उनीहरु धेरै कुरा आँखा भावबाट बुझ्न सक्थे । झगडा पनि यति मजाक तरिकाबाट गर्थे मलाई फिल्म हेरे जस्तो लाग्थ्यो । तर पनि बूढी मेरो सधैँ निगरानी राख्थी । सुरुवातमा मैले वास्ता गरिनँ । जति समय बित्यो झन् झन् उनको शङ्का उपशङ्का बढ्दै गयो । किन ? म बुझ्न सक्दिनथेँ । तर मैले यो बुझ्न सकेँ कि म पनि जो कोहीको प्रतिस्पर्धी बन्न सक्छु ।

त्यो मायालु बूढीको शङ्काको घेराभित्रको प्रतिस्पर्धी बन्न मन लागेन । मैले काम छोडेँ । म गलेको थिएँ । मलाई त्यही लोग्ने सापट लिन मन लागेको थियो । असुरक्षित भावनाको कवच बनाउन मन लागेको थियो । छोरो धेरै दिनदेखि घर आएको थिएन ।  कोही खलासी बन्यो भन्थे । कोही हल्लिएर हिँड्छ भन्थे । फोन गरेँ उठायो । मायालु स्वरले घर बोलाएँ । आउँछु भन्यो ।

नभन्दै बेलुका घर आयो । आउँदा फलफूल ल्याएछ । खलासी भएको सत्य रहेछ । ड्राइभर काम सिकिइरहेको बतायो । मलाई पाल्छु समेत भन्यो । जीवनमा पहिलो पटक कसैले साथ दिन्छु भन्दा आँखा भरिएर आएको थियो । छोरोले एकछिन सम्म अप्ठ्यारो मान्दै हेर्यो र बाहिर निस्कियो । ढुक्क भएर अर्को काम खोज्ने अठोट गरेँ ।

छोरो राति घर फर्केन । फोन गरेँ लागेन । सायद साथीकोमा गएको होला मैले वास्ता गरिनँ । भोलिपल्ट छोरो अस्पताल भएको खबर आयो । म हतारिएर अस्पताल गएँ । छोरो अचेत अवस्थामा रहेछ । अघिल्लो रात ग्याङ फाइट परेको, छोरोलाई टाउकोमा इँटाले हानेको, पुलिस केस गरेर ती केटाहरु खोजी भएको सुनाउँदै थिए । मैले सुन्दा सुन्दै सुन्न छाडेँ । फनन्न रिँगटा लाग्यो । त्यसपछि मलाई के भयो चाल पाउन सकिनँ ।

उठेर हेर्दा छाडेर जाने लोग्ने थियो । उसकी कान्छी बूढी र सानो छोरा साथमा थिए । मैले छोराको खोजी खबर गरेँ । छोरो अप्रेसनमा भएको बताएँ । म केही सोच्न सक्ने अवस्थामा थिइनँ । वास्तवमा मलाई ढाँटिइएको रहेछ । मैले छोरो गुमाइसकेको रहेछु । अनि म वास्तवमा नै एक्लो भएँ । त्योभन्दा पहिला मैले जे भने पनि मेरो आश बाँकी थियो । किनकि मेरो साथमा छोरो थियो ।

छोरो बितेपछि कान्छीले आफ्नो छोरो देखाएर भनेकी थिई । यो तपाईंको पनि हो । यसलाई हेरेर चित्त बुझाउनुहोस् । तर म त्यसलाई एक अपराधी रूपमा देख्दै थिएँ । धेरै दिनदेखि आफ्नो परिस्थितिको मूल्याङ्कन गर्दै थिएँ । छोरा बित्नुको कारण खोज्दैथिए । के त्यो कुट्ने केटाहरु मात्र दोषी थिए त ? मैले बिताएको समयमा जति पुग्थे । मुटुमा आगो बल्थ्यो । कहिले लाग्थ्यो छिट्टै चेत गुमाउनेछु ।

धेरै जना भेट्न आए गए । कति साथीले मैले अर्को विवाह गरेको भए अहिले म एक्लो नपर्ने भनी सम्झाए । कतिले त कान्छीसँग मिलेर छोरालाई आफ्नो ठान्ने भन्ने सुझाए । कतिले प्रभुले सब ठीक गर्ने बताए । अघिपछि जस्तै सबलाई थाहा थिएन आफूलाई एक्लो बनाउने पनि म थिएँ अनि अहिलेको अवस्थामा आइपुग्ने कारण पनि म थिए । किनकि मैले आफूलाई माया गर्न सिकिनँ । किनकि मैले आफूलाई अन्याय हुन नदिन सिकिनँ । आफू यति लामो समय मैले आफूलाई अन्यायमा पारे । असन्तुष्टि मौनतामा दबाएँ । जसको कारण मैले छोरालाई ध्यान दिन सकिनँ । जसको कारण मैले छोरालाई राम्रो संस्कार दिन सकिनँ । छोराको किशोर अवस्थालाई बुझ्न सकिनँ । ऊ मेरो असुन्तुष्ट जीवनको शिकार बन्यो । त्यही कारण मैले माया गरेको देखाउन सकिनँ । अझ सबलाई थाहा थिएन मैले अन्याय सहने बानी बोकेर जहाँ गए पनि सुखी हुन सक्दिनँ भनी । तर पनि उनीहरु अनेक विकल्प र मानिस देखाएर मलाई सम्झाउँदै थिए ।

आफूलाई बुझ्न मैले ठूलो मूल्य चुकाउन परेको थियो । अब त्योभन्दा बढी गुमाउन चाहन्नथेँ । मैले लोग्नेलाई बहुविवाह मुद्दा हालिदिएँ । कान्छीले छोरा देखाउँदै त्यस्तो नगर्न आग्रह गरेकी थिई । यदि छोरा जेलमा राख्न नदिने भए म आफै पालुँला तर मुद्दा फिर्ता लिदिनँ भनिदिएँ । होला यसमा अरूले भनेजस्तै मेरो पछुतो, जलन मिसिएको थियो । तर सबभन्दा बढी म जन्मिएको छोरालाई पाठ पढाउन चाहन्थे । ठूलो भएपछि उसले गल्ती नगरोस् भनी । गल्ती गर्नेले सजाय पाउनुपर्छ भनी ।

तैँले जेलमा पारेको लोग्नेलाई सम्झन्छेस् ? कहिलेकाहीँ छिमेकीहरु भmटारो हान्छन् । अब मलाई कुनै सोधाइ र व्यङ्ग्यले असर पार्न सक्दैन । इन्डियामा हराएको भाइ एक दिन मलाई खोज्दै आइपुग्यो । उसकी एउटा छोरी रहिछ । बुहारीले उनीहरुलाई छाडेर गइछ । आजकाल भाइकी छोरीमा आफ्नो छोराको रूप देख्छु । भाइ फेरि काम गर्न विदेशिएको छ । भतिजी साहरा बनाएको छु र अन्यायमा पर्न र पार्न नदिने साहस बटुलेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कथाकार : पढिका
कथाकार : पढिका
लेखकबाट थप