शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयल निगमका प्रवक्ता भन्छन्, ‘पेट्रोल पम्पमाथि अनुगमन र कारबाही हुन्छ’

आगो लागेको ४० सेकेण्डभित्र नियन्त्रणमा लिन नसके गम्भीर दुर्घटना
सोमबार, २७ साउन २०७६, ०९ : ४६
सोमबार, २७ साउन २०७६

उपत्यकामा सञ्चालन भएका पम्पहरू अनुगमन गर्नका लागि काठमाडौँ महानगरपालिकाले समिति गठन गरे पनि अनुगमन गरेको छैन । नेपाल आयल निगम लिमिटेडले दुई–दुई महिनामा उपत्यकामा सञ्चालनमा आएका पेट्रोल पम्पहरू अनुगमन गरे पनि एकाध पम्पहरू बाहेक अन्य पम्पले सामान्य मापदण्डसम्म पालना गरेको देखिँदैन । निगमले पेट्रोल पम्प र डिपोहरूमा हुनसक्ने भवितव्यका विषयमा कस्ता खालको सुरक्षा विधि अपनाउँदै आएको छ त । उपत्यकामा घना बस्तीको बीचमा नियमविपरीत सञ्चालनमा आएका पम्पलाई कानुनी कठघरामा उभ्याउन निगमले कस्तो कस्तो प्रयास गर्दै आएको छ ? त्यस लगायतका विषयमा आधारित भएर नेपाल आयल निगम लिमिटेडका प्रवक्ता वीरेन्द्र गोइत रातोपाटी संवाददाता माया श्रेष्ठले गरेको कुराकानी ।

उपत्यकाका पेट्रोल पम्प अनुगमन गर्न नेपाल आयल निगम, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र नेपाल प्रहरीको सुझाव दल गठन गरिएको थियो । तर पम्पहरूको अनुगमन किन हुन सकेन ? 

राजधानीका पेट्रोल पम्पको अनुगमन गर्ने भनेर बैठक बसेको त हो । कार्यदलको संयोजकमा काठमाडौँ महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख तथा पेट्रोल पम्प अनुगमन सुझाव दलको संंयोजक हरि कुँवर हुनुहुन्छ । सायद महानगरले अनुगमनको काम गर्दै होला ।

हामी नेपाल सरकारको एउटा निकाय हौँ । महानगरले अनुगमन गरेर नेपाल आयल निगम लिमिटेडलाई निर्देशन दिएपछि त्यहीअनुसार काम अगाडि बढाउँछौँ । सायद महानगरले उपत्यकामा भएका पम्पको अनुगमनका विषयमा डाटा सङ्कलन गरेर केही गृहकार्य गर्दै होला ।

दुई दुई महिनामा नेपाल आयल निगमले पेट्रोल पम्पको अनुगमन गरिरहेको छ । तर पनि उपत्यकाका पम्पहरूमा विनियमावलीमा उल्लेख गरेअनुुसार पम्पमा राख्नुपर्ने सामान्य कुुरा जस्तै बाल्टीमा बालुवा, ट्याङ्कीमा पानी, शौचालय, अग्नि नियन्त्रक साधनसमेत राखेको पाइँदैन । यसरी मापदण्ड पूरा नगर्ने पेट्रोल पम्प किन निर्वाध चलिरहेका छन् ?  

तपाईंहरूले पम्पहरूको अवलोकन गर्दा यदाकदा कुनै पम्पहरूले पेट्रोल बिक्रीवितरण गर्ने हाताभित्र अग्नि नियन्त्रक साधन, अपाङ्गमैत्री, महिला तथा पुरुष शौचालय देख्नुभएको छैन होला तर हामीले त्यस्ता पम्पलाई तुरुन्तै प्रक्रियामा ल्याएर कारबाही अगाडि बढाउँछौँ । ‘सेफ्टी ट्याङ्की’ को कुरामा कुनै पम्पहरूले पनि सम्झौता गर्दैनन् । अझ नेपाल आयल निगमले त  सम्झौता गर्ने कुरा नै भएन ।

त्यसैले सबै पम्पहरूले ‘सेफ्टी ट्याङकी’ विषयमा खेलाँची गर्दैनन् । पम्पहरूले बिक्रीस्थलमा राखिएका सबै उपकरणमा दुर्घटना हुन नदिन अर्थिङ गरेका हुन्छन् । महत्त्वपूर्ण कुरा ‘फायर बोतल’हरूको मिति गुज्रिने बित्तिकै पम्पहरूले परिर्वतन गरिहाल्नुपर्छ । अझ अर्को महत्वपूर्ण कुरा पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनदेखि लिएर बिक्रीवितरण गर्ने पम्पमा होस् या पेट्रोल भण्डारण गरिने डिपो, जहाँ जसले प्रयोग गर्छन् तिनीहरूमा ‘सेफ हेन्डलिङ’ को जनचेतना हुन आवश्यक छ ।

जहाँ ‘सेफ हेन्डलिङ’ हुँदैन, त्यहाँ समस्या सिर्जना हुन्छ । यसको मतलब मैले मापदण्डमा भएका अन्य कुरा (अग्नि नियन्त्रक साधनहरु) नराख्ने भनेको होइन, ती सामग्रीहरू पनि अति आवश्यक छन् ।

निगमले अनुगमन गर्दा गल्ती गरेको भए प्रकाशमा ल्याइदिनुस् । निगम र पम्पहरूले पनि पेट्रोलजन्य पदार्थ प्रयोग गर्ने आम उपभोक्ताले यो कुरा पनि थाहा पाउन आवश्यक छ । पम्पमा पेट्रोल भर्न जाँदा आम उपभोक्ताले मोबाइल चलाइरहेका हुन्छन्, पम्पमा मोबाइल चलाउन हुँदैन । तेल भर्ने बेलामा ‘रे भाइपर’ आइरहेको हुन्छ । त्यहाँ मोबाइल चलाउँदा दुर्घटना हुन सक्छ । पेट्रोल पम्पमा गएर मोबाइल चलाउने गल्ती गर्नु हामीले गर्नु हुँदैन ।

अर्को कुरा, तेल भर्न गएका बेला लाइन बस्ने क्रममा कतिपय सर्वसाधरणहरूले चुरोट खाने गर्छन् । त्यसरी पम्पको वरपर कुनै पनि किसिमको आगोजन्य क्रियाकलाप गर्न हुँदैन । आम सावधारणमा आग्रह छ मेरो – पेट्रोलियम पदार्थ भर्न जाने सर्वसाधारण, पेट्रोल पम्प र डिपोले सुरक्षा अपनाउने हो हो दुर्घटनाको स्म्भावना ज्यादै कम हुन्छ ।


पम्पहरूले नियम उल्लङ्घन गरेको खण्डमा निगमले कस्तो खालको कारवाही गर्दै आएको छ । अहिलेसम्म कतिवटालाई कारबाही भयो ?

हामी पेट्रोल पम्पहरूमा अनुगमन गर्न जाँदा त्यहाँ राख्नुपर्ने पूर्वाधारहरू भएनन्  भने हाम्रो अनुगमनमा भएको टोलीले अनुसूची भरेर यो यो कुरा पुग्यो यो कुरा पुगेन भनेर लिखित रूपमा यी कुराहरू राख्नुहोस् भनेर भन्छौँ । सबैभन्दा ठूलो कुरा अग्नि नियन्त्रण राख्नै पर्छ  । यदि  मापदण्डअनुसार  सामग्री राख्न नमान्ने पम्पलाई हामी सीधै बन्द गर्छौं । हामीले पम्प अनुगमन गरिरहेका छौँ  । यदि पम्पहरूले अग्नि नियन्त्रण साधनसमेत नराखेर नियम उल्लङ्घन गरेर  सञ्चालन गरेको छन् भने तपाईहरूले अवलोकन गर्दा देख्नुभएको छ भने नाम दिनुहोस् हामी त्यहाँ गएर हेरिसकेपछि त्यसलाई सिधै कारबाहीको दायरामा ल्याउँछौँ ।

अहिले भर्खरै २०७५ सालमा मात्रै विनियावली बनाएका छौँ । त्यो भन्दा अगाडि बनाएका विनियावली अनुसार ती पम्पहरूले नियम लागू गरेका थिए । हुँदाहँुदै के समस्या अहिले देखापरेको छ भने, पहिला जुन किसिमको विनियमावली थियो, त्यहीअनुसार पम्पहरूको जग्गाको नाप ठीक थियो । त्यसपछि विभिन्न समयमा विनियमावली परिर्वतन हुँदै आए । पछिल्लो समयमा सडक बिस्तार गर्ने क्रममा पम्पहरू सडक नजिक पुगे ।

अहिलेको विनियमावली अनुसार  कतिपय पम्पहरू नियमभित्र बाँधिन सकिरहेका छैनन् । यो अवस्थामा हामीले सबै पेट्रोल पम्पहरूले ‘सेफ्टी’ मापदण्ड अपनाउन अनिवार्य रूपमा पालना गर्न भनेका छौँ । जुन पम्पले मुख्य सुरक्षा अपनाउन सक्दैनन्, ती पम्पहरूलाई जोखिमयुक्त पम्पका रूपमा लिइन्छ र त्यही अनुसार कारबाही गर्नुपर्छ । महानगरपालिकाले अनुगमन गरेपछि के–के कार्यविधि बनाउँछ के निर्देशन दिन्छ, त्यहीअनुसार नेपाल आयल निगम अगाडि बढ्छ ।

उपत्यकामा घना बस्तीका बीचमा पम्पहरू छन् । यी पम्पमा आगलागी वा भवितव्य आएको खण्डमा निगमसँग आगो नियन्त्रण गर्ने कस्ता खालका कतिवटा साधन छन् ?

नेपाल आयल निगमका हरेक डिपोमा अग्नि नियन्त्रक साधन तयारी अवस्थामा राखिएको छ । कसैले कुनै पीर गर्नुपर्ने जरुरी छैन । अब कुनै भवितव्य भयो भने अलग कुरा हो । ‘डिपो अप्रेसन’ गर्नुभन्दा अगाडि सबै साधन जाँच गरेर हेरेर मात्र डिपोको सुरुवात गरिन्छ । सम्पूर्ण अग्नि नियन्त्रक साधन र अग्नि नियन्त्रकको व्यवस्था गरेका छौँ । सबै डिपोमा ‘फाइयर हाइडन सिस्टम’ छ । डिपोहरूमा आगो लाग्न सुरु भयो भने तुरुन्तै पानी, फोर्म अन्य कुरा सहित अग्नि नियन्त्रकहरूले आगो निभाउन सुरु गर्छन् । पम्पहरूमा पनि अग्नि नियन्त्रक साधन राखिन्छ । यदि पेट्रोलको कारोबार गर्ने स्थान तथा भण्डारण गरिएका ठाउँमा भवितव्य आएको ४० सेकेन्डदेखि १ मिनेटमा आगोलाई नियन्त्रण गर्न सकियो भने त्यो आगो नियन्त्रणमा आयो । होइन भने नियन्त्रण गर्न सक्ने अवस्था रहँदैन । विश्वमा पेट्रोल पम्पमा भएका आगलागीको घटनाको उदाहरण हामी हेर्न सक्छौँ । तसर्थ ४० सेकेन्डदेखि १ मिनेटसम्ममा आगो नियन्त्रण गर्ने साधन नै हो । आगोे नियन्त्रण गर्नका लागि पहिलो साधन त्यो हो ।

दोस्रो साधन भनेको ‘फायर हाइड्रण्ट सिस्टम युथ फो’  प्रयोग गरिन्छ । मुख्य कुरा आगो लाग्न नै दिनहुँदैन । आगो लागिहाल्यो भने त्यसलाई कसरी नियन्त्रणमा लिने भन्ने कुरामा सधैँ तयारी अवस्थामा बस्नुपर्छ । नेपाल आयल निगमले डिपो डिपोमा  राख्नका लागी अझै ६ वटा दमकल ल्याउने तयारी पनि गरेको छ ।

पेट्रोल पम्प, पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्याङ्करका चालक, सहयोगी, डिपोका कर्मचारीलाई अग्नि नियन्त्रणसम्बन्धी तालिम कसले दिन्छ, कहाँ दिइन्छ ?

प्रत्येक हप्ता निगमले डिपोमा अग्नि नियन्त्रणका बारेमा तालिम दिँदै आएको छ । पेट्रोल ओसारपसार गर्ने ट्याङकरका चालक सहचालकलाई तालिम  दिरहेका छौँ । प्रत्येक पम्पका  दुई दुई जना कर्मचारीलाई अग्नि नियन्त्रणको तालिम दिइन्छ । त्यसैले अहिलेसम्म पम्प डिपोहरूमा आगलागीका घटना भएका छैनन्  । तालिम लिएर ‘हेन्डलिङ अप्रेसन’ गर्नु नै मुख्य कुरा हो  । भविष्यमा हुने भवितव्यका बारेमा थाहा हुँदैन । त्यसका लागि सधैँ सजग हुनुपर्छ । जो पम्पमा काम गर्ने कर्मचारीहरू छन् तिनीहरूले अनिवार्य अग्नि नियन्त्रणसम्बन्धी तालिमको आवश्यकता पर्छ । उहाँहरूलाई म अनिवार्य रूपमा तालिम लिन पनि भन्छु ।  डिपोमा काम गर्ने व्यक्तिले मुख्य ‘फायर सेफ्टी’ तालिम पनि  लिन्छन् ।

नमुना पेट्रोल पम्पमा कस्ता कस्ता पूर्वाधार राखेर निर्माण गरिएको हुन्छ ?

राजधानीमा एउटा र अन्य ठाउँमा गरी अहिले  ८ वटा नमुना पम्प सञ्चालनमा छन्  । अन्य २२ वटा नमुना पम्प निर्माणको चरणमा छन् । यो नमुना पम्प निर्माणका लागि हामीले विनियमावलीमा  पेट्रोलिम पदार्थ बिक्री गर्र्ने स्थानको जग्गा तराई र भित्री मधेस उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङमा एक बिघा (तेह्र रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्छ । यस्तै सडकतर्फको मोहडा कम्तीमा ४ मिटर भएको हुनुपर्छ भन्ने उल्लेख गरेका छौँ । राजमार्ग वा अन्य सडकबाट करिब पाँच सय मिटरभित्रको जग्गामा नमुना पम्प बिक्रेताको बिक्रीस्थल निमार्ण गर्दा जग्गासम्म भएको अनि   बाटो कम्तीमा दस मिटर भएकालाई पनि  हामी नमुना पम्पको मापदण्डमा उल्लेख गरेका छौँ । बिक्री स्थलको कम्पाउन्डभित्र एप्रोच रोड, ट्याङ्क फार्म, बिक्री कक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवत जावतमा बाधा नपर्ने गरी हरियाली भएको हुनुपर्छ । यस्तै नमुना पम्पहरूमा पक्की कम्पाउन्ड गरेको  पुरुषका लागि २ वटा ट्वाइलेटसहितको ६ वटा युरिनल र महिलाको भने २ वटा ट्वाइलेट र अपाङ्गमैत्री  ट्वाइलेटको भएको हुन्छ । अनि पम्पको परिसरमा पेट्रोलियम पदार्थ सञ्चय गर्दा एउटा पेट्रोलियम पदार्थको एउटा मात्र स्टोरेज ट्याङ्क भएमा एक वा एकभन्दा बढी ‘डिस्पेन्सिङ’ पम्पसँग ‘कनेक्सन’ जोड्ने व्यवस्था भएको हुन्छ । बिक्रीस्थल चौबीसै घण्टा खुल्ला गर्ने नै नमुना पम्प हो । विनियमावलीमा उल्लेख भए अनुुसार नियम अवलम्बन गरेर निर्माण गरिएको पम्प नै नमुना पम्प हो । 

नेपालमा अग्नि नियन्त्रण गर्ने व्यक्तिहरू साथै डिपोका र पेट्रोल पम्पका कर्मचारीलाई तालिम दिने अग्निसम्बन्धी विज्ञ नेपालमा छैनन् भनिन्छ, के यो सत्य हो ?

नेपाल आयल निगम लिमिटेडले ठूला डिपो चलाइहरेको छ । त्यसमा पनि काठमाडौँको सिनामङ्गल हवाई इन्धनको डिपो छ भने थानकोटमा पनि डिपो  छ । भवितव्यका बारेमा हामी कसैलाई पनि थाहा हुँदैन । तर दुर्घटना भइहाल्यो भने त्यसलाई नियन्त्रण गर्न सक्ने क्षमता नेपाल आयल निगमसँग छ ।  डिपोका सबै कर्मचारी तालिम प्राप्त र दक्ष छन्  । २०५३ सालको कुरा हो । अमलेखगञ्जको डिपोमा आगलागी हुँदा म पनि थिएँ । त्यो समयमा आगलागीका कारण तीन जनाको ज्यान गयो । सबै जनाको भागभाग भयो । अमलेखगञ्ज पूरै खाली भयो ।

मान्छे भागेर पथलैया पुगे, कता पुगे । त्यो समयमा म एक्लै डिपोमा उभिएको मान्छे हुँ । म एक्लैले अग्नि नियन्त्रणका लागि निगममा भएका सबै साधन प्रयोग गरेर ४० मिनेटमा पाइप लाइन कनेक्सनमा लागेको आगो निभाएँ । करोडौँ लिटर पेट्रोलजन्य पदार्थ आगोमा परिणत भयो । अन्य कुनै क्षति हुन नदिएर आगोलाई नियन्त्रण लिने मै हुँ । 

आजभोलि नयाँ नयाँ प्रविधि आइरहेका छन् । हामी पनि अग्नि नियन्त्रणका लागि नयाँ प्रविधिका बारेमा साक्षात्कार हुनै पर्छ । सिनामङ्गलको डिपोमा आगोलागी हुँदा हाम्रा एक जना कर्मचारीको पूरै हात नै जल्यो । तर त्यो आगोलाई बाहिर जान नदिएर हाम्रा कर्मचारीले नियन्त्रणमा लिए । त्यसो भएर विज्ञ अनि क्षमतावान तालिम प्राप्त व्यक्तिहरू निगमसँग छन् । हामीसँग अग्नि नियन्त्रणका साधन पनि छन् । तर डिपो, पम्प अन्य कुनै स्थानमा पनि यस्तो दुर्घटना अहिलेसम्म भएको छैन । यस्तो खालको घटना नहोस् पनि ।

करिब ६ वर्ष अगाडिको कुरा हो । भारतको जयपुरमा अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी डिपो सञ्चालन गरिएको थियो । तर त्यहाँ आगलागी भयो । त्यसैले हामीले आगलागी हुन नै नदिन चाहिँ सावधानी अपनाउनुपर्छ ।

नेपाल सरकारले डिपो सञ्चालन गरेको ४९ वर्ष भइसक्यो । अग्नि नियन्त्रणका साधनले पनि निश्चित समय मात्र काम गर्छ । त्यसैले प्रत्येक वर्ष टेन्डर आह्वान गर्छौं । अग्नि नियन्त्रण साधनको म्याद सकिएपछि तुरुन्त परिर्वतन गर्दै आएका छौँ । करोडौँ करोडको सामान हामी किन्छौँ । यसैले पहिला नै सावधानी अपनाउने बारेमा सजक छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप