शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक प्रदेश एक ट्रमा सेन्टर : होला त दुर्घटनाबाट हुने मृत्युदर ४५ प्रतिशत कम ?

मङ्गलबार, २८ साउन २०७६, १० : १०
मङ्गलबार, २८ साउन २०७६

काठमाडौँ । नेपालका सडकमा दैनिकजसो दुर्घटना भइरहेका छन् । वर्षाको समयमा यस्ता दुर्घटना झनै बढ्दो छ । सुरक्षित सडक नहुनु, ट्राफिक नियम पालना नगर्नु, पर्याप्त सवारी चालकको व्यवस्था नहुनु, छिटो पुग्न तीव्र गति आदि सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

वर्षमा सयौँ नागरिकले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको अवस्था छ । स्वास्थ्य सरोकारवाला निकायका व्यक्तिहरुले भने राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्न जोड दिएका छन् । राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्न सके सवारी दुर्घटनापछि अकालमा हुने निधनको सङ्ख्या कम गर्न सकिने उनीहरुको विश्वास छ ।

यसका लागि ठूला तथा व्यस्त राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्नुपर्ने माग राख्दै आइरहेका छन् । राजमार्गमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सकेको खण्डमा दुर्घटनामा एक घण्टापछि हुने निधनको ४५ प्रतिशत कम गर्न सकिने वरिष्ठ हाडजोर्नी डा. श्री कृष्ण गिरी बताउँछन् । यसका लागि मुख्य राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्न जरुरी भएको भन्दै आफूहरुले यो कुरालाई पहिलादेखि नै उठाउँदै आएको डा. गिरीले बताए ।

नेपालमा भएको दुर्घटना कम गर्न सडक निर्माणदेखि नै ध्यान दिनुपर्ने भन्दै डा. गिरीले दुर्घटना भएको खण्डमा नागरिकको ज्यान बचाउन राजमार्गमा ट्रमा सेन्टरले निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताए । डा. गिरी भन्छन्, ‘सेन्टर स्थापना भएको खण्डमा एक घण्टाभित्र हुने मृत्युलाई ४५ प्रतिशत घटाउन सक्छौँ जुन समयलाई हामी गोेल्डेन आवर भन्छौँ, ‘त्यो गोल्डेन आवरमा नागरिकको उपचार गर्न सकेको खण्डमा निधनको सङ्ख्या कम गर्न सकिन्छ ।’

दुर्घटनामा परेका नागरिकको तत्काल उद्धार र उपचार गर्ने हो भने मुख्य राजमार्गमा ट्रमा सेन्टर सञ्चालनको विकल्प नभएको स्वास्थ्य विज्ञहरुको माग हो ।

यता देशमा सङ्घीयता लागू भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ल्याएको पहिलो स्वास्थ्य नीति २०७६ मा पनि प्रमुख राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गरिने कुरालाई उठाइएको छ ।

निर्माण कार्य सम्पन्न भएको ढेड वर्षमा पनि सञ्चालन आएन ।

नारायनगण–मुग्लिन सडकखण्डको कुरिनटारमा ट्रमा सेन्टर निर्माण कार्य सम्पन्न भएको झण्डै ढेड वर्ष भयो तर अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । यो सेन्टर सशस्त्र प्रहरीबल मातहत रहेको छ । त्यस क्षेत्रमा दिनहुँजसो हुने सानाठूला दुर्घटनाका घाइतेहरुको उपचारका लागि लक्षित गरेर निर्माण गरिएको सेन्टर सञ्चालनमा नआउँदा धेरै नागरिकले अकालमा ज्यान गुमाउँदै आइरहेका छन् । अमेरिका सरकारको ६ करोड लगानीमा २५ शय्याको सेन्टर स्थापना गरे पनि उपकरण खरिदमा सरकारले चासो नदिँदा सञ्चालनमा आउन सकेको छैन ।

*****

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशील प्याकुरेलले राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्न अति आवश्यक भएको बताए । नेपालका सबै ठाउँमा सडक निर्माणसँगै सवारी साधान सञ्चालनले तीव्रता पाइरहेको छ । सवारी साधानको वृद्धिसँग दुर्घटना पनि बढ्दै जाँदा  मानवीय क्षति पनि हुने भएको हुँदा तत्काल उपचारका लागि सरकार जिम्मेवार हुनुपर्ने बताए ।

*****

कुरिनटारका एसएसपी किशोर प्रधानका अनुसार ‘यस क्षेत्रमा दुर्घटना हुँदा उपचारका लागि कि काठमाडौँ कि पोखरा लानुपर्ने बाध्यता छ । दुवैतर्फ जानका लागि दुरीको हिसाब गर्ने हो भने सय किलोमिटर पर्छ तर दुर्घटनापछि गम्भीर घाइतेको उपचारका लागि लाँदा बाटैमा मृत्यु हुने गरेको छ ।’

सेन्टर सञ्चालनमा ल्याउनका लागि यो आ.व. ०७६/०७७ मा भने २ देखि ३ करोड बजेट विनियोजन भएको भन्ने कुरा जानकारी आएको एसएसपी प्रधानले रातोपाटीलाई बताए । त्यस राजमार्गमा सानादेखि ठूला सवारी साधन दैनिक दुर्घटना हुने गरेको छ ।

कुरिनटारबाट पोखरा र काठमाडौँ पुग्न सय किलोमिटर दूरी पार गर्नुपर्ने हुँदा गम्भीर घाइतेको उपचारका लागि सोही ठाउँमा स्थापना गरिएको ट्रमा सेन्टरलाई सक्दो छिटो सञ्चालनमा ल्याउनु पर्ने देखिन्छ ।

घाइतेको तत्काल उपचार गरेर थप उपचारका लागि केन्द्र स्तरको अस्पतालमा पठाउन सके धेरै नागरिक अङ्गभङ्ग र मृत्यु हुनबाट जोगाउन सकिन्छ । एसएसपी प्रधान भन्छन्, ‘यस क्षेत्रमा बिहानीपख धेरै दुर्घटना हुने गरेको छ । ट्रमा सेन्टर सञ्चालनमा नआउँदा उपचारपछि जीवन बचाउन सकिने नागरिकले पनि अकालमा ज्यान गुमाउनु परेको छ । यो कुरा हामीले दैनिक जसो भोग्दै आएका छौँ ।’

तत्काल स्थापना गर्न आवश्यक छ : महानिर्देशक

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशील प्याकुरेलले राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्न अति आवश्यक भएको बताए । नेपालका सबै ठाउँमा सडक निर्माणसँगै सवारी साधान सञ्चालनले तीव्रता पाइरहेको छ । सवारी साधानको वृद्धिसँग दुर्घटना पनि बढ्दै जाँदा  मानवीय क्षति पनि हुने भएको हुँदा तत्काल उपचारका लागि सरकार जिम्मेवार हुनुपर्ने बताए ।

कुरिनटारको ट्रमा सेन्टरको बारेमा कुरा गर्दै उनले सशस्त्र अन्तर्गत निर्माण गरिएको ट्रमा सेन्टर पनि स्वास्थ्य मन्त्रालय मातहत ल्याउन सकेको खण्डमा राम्रो हुने धारणा राखे । स्वास्थ्य नीति आइसकेको र रणनीति आएपछि नेपालको कुन प्रदेशमा कति ठाउँमा ट्रमा सेन्टर सञ्चालन गर्ने भन्ने कुरा सार्वजनिक गर्न सकिने विभागको भनाइ छ ।

नयाँ आर्थिक वर्षबाट नै सरकार लाग्ने हो भने सेन्टर स्थापनाका लागि समस्या नहुने र तीव्रताको साथ लाग्नु पर्ने महानिर्देशक प्याकुरेल बताउँछन् । अबको केही वर्षमा देशका विभिन्न स्थान र राजमार्गको नजिकै सेन्टर स्थापना गरेर नागरिकको अधिकारभित्रको सेवा स्वास्थ्य सेवालाई सरकारले ध्यान दिने बताए ।

अर्को वर्षबाट सुरु गर्छौं

ट्रमा सेन्टर सञ्चालनको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले अर्काे आर्थिक वर्षबाट काम सुरु गरिने जनाएका छन् । प्रत्येक प्रदेशमा एक एकवटा ट्रमा सेन्टर स्थापना गर्ने मन्त्रालयले जनाएको छ । प्रदेशअन्तर्गत पनि राजमार्ग नजिकै ट्रमा सेन्टर स्थापना गरिने भने पनि अहिले ठोस योजना मन्त्रालयले सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप