शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसद पदबाट राजीनामा दिएका यादवलाई फकाउँदै पार्टी

मङ्गलबार, २८ साउन २०७६, १२ : ५८
मङ्गलबार, २८ साउन २०७६

काठमाडौँ । समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादव ‘सुरज’ ले सांसद पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा व्यस्ततालगायतका व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ । तर उनी निकट स्रोत भन्छ,  ‘वहाँ पार्टीप्रति असन्तुष्ट रहेको कारण राजीनामा दिनुभएको हो ।’

सांसद यादव पेशाले डाक्टर हुन् । उनी बाल रोग विशेषज्ञ हुन् । जनकपुरमा उनको आफ्नै क्लिनिक छ । तराई मधेशमा चर्चित डाक्टरमध्येका एक हुन् उनी ।

उनी आफ्नो डाक्टर पेशा छाडेर तत्कालिन संघीय समाजवादी फोरम नेपालमा आएका थिए । टिकट लिएर उनी सप्तरी–१ बाट चुनाव पनि लडे । अत्याधिक मतले चुनाव जिते ।

उनी नेता थिएनन् । त्यस क्षेत्रमा कहिले गएका पनि थिएनन् । तर चुनाव जित्नका लागि उनको नाम नै काफी थियो । चुनाव प्रचार गर्न जाने क्रममा पनि मतदाताहरुको बच्चाहरु जाँच्थे । डा. यादव राजनीतिबाट समाजमा केही गर्ने सोचका साथ फोरम नेपालमा प्रवेश गरेको बताउँदै आएका थिए । तर त्यहाँ भूमिका नपाएको भन्दै शुरुदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

डा. यादव निकट एक नेताले रातोपाटीसँग भने, ‘डाक्टर साहबलाई न पैसाको कमी थियो, न मान सम्मानको । उनले राजनीतिबाट समाजलाई सेवा गर्न चाहनु भएको थियो । तर त्यो पूरा नभएपछि उहाँले राजीनामा दिनुभएको हो ।’

पेशाले डाक्टर भएको कारणले उनलाई राजनीतिक ज्ञान पनि त्यति थिएन । उनी पार्टीमा रहेर केही गर्न चाहन्थे । पार्टीले निर्देशन दिओस्, पार्टीले प्रशिक्षण दिओस्, पार्टीले जिम्मेवारी दिओस् भन्ने उनको चाहना थियो । उनी अन्य सांसद जस्तै हाजिर गरेर भत्ता बुझ्ने पक्षमा थिएनन् । तर पार्टीले त्यस अनुसारको भूमिका उनलाई कहिले नदिएको उनी निकट नेताको गुनासो छ । 

उनले यो कुराको गुनासो अध्यक्ष उपेन्द्र यादवसँग पटक–पटक गरेका थिए । संसद र पार्टीमा भूमिका दिनु पर्यो । ‘केही गर्नका लागि काम दिनुपर्यो तर अध्यक्ष यादवले कहिले त्यसप्रति ध्यान दिएनन्,’ स्रोत भन्छ । अर्का डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाउँदा पनि सांसद यादवले असन्तुष्टि जनाएका थिए ।

पार्टीले स्वास्थ्य मन्त्रालय सम्हालेको बेला पेशाले डाक्टर रहेका सांसद यादवसँग अध्यक्ष यादवले उनलाई कहिले पनि कुनै कुरामा सोधखोज नगरेको उनको गुनासो थियो । संसदीय दलको बैठक पनि नबसेको छ महिनाभन्दा बढी भइसकेको अवस्थामा छ ।

यिनै असन्तुष्टिका कारण सांसद यादव निस्कृय हुँदै गइरहेका थिए । त्यसपछि पनि पार्टीले सोधखोज नगरेपछि उनी जनकपुरस्थित आफ्नो क्लिनिकमा पुनः व्यस्त भए । पार्टीको गतिविधि र संसद बैठकमा समेत उनी सहभागी हुन छाडेका थिए । उनीमाथि निर्वाचन क्षेत्रका कार्यकर्ताको दबाब छँदै थियो । पार्टीको गतिविधिमा नदेखिदा कार्यकर्ताहरु सोधखोज गर्न थालेका थिए भने संसदमा नदेख्दा पनि आलोचना भइरहेको थियो । यी घटनाक्रमले गर्दा उनले राजीनामा दिएको उनी निकट एक नेता बताउँछन् ।

यद्यपि समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले भने सांसद यादव असन्तुष्ट भएरभन्दा पनि अस्वस्थताका कारण सांसद पदबाट राजीनामा दिएको बताए । ‘वहाँ पहिलादेखि डाइबिटिजका रोगी हुनुहुन्थ्यो । अहिले आएर झन् बल्झेको कारण वहाँले राजीनामा दिनुभएको हो,’ उनले भने, ‘ राजीनामा स्वीकृत भएको छैन राजीनामा फिर्ता लिन आग्रह गरेका छौँ ।’

यस विषयमा सांसद यादवलाई फोन सम्पर्क गर्दा मोबाइल स्वीच अफ भएको कारण सम्पर्क हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप