शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टानलाई राजनीतिक अखडा बनाउने कि व्यावसायिक संस्थाका रूपमा पुनर्जागरण गर्ने ?

मङ्गलबार, २८ साउन २०७६, १३ : ११
मङ्गलबार, २८ साउन २०७६

नेपालको पर्यटन क्षेत्रको मेरुदण्ड पदयात्रा अर्थात ट्रेकिङ व्यवसाय रहेको कुरा नकार्न सकिँदैन । संसारका सुन्दर गन्तव्यमध्ये नेपालका पदयात्रा क्षेत्र सधैँ समेटिने गर्छ । पदयात्रा व्यवसायीको छाता सङ्गठन टानको विगतको गर्विलो इतिहास छ । नयाँ गन्तव्य पहिचान गरी त्यसको प्रवद्र्धन गर्न दक्ष जनशक्ति, गाइड तथा पोर्टरहरु उत्पादन गर्ने, पदयात्रा क्षेत्रमा जाँदा मजदुरलाई उद्धार, औषधि उपचार गर्ने तथा मृत्यु भएमा क्षतिपूर्ति दिने उद्देश्यले नेपाल सरकारले टानलाई टे«किङ रजिस्ट्रेसन सर्टिफिकेट अर्थात् टीआरसीको रूपमा प्रदान गरेको अधिकार आज परिमार्जित हुँदै ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ बन्न पुगेको छ । टिम्सको मुख्य उद्देश्य पर्यटकलाई पदयात्रा क्षेत्रमा व्यवस्थित गर्ने र मजदुरको उद्धार र राहत दिने साथै नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालन गर्ने प्रावधान थियो ।

पर्यटन बोर्डमा भएको लामो आन्दोलनपछि पर्यटन बोर्डका केही कर्मचारी तथा सञ्चालक छानबिनमा परे । टानको पनि स्वाभाविक रूपमा अडिटिङ भई केही रकम बेरुजु रहेको देखियो । उक्त बेरुजुको कारण देखाउँदै पर्यटन बोर्डले टानलाई समयमा रकम भुक्तानी नदिँदा सिङ्गो ट्रेकिङ क्षेत्रमा यसले ठूलो असर पारिरहेको छ ।

टिम्स टानको मुख्य स्रोत बनिरहँदा टानभित्र पनि व्यावसायिक पृष्ठभूमिभन्दा राजनीतिक स्वार्थ समूह हाबी हुँदै गयो । विभिन्न शक्ति केन्द्र र स्वार्थ समूह हाबी हुँदै जाँदा टान अनावश्यक किचलोमा फस्दै गयो ।

व्यवसायीको समस्या जहाँको तहीँ रहँदा राजनीतिक स्वार्थ समूहको कारण टान आफ्नो व्यावसायिक एजेन्डामा भन्दा पनि स्थार्थ केन्द्रित समूहको अखडा बन्न पुग्यो । त्यसले गर्दा सम्पूर्ण रकम शीर्षक अन्तर्गत खर्च नभई अन्यत्र खर्च भई पर्यटन बोर्डसँगको सम्बन्ध पनि तीक्ततापूर्ण अवस्थामा पुग्यो । अर्थात्, व्यवसायीको हक, हित र चाहना विपरीत संस्था चल्दै गयो र आम व्यवसायीमा वितृष्णा पैदा भयो ।


अब भने टानमा आमूल परिवर्तनको आवश्यकता छ र व्यवसायीको तर्फबाटै व्यावसायिक हितका लागि काम गर्ने नेतृत्व आउनु जरुरी छ । देशमा स्थिर सरकार छ, सरकारले भिजिट नेपाल २०२० पनि घोषणा गरिसकेको छ । यस अवस्थामा टान सधैँ रुमल्लिएर बस्नु हुँदैन, बस्न सक्दैन । टानले पदयात्रा क्षेत्रको विकास प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभुत्व विकास गर्नुपर्छ । टानमा नयाँ नेतृत्वका लागि निर्वाचनसमेत घोषणा भइसकेको छ ।

विश्वभर साहसिक पर्यटनको कुरा गर्दा नेपालको पर्यटन अग्रपङ्क्तिमा आउँछ । संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्लो हिमशृङ्खलामध्ये ८ वटा त नेपालमा नै रहेको छ । सर्वोच्च शिखर सगरमाथाको देश हुनुको नाताले पनि पदयात्रा पर्यटन तथा हिमाल आरोहीहरुका निम्ति नेपाल प्रमुख गन्तव्यमध्ये एक हो । भौगोलिक परिस्थिति भेषभूषा, जातजाति, परम्परा, प्राकृतिक सम्पदा आदिले भरिएको हाम्रो देश संसारकै सुन्दर देशमध्ये एक हो । लोन्ली प्लानेट, रोयटर्स जस्ता विश्व प्रसिद्ध गाइड बुकहरुले नेपालका पदयात्रा क्षेत्र विशेष गरी ट्रेकिङलाई विशेष महत्त्व दिएको पाइन्छ । सुन्दर हिमशृङ्खला, हाम्रा गाउँबस्ती, रहनसहन, भेषभूषा र भौगोलिक विविधताले पर्यटकलाई लोभ्याउने गरेको छ । नाम्चेदेखि सगरमाथा, पुनहिलदेखि उपल्लो मुस्ताङ, रारा, डोल्पादेखि रुवी भ्याली, मनास्लुदेखि ओलाङचुङ गोलासम्म स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा जाने गरेका छन् ।

स्वास्थ्यका दृष्टिकोणले तथा दिनदिनै अत्यन्तै तीव्र विकासले संसारलाई भौतिक दुनियाँतिर लगिरहेको र अत्यन्त व्यस्त दैनिकीबाट छुटकारा लिँदै पदयात्रामा जाने पर्यटकहरु दिन प्रतिदिन नेपालप्रति आकर्षित हुने गरेका छन् ।

तर कुन क्षेत्रमा कति विदेशी पदयात्री गए, कुन कुन देशको गए भन्ने यथेस्ट जानकारीसमेत टानसँग छैन । पर्यटकहरु सरदर कति दिन हिमाली क्षेत्रको पदयात्रामा निस्कन्छन् लगायतका विषय पनि टानकै कार्यक्षेत्र र जिम्मेवारी हुनुपर्ने भए पनि टानले यसमा सकारात्मक हस्तक्षेप गर्न सकेको छैन । त्यसकारण पनि जुन उद्देश्यका साथ टानको स्थापना र सञ्चालन भएको थियो, त्यो उद्देश्य पूरा गर्नका लागि काम गर्न नसक्दा नै नेपाल पर्यटन बोर्ड र टानबीच असमझदारी बढ्दै गएको छ ।

त्यसकारण अब मिसन र भिजनसहित बुद्ध जन्मेको देश, पशुपति नाथको देश तथा साहसिक पर्यटनको एक मात्र विकल्प भएको देश नेपाल हो भनेर विश्वलाई अझै बढी जानकारी दिनु छ, चिनाउनु छ र उनीहरुलाई नेपाल ल्याउनु छ । त्यसकारण नेपाल एक पटक जानै पर्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा लैजाने इच्छा शक्ति भएको र काम गर्न सक्ने जुझारु टिम टानको अहिलेको आवश्यकता हो ।

सयम सापेक्ष परिमार्जित हुँदै अगाडि बढ्न सके भविष्य सुुन्दर छ । सधैँ एउटै विषयमा रुमल्लिरहे डाइनोसर जस्तै पतनको बाटोमा पुग्नेछ । तसर्थ समयमा नै सबै मिलेर नेपालको पर्यटनको सुन्दर भविष्यका लागि सबैले हातेमालो गर्नैपर्छ ।

अहिलेका पर्यटन व्यवसायीहरुको मुख्य उद्देश्य भनेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु नै हो । किनभने यो व्यवसायीहरुको रोजीरोटीको सवाल पनि हो र भिजिट नेपाल २०२० सफल हुँदा हामी समग्र पर्यटन व्यवसायी पनि सफल बन्न सक्छौँ । भ्रमण वर्ष सफल हुनु भनेको हाम्रो आर्थिक हैसियत पनि बढ्नु हो ।

सरकार र पर्यटन व्यवसायीले निम्न कार्य गर्न सकेमा नेपाल भ्रमण वर्ष २०२० सफल बन्न सक्छ र पर्यटन उद्योगले राम्रो उपलब्धि हासिल गर्न सक्छ ।

१. भिजिट नेपाल २०२० को लोगोसहित यस वर्ष आउने पर्यटकका लागि सुन्दर भिसाको व्यवस्था गर्ने र त्यो समयमा आउने पर्यटकलाई फ्री भिसाको व्यवस्था गर्ने ।

२) लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्धिस्ट कन्भेन्सन गर्ने र संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन अथवा त्यस्तै उचाइका व्यक्ति निमन्त्रणा गरी जीवनको एक कालखण्डमा बौद्धमार्गीलाई एक पटक लुम्बिनी जानैपर्ने सन्देश अन्तर्राष्ट्रिय मिडियामार्फत संसारभर पुर्याउने ।

३. आरध्यदेव पशुपति नाथमा ठूलो पूजाको आयोजना गर्ने र अमिताभ बच्चन जस्तो व्यक्तित्वलाई विशेष पहल गरी उक्त कार्यक्रममा सहभागी गराउने । त्यसको उद्देश्य भारतीय मिडियामार्फत् सबै हिन्दु धर्मावलम्बीलाई मर्नु अगाडि पशुपतिनाथ जानैपर्ने सन्देश फैलाउने ।

४. इन्टरनेसनल समिटर्स समिट आयोजना गर्ने । टान, एनएमए र पर्यटन बोर्डको सहकार्यमा पर्यटन मन्त्रालयले नेनृत्व गरी सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेका विख्यात आरोही तथा सेलिब्रेटीलाई नेपालमा निम्ता गरी नेपालको पदयात्रा तथा हिमाल आरोहण सुन्दर, सुरक्षित र जानैपर्ने गन्तव्य छ भनेर उनीहरुमार्फत् प्रचार गर्ने ।

५. सीएनएन, बीबीसी, अल जजिरा, एनएचके, सीसीटीभी, आजतक जस्ता मास मिडियामार्फत् नेपालको प्रचार प्रसार गर्ने ।

६. बेइजिङ, लन्डन, पेरिस, टोकियो, टाइम्स स्क्वायर लगायतका ठाउँमा रहेको डिजिटल स्क्रिनमा नेपालको प्रचार सामग्री देखाउने ।

७. सरकारी कर्मचारी, भ्रमण वर्ष सचिवालयका कर्मचारी, टानका कर्मचारी आदि नेपालका विभिन्न गाउँ र सहर घुमेर नाचगान गरी मदिरा खाँदै गरिने वाहियात खर्च तुरुन्तै बन्द गर्ने । भ्रमण वर्षको विभिन्न समिति बनाउने नाममा कार्यकर्ता भर्ती गर्ने र बजेट सक्ने कार्य अन्त्य गर्ने । त्यो रकम अन्तर्राष्ट्रिय रूपमा ब्लगर, ट्रिप एडभाइजर जस्तो पोर्टलमा खर्च गर्ने ।

८. विभिन्न रुटमा ट्रेकिङ पर्मिट लिँदा अनिवार्य रूपमा पासपोर्ट देखाउनुपर्ने व्यवस्था तुरुन्त बन्द गरी अनलाइन सिस्टममा पर्यटक आउनुभन्दा अगाडि नै परमिट लिन पाउने व्यवस्था गर्ने । अध्यागमनमा हुने ‘नाइस टु मिट यु’ (घुस) तुरुन्त बन्द गर्नुपर्ने ।

यी र यस्तै कार्य गर्न सकेमा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सकिन्छ र त्यसले व्यवसायी र राज्य दुवैलाई फाइदा पुग्न सक्छ ।

(थापा पर्यटन व्यवसायी हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जन थापा ‘कुमार’
अञ्जन थापा ‘कुमार’
लेखकबाट थप