शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बसरुद्दीनको फन्डा : प्रमका अगाडि निःशुल्क उपचार गर्ने घोषणा, तर प्रदेश सरकारसँग बुझे ३१ लाख रुपैयाँ

मङ्गलबार, २८ साउन २०७६, १४ : ५०
मङ्गलबार, २८ साउन २०७६

काठमाडौँ । बसरुद्दीन अन्सारी प्रबन्ध निर्देशक रहेको नेशनल मेडिकल कलेजले प्रदेश २ सरकारबाट हावा हुरीका घाइतेलाई उपचार गरे बापत ३१ लाख ३८ हजार रुपैयाँ बुझेका छन् ।

चैत १७ गते आएको हावाहुरीमा घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका निर्देशक अन्सारीले प्रदेश २ सरकारबाट सो रकम बुझेका हुन् ।

हावाहुरीपछि घाइतेको अवस्था बुझ्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडिनै बसरुद्दीन अन्सारीले सबै घाइतेहरुलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका थिए । उनले त्यही उपस्थित अस्पतालका कर्मचारीलाई निर्देशन पनि दिए – हावाहुरीका घाइतेलाई निःशुल्क उपचार गर्नु !

त्यति मात्र होइन, उनले अस्पतालको पर्खालमा एउटा ब्यानर नै झुण्ड्याए । ‘हावाहुरीबाट प्रभावित भएका बिरामीहरुको उपचार र सो को लागि चाहिने औषधी, खाना, बस्न व्यवस्था यस नेशलनल मेडिकल कलेजले निःशुल्क गरिराखेको छ’ भन्ने ब्यानरमा उल्लेख गरेका थिए ।

तर, हावाहुरी आएको नौ दिन नबित्दै उनले प्रदेश २ का मुख्यमन्त्री कार्यालयलाई पत्र नै पठाउन लगाए । चैत १७ गते फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका विभिन्न गाउँका २३३ जना रोगीको औषधी उपचारमा २० लाख ६९ हजार २५६ रुपियाँ ७० पैसा निकासा गरि दिन आग्रह गर्दै मुख्यमन्त्रीको नाममा उनले पत्र पठाउन लगाएका थिए ।

त्यस्तै, अर्को पत्र जिल्ला प्रशासन कार्यालय पर्सालाई असार ४ गते पत्र लेखेको छ । डिस्चार्ज हुन र बाँकी रोगीहरुको अस्पताल खर्च पाँच लाख १६ हजार ८५५ र औषधी खर्च पाँचलाख ५२ हजार १७३ गरी १० लाख ६९ हजार २८ रुपियाँ निकासा सम्बन्धित निकायबाट गराइदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई अस्पतालले पत्र लेखेको थियो ।

सोही पत्रको आधारमा प्रजिअले प्रदेश २ सरकारलाई पत्र लेखेपछि नेशनल मेडिकल कलेजले त्यहाँबाट रकम बुझेको मुख्यमन्त्री लालबाबु राउतका प्रेस सल्लाहकार आतिश मिश्राले बताए ।

उनले भने, ‘हामीले पनि नेशनल मेडिकलले सबै उपचार निःशुल्क गरेको सुनेका थियौँ । पत्र आए पनि हामीले केही समय रकम होल्ड पनि गरेर राख्यौँ । तर मेडिकलका निर्देशकले कसले निःशुल्क गर्यो, त्यो कुरा हामीलाई थाह छैन भन्नु भएपछि हामीले बाध्य भएर रकम दियौँ ।’

‘हुनतः निःशुल्क उपचार गर्ने कुनै लिखित सम्झौता भएको थिएन । प्रबन्ध निर्देशक अन्सारीले गरेको घोषणाका आधारमा वहाँलाई कुरा गर्न बोलाउँदा आउनुभएन,’ सल्लाहकार मिश्राले बताए ।

पर्साका समाजवादी पार्टीका नेता सुन्दरप्रसाद कुर्मीले भने, ‘बसरुद्दीन अन्सारीले एकपटक होइन प्रधानमन्त्रीका अगाडि पटक–पटक उपचार निःशुल्क गर्ने घोषणा गर्नुभएको थियो । म त्यहीँ थिएँ, मैले आफ्नै कानले सुनेको हुँ ।’

निःशुल्क उपचार गर्ने भनेर अस्पतालमा ब्यानर पनि झुण्ड्याइएको तर केही दिनमै अस्पतालले विरामीबाट समेत पैसा उठाउन थालेको नेता कुर्मी बताउँछन् ।

हावा हुरीका पीडितसँग पैसा उठाउन थालेपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी स्वयम् गएर अस्पताल प्रशासनसँग कुरा गरेपछि मात्र रकम लिन बन्द गरेको उनको भनाइ छ । तर, पछि सबैको एकमुष्ट हिसाब गरेर बसरुद्दीनले प्रदेश २ सरकारबाट रकम बुझेका छन् ।

यस विषयमा मेडिकलका निर्देशक डा. प्रमोद सर्राफसँग बुझ्न खोज्दा उनले जसले रकमको चेक बुझेको हो, उनैसँग कुरा गर्न भन्दै प्रतिकृया दिन पन्छिए । उनले भने, ‘जसले चेक बुझेको हो, उनैसँग कुरा गर्नुस् । म अहिले त्यसको जवाफ दिने अवस्थामा छैन, म व्यस्त छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप