शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभालाई मिडिया काउन्सिल विधेयक सच्याउन पत्रकार महासंघको आग्रह

बुधबार, २९ साउन २०७६, १९ : २०
बुधबार, २९ साउन २०७६

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले तिनवटै तहका सरकारसँग प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरेको बताउँदै सोहीअनुसार प्रेस कानून बन्नुपर्ने उल्लेख गरे । उनले संविधानका साथै प्रत्येक राजनीतिक दलको घोषणापत्रमा पनि पूर्ण प्रेस स्वतन्त्रतासहित प्रेसलाई हस्तक्षेप नगर्ने नीति रहेको भन्दै दलहरुले पनि प्रेसलाई सहयोग गर्नुपर्ने बताए । 

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउँदै स्वतन्त्र प्रेसको रक्षा गर्न आग्रह गरे । उनले निर्वाचन नभएको बेला पनि रहने राष्ट्रियसभा स्थायी सरकारको रुपमा रहेको भन्दै मिडिया काउन्सिल विधेयकमा छलफल गरेर अघि बढ्न आग्रह गरे । 

अध्यक्ष आचार्यले नेपालले संयुक्त राष्ट्रसंघको २२ घोषणापत्रमा हस्ताक्षर गरेको भन्दै सोही अनुसार कानून बनाउनुपर्नेमा जोड दिए । उनले भने– ‘आमसञ्चार नीति २०७३ अनुसार कानून बनोस् भन्नेमा राष्ट्रियप्रति हाम्रो अपेक्षा छ, निरङ्कुश शासकले बनाएको जस्तो प्रेस कानून भयो भने हामीले संसारभर शीर निहु¥याउनुपर्ने हुन्छ ।’

उनले सो विधेयक फिर्ता भन्दा पनि संशोधन गरेर जानुपर्ने उल्लेख गरे । यस्तै कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले मिडिया काउन्सिल जनतासँग सरोकार राख्ने निकाय हुनुपर्ने कुरामा जोड दिए ।

उनले जनताले प्रेसका विरुद्ध उजुरी गर्ने निकायका रुपमा प्रेस काउन्सिल रहेको भन्दैै काउन्सिलमा नागरिक क्षेत्रका तर्फबाट ६० र प्रेस र सरकारका तर्फबाट ४० प्रतिशत पदाधिकारी हुने व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेको मिडिया काउन्सिल विधेयकको मस्यौंदा लेख्ने मान्छे पञ्चायतमा पनि तुलसी गिरीको शासनमा राख्नुपर्ने व्यक्ति भएको भन्दै व्यङ्ग्य समेत गरे ।

 कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत राष्ट्रियसभाका सांसदहरुसँग अन्तरक्रिया गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप