बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसकी संगीता र सञ्जु बेस्ट लिफ्टर

बुधबार, २९ साउन २०७६, २३ : ५१
बुधबार, २९ साउन २०७६

काठमाडौं-सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा सिनियरतर्फ नेपाल पुलिस क्लबकी संगीता राई र जुनियरतर्फ पुलिसकै सञ्जु चौधरी बेस्ट लिफ्टर भएका छन् । प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोस्रो दिन क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन् । सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ र कुलमा १७० केजी चार उचाल्दै स्वर्ण जितिन् ।

एपीएफ क्लबकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ६० केजी गरी कुल ११५ केजी उठाउँदै रजत दाङकी कल्पना चौधरीले स्नाचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५० गरी कुल ९० केजी भार बहन गरिन् ।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजना गरेको प्रतियोगितामा ८१ केजीमा पुलिसकी लक्ष्मी वनले तीन राष्ट्रिय कीर्तिमान राखिन् । उनले आठौं राष्टिय खेलकुदमा राखेको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन् । उनले स्नाचमा ६५, क्लिनमा ८३ र कुल १४८ केजी भार बहन गर्दै तीनै विधामा कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६४, ८२ र कुल १४६ केजीको कीर्तिमान थियो । त्रिभुवन आर्मी क्लबकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरी कुल १२३ केजी उठाउँदै रजत जितिन् ।

सिनियरकै ८७ केजीमा पुलिसकी विद्या राईले क्लिन एन्ड जर्कमा ७६ केजी उठाउँदै नयाँ कीर्तिमान बनाइन् । उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधार गरेकी हुन् । राईले स्नाचमा ५३ केजी र कुलमा १२९ केजी भार बहन गरिन् । उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरी कुलमा ८० केजी उठाउँदै रजत पाइन् ।

८७ केजीमाथिको तौलमा आर्मीकी अस्मिता राईले स्नाचमा ५८ र क्लिनमा ७० गरी कुल १२८ केजी भार उठाउँदै तीनै विधामा कीर्तिमान राखिन् । यसअघि उनले आठौंमा ५३, ६८ र कुलमा १२१ केजीको कीर्तिमान राखेकी थिइन् । नेपाल पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरी कुलमा १२० केजीका साथ रजत पाइन् ।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश केसीले स्नाचमा १०६ केजी र क्लिन एन्ड जर्कमा १२५ गरी कुल २३१ भारका साथ तीन विधामा राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौं राष्ट्रिय खेलकुदमा १०३, १२२ र २२५ केजीको कीर्तिमान राखेका थिए । वीरगन्ज युनाइटेडका निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घर्तीमगरले ६०, ७१ र कुल १३१ केजीका साथ कांस्य पाए । सिनियरतर्फ आर्मीका जीवन तामाङले स्नाचमा ८३, स्नाचमा १०८ र कुल १९१ केजीका साथ स्वर्ण, आर्मीकै सन्तोष थपलियाले ८३, १०७ र १९० केजीका साथ रजत र कास्कीका धनबहादुर झाँक्रीमगरले ८५, ९८ र १८३ केजीका साथ कांस्य पाए ।

पुरुषको ७३ केजी जुनियरमा वीरगन्जका सजरुद्धिन आलमले स्नाचमा ७३ क्लिनमा ५२ र कुलमा १६५ केजीका साथ स्वर्ण, एपीएफका सुलभ बस्नेतले ७३, ८२ र कुल १५५ केजीका साथ रजत तथा वीरगन्जकै सुनीलकुमार सर्राफले ३५, ४५ र कुल ८० केजीका साथ कांस्य पाए । सिनियरतर्फ आर्मीका यज्ञबहादुर सारूले स्नाचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीका साथ स्वर्ण, आर्मीकै हेमनारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ कांस्य पाए ।

पुरुष ८१ केजी तौलमा पुलिसका विकास थापाले तीन कीर्तिमान राखे । उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय कीर्तिमान राखे । उनले आफैंले आठौं राष्ट्रिय प्रतियोगितामा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै कीर्तिमान राखेका हुन् । उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १३६ केजी भारका साथ कीर्तिमान कायम गरे । उनले कुलमा २५० केजीबाट तौल बढाई २५६ केजीका साथ राष्ट्रिय कीर्तिमान राखे । जुनियरमा बाँकेका सुरज वैश्यले स्नाचमा ८०, क्लिनमा १०१ र कुल १८१ केजीका साथ स्वर्ण, कञ्चनपुरका विकास भट्टले ७०, ९२ र १६२ केजीका साथ रजत तथा सञ्जय यादवले ५५, ८३ र कुल १३८ का साथ कांस्य पाए ।

८९ केजी तौलमा आर्मीका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौंमा क्लिन एन्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई कीर्तिमान बनाए । कार्कीले स्नाचमा १०५ केजी भार बहन गरे । पुलिसका ओम प्रकाश वैश्यले स्नाचमा १०५ केजी भारका साथ कीर्तिमान बनाए । वैश्यले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले ।

जुनियरमा बाँकेका अश्विन सोनीले स्वर्ण हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप