मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेइमारको भविष्य अन्योलमा, बार्सिलोना र रियलको प्रस्ताव पीएसजीद्वारा अस्वीकार

बिहीबार, ३० साउन २०७६, १० : १५
बिहीबार, ३० साउन २०७६

स्पेनिस महारथि बार्सिलोना र रियल म्याड्रिडले ब्राजिलियन स्टार नेइमारलाई भित्र्याउन राखेको प्रस्तावलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले अस्वीकार गरेको छ ।

बार्सिलोनाले नेइमारलाई अनुबन्ध गर्न पीएसजीसँग फिलिप कोउटिन्हो र एक सय मिलियन युरोको प्रस्ताव राखेको थियो । यसअघि मिडफिल्डर इभान राकीटिचलाई पनि प्रस्तावमा सामेल गर्ने चर्चा चलेको थियो । तर बार्सिलोनाले पहिलो प्रस्तावमा राकिटिकलाई सामेल गर्न चाहेन । पीएसजीले बार्सिलोनाको उक्त प्रस्तावलाई ठाडै अस्विकार गरेको छ ।

यसैगरी स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि ग्यारेथ बेल र हामेस रोड्रीग्वेज सहित केही रकम थपेर नेइमारलाई ल्याउन गरेको प्रस्तावलाई पीएसजीले मानेको छैन । पीएसजीले नेइमार लाने भए रियलबाट भिनिसियस जुनियरको माग राखेको छ । तर रियलले भिनिसियसलाई दिन चाहेको छैन । बार्सिलोना र रियल अहिले नेइमारलाई अनुबन्ध गर्न कम्मर कसेर लागेका छन् । पीएसजीले नेइमार बेच्ने विषयमा रियल र बार्सिलोनामध्ये रियललाई बढी प्राथमिकतामा राखेको समाचार बाहिरिएका छन् ।

सन् २०१७ मा बार्सिलोना छाडेर विश्व कीर्तिमानी रकममा पीएसजी पुगेका नेइमारले पीएसजी छाड्ने पक्का जस्तै छ । प्रिमियर लिगमा खेलाडी अनुबन्धनको समय सकिसकेको छ । स्पेनिस लिग पनि सुरुवातको क्रममा रहेकोले नेइमार अनुबन्धको समय अब धेरै बाँकी छैन । 

त्यसैले पीएसजीले अब कस्को प्रस्तावलाई आत्मसात गर्ला भन्ने कौतुहलता बढेको छ । यससँगै नेइमारको भविष्य पनि अन्योलमा परेको छ । अघिल्ला दुई सिजन चोटका कारण समस्यामा रहेका नेइमार अहिले पीएसजीमा आलोचित भईरहेका छन् । नेइमारलाई पीएसजीका समर्थकले मैदानमै उत्रिएर क्लब छाड्न नाराबाजी समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप