बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धोवीखोला करिडोर : पार्किङ र फोहोर फाल्ने थलो बन्दै

बिहीबार, ३० साउन २०७६, ११ : ३५
बिहीबार, ३० साउन २०७६

उपत्यकाका मुख्य सडकमा सवारी साधनको चाप बढेसँगै ट्राफिक जाम कम गर्नका लागि करिब १८ वर्षअघि धोवीखोला करिडोर बनाउन सुरु गरे पनि अझै सम्पन्न हुन सकेको छैन  । करिडोरको निर्माण कार्य नसकिँदै चक्रपथ गोपीकृष्ण हलस्थित वैजनी पुलदेखी बाग्मती दोभानसम्मको करिडोरको दुवैतर्फ सडक छेउमा  फोहोर फाल्ने अनि सवारी साधन पार्किङ गर्ने थलो बन्दै गएको छ ।

बढ्दो ट्राफिक जामलाई कम गर्न निर्माण गरिएको करिडोरमा सवारी साधन र पैदलयात्रुहरु सहजरूपमा हिँड्न मुस्किल हुँदासमेत सम्बन्धित निकाय काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरी बेखवर जस्तै छन् । धोवीखोला किनार वारिपारि नौ नौ मिटरको चौडा सडकमा सवारी साधन मात्रै गुड्दैनन् । अहिले करिडोर पार्किङ अनि स्थानीय र उद्योगी व्यवसायीले फोहोर फाल्ने डम्पिङ साइड बनाएको खोला किनारका स्थानीयबासीले गुनासो गरेका छन् ।

धोवीखोला करिडोर अन्तर्गत अनामनगर, मैतीदेवी, कालो पुल, रातो पुल लगयतका स्थानमा फोहोरको गङ्गुर देख्न सकिन्छ । अनामनगरस्थित धोवीखोलापुल छेउ काठका टुक्रा, इँटा, घरबाट निस्किएका फोहोरको रासलाई छिचोल्दै बाटो काट्दै थिइन् बानेश्वरबाट अनामनगर जान प्रतीक्षा तामाङ ।

 ‘टन्टलापुर घाममा खोला गनाउँछ, त्यसमाथि बाटो छेउमा फ्यालिएको फोहोरको दुर्गन्धले पुलको बाटो हिँड्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘वारिपारि पनि नगरी हुँदैन ।’ अनामनगरस्थित धोवीखोला पुल नजिकै मात्र फोहोर डङ्गुर नभएर चावहिलदेखि बाग्मती दोभानसम्मको सडकखण्डका विभिन्न स्थानमा छ । 

धोवीखोला करिडोर डम्पिङ साइड बन्दै

धोवीखोला करिडोरमा बाग्मती दोभानदेखि चाबहिलको वैजनी पुलसम्म खोलाका दुवैतर्फका सडक भएर पैदल हिँड्ने तथा सवारीसाधनमा यात्रा गर्नेहरुले पुलको छेउ र बस्ती नभएका विभिन्न स्थानमा फोहोरको थुप्रो नदेख्ने सायद कमै होलानन् ।


स्थानीय बासिन्दाले घरबाट निस्किएका जैविक तथा अजैविक फोहोर सडक किनारमा फाल्ने  गरेका छन् । साना तथा ठूला उद्योगबाट निस्किएका फोहोर सडकमै फाल्दासमेत काठमाडौँ महानगरको ध्यान जान सकेको छैन । सडक नजिकै भएका कतिपय बैङ्कहरुलेसमेत  करिडोरमा फाल्ने गरेका छन् ।

धोवीखोला करिडोर अन्तर्गत बिजुली बजारको पुल नजिकै बस्दै आएकी निर्मला यादवका अनुसार, दिउँसो कसैले पनि फोहोर फालेको देखिँदैन । ‘भोलिपल्ट बिहान फोहोरको थुप्रो हुन्छ, यहीँ वरिपरिकाले फोहोर फाल्छन् कि बाहिरका आएर फाल्छन् थाहा नै हुँदैन्’, उनले भनिन् ।

फोहोरका पोका कुकुर र कागले छर्दा झन्  दुर्गन्धले आउने उनले बताइन् । विगतदेखि नै करिडोर क्षेत्रको फोहोर व्यवस्थापन काठमाडौँ महानगरले गर्दै आएले महानगरले नै फोहोर व्यवस्थापन गर्नुपर्ने प्राधिकरणका सूचना अधिकारी न्यौपानेको भनाइ छ । महानगरले फोहोर व्यवस्थापन नगर्दा कतिपय जनता उपत्यका विकास प्राधिकरणमा करिडोर दुर्गन्धित भयो भन्दै आउने नगरेको उनले सुनाए ।

यता काठमाडौँ महानगरपालिका अन्तर्गत वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले करिडोर क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने  जिम्मा निजी क्षेत्रलाई दिइएको बताए ।  ‘करिडोर क्षेत्रमा निजी क्षेत्रले फोहोर व्यवस्थापन नगर्दा महानगरको बदनाम भयो,’ उनले भने, फोहोर व्यवस्थापन नगर्ने निजी क्षेत्रलाई पत्राचार गरेका छौँ ।’

करिडोर क्षेत्रको फोहोर समयमा नउठाए निजी क्षेत्रलाई महानगरपालिकाले कारबाही गर्ने उनले बताए । करिडोर छेउमा ‘बैङ्क तथा अन्य गैरसरकारी संस्थाहरुले फोहोर फाल्ने गरेका छन् ।

ती संस्थाहरुलाई पनि पत्राचार गरेका छौँ, पत्राचार गरेर विभागमा उपस्थित नभए  महानगरले कारबाहीको दायरामा ल्याउँछ’ प्रमुख श्रेष्ठले भने ।

धोवीखोला करिडोरमै पार्किङ

धोवीखोला करिडोरमा बिहान दस बजेदेखि साँझ पाँच बजेसम्मको समयमा पार्किङस्थल जस्तै लस्करै सवारी साधन पार्किङ गरेको देख्न सकिन्छ । करिडोर क्षेत्रअन्तर्गत अनामनगर क्षेत्रका दुवै ‘साइड’ सधैँजसो सवारी साधनका लस्कर हुन्छन् । यसरी करिडोरमा  सवारी साधनको पार्किङ अनामनगर क्षेत्रमा मात्र होइन मैतीदेवी, कालो पुल, बिजुली बजार क्षेत्र लगायत करिडोरको अन्य स्थानमा पार्किङ गर्नेलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पोखरेलका अनुसार, उपत्यकाका मुख्य सडकमा बाहेक अन्य सडक खण्डहरुमा ट्राफिक प्रहरी खासै बसेका हुँदैनन् । ‘ट्राफिक प्रहरी नभएको मौका छोपेर मनलाग्दी पार्किङ गर्छन्, करिडोरमा सधैँ  ट्राफिक प्रहरी हुँदैनन्’ उनले भने ।

उपत्यकाका मुख्य सडक र सडकपेटीमा पार्किङ गरेका सवारी साधनलाई  साङ्लाले बाँध्ने अभियान ट्राफिक प्रहरीले चलाए पनि धोवीखोला करिडोर र भित्री सडकहरुमा कार मोटर साइकल सिकाउने, सिक्ने थलोसमेत बन्दै गएको छ । मुख्य सडकहरु बाहेक अन्य भित्री सडक र करिडोरमा ट्राफिक प्रहरी परिचालन नगर्दा साँघुरो बाटोमा पार्किेङ गर्दा बढी दुर्घटना हुने गरेको छ ।

धोवीखोला करिडोर क्षेत्र र अन्य सडकपेटीहरुमा पार्किङ गर्नेलाई नियमअनुसार ट्राफिक प्रहरीले कारबाही गर्दै आएको उनले बताए । काठमाडौँ महानगरपालिकाभित्र पाँच स्थानमा स्मार्ट पार्किङ बनाए पनि धोवीखोला सडक किनार पार्किङ स्थल जस्तै बन्दा समेत काठमाडौँ महानगरपालिका बेखबर छ । करिडोर क्षेत्रमा भइरहेको पार्किङको बारे अनुगमन गर्ने प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । महानगरमा पार्किङको समस्या चाँडै  हट्ने उनले बताए । महानगरले पार्किङको समस्या समाधान गर्न स्मार्ट पार्किङ बनाउन खाली ठाउँको खोजी कार्य भइरहेको उनको भनाइ छ । करिडोरमा सर्वसाधरणले भोग्दै आएको समस्याका बारेमा महानगर, ट्राफिक प्रहरी र प्राधिकरण बेखबर छ ।

धोवीखोला करिडोरको दुवैपट्टि नौ नौ मिटरको सडक भए पनि ठाउँठाउँमा गरिँदै आएको पार्किङको कारण एकलाइनमा सवारी गुड्न बाध्य भएको पूर्वट्राफिक प्रहरी निरीक्षक तथा ट्राफिक स्वयं सेवक ट्राफिक सीताराम हाछेथुले बताए । करिडोरमा गरिँदै आएको पार्किङले दुर्घटनाको दर बढ्न सक्ने उनले बताए । ‘करिडोर निर्माण गर्दा सडक मात्रै बनाएर हुँदैन,’ उनले भने, ‘सवारी दुर्घटनाको सम्भावना कुन क्षेत्रमा छ भन्ने कुरा सम्बन्धित निकायले थाहा पाउन जरुरी छ ।’ पानी पर्दा खोलाको पानी सडकसम्म आउने भएकाले पुल मुनिबाट सवारी गुडाउन समस्या हुने गरेको छ । करिडोर क्षेत्रमा पार्किङका लागि निश्चित क्षेत्र तोक्नुपर्ने उनले बताए ।

सडक बनाएर  पार्किङको व्यवस्था नगर्दा करिडोर पार्किङ जस्तो भएको उनको भनाइ छ । ‘नाम मात्रको करिडोर बनाएर हुँदैन, उनले भने, ‘करिडोरमा पार्किङ पनि हुनुपर्छ । पार्किङ नहुँदा करिडोरमा  ट्राफिक जाम हुने आवस्था आउँछ ।’  धोवीखोला करिडोरअन्तर्गत पुलमुनि अरू पनि सडक विस्तार गरेर सर्वसाधारणका लागि सानो माइक्रो सञ्चालन गर्न आवश्यकता भएको उनको भनाइ छ । उपत्यकाभित्र निर्माणाधीन अवस्थामा रहेका अन्य करिडोरको काम सम्पन्न गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनले बताए ।

‘सरकारले करिडोर निर्माण गर्न बेवास्ता गरेको खण्डमा पैदल हिँडेर दस मिनेटमा पुग्ने गन्तव्यमा पनि यात्रु बस चढ्यो  भने  १ घण्टा ट्राफिक जाममा पर्ने समय आउँछ । उपत्यकामा १२ लाख  सवारी साधन गुड्छन्,  त्यसैले ट्राफिक जामको  समस्या समाधान गर्न  आवश्यक छ ।’ उनले भने धोवीखोला करिडोरमा जेब्राक्रसिङ, ट्राफिक साइन, ट्राफिक लाइट, पार्किङसमेत छैन ।  करिडोर क्षेत्रमा सडकपेटी कुनै ठाउँमा छ, कुनै ठाउँमा छैन । पैदलयात्रु सडकपेटीमा सहज रूपमा हिँड्ने वातावरण नभएको भन्दै उनले भने, ‘सवारीसाधन गुडाउन मात्रै करिडोर  बनाउने होइन । दुर्घटना कम गर्नका लागि पैदल यात्रीलाई सडकपेटी  आवश्यक पर्छ ।’ 

सडक मापदण्डअनुसार, व्यस्त ठाउँमा १.५ मिटर फुटपाथ हुनुपर्छ । मान्छेको चापअनुसार फुटपाथको चौडाइ बढाउनुपर्छ ।  सडकमा विलचियर अट्ने गरी १.५ मिटर चौडाइ भएको फुटपाथ निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख   छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार, सामान्य सडकमा समेत पैदलयात्रुका लागि १.२ मिटरको फुटपाथ हुनुपर्छ । दायाँ मोड्ने सवारीसाधनका लागि सडकमा कम्तीमा ४ मिटरको फराकिलो ठाउँमा राख्नुपर्ने सडकको मापदण्ड छ ।

सडक र पुल बनाउँदा ध्यान नदिएका कारण यात्रुलाई सास्ती

धोवीखोलामाथि बनेका पुलहरुको कारण चाबहिल गोपीकृष्ण वैजनी पुलदेखि बाग्मती दोभानसम्म  ६ किलो मिटर लामो खोलाको दुवै किनारका सडकमा गुड्ने सवारी र पैदल यात्रुहरुले सास्ती भोग्दै आएका छन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्न रुट छोटो भए पनि सवारी साधन सहज रूपमा गुडाउँन पाइँदैन । करिडोरमा सवारी साधन गुडाउन सहज नहुनुको कारण हो धोवीखोलामाथि बनेका पुलहरु ।

उदाहरणका लागि धोवीखोला माथिको मैतीदेवी पुल, बिजुली बजारको पुललाई लिन सकिन्छ । करिडोरको रुट हुँदै बबर महलबाट कालोपुलसम्म दिलु लामा स्कुटरमा जाँदै थिइन् । स्कुटरमा आएकी उनी मैतीदेवी सेतो पुल नजिक रोकिइन् । उनी रोकिनुको कारण थियो करिडोरको पुलमुनि हिलो र खाल्डा खुल्डी । उनी मुख्य सडक हुँदै पुनः करिडोरमा निस्किन् । ‘खोलाको बाटो हिँड्दा छोटो हुन्छ तर पुल मुनिबाट हिँड्दा ठोकिएलाझँै गरेर हिँड्नु पर्छ,’ उनले भनिन् ।

धोवीखोलामाथि भएका मैतीदेवीको सेतो पुल, बिजुली बजारको पुल र कालोपुलमुनिबाट करिडोर भए पनि सवारी साधन सहजरूपमा गुड्न पाउँदैन । करिडोरका पुलमा पुग्न उकालो चढेर अर्को सडक भएर पुनः करिडोर झर्नुुपर्ने अवस्था छ भने कतै पुलमुनिबाट साना सवारी कार, मोरसाइकल पुलसँग ठोकिएलाझैँ गरेर गुडाउनुपर्छ ।

धोवीखोला करिडोर ६ किलोमिटरको सडकको काम सम्पन्न हुँदा उपत्यकाको ट्राफिक जाम केही हदसम्म भए पनि न्यून भएको उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी केशव न्यौपानेले बताए । ‘करिडोरमा सवारी गुडाउँदा कतै सहज छ भने कतै बाटो साँधुरो हुँदा समस्या छ,’ उनले भने, ‘जग्गा अभावका कारण बाटो साँघुरो भएको हो ।’ करिडोरका सबै पुलमुनिबाट सवारी साधन गुड्ने बाटो निर्माण भए ३० प्रतिशत जाम घट्न सक्ने पूर्वट्राफिक प्रहरी निरीक्षक तथा ट्राफिक स्वयं सेवक सीताराम हाछेथु बताउँछन् ।

२०७८ मा धोवीखोला करिडोर सम्पन्न हुने

करिब १८ वर्षअघिबाट  बनाउन सुरु गरिएको करिडोरको निर्माण कार्य अझै निर्माणाधीन अवस्थामा छ । धोवीखोलाको दोभानदेखि बूढानीलकण्ठको भँगालसम्म खोला किनार वारिपारि १२, १२ किलो मिटर सडक निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणका इन्जियर रञ्जन सिलवालले बताए । ४ अर्ब ५९ करोडको  लागतमा २०७८ जेठ १५ सम्ममा करिडोर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य प्राधिरकणले राखेको उनले बताए ।

चालू आर्थिक वर्ष ०७५–७६ मा सडक निर्माण कार्यका लागि २ अर्ब ६२ करोड लाग्ने भएको छ । यो बहुवर्षीय ठेक्का भएकाले यो साल पनि काम हुन्छ । करिडोरको बायाँ १२ दायाँ १२ किलो मिटर गरी  २४ किमी करिडोरमध्ये धोवीखोला दोभानदेखि वैजनीपुलसम्म ६ किलो मिटर करिडोरको निर्माण कार्य सम्पन्न भएको छ ।

खोलाको दुवैतर्फ चाबहिल  गोपीकृष्णदेखि  बूढानीलकण्ठ भँगालसम्म ६ किलो मिटर सडकखण्डको ट्र्याक खोल्ने काम सकिएको प्राधिकरणका सूचना अधिकारी न्यौपानेले बताए । ‘बूढानीलकण्ठदेखी भँगालसम्म ढलको व्यवस्थापन गर्ने काम भइरहेको छ । त्यसैले अहिले अलिकति सुस्त गतिमा करिडोरको काम बढेको जस्तो देखिएको हो,’ उनले भने, ‘ढल व्यवस्थापनको काम पूरा भएपछि प्राधिकरण सडक पिच गर्नतिर लाग्छ ।’

 दुवैतर्फ हालसम्म ५० प्रतिशत काम सकिएको न्यौपानेले बताए । हालसम्म सडक निर्माणमा २ अर्ब बढी लागेको सिलवालले बताए । ५० प्रतिशत काम पूरा गर्न थप ४५ करोड आवश्यक पर्न सक्ने उनको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप