बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारभित्रै गैडाको खाग चोरी भएपछि...

बिहीबार, ३० साउन २०७६, १८ : १७
बिहीबार, ३० साउन २०७६

काठमाडौं– नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै गैडाको खाग चोरी भयो । बाघको जुँगा उखेलेर तथा दारा र नङ्ग्रा झिकेर लगियो, बाह्रसिंगे जरायोको सिङ पनि काटेर चोरियो । यो कुनै बनावटी कथा होइन, वास्तविकता हो । सिंहदरबारको मुख्य राणाकालीन भवनमा रहेको बेलायती बैठक कक्षमा राखिएका यी समाग्रीहरु भूकम्पपछि सुरक्षित ठाउँमा सार्ने क्रममा चोरिएका हुन् । 

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सिंहदरबार बनाउँदा बेलायती बैठक कक्षमा बेलायती सामग्रीका साथै नेपाली सामग्रीहरु प्रयोग गरेका थिए । बैठक कक्ष सजावटका लागि शिकार खेलिएका ठूला दुई बाघ, जरायोको टाउको, गैंडाको टाउको लगायतका सामग्री भित्तामा सजाएर राखिएको थियो ।

एकसाता पहिले राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बेलायती बैठक र त्यहाँका कलात्मक सामग्रीको अवलोकन गरेको थियो । अवलोकन गर्ने क्रममा बन्यजन्तुका अखेटोपटारका रुपमा रहेका सजावटका सामग्रीका विभिन्न भागहरु चोरी भएको तथा कतिपय ढुसी परेर बिग्रिएको अवस्थामा रहेको पाइएको थियो ।  

राणाकालीन समयमा बेलायतबाट सामग्रीहरु ल्याएर तयार पारिएको सो बेलायती बैठक कक्षमा रहेका दुईवटा ठूला बाघको जुँगा उखेलेर लगेको, दारा तथा नङ्ग्रा भाँचेर लगेको, गैंडाको खाग काटेर लगिएको, ठूलो बाह्रसिंगे जरायोको १२ ओटा सिङमध्ये केही सिङ काटेर लगिएको अवस्थामा पाइएको समितिका सभापति रामनारायण विडारीले रातोपाटीलाई जानकारी दिए । 

बिहिबार बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ती सामग्रीहरुको संरक्षणका बारेमा छलफल गर्न गृहमन्त्रालयलाई समितिको बैठकमा बोलाउने निर्णय गरेको छ ।  समिति सभापति विडारीले बेलायती बैठक कक्षमा भएका अत्यन्तै पूराना नक्साहरु, फोटोहरु, तिब्बतियन स्वर्ण अक्षरका थान्काहरु, तत्कालीन अवस्थामा बेलायतबाट झिकाइएका कार्पेट, सोफा, फर्निचरहरु दयनीय अवस्थामा रहेको, धेरैजसो कुहिएको, ढुँडी परेको अवस्थामा रहेको पाइएपछि त्यसको संरक्षणका लागि नेपाल सरकारको ध्यानाकर्षण गर्न गृहमन्त्रालयलाई बोलाएर छलफल गर्ने निर्णय भएको जानकारी दिए । 

उनले भने– ‘त्यहाँभित्र रहेका दस्तावेजहरु, ऐतिहासिक फोटोहरु, दस्तावेजका रुपमा रहेका थान्काहरु, नक्साहरु, दस्तावेजका रुपमा रहेका कलाहरुको संरक्षणका लागि गृहमन्त्रालयलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ ।’  

भूकम्पअघि रक्षा मन्त्रालय रहेको र चौबिसै घण्टा नेपाल प्रहरी तथा नेपाली सेनाको सुरक्षाको पहरेदारी रहने सिंहदरबारबाट ऐतिहासिक मूल्यका सामग्रीहरु हराउनुलाई आश्चर्यको रुपमा लिइएको छ । राणाकालीन सो बैठककक्षमा बेलायती महारानी एलिजावेथ आउँदा भेटघाट तथा रात्रीभोज गरिएको थियो । राज्यको महत्वपूृर्ण भेटघाट तथा बैठक बस्ने गरिएको सो बैठक कक्ष भूकम्पपछि संरक्षण नहुँदा पानी चुहिएर कलाकृतिमा असर समेत पुगेको छ ।

 हेर्नुहोस् भिडियो : 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप