बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यो भिडियोले पक्राउ परे रवि लामिछाने, चितवन प्रहरी ६ बजे आइपुगेको थियो काठमाडौं

बिहीबार, ३० साउन २०७६, २२ : ४६
बिहीबार, ३० साउन २०७६

काठमाडौं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् । 

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए । 

रवि लामिछाने न्यूज २४ टिभीबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल पनि सो कार्यक्रमका सञ्चारकर्मी हुन् । यता पक्राउ परेकी ओखढुंगाकी कार्की भने नर्स हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामिछाने र कँडेललाई साँझतिर  लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो भने कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको हो । 

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको छैन् । यता परिसरका प्रवक्ता होविन्द्र बोगटीले सार्वजनिक चासोको विषय भएर उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताए । 

पत्रकार शालिकराम पुडासैनी

पत्रकार पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए ।

यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो भिडियोले पक्राउ परेका हुन् रवि र युवराज

पुडासैनीले रेकर्ड गरेको भिडियो मिडियामा बुधबार मात्र ‘भाइरल’ भएको थियो । भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरी तीनै जना पक्राउ गर्न बाध्य भएको हो ।

मृत्युअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधाकुरा जनतासँग’का सञ्चारकर्मी लामिछाने र कँडेलसहित ती युवतीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख गरेका छन् । 

१० दिनपछि मिडियामा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानको लागि भन्दै रविसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । रवि र कँडेललाई चितवन लगिँदैछ भने कार्कीलाई दिउँसो नै लगिएको हो । 

भिडियो प्राविधिक परिक्षणका लागि हेडक्वार्टर पठाइएको थियो

पत्रकार पुडासैनीले आत्महत्या गर्नुभन्दा अगाडि खिचेको भिडियो प्रहरीले बरामद गरेपछि प्रहरी हेडक्वार्टरमा अनुसन्धानको लागि पठाइएको थियो । 

चितवन  प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको थियो । मोबाइल तथा भिडियो प्रमाणित भएसँगै रवि पक्राउ परेको हुनसक्छ ।

चितवन प्रहरी ५ बजे काठमाडौं आइपुगेको थियो

भिडियो भाइरल भएलगत्तै रवि लामिछानेलाई नियन्त्रणमा लिन भनेर जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोली काठमाडौं साँझ ६ बजेतिर उत्रिएको पाइएको छ । 


चितवन प्रहरीले रविलाई नियन्त्रणमा लिन काठमाडौं परिसरको सहयोग मागेको पाइएको छ । चितवन प्रहरी र परिसरको टोली साँझ ७ बजेतिर न्यूज २४ टिभीको कार्यालय पुगेको थियो ।

१५ मिनेट जति प्रहरीले रविसँग केही छलफल गरेपश्चात नियन्त्रणमा लिइएको पाइएको छ । 

चितवन प्रहरीको विज्ञप्ति

रवि र युवराजलाई नियन्त्रणमा लिएलगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञप्ति जारी गरेर उनीहरुको पक्राउ परेको पुष्टि गरेको छ । विज्ञप्तिमा रवि र युवराजलाई न्यूज २४ को कार्यालयबाट र कार्कीलाई

कलंकीबाट पक्राउ गरेको उल्लेख गरेको छ । 

श्रीमती र आमाबुबासँग माफी

भिडियोमा करिब १० मिनेटभन्दा बढी पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारणबारे खुलाएका छन् । उनले भिडियोका अन्त्यमा रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी समेत मागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप