मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ नम्बर प्रदेशमा बढ्दो भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ

सबैभन्दा बढी उजुरी धनुषा जिल्लामा
शुक्रबार, ३१ साउन २०७६, ११ : ३४
शुक्रबार, ३१ साउन २०७६

जनकपुर । केन्द्रीय सरकारले जस्तै २ नम्बर प्रदेश सरकारले पनि ‘सुशासन र समृद्धि’को नारा दोहोराउने गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारका उजुरी हेर्दा सुशासनको नारा ‘नारा’मै सिमित भएको पुष्टि भएको छ ।

प्रहरी, निजामति कर्मचारी र जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोपमा रङ्गेहात पक्राउ पर्नुले भ्रष्टाचारको जरा कति फैलिएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

एक वर्षमा ३ हजार बढी उजुुरी

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २ नम्बर प्रदेशमा ३ हजारभन्दा बढी उजुरी परेका छन् ।

अदुवाको बर्दिवास कार्यालयमा २ नम्बर प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही र रौतहटमा मात्रै २ हजार ९४ वटा उजुरी परेका छन् । जसमध्ये सबैभन्दा बढी उजुरी धनुषा जिल्लामा ४ सय ९० वटा उजुरी परेका छन् । सिरहामा सबैभन्दा कम ३ सय ४७ उजुरी परेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

रौतहटमा ३ सय ८३, महोत्तरीमा ३ सय ७८ र सर्लाहीमा ३ सय ५० उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।

अख्तियारमा कर्मचारी पदस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकासमा भएको भ्रष्टाचार सम्बन्धी उजुरी सबैभन्दा बढी परेको निमित्त प्रमुख हरीप्रसाद घिमिरेले जानकारी दिए ।

सामान्य प्रशासनतर्फ धेरै उजुरी

अख्तियार अनुसन्धान आयोगको तथ्याङ्क अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका कार्यालयमा सबैभन्दा बढी १ हजार ३९ उजुरी परेका छन् । त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित ५ सय १२, भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयसँग सम्बन्धित १ सय ३४, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत ७४, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगत ६६, वन तथा वातावरण मन्त्रालयअन्र्तगत ५५, गृह मन्त्रालय अन्र्तगत ५२ वटा उजुरी परेका छन् ।

७ सय ९२ फर्छ्यौट

गत आर्थिक वर्षमा अख्तियारले २ हजार ९४ उजुरीहरु मध्ये ७ सय ९२ उजुरी मात्रै फर्छ्यौट गर्न सकेको छ भने पछिल्लो आर्थिक वर्षकै १ हजार ३ सय २ उजुरी फर्छ्यौट गर्न बाँकी रहेको छ ।

आयोगका निमित्त प्रमुख हरिप्रसाद घिमिरेले कार्यालयमा कर्मचारीको अभावले गर्दा काम गर्न समस्या भएको बताए  । उनले आवश्यकता अनुसार कर्मचारीहरु विगतमा नभएकाले पनि कारवाही प्रक्रियामा जान कठिनाइ भएको दावी गरे ।

मुलुक संघीय संरचनामा गइसकेपछि आयोगसमेत प्रादेशिक संरचना अनुसार आन्तरिक रुपमा काम कारवाहीबारे चुस्तदुरुस्त गर्न अझ केही समय लाग्ने उनको भनाई छ ।

उनले छोटो समयमै प्रादेशिक कार्यालयको रुपमा अखितयारका कार्यालय रुपान्तरण गरिएकोले उजुरीहरु फर्छ्यौट गर्न कठिनाई भएको भन्दै यस वर्ष ३८ प्रतिशत मात्रै फर्छ्यौट गर्न सफल भएको र चालु आर्थिक वर्षबाट यो प्रतिशत बढ्ने बताए ।

स्टिङ अपरेशनमा जनप्रतिनिधि पनि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयमार्फत गतवर्ष १५ भन्दा बढी स्टिङ्ग अपरेशन गरेको जनाएको छ । यो अपरेशनमा दर्जनौँ व्यक्ति घुससहित रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अधिकांश जनप्रतिनिधि, सरकारी कर्मचारी र उनीहरुका नातागोताहरु छन् । आयोगले प्रदेश नम्बर २ मा पर्ने बारा, पर्सा र सप्तरी भने हेर्ने गरेको छैन । जसले गर्दा प्रदेश २ अन्तर्गतका बारा, पर्सा र सप्तरीमा मन्त्रालयमार्फत् भएका काम कारवाहीसम्बन्धी उजुरी आउँदा समस्या पर्ने गरेको एक कर्मचारीले बताए ।

तर, आयोगका निमित्त प्रमुख घिमिरेले प्रदेशको सबै जिल्ला हेर्ने गरी आन्तरिक कामकारवाही प्रक्रियागत रुपमा आउने जानकारी दिए ।

को कति रुपैयाँसहित पक्राउ ?

आर्थिक वर्ष ०७५/०७६मा महोत्तरीस्थित गुठी संस्थान शाखा कार्यालय महोत्तरीका असुलीसहायक जयकुमार राउत शर्मा ३५ हजार रुपैयाँ, नापी कार्यालय, २ नम्बर नापी धनुषा कर्मचारी जयगोजिन्द यादव १५ हजार रुपैयाँ, ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादव घुससहित पक्राउ परेका हुन् ।

त्यस्तै असोज ९ गते नापी कार्यालय हरिवन सर्लाहीका अमिन किसुन देव मण्डल ९ हजार, असोज १५ गते जिप्रका सर्लाहीका प्रहरी हबल्दार नुरुल अन्सारी ३० हजार,  कार्तिक ५ गते सशस्त्र प्रहरी बल मुजेलियाका प्रहरी हवल्दार चन्देश्वरी गिरी ११ हजार रुपैयाँ र कार्तिक १३ गते नापी कार्यालय लहानका सवैषक देवनारायण चौधरी २ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । यस्तै कार्तिक १८ गते सब डिभिजन वन कार्यालय नेपालटार उदयपुरका नाम नखुलेको सहायक वन अधिकृत ६० हजार,  माघ १९ गते मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्की १० हजार, चैत १ गते जिप्रका महोत्तरीका प्रहरी नायब निरीक्षक रामनरेश साह तेली १० हजार, चैत १२ गते तराईजोवियम तथा घाँसबारी वीउ विजन प्रयोगशाला जनकपुरका वरिष्ठ पशु विकास अधिकृत डा.रामगुलाम यादव र प्राविधिक जागेश्वर चौधरी ४० हजार रुपैयाँसहित पक्राउ परे ।

०७६ वैशाख १४ गते इलाका प्रशासन कार्यालय रामगोपालपुरका कम्प्युटर अपरेटर अशोक कुमार सिंह ४ हजार, जेठ १७ गते एकडारा गाउँपालिका महोत्तरीका वडासदस्य रामचन्द्र राय यादव ३३ हजार, जेठ २४ गते सशस्त्र प्र्रहरी बल नेपाल ११नम्बर गण अजमनिया रौतहटका सहायक प्रहरी हवल्दार अरुण झा ३० हजार, साउन २ गते रामनगर गाउँपालिका सर्लाहीका इन्जिनियर रामजीबाबु यादव ५० हजार, साउन ३ गते गोलबजार नगरपालिका सिरहाका सब ईन्जिनियर उमा श्रेष्ठ ५० हजार, साउन १३ गते मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर ५ हजार, नगराइन नगरपालिका धनुषाका सब ईन्जिनियर उमेश मण्डल ५५ हजार र साउन २६ भंगहा नगरपालिकाका वडानम्बर ८ का वडाध्यक्षसहित ३ जना १ लाख ६० हजार रुपैयाँ सहति रङ्गेहात पक्राउ परेको अख्यितयारले जनाएको छ ।

अख्तियारले विभिन्न ठाउँबाट पक्राउ परेकाहरुसँग ६५ लाख ५ हजार रुपैयाँ घुस रकम बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप