मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुकुममा टेलिफोन टावरमा  समस्या

शुक्रबार, ३१ साउन २०७६, १२ : ५८
शुक्रबार, ३१ साउन २०७६

रुकुम– पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ की सुनिता मगर अपराह्नको ४ बजे फोनमा कुरा गरिरहेका हुन्छन् । त्यतिबेला एक्कासी फोनमा कुराकानी बुझिँदैन । हेलोहेलो भन्दाभन्दै फोन कट्छ । एकछिन रिसले चुर परेर फत्फताउँछन् । एउटा गतिलो मोबाइल छैन जतिखेर काम परेको हुन्छ त्यतिखेर फोन बुझिदैन, बिग्रेको थोत्रो, उनले मोबाइललाई दोष दिन्छन् । तर त्यहाँ मोबाइल केही भएको हुँदैन । हुन्छ त केबल नेटवर्कको समस्या । उनको मोबाइलमा टेलिफोनको टावर हुँदैन । कुरा गर्दागर्दै अधुरो रहेको कुराकानीलाई पूरा गर्नका लागि अब उनले अर्को दिनको १० बजे कुर्नुपर्ने हुन्छ । 

भुमे गाउँपालिका वडा नं १ लुकुमका रामकुमार बुढाले पनि फोनमार्फत गर्ने काम ४ बजेभन्दा अगाडि नै गरिसकेका हुन्छ । सबै काम सधैँ हतारमा किन भनेर सोध्दा उनी भन्छन्, आजको काम आजै छिटो सक्नुपर्छ, नत्र फेरि मोबाइलमा नेटवर्क गयो भने भोलि बिहानको घाम नझुल्किञ्जेलसम्म कुरेर बस्नुपर्छ । सिस्ने गाउँपालिका वडा नं २ की सविना खड्काको समस्या पनि उस्तै छ । उनी भन्छन्, ‘साँझको ५ बज्यो भनेजति नै इमरजेन्सी काम किन नपरोस् फोन गर्न पाइने होइन ।’ यस्तो समस्याबाट गुज्रिरहेका उनीहरु त केही उदाहरणीय पात्र मात्र हुन् । यस्तो समस्याबाट जिल्लाका हजारौँ नागरिकले वर्षैपिच्छे सास्ती खेपिरहेका छन् ।  

रुकुमपूर्वमा हरेक दिनको सूर्यास्तसँगै टेलिफोनको टावर अस्ताउने गरेको छ । जिल्लास्थित अधिकांश ठाउँका टेलिफोन टावर सोलारको ब्याट्रीबाट सञ्चालनमा रहेका छन् । वर्षाको यो समयमा धेरै पानी पर्ने र बादल लागिरहने हुनाले सोलारको ब्याट्री चार्ज हुन पाउँदैनन् । जसले गर्दा दिनको बिहानीसँगै टेलिफोनको टावर आउने र सूर्यास्तसँगै टेलिफोनको टावर पनि हराउने गरेको छ । जसले गर्दा जिल्लाका अधिकांश क्षेत्रका नागरिक सञ्चारको पहुँचबाट टाढा रहेका छन् । जिल्लामा भएका टावरमा विद्युत् आपूर्ति नहुँदा फोन सेवा अवरुद्ध हुने गरेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं २ पेल्मा र भुमे गाउँपालिकाको केन्द्र खाबाङ बगरलगायतका विभिन्न ठाउँमा सदावहार नेपाल टेलिकमको टावरले काम गर्दैन । यस गाउँपालिकाका अधिकांश ठाउँमा स्काइ फोन प्रयोग गरिरहेका छन्, जहाँ विगत सात वर्षदेखि स्काइ फोनले काम चलाउरुपमा काम गरिरहेको छ । भुमे गाउँपालिकामा भने एनसेल फोन प्रयोग गरिरहेका छन् । 

जिल्लास्थित सबै नागरिकले नेपाल टेलिकमको टेलिफोन सेवा प्रयोग गर्न नपाएको उनीहरु बताउँछन् । कतिपय ठाउँका नागरिक भने फोन गर्नकै लागि घरबाट एकदेखि दुई घण्टासम्म हिँडेर फोनले काम गर्ने डाँडामा पुगेर कुरा गर्छन् । विसं २०७४ असोज २० गतेदेखि छुट्टै जिल्लाका रुपमा काम शुरुआत गरेको रुकुमपूर्वमा अहिलेसम्म टेलिकमको शाखा स्थापना हुन सकेको छैन । 

जिल्लामा टेलिकमका कर्मचारी पनि छैनन् । जसले गर्दा बेलाबेलामा बिग्रिँने टावर मर्मत गर्नका लागि कर्मचारी बाहिरबाट ल्याउनुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म जिल्लावासी टेलिफोन सेवाबाट वञ्चित भएर बस्नुपर्ने बाध्यतामा हुन्छ । वर्षाको समयमा घाम नलाग्ने भएकाले सोलारको ब्याट्रीमा चार्ज हुन नपाउने र त्यसले गर्दा टावरले पनि काम नगर्ने टेलिकमले जनाएको छ । 

टावरमा केही क्षति भयो भने भनेकै समयमा दक्ष जनशक्ति पु¥याउन सकिँदैन । जिल्लामा आवश्यक जनशक्तिको अभाव छ, टावरमा खराबी आएमा जिल्ला बाहिरबाट कर्मचारी ल्याउनुपर्ने बाध्यता रहेको टावर देखवाल गर्ने रामबहादुर विश्वकर्माले बताए ।

तीन वटा गाउँपालिका रहेको जिल्लाको यो समस्यालाई समाधान गर्न भन्दै टेलिकमले तीनवटै गाउँपालिकामा टावर निर्माण गर्ने भनिए पनि अहिलेसम्म सिस्ने गाउँपालिका वडा नं २ को सुद्रिमा मात्र टावर निर्माणको काम सम्पन्न भएको सिस्ने गाउँपालिका– २ का वडाध्यक्ष जीवन केसीले बताए । बाँकी अन्य ठाउँमा भने काम शुरु नभएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप