बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जोगिन्दरलाई १० प्रश्नः यो कान्डै कान्डको सरकार हो

शुक्रबार, ३१ साउन २०७६, १३ : ०६
शुक्रबार, ३१ साउन २०७६

कलाकार शिवशंकर रिजाल पछिल्लो समय ‘जोगिन्दर पानवाला’को नामबाट पनि परिचित छन् । करिब एक दशकदेखि टेलिभिजनमा यही नामको कार्यक्रम चलाउँदै आएकाले पनि उनलाई धेरैले रियल नामभन्दा पनि यो नामले चिन्छन् ।

करिब १७ वर्षदेखि नेपाली कलाक्षेत्रमा क्रियाशील उनी कलाकारिताको विभिन्न विधामा समेत क्रियाशील छन् । सानोपर्दा, ठूलोपर्दा, स्टेज सोदेखि कमेडी एल्बमसम्ममा आफूलाई क्रियाशील राख्दै आएका उनी आजबाट प्रदेश प्रदेशमा हुने गाईजात्रा कार्यक्रमका कलाकार पनि हुन् । आफूलाई हिटभन्दा पनि सधैँ फिट कलाकार भन्न रुचाउने शिवशंकरलाई गाईजात्राको अवसर पारेर रातोपाटीले सोधेको दस प्रश्न ।

के हो गाईजात्रा ?
–हाम्रो संस्कृतिमा गाईजात्राको एउटा छुट्टै इतिहास छ । वर्षभरिमा मृत्यु भएका व्यक्तिको सम्झनाका रूपमा धेरै पहिलेदेखि नै मृतकको घरबाट गाई बनाएर निकाल्ने चलन छ ।  पछिल्लो ३०, ३५ वर्षयता गाईजात्राको दिन पारेर कलकारले राजनीतिक, सामाजिक लगायत प्रशस्त व्यङ्ग्य गर्ने गर्छन् । हास्यव्याङ्ग्य कलाकारहरुको  यो विशेष पर्र्व पनि हो । 

गाईजात्रामा किन व्यङ्ग्य गर्नुपर्छ ?
–हास्य कलाकारहरुले धेरै पहिलेदेखि यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिँदै आएका छन् । पहिले पञ्चायती व्यवस्थाको समय दलमाथि प्रतिबन्ध थियो । यो समय मौलिक हकहितका कुरा, सत्तापक्षका नराम्रा कुरा सजिलै बोल्न पाइँदैन थियो । सो समय यही गाईजात्राको दिन व्यङ्ग्यमार्फत आफ्नो कुरा राख्न दिने चलन थियो ।

त्यो बेलामा यो गाईजात्राको विशेष महत्त्व रह्यो । अहिले लोकतान्त्रिक गणतन्त्र आइसकेको समयमा सधैँ बोल्न पाउने अधिकार त छ । तर पनि यो दिनलाई व्यङ्ग्य गरेर मनोरन्जन गर्ने र गराउने दिनका रूपमा लिइन्छ । 

व्यङ्ग्य गर्न कति सजिलो ?
– कुनै पनि काम सजिलो हुँदैन । त्यसमाथि व्यङ्ग्य सजिलो छैन । व्याङ्ग्य गर्नेले विभिन्न घटना परिघटनामाथि नियाल्नुपर्छ । दैनिक के भइरहेको छ । देश, जनता लगायतमा सबै पक्षको जानकारी राख्नुपर्छ । अनि मात्र व्यङ्ग्य गर्न सकिन्छ । व्यक्ति, घटना र विषयवस्तु माथि अरूले हास्ने गरेर व्यङ्ग्य गर्न पनि कलाकार क्रिएसन चाहिन्छ ।

तपाईंहरुले गरेको व्यङ्ग्यको प्रभाव परेको छ कि छैन ?
– एउटा ढुङ्गोलाई पानीले बारबार प्रहार गर्दा त्यो ढुङ्ग्यो सालिकग्राम बन्छ । हामीले गरेको व्यङ्ग्य पनि त्यस्तै हो । म धेरै त भन्दिनँ । कहीँकतै एक दुई प्रतिशत सुध्रिन्छ, सुधारिने कोसिस गरिन्छ । हाम्राविरुद्धमा हास्य कलाकारले हामीमाथि व्यङ्ग्य गर्दा केही सुधार गर्नुपर्छ भन्ने सोच आउँछ । त्यो पनि सकारात्मक हो । धेरै सुधार हुन्छ भनेर म भन्दिनँ । एक, दुई प्रतिशत भने सुधार भएको पाइएको छ ।

नेता, कर्मचारी, व्यवसायीलगायत माथि तपाईंले व्यङ्ग्य गर्नुहुन्छ । उनीहरुको प्रतिक्रिया कस्तो आउँछ ?
– कलाकारले कलाकारलाई व्यङ्ग्य गर्दा उनीहरु खुसी हुन्छन्, हाम्रो कमजोरी आँैल्यायो भनेर । केही नेताहरु खुसी भएको र केही दुःखी भएको पनि मैले पाएको छु । तर कर्मचारीमाथि व्यङ्ग्य हान्दा उनीहरु भने बेखुसी नै हुँदो रहेछन् ।
 
नेपालमा व्यङ्ग्यको अवस्था कस्तो छ ?
–पछिल्लो समय व्यङ्ग्यको अवस्था ओरालो लाग्दो छ । प्रविधिले, विज्ञानले धेरै नयाँ विषयवस्तु भित्र्याएको छ । एउटा मोबाइलबाट घरमै बसेर संसार देख्न सकिन्छ । त्यसैले पनि होला व्यङ्ग्यको अवस्था खस्कँदो छ ।

अहिले प्रदेश प्रदेशमा गाईजात्रा गर्दै हुनुहुन्छ नि । किन ?
– देशमा ३८, ३९ वर्षदेखि राजधानी केन्द्रित गाईजात्रा कार्यक्रम हुँदै आयो । उपत्यका बाहिरका साथीभाइ, दर्शकले गाईजात्रा कार्यक्रम तपाईंहरु सधैँ काठमाडौँमा गर्नुहुन्छ । कहिलेकाहीँ काठमाडौँ बाहिर अर्थात प्रदेश प्रदेशमा आएर पनि गर्दिए हामीले पनि हेर्न पाउँथ्यौँ भन्ने कुरो आयो । अर्काे कुरो कार्यक्रमको स्पोन्सरले पनि यसपालि प्रदेशमा गरौँ भने र आयोजक साथी पनि तयार भएको अवस्थाले गर्दा यो वर्ष प्रदेश प्रदेशमा गर्न लागेका हौँ ।

भर्खर व्यङ्ग्यको एल्बम पनि आएको छ, होइन र ?
– हो । त्यसको नाम छ ‘कान्डै कान्डको सरकार’ । यो मेरो सात्रौँ एल्बम हो । यो सरकारको पालामा करिब ३८, ३९ कान्ड घटेका छन् । त्यो कान्डको विषयमा न सरकारले कान्ड घटाउनेलाई कारबाही गर्न सक्यो । न त कान्डका रूपमा निष्पक्ष छानबिन हुन सक्यो ।
त्यो कान्ड र कान्डको विषयमा सरकारलाई गरिएको व्यङ्ग्य यो एल्बममा अटाएको छु । एल्बममा हरेक किसिमको व्यङ्ग्य त छ । तर पनि मैले सरकारलाई फोकस गरेको छु ।

तपाईंलाई कसरी बुझ्ने ?
– म एक मधेसी चरित्र निर्बाह गर्ने कलाकार । मेरो अहिले पनि टेलिभिजनमा जोगिन्दरको पान पसल भन्ने कार्यक्रम पनि छ । यो कार्यक्रम सुरु भएको करिब एक दशक हुन लाग्यो ।
अर्काे कुरो १७ वर्षदेखि म निरन्तर एल्बमदेखि लिएर अहिलेको प्रविधिसम्म हास्यव्यङ्ग्य प्रस्तुतिमा काम गरिरहेको छु । देशको विकृति र विसङ्गतिका बारेमा हास्यव्यङ्ग्य कलाकारिताको आध्यमले चिरफर गर्दै आएको छु । म हिट भन्दिनँ । सधैँका लागि फिट कलाकार हो ।
 
कलाकारको दुःख के रहेछ ?
– कलाकारका धेरै दुःख छन् । सुटिङको कुरा गर्ने हो भने घामपानी, डाँडाकाँडा, उकाली ओराली, चाडपर्व, बिदा, जाडोगर्मी, आफन्त केही भन्न पाइँदैन ।
भित्रभित्रै रोएर बाहिर अरुलाई हसाउनु पर्छ । दिनभरि अरूलाई हसाएर घर हिँड्दा आफ्ना पीडा, समस्यामा सम्झिएर भित्रभित्र हुनुपर्छ । तर पछिल्लो समय कलाकारको आम्दानी राम्रो हुन थालेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप