शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्दा पछाडिको हिरोदेखि फ्रन्टम्यानसम्म

शनिबार, ३२ साउन २०७६, १० : २४
शनिबार, ३२ साउन २०७६

उनी परिवर्तनमा विश्वास राख्छन् । एकै प्रकारका कुराहरु गरेर जीवनलाई मोनोटोनस (निरस) हुन दिँदैनन् । त्यसैले त २७ वर्षको सांगीतिक करियरमा रकका विभिन्न विधालाई आत्मसाथ गरेका छन् ।

‘गितार गड’ को रुपमा आफूलाई स्थापित गरिसकेका उनको आफ्नै शैली छ ।

अरुभन्दा भिन्न, सटिक र उत्कृष्ट ।

त्यसैले त उनलाई धेरैले आफ्नो ‘आइडल’ मान्छन् । र, आफ्ना प्रशंसकहरुको यस्तै मायाले उनलाई संगीतप्रति थप लगनशील हुन प्रेरित गर्छ ।

फलस्वरुपः साथीभाइ, प्रशंसकहरुकै प्रेरणामा उनले आफ्नो ब्यान्ड श्री ३ को फ्रन्टम्यान बन्ने आँट गरेका छन् । गितारमा महारथ हासिल गरिसकेका उनी हुन् आँटिला, जोसिला र हँसिला शरद श्रेष्ठ ।

शरदले १० वर्षअघि ‘द एक्स ब्यान्ड’ छोडे । आफू चर्चित हुनुमा एक्स ब्यान्डको असाध्यै ठूलो हात भएकोमा उनी सहमत छन् । तर एक्स ब्यान्ड अघि र पछिको जीवनमा कुनै परिवर्तन नभएको उनी बताउँछन् । अझ पहिलाको भन्दा उनी आफैंबाट थप प्रेरित भएको उनको बुझाई छ ।

उनी भन्छन्, ‘अहिले झन् आफैदेखि इन्स्पायर्ड छु किनभने अहिले मैले आफ्नै हिसाबको संगीत गर्न पाइरहेको छु । यो एउटा सकारात्मक पक्ष हो ।’

एक्स ब्यान्ड मूलधारको ब्यान्ड भएकोले केही निश्चित सीमा हुने गरेको तर अहिले स्थिति फेरिएको उनी बताउँछन् । अहिले आफूलाई थप प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकेको उनको ठम्याइँ छ ।

उनको यो दाबीप्रति पुराना दर्शक र श्रोता विमति पनि राख्छन् । उनले सन् २००९ मा टम्बलविड इंक ब्यान्ड स्थापना गर्दा धेरैले उनलाई पहिलेकै ब्यान्ड (एक्स ब्यान्ड) ठीक थियो भनेर मेसेज गर्थे । कतिले उनलाई पुरानै ब्यान्डलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो भनेर सुझाए पनि । एकाधले उनलाई अहिले पनि त्यस्तै भन्छन् । तर, यसलाई उनले सकारात्मक तरिकाले हेर्ने गरेका छन् ।

‘उहाँहरुले म भएको एक्स ब्यान्डबाट अझ पनि धेरै गीतहरु सुन्न चाहनुभएको रहेछ,’ उनले भने । ‘तर अहिले टम्बलविडलाई पनि उहाँहरुले स्वीकार्नुभएको छ । समय बित्दै गयो, टम्बलविडको स्टेटस बढ्दै गयो । र, श्री ३ आएपछि झन् ‘आइ एम गेटिङ गुड ओभरह्वेल्मिङ रेस्पोन्सेस’ ।’

श्री ३ को उदयः

श्री ३ को उदयपछि पनि शरदको पुरानो ब्यान्ड टम्बलविड अस्ताएको भने छैन । उनकै भनाइमा थोरै सुस्ताएको मात्रै हो ।

केही महिनाको विश्रामपछि टम्बलविड यो जाडो महिनामा टुरको लागि जानेछ  । हुन त टम्बलविडका विभिन्न शो पनि भइरहेका छन् । श्री ३ को सेप्टेम्बरको टुर सिद्धिने बित्तिकै पुनः टम्बलविडसँगको टुरको तयारीमा उनीहरु जुट्नेछन् ।

एउटा संगीत साधकले आफ्नो वरिपरि पनि संगीत नै खोज्छ, साथी पनि संगीतमा लागेकाहरुलाई नै बनाउँछ । आखिर जोसँग कुरा मिल्छ, जसको स्वभाव र सपना एकै खाले हुन्छन्, उसैसँग मन मिल्ने न हो । शरदका साथी सर्कलमा संगीतकार नै बढी छन् ।

श्री ३ ब्यान्डका तीन महारथी शरद श्रेष्ठ, रबिन न्यौपाने र रोजेत गुरुङले  वार्षिक रुपमा ग्रन्ज ट्रिब्यूट शो गर्दथे । यी तीनैजनाका लागि ७० को दशकका संगीत, रक एण्ड रोल, हार्ड रक, ग्रन्ज म्युजिक ‘प्यासनको म्युजिक’ हो । नेपालमा खासै चर्चित नभएको जनरा डेजर्ट रक, स्टोनर रक उनीहरुलाई असाध्यै मनपर्छ । कमन इन्ट्रेस्ट भएको प्यासनको म्युजिक गर्नका लागि यी तीनले सन् २०१६ मा ‘ह्वाई नट यसो ज्याम गर्ने कि ?’ भनेर श्री ३ लाई जन्माए ।


गायनमा कसरी ?

हुन त उनी एकाएक गायनमा होमिएका होइनन् । उनले ट्रिब्यूट गीतहरुमा बारम्बार गाइरहन्थे । उनलाई साथीहरुले नै ब्यान्डमा गाउनुपर्छ भनेर प्रेरित गरे । साथीहरुसँगै गाउँदा गाउँदै, कभर गीत गर्दागर्दै उनलाई गाउन सहज हुनथाल्यो ।

कोही साथी अरुलाई बर्बाद पार्नसमेत पछि पर्दैनन् तर कोही भने आफ्नै दाजुभाइभन्दा पनि घनिष्ठ एवम् प्रेरणादायी हुन्छन् । हो, शरदका लागि साथीहरु साथीमात्रै होइनन्, साथीभन्दा माथि हुन् । साथीहरुकै प्रेरणाले उनले ब्यान्डमा गायनको जिम्मेवारी लिने निर्णय गरे । 

तर यसरी फ्रन्टम्यान नै बनिएला भनेर उनले कहिले पनि सोचेका थिएनन् । उनलाई व्यक्तिगत रुपमा पनि गायक बन्ने रहर कहिले नजागेको बताउँछन् ।

कुनै पनि ब्यान्डको चर्चाको केन्द्रमा हुने भनेकै गायक वा गायिका हो । ब्यान्डका अन्य सदस्य पर्दापछाडि नै रहन्छन् । तर शरदको हकमा यो ठीक विपरित छ । उनी जतिपनि ब्यान्डसँग आबद्ध भए, चर्चाको केन्द्रमा उनी नै रहे । पर्दा पछाडि भए पनि हिरो नै रहिरहे । त्यसैले पनि सायदै उनले गायक बन्ने सपना देखेका थिए ।

शरद आफ्नो गायकी खासै राम्रो नभएको पनि स्विकार्छन् । उनको गलामा सरस्वती माताको कृपा त पक्कै छ तर संगीतबारे आधारभूत प्रशिक्षण लिएर यसलाई निखार्ने उनको सोच छ । 

जिम्मेवारी लिएपछि कर्तव्य त निभाउनु नै पर्यो । तर फसाद के छ भने उनी आफैंले लेखेको लिरिक्स पनि बिर्सन्छन् । स्टेजमा गाउनका लागि जति आत्मविश्वास चाहिन्छ, त्यो आफूमा नआइसकेको ठान्छन् ।

सुर तालमा पनि विशेष ध्यान दिनुपर्ने भएकाले स्टेजमा थप सतर्क हुनुपर्ने  ।

आफ्नो नयाँ जिम्मेवारीप्रति उनी निकै गम्भीर छन् । युट्युबबाट सिक्छन्, निरन्तर अभ्यास गरिरहन्छन् । ‘गीतको प्राक्टिस गर्नुपर्छ है भन्ने चाँही भा’छ मलाई,’ उनी भन्छन् ।

डबल प्रेसरः

गितार मात्र बजाउँदा एक्लै एक्सप्रेस गर्नलाई उनी निकै स्वतन्त्र हुन्थे, सबै ध्यान गितारमा नै केन्द्रीत हुन्थ्यो, त्यो स्वतन्त्रता उनी सधैँ चाहन्छन् ।

गितारिस्ट भएको नाताले उनले पेडल कन्ट्रोलदेखि लिएर कन्स्ट्रेनदेखि, साउन्ड सबै कुराको ध्यान दिनुपर्छ त्यसमाथि अब सुर ताल मिलाउनुपर्दा उनलाई डबल प्रेसर छ ।

उनको तन र मन अब गितारमा मात्र झुम्न पाउँदैनन् । ‘स्टेजमा हुँदा मलाई भोकलको डर भइराख्छ के ! लिरिक्स बिर्सने हो कि, सुर मिल्दैन कि भनेर माइन्ड अलि डिस्टर्ब हुन्छ । अत्यधिक कन्सियस हुँदोरहेछ माइन्ड । गितारमात्र बजाउँदा म कन्सियस नै हुँदिनँ, पूरा गितारमा नै डुबेको हुन्छु । दुबै ह्यान्डल गर्न चाहिँ अत्यधिक दबाब महसुस हुन्छ,’ उनले भने । 

तर ढुङ्गाको काप फोरेर नै पिपल उम्रन्छ, उनले जस्तोसुकै विषम परिस्थितीमा पनि विजय प्राप्त गरेरै छोडेका छन् ।

त्यसो त कहिलेकाँही स्टेजमा प्रस्तुती दिइरहँदा कहिले माइक छोडौँ र आफ्नो ओरिजिनल स्टेट (आनन्दले बजाऔँ) मा जाऔँ भन्ने महसुस हुन्छ ।

अस्ति भर्खरै स्टेजमा उनले दुई लाइन गीत गाए, माइक छोडे र मज्जाले बजाउन थाले ।

‘यसको मतलब यो हो कि गायन क्षेत्रमा म सिक्ने कोसिसमा छु । आफूमाथि जे आइपर्यो त्यो मैले आत्मसाथ गरेँ । जीवन भनेको ‘मोर टु लर्न’ रहेछ । हरेक शोबाट मैले आत्मविश्वास बटुलिरहेको छु । अहिलेसम्म राम्रै महसुस भइरहेको छ,’ उनले भने ।

द्रव्यधर्मः

तीन वर्षको मेहनत पछि श्री ३ ले भर्खरै द्रव्यधर्म नामको एल्बम सार्वजनिक गरेको छ । द्रव्यधर्म ? रोचक लाग्यो, सोधिहालेँ किन यस्तो नाम राख्नुभयो ? हाँस्दै उनले भने, ‘मनी इज द न्यू रिलिजन’ भएको हो कि भनेर यस्तो नाम राखिएको हो ।’

उनले थपे, ‘मसँग पहिलादेखि नै द्रव्यधर्म नामको एउटा गीत पनि थियो । द्रव्यधर्म सर्वोपरी भन्ने । त्यो शब्द आफूलाई निकै मनपर्‍यो । ’

उनलाई सधैं एल्बमको नाम चाँही नेपाली नै राख्ने मन हुन्छ जति नै अंग्रेजी गीतहरुमा बजाए वा गाए पनि । टम्बलविडका दुईवटा एल्बमको नाम पनि त्यस्तै थिए । सुरुको एल्बम ‘परिचय’ थियो, अर्को ‘अन्योल’ राखियो ।  

द्रव्यधर्म सर्वोपरी भन्ने गीत वर्तमान समयसँग मेल खाने भएकोले पनि एल्बमको नाम यही राखिएको बताए । ‘अहिले मानिसहरु पैसाकै लागि दौडिरहेका छन् । पैसाकै लोभमा मानिसहरुको परिचय गुमिरहेको हो कि भन्ने सन्देश दिन यो नाम जुराइएको हो,’ शरदले भने ।

एल्बममा राखिएका दशवटै गीत एउटै विषयमा केन्द्रीत छन् – स्वतन्त्रता । युट्युबमार्फत् सार्वजनिक गरिएको रिभर नामको गीतमा द्वन्द्वकालीन मुद्दा उठान गरिएको छ ।

यसमा गोरखाका चन्द्रभक्त श्रेष्ठको कथालाई चित्रित गरिएको छ । १० वर्षे लामो सशस्त्र द्वन्द्वमा उनी तत्कालीन नेकपा माओवादीका बालसेना थिए । पछि सेना समायोजनका बेला उनलाई १८ वर्षमुनीको भन्दै समावेश गरिएन । न त यस्ता बालसेनालाई सरकारको तर्फबाट केही सहयोग नै भए । सरकारले आफूलाई बेवास्ता गरेको भन्ने सधैं उनको गुनासोे छ ।

शरदले उनीबारे अल जजिरामा प्रकाशित एउटा भिडियो हेरेपछि जानकारी पाए । भिडियोको सुरुवातमा यो गीत भ्रममा पारिएका बहादुर सिपाहीको लागि समर्पित गरिएको भन्ने सन्देश छ । यो गीतमा पनि स्वतन्त्रताकै कुरा गरिएको शरदले बताएका छन् । ‘यो एल्बममा इन्डिभिजुएल प्रोस्पेक्ट, सफकेसनबाट फ्रिडम पाउने कुरा, मोनिटरी वर्ल्डबाट फ्रिडम पाउने कुरा, फेकिजमबाट फ्रिडम पाउनेलगायतका विषयवस्तु छन्,’ उनले भने ।

ब्यान्डको टुरः

ब्यान्डले आफ्नो टुरको थालनी गरिसकेको छ । पहिलो चरणको यात्रामा कीर्तिपुर र बालुवाटारमा ब्यान्डले आफ्नो प्रस्तुती दिइसकेको छ  । दोस्रो चरणको पूर्वी नेपालको यात्रा अन्तरगत १३ भदौमा धरान, १४ भदौमा दमक, १५ भदौमा बिर्तामोड र १६ भदौमा इटहरीमा ब्यान्डले आफ्नो प्रस्तुती दिनेछ ।

यस्तै गरी, तेस्रो चरणको मध्य पश्चिम नेपाल यात्रामा भदौ २० र २१ मा क्रमशः भैरहवा र बुटवलमा ब्यान्डले पर्फम गर्नेछन् ।

साथै, चौथो चरणमा ब्यान्डले भदौ २७ र २८ मा क्रमशः चितवन र पोखराको यात्रा गर्नेछन् ।

यस्तै, पाँचौं तथा अन्तिम चरणमा भने असोज ३ गते ब्यान्डले बनेपामा आफ्नो प्रस्तुती दिने कार्यक्रम निश्चित भएको छ । अहिले आफूहरु यसकै तयारीमा जुटिरहेको शरदले बताए ।

गीतका शब्दः

गीतको लिरिक्स कसले लेख्नुहुन्छ ? मेरो अर्को प्रश्नलाई उनले बिन्दास भएर भने, ‘लिरिक्स सबै मैले नै लेख्ने हो ।’

‘बहुप्रतिभाशाली भन्ने शब्द सायद यस्तै व्यक्तिलाई व्याख्या गर्नका लागि बनाइएको हुनुपर्छ,’ मैले मनमनै गमेँ ।

द्रव्यधर्म एल्बमका जुन १० वटा गीत छन्, ती सबै उनैले लेखेका हुन् । एल्बममा समावेश नगरिएका पनि यस्ता थुप्रै गीतहरु छन् जसलाई उनले अर्को एल्बममा समावेश गर्ने सोच बनाएका छन् । 

शरद गीतमा अंग्रेजीबाहेक संस्कृत शब्दसँग पनि खेल्छन् । ‘संस्कृत मेरो स्कूलमा ६ कक्षासम्म अनिवार्य थियो । मैले स्वस्थानी ब्रतकथा पनि खुबै पढेको छु । मलाई अहिलेसम्म अगाडि र पछाडिको श्लोक राम्रोसँग याद छ । सानैदेखि संस्कृत शब्द निकै परिचित लाग्छन् । संस्कृत खासै आउने त होइन, तर म शब्दसँग खेल्न सक्छु ।’

‘हामी हाम्रो लिरिक्समा आफूमाथि जे भइरहेको छ त्यसैलाई उतार्ने गर्छौँ, त्यही विषयवस्तुलाई सिंक्रोनाइज गरेर लेख्ने हो । कहिलेकाँही काल्पनिक कुराहरु पनि लेख्छौँ,’ उनले भने । आफ्नो सांगितिक यात्रामा नै लिरिक्ससँग खेल्न सिकेको उनले बताए ।

संगीत जीवन नै भइसक्योः

शरदका लागि संगीत जीवन नै भइसक्यो । संगीतबारे टम्बलविडका बेसिस्ट प्रशान्त महर्जनको भनाई उद्धृत गर्दै उनले भने, ‘संगीत भनेको एउटा मात्र यस्तो चिज हो, जुन साथीसँग हुँदा रमाइलो गर्दा पनि चाहिन्छ र आफू एक्लै हुँदा वा डिप्रेशनमा हुँदा पनि चाहिन्छ । यो जस्तोसुकै अवस्थामा भएका मानिसहरुले पनि सुनिरहेका हुन्छन् । ’

कहिलेकाहीँ कसैले नकारात्मक टिप्पणी गर्दा पनि आफूलाई केही फरक नपार्ने उनी बताउँछन् । किनभने उनी आफ्नै लागि संगीत गरिरहेका हुन्छन् । उनले भने, ‘श्री ३ को संगीत सायद धेरैले नसुन्नुहोला तर त्यो संगीत मैले आफ्नै लागि गरेको हो । यसले सबैको स्वादलाई सम्बोधन नगर्ला ।’

आफू कत्तिको सक्षम भइरहेको छु भनेर हेर्न पनि यस्तो गर्नुपर्ने उनले बताए । ‘आफ्नो संगीतप्रति आत्मसन्तुष्टि भनेको हुनुपर्ने रहेछ,’ उनले भने । तर कहिलेकाँही आर्थिक पाटो हेर्दा नराम्रो महसुस हुने उनी बताउँछन् । तर पनि प्यासनले दिएको पेसाप्रति उनी कसैगरी पनि नकारात्मक हुनसक्दैनन् । 

परिवारको साथ नहुँदा कतिको कलाकारिता बीचमै तुहिएको घटना थुप्रै छन् । तर अहिलेसम्म यो क्षेत्रमा आमाको समर्थन नपाएका उनी भने २७ वर्ष पर्यन्त पनि संगीतमै केन्द्रीत छन् । ‘आमाले मेरो म्युजिक करियरलाई स्वीकार्नु भएको छैन । पाको उमेरको हुनुहुन्छ, मानसिकता परिवर्तन गर्न निकै गाह्रो छ । मेरो पहिलाको घटनाले गर्दा पनि होला । तर म यी सबै कुरा अहिले पचाउन सक्ने भएको छु,’ उनले हाँस्दै भने ।

संगीतलाई पेशा ठानिएको खण्डमा यस्ता समस्या पनि सुल्झिने उनको बुझाई छ ।

प्रशंसकका लागिः

प्रशंसकले टम्बलविड प्रति देखाएको माया सद्भावप्रति उनी निकै आभारी छन् । टम्बलविड पछि यही विधाका थुप्रै ब्यान्ड पनि आइरहेको उनले बताए । ‘टम्बलविडले शो गर्नुभन्दा अगाडि हिपहप आर्टिस्टले ट्रयाकमा शोहरु गर्थे । टम्बलविड अस्तित्वमा आइसकेपछि धेरैले ब्यान्डसहित प्रस्तुती दिने थालेका छन्  । जुन हेर्दा निकै खुसी लाग्छ । अरु ब्यान्डले पनि हिपहप आर्टिस्टलाई फिचर गर्दै प्रस्तुती दिन थालेका छन् । यो पनि सुखद अनुभव हो,’ फुरुङ्ग हुँदै उनले भने ।

यस्तै श्री ३ को पनि मूल जरा रक नै भएपनि यसमार्फत् स्टोनर र डेजर्ट रकबारे जानकारी दिन खोजिएको उनले बताए । ‘यस्ता कुरा नेपालमा भित्र्याउने श्री ३ एक्लो ब्यान्ड हो भन्ने मलाई लाग्छ,’ उनले दाबी गरे ।

अहिलेको समयमा संगीत सृजना आफ्नो दायित्व ठान्छन् शरद । आफूले बनाएको संगीतले पनि कतिलाई क्लिक गरिरहेको थाहा पाउँदा आफूलाई संगीतप्रति थप गम्भीर हुन मनलाग्ने उनी बताउँछन् । करियरको सुरुवातदेखि पाएको माया कायम रहोस् भन्दै आइट्युन्स, एप्पल म्युजिक, दामी म्युजिक एपमा सुन्न सकिने उनको द्रव्यधर्म सुनेर प्रतिक्रिया दिन पनि उनले सबैलाई आग्रह गर्दै कुराकानीलाई बिट मारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप