शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पद्वारा डेनमार्कसँग ग्रिनल्याण्ड किन्ने इच्छा व्यक्त

शनिबार, ३२ साउन २०७६, १० : ४२
शनिबार, ३२ साउन २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कसँग ग्रिनल्याण्ड खरिद गर्न चाहेको रिपोर्ट बाहिरिएको छ । 

अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले अमेरिकाको लागि ग्रिनल्याण्ड किन्ने ‘इच्छा व्यक्त’ गरेको हुन् । समाचार अनुसार ट्रम्पले यसको लागि आफ्ना सहयोगीहरुलाई सम्भावना खोज्न आग्रह गरिसकेका छन् ।

अधिकांश भाग हिउँले ढाकिएको २१,६६,०८६ वर्ग किमी क्षेत्रफलमा फैलिएको ग्रिनल्याण्ड विश्वकै ठूलो टापू हो । यो टापूमा डेनमार्कको शासन छ ।

ट्रम्पले ग्रिनल्याण्ड किन्ने खबर सार्वजनिक भएसँगै विहिबार राती अमेरिकी ट्वीटर प्रयोगकर्तामाझ ठूलो उत्साह देखिएको थियो । केही विज्ञले त ग्रिनल्याण्ड अमेरिकाले लिएपछि त्यहाँको घरजग्गा कारोबार हिसाब गर्न थालेका थिए ।  

उता ग्रिनल्याण्ड र डेनमार्कमा भने यस समाचारलाई सकारात्मक रुपमा लिइएको छैन । डेनमार्कको शासन अन्तर्गत रहेको ग्रिनल्याण्ड सरकारले वाल स्ट्रिट जर्नलमा छापिएको समाचारको प्रतिक्रिया दिएको छ । 

ग्रिनल्याण्डको सरकारले समचारका विषयमा स्पष्टीरकण दिँदै भनेको छ,‘ हाम्रो अमेरिकासँग राम्रो सम्बन्ध छ । ग्रिनल्याण्डको भूभाग किन्न अमेरिकामा चासो दिइएको भन्ने खबरलाई हामीले ग्रिनल्याण्डमा लगानी गर्न चाहनेहरुको आम चासो रुपमा हेरेका छौं । तर हामी यो कुरा स्पष्ट पार्न चाहन्छौं ग्रिनल्याण्ड विक्री हुँदैन ।’

ग्रिनल्याण्डमाथि सार्वभौमिकता रहेको डेनमार्ककी विदेश–मन्त्री एन लोन बगरले पनि यस्तै समान विचार व्यक्त गरेकी छिन् । उनले एउटा वक्तव्यमा भनेकी छिन्,‘ ग्रिनल्याण्ड व्यवसायको लागि खुल्ला छ, विक्रीको लागि होइन ।’

ग्रिनल्याण्डको संसदमा दोस्रो ठूलो दल इनुट एटक्वाटिगीट पार्टीकी सांसद एजा लारसनले ‘आफ्नो देशको विक्रिबारेमा छलफल भएको सुनेर आफूलाई अत्यन्त असहज’ लागेको बताउदै ‘ग्रिनल्याण्ड बेचविखन हुने सामाग्री नभएको’ भनिन् ।

यस विषयमा एउटा अन्तरवार्ता दिँदै लारसनले भनेकी छिन् ,‘यदी अमेरिकाले ग्रिनल्याण्ड किन्यो भने, हाल हामीकहाँ लागु भइरहेको उत्कृष्ट कल्याणकारी प्रणाली अन्त्य हुनेछ र समग्र ग्रिनल्याण्डेली समाजमा नै ठूलो परिवर्तन आउनेछ । यसले हामी नासिनेछौं ।’

लार्सनले ग्रिनल्याण्ड अहिले डेनमार्कमै रहेर कालान्तरमा पूर्ण स्वतन्त्र हुनु सबैभन्दा राम्रो विकल्प हुने बताइन् ।

‘ट्रम्पले ग्रिनल्याण्ड र यहाँको जनताको माया लागेर किन्न चासो देखाएका होइनन् । ग्रिनल्याण्डको भूराजनीतिक अवस्थितिप्रति अमेरिकाको चासो भएर किन्ने चासो देखाइएको हो ,’ लार्सनले बताइन् ।

अमेरिकाले ग्रिनल्याण्ड किन्न लागेको पहिलो पटक भनेको होइन । यस अघि सन् १९४६ मा अमेरिकी राष्ट्रपति ह्यारी ट्रूम्यानले ग्रिनल्याण्डको लागि डेनमार्कलाई १० करोड अमेरिकी डलर प्रस्ताव गरेका थिए । मूद्रास्फिर्तीलाई मिलाउदाँ उक्त रकम आजको बजार भाउमा १.३ अर्ब अमेरिकी डलर पर्न आउँछ । डेनमार्कले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । 

अमेरिकाले त्यस अघिनै सन् १९१७ मा डेनमार्कको शासनमा रहेको डेनिस वेस्ट इण्डिज सफलतापूर्वक लिएको थियो । अमेरिकी नियन्त्रणमा आएपछि टापूको नाम युएस भर्जिन आईल्याण्ड राखिएको थियो । 
अहिले पनि ग्रिनल्याण्डको उत्तर–पश्चिम भागमा अमेरिकी सेनाको महत्वपूर्ण हवाई आधार छ । यो विश्वभरी छरिएर रहेको अमेरिकाको सैन्य उपस्थितिको एउटा हिस्सा हो । 

ग्रिनल्याण्ड डेनमार्कको सार्वभौमिकता अन्तर्गतको स्वाशासित भूभाग हो । ग्रिनल्याण्ड सरकराले आफ्ना अधिकाशं आन्तरिक मामिला हेर्छ भने परराष्ट्र र रक्षा भने डेनमार्कको जिम्मेबारीमा छ । 

आकारले ठूलो भए पनि ग्रिनल्याण्डको ८० प्रतिशत भूभाग हिँउले ढाकिएको छ । यसले गर्दा त्यहाँको अत्यन्त न्यून जनघनत्व छ । टापूको केही समून्द्र किनार र राजधानी नूक वरपर गरेर ग्रिनल्याण्डमा कुल ५६ हजार मानिस बसोबास गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप