बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्र र समाजको विकासका लागि युवा अघि बढ्नुपर्ने’

शनिबार, ३२ साउन २०७६, १७ : ४३
शनिबार, ३२ साउन २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । 

उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए । 

उनले विगत सुखद नरहेको प्रसङ्ग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताए । 

समाजिक विकासमन्त्री जीवन घिमिरेले नयाँ नेपालको निर्माण नयाँ पुस्ताले मात्र गर्न सक्ने बताए । उनले युवाले आफ्नो समय र अवसरलाई उच्चतम प्रयोग एवं उपयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई सिर्जनशील काममा लाग्न आग्रह गरे ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, अभिभावक सङ्घका प्रदेश अध्यक्ष देवी पन्थी र उदयन नेपालका अध्यक्ष अनुपमा बाँस्तोलाले यस संस्थाका माध्यमबाट युवालाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गरी प्रदेशभरि सो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप