केन्द्रीय संस्करण
मेराे जीवन

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको जीवन : सुट गरेर चितवनको जङ्गलमा फालिदिन्छु भन्ने कतिकति

person explore access_timeभदौ १, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली पत्रकारितामा पुरुषोत्तम दाहाल नचिन्ने सायदै होलान् । २०३५ सालबाट पत्रकारिता सुरु गरेका उनको त्यो यात्रा अहिले पनि जारी छ । छापा पत्रकारिताबाटबाट सुरु भएको उनको यात्रा टेलिभिजन, रेडियो हुँदै पछिल्लो समयको डिजिटल पत्रिका अनलाइनसम्म आइपुगेको छ । करिब ४२ वर्षको पत्रकारिता जीवनमा उनले थुप्रै आरोह अवरोहसमेत पार गरेका छन् । निष्पक्ष, निडर र स्वतन्त्र पत्रकारितामा विश्वास राख्ने उनले कैयौँ पटक धम्कीको समनासमेत गर्नु परेको छ । पुलमुनि रातो कुकुरसँग लास भेटिनेछ, बाटोको पिचमुनि पेल्दिन्छु र सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु जस्ता धम्की उनले धेरै खेपेका छन् ।
धम्की मात्र कहाँ हो र ? ठूलाठूला अवसरका लोभ पनि उनका अगाडि राखिएको थियो । तर उनको पत्रकारिताको कदमलाई कोहीले पनि रोक्न सकेन । सायद त्यसैले पनि होला हामी पत्रकारिताको क्षेत्रमा उनको नाम गर्वका साथ लिने गरिन्छ । पत्रकारको अलवा साहित्यकार, प्रोफेसरको रूपमा चिनिएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

धेरै मनपर्ने खाना ढिँडो र आलु सिन्कीको अचार हो । ढिँडो जेको भए पनि मनपर्छ । मन नपर्ने त्यस्तो केही छैन । रेस्टुरेन्ट जाँदै जाँदिनँ । पहिलो कुरो फुर्सद हुँदैन । दोस्रो रेस्टुरेन्ट जाने बानी छैन ।

तेस्रो कुरो, काठमाडौँमा बसेर रेस्टुरेन्ट जान खर्चले पनि भ्याउँदैन । सामान्य रूपमा जीवन गुजारा गर्ने मानिसले रेस्टुरेन्ट धेरै धाएर भोजको व्यवस्था गर्न सक्दैन । 

पकाउन रुचि छ । सानोमा पकाउँथे । अहिले श्रीमतीले पकाउँछिन् । त्यसैले अल्छी लाग्छ । पकाउने हो भने सबै प्रकारका परिकार मीठो बनाउन सक्छु ।

घरमा अहिले एक प्रकारको व्यवस्था छ । त्यसमा मेरी श्रीमतीले पकाउनुहुन्छ । उहाँलाई सन्चो भएन भने म पकाउँछु । भाँडा माज्ने काम मेरो भागमा पर्छ ।  

मेरो पोसाक

पहिरनमा मनपर्ने नपर्ने भन्ने छैन । पाइन्ट र सर्ट सधैँ लगाउँछु । गर्मीको बेलामा स्टकोट र जाडोको कोट लगाउन थालेको छु । त्यसको पनि कारण छ । मोबाइल बोक्न थाले पनि राख्न सजिलोका लागि हो ।
दौरा सुरुवाल र कोट पाइन्ट कहिले कहिले मात्र लगाउँछु । विशेष अवसर, विवाह, राष्ट्रपति कार्यालयका कार्यक्रममा  जाँदा लगाउने हो ।

पहिला पहिला राजाको अन्तरवार्ता लिँदा, राज्यकीय भ्रमणमा जाँदा दौरा सुरुवाल, कोट लगाउँथे । कालो र सेतो सर्टपाइन्ट मेरो मनपर्ने रङ्ग । भादगाउँले कालो टोपी मेरो शिरमा कहिल्यै छुट्दैन । यो मेरो मनपर्ने पहिचान पनि हो ।

२०४४ मा मेरो विवाह भएको हो । त्यो समयपछि मैले पहिरन किनेको छैन । सधैँ श्रीमतीले किनिदिन्छिन् । पहिरनमा मेरो धेरै खर्च छैन । त्यस्तै ३, ४ हजार मात्र होला । पहिरन न फाटेसम्म चेन्ज गर्दिनँ । मेरो मान्यता, त्यसको पूर्ण सदुपयोग गर्नुपर्छ जस्तो हो ।

मेरो फिट्नेस
पहिले योगा गर्थें । ०६८ मा मेरी श्रीमतीले आफ्ना आफन्तलाई दिल्लीको मेदान्त अस्पतालमा गएर कलेजो दान गर्नुभयो । सो समय म त्यहाँ धेरै दिन उहाँसँग बस्नुपर्यो ।

त्यस समयबाट छुटेको मेरो योगा अहिलेसम्म जोड्न सकेको छैन । तर कहिलेकाहीँ बिहान सामान्य एक्सरसाइज गर्छु । थोरै ध्यान गर्छु ।

मेरो अध्ययन
मैले कलेज पढाउनुपर्छ । पीएजडी गरिहेकालाई गाइड गर्नुपर्छ । पत्रपत्रिकामा लेख्नुपर्छ । भाषण गर्नुपर्छ । यी सबैका लागि अध्ययन आवश्यक छ ।

म अध्ययनमा रुचाउने मानिस हो । बिदाको दिन म अध्ययन गरेरै बिताउँछु । बिहान र राति लेख्ने पढ्ने हो ।

अहिले दुईवटा किताब पढ्दैछु । एउटा नरहरि आचार्यको गणतन्त्रको यात्रा र अर्काे हरि गौतम भन्नेले लेखेको गणेशमान सिंहजीको वृतान्त छ ।

म यी दुई किताब सँगै पढ्दैछु । अध्ययनका लागि दर्शनसँग जोडिएका, जीवनीका बारेमा लेखिएका, यात्रा वर्णन र इतिहासका घटनाको विषयमा लेखिएका किताब पढ्न मनपर्छ ।

मेरो घुमफिर 
मानिसलाई नयाँ कुरा हेर्ने, पुग्न मनपर्छ । त्यो स्वाभाविक पनि हो । समय मिल्नु पर्छ घुमफिरमा निस्किहाल्छु । कामले एक्लै हिँड्छु भने फुर्सद भयो भने परिवारका साथ पनि घुम्छु । देशका ७७ जिल्लामा म ७५ पुगेको छु । विदेशका १० देश पुगेको छु । 

मेरो फुर्सद 
फुर्सदभन्दा पनि मैले समयलाई समायोजन गर्ने गरेको छु । समय व्यवस्थापन गर्न सिक्ने हो । मेरो काम भन्छु । फुर्सद अनुमान गर्नुस् । मलाई लेख्नुपर्छ । नागरिकमा साताको एउटा आर्टिकल लेख्छु ।  हरेक पलडटकम भन्ने अनलाइन छ । त्यसलाई गाइड गर्छु ।

१, २ पिरेड कलेज पढाउँछु । म माथि पनि केही पीएचडी गर्दैछन् । तिनीहरुलाई गाइड गर्छु । मैना राजनिधि भन्ने एउटा सामाजिक संस्था छ । त्यसको म अध्यक्ष । त्यसले मैना राजनिधि हस्पितल बनाउँदैछ । त्यो पनि रेखदेख गर्नुपर्छ । 

पछिल्लो समय प्रजातन्त्रका कुरा, मानव अधिकारका कुरा, प्रजातान्त्रिक कल्चरका कुरा लगायत विषय नेपाली काँग्रेसका सदस्यहरुलाई पढाउन थालेको छु । म आफै पढ्छु र साहित्य पनि लेख्छु । 

मेरो खेलकुद
खेलकुदमा पहिला धेरै रुचि थियो । सानोमा टेबुलटेनिस, चेस, क्यारिङबोड, भलिबल खेल्थेँ । म पहिले पनि फुटबल खेल्न सक्दिनँ थिएँ । रोजक ढङ्गको प्रतिस्पर्धा भयो भने अहिले क्रिकेट हेर्छु ।

मेरो मोबाइल
मसँग अहिले एउटा सामसुम ब्रान्डको मोबाइल छ । यो जन्मदिनमा छाराले गिफ्ट दिएको हो । समाचार हेर्न, रेडियो सुन्न र युट्युबका राम्रो अन्तरवार्ता हेर्न यो प्रयोग गर्छु । त्यसको अलवा भाइवर, ट्विटर, म्यासेन्जेर र फेसबुक पनि चलाउँछु । २०६८ सालदेखि यो मोबाइल चलाउँदैछु । पहिले अर्काे थियो । नहराए, नबिग्रिएसम्म नयाँ फेर्ने बानी छैन ।

मेरो टीभी
बिहान र बेलुका अनुकुलतामा टीभी हेर्छु । देशविदेशका समाचार हेर्छु । किताब हातमा रहँदा पनि टीभीमा ध्यान हुन्छ । राम्रा टक सो,  डिस्कभरी च्यानल र एनिमल प्लनेट टीभीमा हेर्न मनपर्छ । 

मेरो चलचित्र 
मैले चलचित्र हेर्न नपाएको धेरै भयो । पहिले पहिले धेरै समय थियो, हेर्थें । हेर्न रहर पनि लाग्छ । मिडियामा आउने चलचित्र र कलाकारको टिप्पणी हेर्छु । चलचित्र हेर्न हलमा नगएको धेरै भयो । यसो भन्दैमा कलाकार र चलचित्रको अपेक्षा गरेको होइन । यो क्षेत्रप्रति चासो रहेको छ ।

चलचित्र मनोरन्जन मात्र होइन भन्ने मैले बुझेको छु । यसले समाजलाई चेतना दिन्छ । चलचित्र एक किसिमको पाठशाला पनि हो । मैले बुझेको छु ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत मलाई एकदमै मनपर्छ । पुराना, नयाँ सबै प्रकारका गीतसङ्गीत सुन्ने गरेको छु । मलाई राम्रो लागेको, आनन्द दिने गीतसङ्गीत सुन्छु । तर त्यसको गायक को, कसको शब्द, सङ्गीत लगायत विभिन्न पक्षतिर ध्यान दिन्न ।

अहिले पनि धेरै मनपर्ने नारायण गोपालका गीतहरु हुन् । उहाँसँग त मेरो धेरै चोटि भेट पनि भएको थियो । अरुणा लामा, तारादेवीको गीत पनि राम्रो लाग्छ ।

घटना र विचार चलाउँदा तारा दिदी रेडियोमै हुनुहुन्थ्यो । नातिकाजी दाइलाई पनि मैले त्यहीँ भेटेको थिएँ । रेडियोको घटना र विचारमा ५ वर्ष काम गर्दा धेरै कलाकारसँग सङ्गत भएको थियो । हिन्दी, भोजपुरी सबै प्रकारका गीतसङ्गीत मनपर्छ ।

मेरो पेसा
मेरो पत्रकारिता यात्रा अहिले ४२ वर्ष पुग्यो । २०३५ सालदेखि म यसमा निरन्तर छु । नेपाल टाइम्सबाट सुरु भएको पत्रकारिता राष्ट्र पुकार हुँदै आहिलको अवस्थामा आएको हो ।

मेरो पत्रकारिताका तीन गुरु छन् । पहिलो गुरु चन्द्रलाल झा, जसबाट मैले पत्रकारिताको कखरा सिकेँ । होमनाथ दाइले मिसन जोर्नालिजम सिकाउनुभयो । व्यावसायिक पत्रकारिता र डेभबलपमेन्ट पत्रकारिता किशोर नेपालसँग सिकेँ । मैले सबैखालका मिडियामा काम गरेको छु । साहित्यिक पत्रिकामा पनि काम गरेँ ।

अहिलेको राजधानी दैनिक जो छ, त्यो म प्रधान सम्पादक भएर सुरु भएको हो । कसैले अहिले पनि मलाई तपाईं को हो भनेर सोध्यो भने म युनिभर्सिटीको प्रोफेसर भन्दा पनि क्यारियर पत्रकार हुँ भन्दा पनि आनन्द आउँछ । मैले कलेज पढाउन थालेका ३४ वर्ष भयो ।

पत्रकारिताका क्रममा भोगेका धेरै घटना मेरो दिमागमा अहिले पनि छन् । मैले ती सबै घटना मेरो पत्रकारिता भन्ने पुस्तकमा पनि लेखेको छु । 

पत्रकारिताको क्रममा कुनै दिन मारेर पुलमुनि लास भेटिन्छ । कुनै दिन बाटोको पिचमुनि पेल्दिन्छु । केही पनि भेटिँदैन भन्ने धम्की आए । कोहीले तलाई सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु समेत भने । यस्ता कुरा आमने सामने भयो । तर म पत्रकारिताको क्रममा सही थिएँ । कोहीसँग मैले समाचारका लागि केही बार्गेनिङ गरिनँ, ब्ल्याकमेलिङ गरिनँ । त्यसकारण पनि आफूलाई कसले केही गर्छ कि, भन्छ कि भन्ने डर कहिल्यै भएन । 
   
मेरो प्रेम
प्रेम गर्न समय चाहिन्छ । त्यो मसँग कहिल्यै भएन । अध्ययनका क्रममा केटी साथीहरु पनि धेरै थिए । तर प्रेमीको रूपमा कहिल्यै प्रेम भएन । 

म ११ वर्षको उमेरमा काठमाडौँ आएको थिएँ । काठमाडौँ आमाले दिएको थोरै सामान बोकेर आएको थिएँ । काठमाडौँ आएपछि सडकमा गिटी कुट्ने, भारी बोक्नेदेखि धेरै दुःख गरेर पढँे । त्यसैले पनि प्रेम गर्नुपर्छ, प्रेम गरौँ भन्ने लागे । अहिले पनि मेरो धेरै केटी साथी छन् । मैले अरेन्ज म्यारिज गरेको हो । श्रीमतीसँग नै प्रेम छ ।

मेरो रोग
अहिलेसम्म त्यस्तो केही रोग छैन । प्रेसर पनि ठिकठिकै छ । तर यसको औषधि खाने गरेको छु । खान थालेका पनि ३, ४ महिना मात्र भयो ।

मेरो मापसे
विदेशमा जाँदा मापसे नगर्ने पत्रकार हुन्छन् भनेर सोध्थे । कुनै पनि ठाउँमा चिसो पानी र कोक, फ्यान्टा बोकेर बसेको देख्दा मानिसले नक्कली हो कि भनेर भन्थे । अहिलेसम्म मापसे गरेको छैन ।

मेरो भूल
जीवनमा जानी नजानी धेरै भूल भए होलान् । भूल भनेकै नजानेर गर्ने हो । भूलबाट सिक्न पनि सकिन्छ । यसको पछाडि दार्शनिक कुरो पनि छ । भूलका कारणले पनि दुःख पाइयो होला । २०४३, ०४४ तिर दुई ठूला व्यवसायीले मलाई ३, ३ लाख अफर गर्नुभएको थियो ।

अहिले म कपन बस्छु । त्यो समय त्यहाँ १५ हजारमा १  रोपनी जग्गा आउँथ्यो । त्यो पैसा लिएर मैले जग्गा किनेको भए ३० रोपनी जग्गा किन्थेँ । त्यो जग्गा आजको दिनमा प्रतिआना ३५ लाख रुपियाँ पथ्र्याे ।  म धेरै धनी हुन्थेँ ।

सो समय मैले त्यो पैसा लिएको भए आज दुःख पाउँदिन थिए । यसलाई भूल भन्ने कि नभन्ने ।

अर्काे, मैले सारा दुःख गरेर घर बनाएँ । त्यो एउटा साथीले तीन महिनाका लागि अप्ठ्यारो छ । सहकारीमा राख्न पर्यो भनेर माग्यो ।  सहकारीमा राखेपछि ऊ गायब । मेरो अहिले बिजोक भएको छ । म अहिले जे गर्छु त्यसको पैसा तिर्छु । यसलाई के भन्ने ? 

मेरो राशि 
मेरो राशि कन्या हो । ग्रहदशामा विश्वास लाग्दैन भनौँ भने बाल्मीकि क्याम्पस पढाउँछु । त्यहाँ ग्रहदशा हेर्ने रोजगारी गर्ने धेरै छन् । विश्वास लाग्छ भनौँ भने मलाई त्यसको भर लाग्दैन । यसलाई एक संयोग मान्छु । 

मेरो मृत्यु
अन्तिम सत्य भनेकै मृत्यु हो । हामी भ्रममा छौँ । स्वास्थ्यका लागि अस्पताल छन्, योगा गर्छौं, अन्य फिटनेस पनि गर्छौं । यी सबैको एउटै धारण हो मृत्यु पर धकेल्नु । सत्य चाहिँ के हो भने  मृत्यु अनिवार्य छ । हामीले स्वस्थ्यका लागि भनेर जे जति गरेका छौँ । त्यो सबै सहज मृत्यका लागि हो । दुःख पाएर मर्न नपरोस् भनेर हो । अन्तिम सत्य मृत्यु हो र यसमा अनिवार्य पुगिन्छ । यो विषयमा सोच्नु बेकार छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...