बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आगामी निर्वाचनपछि मलाई पदमा बस्न मन छैन : प्रधानमन्त्री ओली

‘अहिलेको सरकार लगलग काम्यो भनेर दिवास्वप्न नदेख्नु, अर्को चुनावसम्म पर्खनु '
आइतबार, ०१ भदौ २०७६, ११ : ५२
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले अर्को चुनावसम्म आफैले नेतृत्व गर्ने बताएका छन् । उनले भने–‘प्रधानमन्त्री पद जाने भयो भनेर लगलग कामेको छ भनेको सुनेको छु । त्यस्ता तत्त्वहरु नहौसिए हुने हो । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । राजा महाराजा सबैको पद गएको देखेको छु, अर्को निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्छु ।’ 

उनले पूर्वराज ज्ञानेन्द्र शाह सक्रिय भएको प्रति ब्यङ्ग्य गर्दै चिहानमा गएर हड्डी फुकेर पुरानो सत्ता ल्याउने सपना नदेख्न आग्रह गरे ।  प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे ।

उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् ।

यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ । आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो,’ प्रधानमन्त्रीको भनाई छ । विकास निर्माण र आर्थिक बृद्धि दर बढेको भन्दै उनले तैपनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताए ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताए ।

‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन,’ प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकारले ७ प्रतिशत आर्थिक बृद्धिदरको सफलता हासिल गरेको भन्दै सरकारको लोपप्रीयताबाट बिरोधीहरु अत्तालिएको उल्लेख गरे । 

उनले विगतमा संसदीय अभ्यासमा केही त्रुटिहरु भएका कारण आफूले बोल्न नपाएको बताउदै उनले हामीले लडेर ल्याएको लोकतन्त्रको संसदमा राम्रो अभ्यास भएको बताए । उनले नेपालको लोकतन्त्रको अभ्यास दुनियाँको अभ्यास भन्दा उत्कृष्ट बनाएर लैजानुपर्नेमा जोड दिए । 

उनले भने–‘संविधानसभाबाट समानुपातिक प्रतिनिधित्वको आधारमा २ वर्षमा उत्कृष्ट संविधान निर्माण गरेका छौँ । संविधानबाट देश र जनाले लाभ पाउने हामीले काम गर्नुपर्छ । संसलाई मर्यादित देश र जनताको हितका लागि लगाउनुपर्छ । यो प्रणालीको बिकास, रक्षा, प्रभावकारी सुन्दर अभ्यास गर्दै अगाडि बढ्नुपर्छ यसमा म खुसी व्यक्त गर्छु ।’ 

उनले संघीय लोकतान्त्रिक प्रणाली नयाँ प्रणाली भएकोले यसमा केही समस्या रहेको बताउदै पुरानो प्रणालीका मान्छेले पनि खुलेआम आफ्नो गतिबिधी गर्न पाइरहेको उल्लेख गरे । उनले भने–‘यस प्रणालीले राम्ररी अभ्यास गर्न नपाउदै यसलाई अप्ठेरोमा पार्ने पनि छन् ।’ 

‘यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गरिरहेका छन् । तर यो नयाँ प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यसमा सचेत हुन जरुरी छ,’ प्रधानमन्त्रीले सवैलाई सचेत गराए । 

उनले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाधबाहेक ती कानुनहरु पुरा भएको भन्दै बाँकी काननु चालु अधिवेशनमा सम्पन्न गरिसक्नुपर्ने बाध्यता रहेकाले संसद त्यसमा केन्द्रीत रहेको बताए ।

‘कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ, त्यसो हुँदा जनताले पाउने प्रतिफल कमजोर हुन्छ । त्यसैले कानुन निर्माणमा ढिला गर्नुहुदैन,’ प्रधानमन्त्रीले भने, ‘सरकारले सुशासनमा र विकासमा ध्यान केन्द्रीत गरेको छ । सुखी नेपाली समृद्ध नेपालका लागि अशिक्षा र पछौटेपनबाट मुक्ति जरुरी छ ।

सम्पन्नता हासिल, शान्तिसुरक्षा र सम्मानपूर्ण ढंगले समानताका आधारमा बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै सुखी नेपाली सम्बृद्ध नेपालको कल्पना हो,’ प्रधानमन्त्रीको भनाई थियो ।

उनले मेलम्ची आयोजनाको ठेकेदार भागेपनि सरकार नभागेकोले आयोजनाको काम नरोकिने बताए । उनले भने–‘एउटा मेलम्चीको ठेकेदार भाग्यो त । यस्तो कुरा कहिलेकाहीँ हुन्छ, सरकार भागेको त हैन नी । केही ढिलो होला हामी मेलम्चीको पानी ल्याउछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप