केन्द्रीय संस्करण

कथा : सुल्फा सुल्फेनी

person explore access_timeभदौ १, २०७६ chat_bubble_outline0

साधारणतया सुल्फा भन्नाले पहाडी क्षेत्रमा कक्ड खाने माटाको एउटा साधन बुझिन्छ । प्युठानको एउटा ऐतिहासिक ठाउँ रातामाटामा यस कथाका एउटा पात्रले कक्कड (भुसा, तमाखु) हर्दम खाइरहने हुँदा गाउँलेहरुले उसको नाम सुल्फा राखेका हुन् ।

यसै गरी उसकी बुढीलाई भनियो सुल्फेनी । ती पात्रले गाउँका अरू ज्येष्ठ कुम्हालेले जस्तै माटाको सोली आकारको सुल्फा, हाँडी, चिलिम र घैँटा बनाउँथे । गाउँलेको मुख्य पेसा भनेको हलो जोतेर जीवन निर्वाह गर्नु थियो । सुल्फाले पनि हर्दम हलो जोतेर नै जेनतेन जीवन निर्वाह गर्थे । हलो जोत्ने हुँदा सभ्रान्तहरु उसलाई हली भन्थे । तर म भने कुमाल दाइ भन्थेँ । हली भन्न पटक्कै आएन । न त नै सुल्फा भन्न आउँथ्यो मलाई । एउटा विचित्र छ कि कुमालहरुले बाहुनको ५ वर्षको छोरा भए पनि बाजे नै भन्थे । बुढालाई पनि बाजे नातिलाई पनि बाजे । सुल्फा जस्तै गाउँलेहरुको पढाइलेखाइ थिएन । सुल्फा पनि यसमा अपवाद थिएन ।

उसको पढाइ लेखाइ थिएन । थियो भने तत्कालीन एन्.डी.एस् हेमन्त खरेल, सुशील प्याकुरेल तथा सुशील श्रेष्ठ र मेरो सक्रिय पहलमा ३ महिनाका लागि साँझ साँझ २ घण्टा रातामाटा कुमाल गाउँमा प्रौढ शिक्षा कक्षाको थालनी गरिएको थियो । प्रौढ कक्षाको परिणाम गाउँका पुरुष महिला सबैले आफ्नो नाम लेख्न सक्थे । कनीकुथी अरूको नाम पनि पढ्न सक्थे । अङ्क पनि चिन्न सक्थे । साहुहरुले ५०० को सापटी लिएको तमसुक लेखाउँदा एउटा सुन्ना थपेर पाँच हजार गराउँथे । मैले थाहा पाउँदासम्म उसबेला २०१८, २० सालमा एक रुपैयाँको एक पाथी धान आउँथ्यो । १. रुपैयाँमा एक शेर घिउ । अनि ५, ६ रुपैयाँमा एक किलो मासु मिल्थ्यो । हलीको एक दिनको एक पाथी धान थियो । हलीहरु धेरै ठगिए भन्ठानेर मैले दिनको २ पाथी धान दिन सुरु गरेँ । यसबाट मैले गाली खान्थेँ । अरूले भने बेठबेगारी, कोसेली खान्थे । 


 एक दिनको कुरा हो, लुगलुग कमाउने जाडोमा गुरुवा जाल काँधमा राखेर झिम्रुक नदीमा माछा मार्न लौरो ट्याक ट्याक पार्दै हिँड्यो । मुखले सुल्फा तान्दै साँझसम्मको सपना बोकेर नदीमा पसेको छ सुल्फा । यता छ्याप्प जाल बिछाउँछ उता विछ्याउँछ । माछो माछो भ्यागुता हुन्छ । कुखुरा बास्न थालिसक्यो । अझै एक छाक माछा पर्दैन । जाल बिछ्याउँदा बिछ्याउँदै ऊ झिमरुकको फड्के पुलनेर के पुगेको थियो । ३, ४ सेर माछा पुगिसक्यो । यति भएपछि झोलपानी गराएर उसलाई एउटी सानी बच्ची र उसकी बुढी सुल्फेनीलाई दुई छाक तिउन पुग्ने भयो । यही तरङ्गमा रमाउँदै घरी जाल बिछ्याउँछ घरी लौरो ट्याक ट्याक पार्छ । नाडीका रौँ देखिनेगरी छ्याङ्ग उज्यालो भयो । उसको सानो टोकरी पनि भरिन लाग्यो । 

पूर्वतिरको रातो आकाशबाट भर्खर आँखा मिच्दै उठेका पृथ्वीका प्राणीहरु चियाउन थाले । भयो आज मेलामा जान सकिँदैन । एक बिसौली माछा बेचेर आजको लागि नुनतेल गनुैपर्ला भन्ने सपना देख्दै ऊ घरतर्फ अगाडि बढिरहन्छ ।

बजारको एउटा भट्टीमा ऊ के पसेको थियो एउटा प्याजको टुक्रासँग एक गिलास ठर्रा एक मिनेटमै घट घट पिएर सक्यो । आँखा रातो रातो गरायो । एक गिलासले उसलाई त्यति छुने त थिएन तर एकै सासमा पिएको हुनाले उसका कानका जरा ताता ताता भइसकेका हुन् । धेरै आग्रहपछि उसले भएभरको एक धार्नी नै बेच्यो । माछो माछो आफूलाई भ्यागुतो भयो । उसले दुई रुपियाँमा नुन, तेल र ४ माना मार्सी चामल किन्यो । अहिले मार्सी चामल प्रधान मन्त्रीको खाना बन्छ भने उसबेला प्युठानको फँटमा जताततै मार्सी फल्थ्यो ।

ठूलाबडा भनिने कहाँ पनि मकैको आटो पाक्थ्यो । भात भने नमुनाको लागि हुन्यो । यस पङ्क्तिकारलाई पनि मोेही र आटो भने पछि झपाझप रुच्थ्यो । भात चाहिँ जहान परिवारलाई हुन्थ्यो । आटामा ज्यादा प्रोटिन पाइने हुँदा आड रहन्थ्यो । 

 बिहानको ७ बजिसकेको थियो । सुल्फा सुल्फेनी भने अगेनामा आगो खोस्रदै बसेका थिए । के गर्ने गरिबीले गर्दा मुखमा पस्ने मिठो गास छुटाएका थिए उनीहरुले । बाहिरबाट आवाज आयो ‘सुल्फा सुल्फ ।’ झट्ट बोलेनन् उनीहरु । बानी नै यस्तै छ गरुवाहरुको । झट्ट बोल्दैनन् । एउटा बाहुन बाजेले सँघारबाट के मन्टो चियायो, सुल्फा बाहिर निस्कियो । ‘बारीमा गहुँ छर्नु छ आज । छिटो छिटो !”
“केको दम्को हो यो ? म त जान सक्दैन आज । थकाइ छ । अनिदो छ ।” 

 “हौइन हौइन । जानै पर्छ ।” 

“तिम्रो के खाएको छुँ र ?” सुल्फाले धैर्य साथ भन्यो । 

 “कहीँको हाँडी ! ल्याएर घिच्छ घिच्ने बेला । अहिले जादैन ?,” बाहुन बाजेले भन्यो । 

 “के खोजेको छस् काठा ? ला तेरो दुई रुप्पेँ । यसैले गहुँ छरिदिन्छ ।” 

 “दुई रुपैयाँको ब्याज लाग्दैन ?” भनेर पाखरामा समातेर हाेँत्र्याउँछ । 

 “ला ! तेरो ब्याज । स्याज पनि हो कि ?”

 यति भन्दै सुल्फाले गालामा एक चड्कन दिन्छ । बाहुन भने पख्लास् अब । तेरो चिहान देखाई दिन्छु भन्दै टाउको कनाउँदै घर जान्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...