शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू, जनतासँग गरेको कार्यसम्पादन करार खोई ? तपाई फेल भइसक्नुभयो : मिनेन्द्र रिजाल

आइतबार, ०१ भदौ २०७६, १४ : २०
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली फेल भएको बताएका छन् । उनले प्रधानमन्त्रीले मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेपनि चुनावका बेला जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादनमा फेल भएको बताएका हुन् । 

संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधनपछि विशेष समयमा बोल्दै सांसद रिजालले प्रधानमन्त्रीको भनाईको जवाफ दिदैँ भने– ‘लोकतन्त्रका लागि लडेको सरकार हो भनेर प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीको बाम आन्दोलन त्यसपछिको लोकतान्त्रिक आन्दोलन र संघर्षको सम्मान गर्छु । तर सरकार लडेको हैन । प्रधानमन्त्रीज्यू भिन्नता हेक्का रहोस । सरकार लड्या हैन, लड्या मान्छेहरुले सरकार बनाएको होला । एकपटकको लडाँइले जीवनभरी जे पनि गर्न लाइसेन्स दिँदैन ।’ 

उनले हिजो प्रजातन्त्रका लागि लड्नेहरु हिजो पञ्चायतमा पनि गएको बताउँदै बाम आन्दोलनका लागि लड्नेहरुले घुँडा टेकेको बताए । उनले एउटा लडाईले सधै त्यो अधिकार नदिने बताए ।  उनले प्रधानमन्त्रीको भनाईको कटाक्ष गर्दै भने– ‘एउटा कुरा खुसी लाग्यो, अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ, ठिक हो प्रधानमन्त्री ज्यू यस्तो काम देखेपछि अर्को बर्ष कांग्रेस बाहेक अरु कस्को सरकार रहन्छ र ? अर्को बर्षसम्म भन्दा सत्ताभित्रै चाहीँ तरङ्ग गयो गएन थाहा छैन, शुभकामना छ सत्ताभित्र कोहि तरङ्गित नभएको होस ।’

उनले एक वर्षमै रेल र पानी जहाजको सपना देखाउँने सरकार तिथिमिति तोकेर निम्ता पनि गर्ने सत्तापक्षका सांसदहरु अब घाँटी सुकाई सुकाई आधारवर्ष हो भन्न थालेको भन्दै व्यङ्ग्य गरे ।  उनले भने– ‘प्रधानमन्त्री ज्यू आर्थिक बृद्धिका बारेमा हलुका टिप्पणी नगर्नुुस, पूँजीगत खर्च अघिल्लो बर्षभन्दा ३५ अर्ब कम खर्च भयो । संशोधित अनुमान भन्दा ३२ अर्ब खर्च भयो । अर्थमन्त्रीले कार्यसम्पादन करार गर्नुभएको होला, उहाँको पो चिन्ता लाग्न थाल्यो प्रधानमन्त्री ज्युको टिप्पणी सुन्दा । तर प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीहरुसँग गरेको कार्यसम्पादन करारमाथि त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोई ? हिजो निर्वाचनमा जनतासँग भएको कार्यसम्पादन करारको काम पूरा भएन प्रधानमन्त्रीज्यू ?’ 

उनले अघिल्लो बर्ष संसदले गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको र परीक्षामा प्रधानमन्त्री असफल भएको दावी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप