मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘समावेशी लक्ष्य प्राप्त हुनेमा आशंका’

आइतबार, ०१ भदौ २०७६, १६ : ५६
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले ठूला पार्टीमा रहेको असमावेशी नेतृत्वले सामाजिक सद्भाव, समावेशी विकासको पक्षमा काम गर्नेमा शंका पैदा भएको बताएका छन् ।  ‘नेकपाको नेतृत्वमा जुन किसिमको एकल जातीय वर्चस्व कायम छ त्यसबाट समावेशी लक्ष्य प्राप्त हुन्छ भन्नेमा विश्वस्त रहन सकिने अवस्था छैन । सत्तारुढ दलको नेतृत्व संरचनाले सो पार्टीको इमान्दारीमा प्रश्न चिन्ह खडा गरिदिएको छ’ राप्रपा (संयुक्त) का अध्यक्ष राणाले  भनेका छन् । 

दलित, आदिवासी जनजाति, महिला लगायतका पिछडीएका समुदायको समावेशीकरण, आरक्षण स्वागतयोग्य भएको जनाउदै अध्यक्ष राणाले तर, ठूला पार्टीको नेतृत्व तहमा एकल जातीय वर्चस्व निरन्तर रहनु आफैंमा अन्तरविरोधी रहेको बताए ।

राप्रपा (संयुक्त) सम्वद्ध नयाँ मुलुकी ऐन २०२० एवं स्व.महेन्द्र स्मृति समारोहद्वारा आयोजित ‘हिन्दु धर्मभित्र जातीय विभेद’ विषयक विचार गोष्ठीलाई आइतबार सम्बोधन गर्दै राणाले उक्त विचार व्यक्त गरेका हुन् । मुलुकी ऐनको ऐतिहासिक पृष्ठभूमितर्फ इंगित गर्दै राणाले भने, ‘दलित प्रतिको भेदभाव अन्त्य गर्न राजा महेन्द्रले पहिलो कदम चालेका हुन् । व्यक्तिगत, समूहगत र राष्ट्रिय हितका लागि यस्ता सकारात्मक पहल निरन्तर अघि बढ्नु जरुरी छ ।’

कार्यक्रममा राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपालमा पहिले पनि आरक्षण नभएको होइन भन्दै शिक्षा, जमिन र शासक वर्गको सँस्कृतिको आधारमा गरिने त्यस्तो सामन्ती आरक्षणले शासक वर्गलाई मात्र लाभ प्राप्त भएको बताए । ‘बाहुन, क्षेत्री र उच्च वर्गका नेवारहरुलाई मात्र समेट्यो । यसैकारण नब्बे प्रतिशत भूमिहीन रहको दलितहरु सबैभन्दा पछाडि परे’ लोहनीको भनाई छ । 

उनले भने समान अवसर व्यवहारमै अनुभूत हुनुपर्ने भन्दै  बहिष्करणको समस्यामा पछाडि परेका समुदायमात्र नभई यो आम नेपालीको समस्या हो भनेर परिभाषित गर्नुपर्ने बताए ।  कार्यक्रममा नयाँ मुलुकी ऐन २०२० एवं स्व. महेन्द्र स्मृति समारोहका संयोजक ऋषिबाबु परियारले धर्मभित्र छुवाछुत, भेदभाव कायम रहनु आफैंमा रोग भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप