बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काञ्जीरोवामा स्टिम प्रशिक्षण

सोमबार, ०२ भदौ २०७६, १५ : ००
सोमबार, ०२ भदौ २०७६

काठमाडौं– कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल रोबोटिक्स सङ्घसँगको सहकार्यमा काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौँ उपत्यकाका १८ विभिन्न विद्यालयका २८ विज्ञान र गणित विषयका शिक्षकहरूको सहभागिता रहेको थियो । 

नेपाल रोबोटिक्स सङ्घ र संयुक्त राज्य अमेरिकाका अन्य केही संस्थाहरूको सहयोगमा विद्यालयमा सञ्चालित स्टिम परियोजनाबाट विगत पाँच वर्षदेख काञ्जीरोवाका विद्यार्थीहरू लाभान्वित हुँदै आइरहेका छन् । 

विज्ञान र प्रविधिप्रति झुकाव भएका युवापुस्तालाई स्टिमसम्बन्धी नवीन अभ्यास र प्रयोगका बारेमा जानकारी दिई स्टिमको अवधारणाबारे प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

प्रशिक्षणमा स्टिम शिक्षा, साजसज्जासम्बन्धी चिन्तन, ड्रोन र यसको सञ्चालन तथा थ्रिडी प्रिन्टिङको प्रयोग, परीक्षण र प्रदर्शनका विषयमा छुट्टाछुट्टै प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षकहरूले कार्यक्रमको विषयवस्तुसँग जोडिएका विभिन्न जिज्ञासाहरू समेत राखेका थिए । 

प्रशिक्षणलाई सम्बोधन गर्दै संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले काञ्जीरोवाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा स्टिम परियोजना सञ्चालन गर्दै आइरहेको र नेपालमा थ्रिडी प्रिन्टिङ प्रयोगमा ल्याउने पहिलो विद्यालय काञ्जीरोवा हुन पाएकोमा आफूहरूलाई गौरव अनुभूति भएको धारणा राखे । 

कार्यक्रमको अन्त्यमा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी शिक्षक–शिक्षिकाहरूलाई आयोजकका तर्फबाट प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप