शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, नक्कली भारतीय नम्बर बनाउँदै बेच्दै

सोमबार, ०२ भदौ २०७६, १५ : ५८
सोमबार, ०२ भदौ २०७६

रौतहट । रौतहट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ ।

चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का सोनालाल प्रसाद यादवको ना४६प २२८२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

सोही घटनाबारे जिल्ला प्रहरी कार्यालय गौरमा दिएको जानकारी र बिषेश सूचनाको आधारमा घटनाको भोलिपल्ट साउन ३२ गते खटिएको अपराध अनुसन्धान टोली र स्थानीय प्रहरीको सहयोगमा बाराको कोलहवी–९ श्रीपुरस्थित एउटा ग्यारेजमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने चोर गिरोहमध्ये तिनजनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनैजना मोटरसाइल चोरहरु रहेको खुल्न आएको छ ।

रौतहट फतुआ विजयपुर–११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनीहरुको साथबाटस्वरुप परिवर्तन गरिएको एउटा मोटरसाइकल र अन्य मोटरसाइकलको विभिन्न पार्टपुर्जा बरामद भएको एसपी खत्रीले बताए ।

पक्राउ परेका चोरीका आरोपीहरुले रौतहटबाट ३ वटा मोटरसाइकल चारेी गरेको स्वीकारेको छन् । उनीहरुले गत असार १९ गते चन्द्रपुर–४ बाट ना६२प९४९० नम्बरको कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल चोरेको प्रहरी समक्ष बयान दिएका छन् ।

यस्तै गत साउन २९ गते सोही ठाँउ बाट ०२३–००१ प ४२२० नम्बरको १५० सिसिको कालो पल्सर र मौलापुरस्थित इन्द्रधनुुष पेट्रोलपम्प अगाडीबाट बिआर ३०यु६६०६ नम्बरको १५० सिसिको कालो पल्सर चोरेर ल्याएको स्विकार गरिसकेको एसपी खत्रीले बताए ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी नक्कली भारतीय नम्बर बनाएर बेच्ने गरेको खुलेको छ । कतिपय मोटरसाइकलको पार्टपुर्जा खोलेर बेच्ने गरेको समेत पाइएको छ ।

उनीहरुविरुद्ध चोरी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप