शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठक विशेष समय: कसले के भने ?

मङ्गलबार, ०३ भदौ २०७६, १४ : १०
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराए । सितापाईला–रामकोट–भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुँदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । उनले साईकल लेनहरुको अभावका कारण काठमाडौंमा साईकल चढ्ने नागरिकले पनि दुःख पाइरहेको उल्लेख गर्दै साइकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएकोबारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए । उनले अविरल बर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।

राजपाका सांसद अमृता अग्रहरिले आफुहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिए । गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक प्रतिबद्धता जाहेर गरेर पनि अहिले सम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो भनी प्रश्न गरे । उनले आरक्षण बचाउ अभियान अन्तर्गतको  शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ति जनाउँदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी समेत दिए । 

नेकपाका सांसद मोहन बाँनियाले मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाईली स्नेहीर्ले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप