बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नासु मृत्यु प्रकरण: ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’

मङ्गलबार, ०३ भदौ २०७६, २३ : २०
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं- सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । आज बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देखे । उनले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

“बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र आफन्तलाई समेत हामीले खबर गरेका हौँ, प्रहरीले आएर हेर्दा केसी मृत भेटिनुभएको हो”, आयोगका प्रवक्ता डा किरण रुपाखेतीले भने । कीर्तिपुर नगरपालिका–६ टौदह घर भएका केसीको शव नजिकै विषादीको सानो बट्टासमेत भेटिएको थियो । उक्त बट्टा बालीमा हाल्ने कीटनाशक विषादीको रहेको प्रहरीले जनाएको छ । नजिकै केराको बोक्रासमेत फेला परेको थियो । शुरुमा कर्मचारीले मदिरा पिएर ढलेको भन्ने अनुमान गरेका थिए । सर्ट खोलेको अवस्थामा घटनाको प्रकृति अस्वभाविक देखिएपछि तल्कालै प्रहरीलाई खबर गरेको कर्मचारीले बताएका छन् । केसीले त्यही केरासँग विषादी मिसाएर खाएको अनुमान काठमाडौँ प्रहरीको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भने, “सुसाइट नोट फेला परेको छ, त्यसमा उल्लेख भएअनुसार केसीले आफ्नै कारणले घटना घटेकोजस्तो देखिन्छ ।” घटना अन्दाजी १०÷११ बजे राति भएको भन्दै उनले सिसी क्यामराको श्रव्यदृष्यको पनि अनुसन्धान भइरहेको बताए । कार्यालय सकेर निस्किएका केसी फेरि राति कार्यालयमा फर्किएको पाइएको छ । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । आयोगको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी ।

उनी  झण्डै आठ वर्षदेखि आयोगमा काम गर्दै आएका थिए । “केसी कार्यालयका साह्रै भरपर्दो, इमान्दार र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो, उहाँलाई काम लगाएपछि पक्का हुन्थ्यो, कसरी घटना भयो हामी सबै आश्चर्यमा छौँ”, आयोगका प्रवक्ता डा रुपाखेतीले भने । सोमबार दिनभरि नै केसीले कार्यालयमा काम गरेको कर्मचारीले बताएका छन् । केसीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल अष्ट्रेलियामा रहेको उनका दाइ मधु केसीले राससलाई बताए ।

“सुसाइट नोटमा म आफैँ जिम्मेवार छु भनेर लेखिएको छ, हलको बोर्डमा मार्करले पनि लेखेको भनिएको छ, अनुसन्धानपछि घटनाबारेमा प्रहरीले खुलाउँला ।” दाइ मधुले प्रतिक्रिया दिए । उनका अनुसार आवश्यक कागजात मिलाउँदा समय नपुगेकाले बुधबार मात्रै शवपरीक्षण गरिने भएको छ । प्रहरीले घटनाको मुचुल्का उठाएर अपराह्न नै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ । मुद्रण विभागको भवनमा योजना आयोगले कार्यालय सारेको केही वर्ष भयो । यहाँ मुद्रणको काम हुने भएकाले राति पनि खुला हुने गरेको थियो । प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप